नैतिक र कानुनी दुवै दृष्टिले अनुचित एवं अपराध भए पनि नेपालका राजनीतिक दलहरू विशेषगरी कम्युनिस्ट पार्टीहरूले बालबालिकालाई राजनीतिक स्वार्थका लागि बलपूर्वक प्रयोग गर्न भने छाडेका छैनन् । यस क्रममा नेपाल कम्युनिस्ट पार्टी नामको एउटा भूमिगत संगठनको खुला मोर्चाका कार्यकर्ताले आइतबार काठमाडौंका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई भारत विरोधी प्रदर्शनमा संलग्न गराउन भनेर जबर्जस्ती लगेको समाचार सार्वजनिक भएको छ । बालबालिकालाई बलपूर्वक प्रदर्शनमा लैजान आएकाहरूलाई सम्बन्धित विद्यालय प्रशासनले भने रोकेनछ । ती बालबालिका विद्यालयकै पोसाकमा नभएको भए सम्भवतः थाहा पनि हुने थिएन । प्रदर्शनका क्रममा प्रहरीले ४३ जनालाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीका अनुसार पक्राउ गरिएकाहरू भूमिगत नेकपाका कार्यकर्ता हुन् । कालापानीलगायत भारतले अतिक्रमण गरेको नेपालको जमिन फिर्ता गराउन दबाब दिने बालबालिकालाई विद्यालयबाटै बलपूर्वक निकालेर प्रदर्शनमा संलग्न गराइएकोे थियो ।
बालबालिकालाई बलपूर्वक त परै जाओस् स्वेच्छाले पनि उनीहरूको शारीरिक वा मानसिक हितमा नकारात्मक असर पर्ने काममा लगाउनु दण्डनीय अपराध हो । नेपालले अनुमोदन गरेको विभिन्न अन्तर्राष्ट्रिय कानुनहरू र नेपालकै प्रचलित कानुनमा पनि बालबालिकालाई त्यस्ता कार्यका लगाउन निषेध गरिएको छ । नेपालको प्रचलित कानुनअनुसार १८ वर्ष उमेर नपुगेका सबै बालबालिका हुन् । सहरको विद्यालयमा पढ्नेहरूमध्ये १८ वर्ष पुगेका बिरलै हुन्छन् । यसैले भूमिगत नेकपाका कार्यकर्ताले बलपूर्वक लगेका विद्यार्थीहरू सबै बालबालिका नै हुन् । यस्ता बालबालिकालाई लैजान विद्यालयमा आउनेहरूलाई सम्बन्धित विद्यालयका शिक्षकहरूले पनि सम्झाएर रोक्नुपर्थ्यो । रोक्न नसके प्रहरीलाई प्रहरीलाई खबर गर्नुपर्थ्यो । यसैले बालबालिकालाई बलपूर्वक प्रदर्शनमा लगेको यस घटनामा सम्बन्धित विद्यालय प्रशासन पनि दोषी देखिन्छ । माओवादी हिंसाका बेला विद्यालयमा अध्ययनरत बालबालिकालाई अपहरण गरेर बन्दुक बोकाउने अपराध गर्दा पनि अहिलेसम्म सजाय नपाएकाले नै अर्को समूहले बालबालिकालाई जबर्जस्ती आफ्नो क्रियाकलापमा संलग्न गराउने दुस्साहस गरेको हुनुपर्छ ।
विद्यार्थीहरू लहैलहैमा लाग्दा र शिक्षकहरू डराउँदा धेरै बालबालिका कुरै नबुझीे माओवादी हिंसात्मक विद्रोहमा संलग्न भएका थिए । उनीहरूमध्ये धेरैको अहिले जीवन बर्बाद भएको छ । केहीले अहिले न्याय खोज्न थालेका छन् । यसैले कुनै न कुनै दिन बाल सैनिक प्रयोग गरेकोलगायत बालबालिकालाई उनीहरूको जीवन जोखिममा पर्ने कार्यमा संलग्न गराउनेहरू कानुनको कठघरामा उभ्याइने अपेक्षा गर्न सिकन्छ । आयन्दा बालबालिकालाई राजनीतिक स्वार्थका लागि कुनै पनि कार्यक्रममा प्रयोग नगर्ने प्रतिबद्धता सत्तारुढ र विपक्षी दलले पनि पूरा गर्नुपर्छ । यस्तै, बाल अधिकारकर्मीहरूले पनि खरो शब्दमा यस्ता क्रियाकलापको बेलैमा निन्दा गर्नुपर्छ । अगिल्लो हिंसात्मक विद्रोहका बेला बेलैमा आवाज नउठाउँदा धेरै ठूलो हानि सहनु परेको बिर्सनु हुँदैन । राज्यका बालबालिका सम्बन्धी निकाय र संयन्त्र पनि डराएर मौन नबसून् । नत्र, पुरानै नियति दोहोरिनेछ । बालबालिकालाई जुलुसमा लैजानु अपराध हो भन्ने राजनीतिक नेताहरूले आत्मसात् गरून् र आफ्ना कार्यकर्तालाई त्यस्तो अपराध गर्नबाट रोकून् । प्रहरीले पनि जुलुसमा आएका बालबालिकालाई लखेट्ने हैन संरक्षण गर्नुपर्छ ।