लाग्छ, सडक दुर्घटना नेपाली समाजका लागि ‘न्यु नर्मल’ भइसकेको छ । दुर्घटनामा पर्ने र तिनका परिवारले बेहोर्नु परेको क्षतिका बारेमा राज्य खासै संवेदनशील हुँदै भएन । यसैले मूलतः मानवीय कमजोरीकै कारण हुने सडक दुर्घटनालाई पनि भवितव्य भन्ने गरिएको हुनुपर्छ । पछिल्ला दिनमा राजनीतिक नेताहरूले सडक दुर्घटनाका पीडितहरूलाई सान्त्वना र सहानुभूति प्रकट गर्न थालेका छन् । तर, दुःख र सहानुभूति प्रकट गर्ने औपचारिकता पूरा भएपछि तिनले आफ्नो दायित्व सकिएको । बागलुङ जिप दुर्घटनामा सत्ता र विपक्षका नेताहरूले दुःख व्यक्त गर्ने औपचारिकता पूरा गरे । सम्भवतः अर्को यस्तै भयावह घटना नहुँदासम्म तिनले सडक दुर्घटनाको विषयलाई चटक्कै बिर्सनेछन् ।
गुल्मीबाट बाग्लुङको निसी खोला जाँदै गरेकोे जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । यसैगरी मंसिर ११ गते सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस दुर्घटनामा १९ जनाको ज्यान गएको थियो । आज बुधवार पनि महोत्तरीको माईस्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्थात्, सडक दुर्घटना नेपालमा ‘नियमित आकस्मिकता’ नै बन्न पुगेको देखिन्छ । दुःखको कुरा यस्ता अधिकांश दुर्घटना मानवीय सावधानीबाट रोक्न सकिन्थ्यो । यसैले यस्ता दुर्घटनामा सरकारलाई दोष दिइयो भने अन्यथा हुँदैन । सरकारसँगै चालक, यातायात व्यवसायी, सडक निर्माता, यात्रु स्वयंसमेत दुर्घटनाका लागि दोषी हुन्छन् । दुर्घटनाबाट यी सबै पक्ष पीडित हुने भए पनि रोकथामका लागि इच्छुक र अग्रसर नहुनु भने अर्को आश्चर्यको विषय हो ।
राजनीतिक दलका नेताहरूमा अलिकतिमात्रै पनि संवेदनशीलता साँच्चै नै हुने र विशेषगरी सत्तारुढ दलका नेताहरू सजग रहने हो भने सडक दुर्घटना कम गर्न ठूलो सहयोग पुग्नेछ । अहिले दुर्घटनाको मूल कारक जथाभावी बनाइएका डोजरे बाटाहरू हुन् । त्यस्ता सडक निर्माणमा मूलतः यिनै राजनीतिक दलका कार्यकर्ताहरू बढी जिम्मेवार छन् । सडकको रेखांकन र निर्माण प्राविधिक विषय भएकाले ती पक्षमा अनावश्यक हस्तक्षेप गर्नु हुँदैन भन्ने सन्देश सबै दलका नेताले आआफ्ना कार्यकर्तालाई दिनु आवश्यक छ । सडकको अवस्थाअनुसार वाहनको क्षमता र अवस्था हेरेरमात्र यात्रु बोक्न दिने हो भने दुर्घटना धेरै कम हुनेछ । सरकारले यात्रुवाहक सवारीको निगरानी र नियमन गर्न पर्याप्त ट्राफिक प्रहरीमात्रै खटाउन सके पनि दुर्घटनामा कमी आउनेछ । यसैले, अब खोक्रे सहानुभूति र समवेदनाको राग अलाप्न छाडेर सरकार दुर्घटना रोकथाममा गम्भीर हुनुपर्ने देखिन्छ ।