काठमाडौं उपत्यकाका भौतिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण गर्न ढिलो भइसकेको चेतना हालैमात्र जागेको छ । यथार्थमा भूकम्पपछिको पुनर्निर्माणमा सरकारले बदमासी गर्न नखोजेको भए अझै संरक्षण अभियन्ताहरू सायद जाग्ने थिएनन् । विशेषगरी, रानीपोखरी, काष्ठमण्डप र धरहरामा देखिएको सरकारी धिङ्न्याइँले काठमाडौंलाई माया र यहाँको सभ्यताप्रति गर्व गर्ने सबैलाई आक्रोशित बनाएको हो । तर, त्यो आक्रोशलाई शान्तिपूर्ण आन्दोलनको रूप भने केही युवा अभियन्ताले दिए । उनीहरूकै नेतृत्वमा भएका आन्दोलनकै कारण सरकारले रानीपोखरी र काष्ठमण्डपमा बलमिच्याइँ गर्न सकेन । सम्पदा संरक्षणमा जनचासो र समर्थनबाट उत्साहित जनसमुदायले काठमाडौंको ‘फोक्सो’का रूपमा रहेको टुँडिखेललाई जनताको पहुँचमा फर्काउन हालै ‘अकुपाई टुँडिखेल’ नामको अभियान थालेको छ । यही अभियानअन्तर्गत आउने कात्तिक २३ गते मानव साङ्लोले टुँडिखेल घेर्ने कार्यक्रम रहेको सार्वजनिक गरिएको छ ।
काठमाडौं महानगरपालिका र नेपाली सेनाले मिचेको टुँडिखेल जनताको पहुँच र प्रयोगका लागि फर्काउन रानीपोखरी वा काष्ठमण्डपको भन्दा ठूलो आन्दोलनको खाँचो हुनेछ । रानीपोखरी पुनःनिर्माणका नाममा हतारमा राष्ट्रपतिबाट शिलान्यास गराइयो । त्यसपछि ठेक्कामा लगाएर रानीपोखरीलाई ‘स्विमिङपुल’ बनाउन खोजिएको अहिल्यै त धेरैले बिर्सेका छैनन् होला । पुनःनिर्माणसँग सम्बन्धित सरकारी निकायहरू राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षणका मापदण्ड एवं मान्यताको उपेक्षा गर्दा त्यहाँ करोडौंको नोक्सानी भयो । रानीपोखरी पुनःनिर्माण पनि वर्षौं ढिला भयो । काष्ठमण्डपको पुनःनिर्माण पनि ठेकेदारलाई सुम्पने खेल सुरु भइसकेको थियोे । काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानको दबाबपछि मात्र अमानतामा बनाउन थालिएको हो । खुलामञ्चमा बनाइएका टहरा हटाउनसमेत काठमाडौंवासीले अभियानै चलाउनु परेको थियो । यसैले टुँडिखेल खाली गराउने अभियानमा उपत्यकावासीमात्र हैन सिंगो नेपालकै समर्थन चाहिन्छ । र, यस्तो समर्थन र दबाब जति ढिलो हुन्छ क्षति उत्तिकै धेरै हुन्छ ।
काठमाडौंवासी विशेषगरी नेवार समुदायले चाहेमा शान्तिपूर्णरूपमै सरकारलाई झुकाउन सक्छन् भन्ने गुठीहरण विधेयक फिर्ता लिन बाध्य बनाउँदैमा पुष्टि भएको छ । यत्ति हो, यस्तो आन्दोलनलाई समाजको सबै वर्ग र समूहको समर्थन आवश्यक हुन्छ । महानगरपालिकाको नेतृत्वले साथ दिएमा टुँडिखेल जनतालाई फर्काउने अभियान धेरै सहज हुन्थ्यो । तर, व्यक्तिगतरूपमा केही जनप्रतिनिधि सहमत भए पनि प्रमुखलगायत उनको पार्टीका सदस्यहरूले असहयोग गर्न सक्छन् । अझ सरकारी पक्ष त यसलाई दबाउन पनि उद्यत हुनसक्छ । यसैले कामाडौंलाई माया गर्ने प्रबुद्ध नागरिकहरू यस अभियानको समर्थनमा तत्काल अगाडि सर्नु आवश्यक छ । प्रबुद्ध नागरिकहरूले ऐक्यबद्धता जनाए भने सरकारले पनि अभियानको उपेक्षा गर्ने आँट गर्नेछैन । कुनैबेला एसियाकै ‘‘सबैभन्दा ठूलो परेड मैदान’का रूपमा विख्यात टुँडिखेल अहिले टुक्रटुक्रा बनाइएको छ र जनताको पहुँचमा थोरै ठाउँमात्रै छ । काठमाडौंको गौरव ‘झिल्के टावर’हरू हैनन् । काठमाडौंकै जीवनमरणको प्रश्न ‘अकुपाइ टुँडिखेल’ अभियानले खडा गरेकाले यसमा संलग्न हुन र सके भौतिक र नभए कम्तीमा नैतिक समर्थन जनाउन काठमाडौंका प्रबुद्ध नागरिकहरूले ढिलो नगरून् !