तिहार सद्भाव, स्नेह र समृद्धिको पर्व हो । धार्मिकभन्दा बढी सांस्कृतिकरूप धारण गरिसकेको यस पर्वमा लक्ष्मीको पूजामात्र वैभवको प्रदर्शन गर्ने पनि चलन छ । त्यसो त र पक्षीको पूजा गरेर तिहारलाई नेपालीले विशेषरूपमा मनाउँछन् । स्थानीय संस्कृतिको प्रभावले हुनुपर्छ भारतका भन्दा नेपाली हिन्दुहरू बढी प्रकृतिपूजक छन् । पाँच दिनसम्म मनाइने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइको पूजा गरिन्छ । नेवार समुदायमा त तिहारमै आत्मपूजा (ह्म) पनि गरिन्छ । यही पर्वमा धनकी देवी मानिने लक्ष्मीको पनि पूजा गरिन्छ । लक्ष्मीको पूजा गर्दा वैभवको कामना राखिन्छ । वैभव वा समृछि प्राप्तिका लागि राज्यले अपनाउने उपाय वा मार्ग नै विकास ढाँचा हो ।
समृद्धिको अर्थ सापेक्ष हुन्छ । कसैका लागि समृद्धि देखिने अवस्था वा वस्तु अरूका लागि न्यूनतम आवश्यकता हुनसक्छ । यसैले समाज सापेक्ष आधारभूत आवश्यकता सजिलै पूरा भए समृद्धिको संघारमा पुगिन्छ भन्नु अत्युक्ति हुँदैन । नेपाली समाजका लागि समृद्धिको परिभाषा स्पष्ट गरिएको छैन । सरकार अहिले ठूला चिल्ला सडक, सहरमा झिलिमिली बिजुली, झिल्के भ्युटावर आदि इत्यादिलाई समृद्धिको पर्याय साबित गर्न व्यस्त छ । विकासको यो दिगो नहुने ढाँचाका विरुद्ध आवाज उठाउने वा औचित्य खोज्नेलाई शासक र तिनका मतियारहरू ‘विकास विरोधी’को संज्ञा दिन हिँचकिचाउँदैनन् । यद्यपि, संसारभर अपनाइएको विकासको यो ढाँचालाई पृथ्वीको भारवहन क्षमताले धान्न नसक्ने प्रक्षेपण गरिएको पनि करिब आधा शताब्दी भइसक्यो । विडम्बना, नेपालले अहिले पनि विकासको त्यही दिगो नहुने ढाँचा नै आत्मसात् गरेको छ ।
विकास शब्दको अर्थ फूलजस्तै गरी बिस्तारै फक्रनु भन्ने हुन्छ । तर, हामी रातारात बलजफ्ती कुनै काम गरेर वा गराएर विकास भएको ठान्छौँ । खुला दिसामुक्त राष्ट्रको घोषणाले सरकारको विकासको परिभाषा र दृष्टिकोणको प्रतिनिधित्व गर्छ । सबैलाई थाहा छ घरमा चर्पी नहुने परिवारको संख्या नेपालमा ठूलै छ । तिनलाई पुग्ने गरी राज्यले सार्वजनिक शौचालय बनाएको छैन । यसैले अहिले पनि लाखौं नेपालीहरू खुलामै दिसा गर्न विवश छन् । तर, अब राज्य नै खुला दिसामुक्त घोषित भएकाले शौचालय अभावको समस्या राज्यको अभिलेखबाटै हटाइनेछ । अहिलेको समृद्धिको ढाँचा अर्को धर्को तानेर हैन लामो धर्को मेटर छोटो बनाउने शैलीको छ । तिहार मनाउन पनि नेपालीले फूलका मालादेखि फलफूलसम्म सबै सामग्री विदेशबाट आयात गर्नुपर्छ । यसरी मनाइने पर्वले राज्य र समाजलाई समृद्ध बनाउँदैन । विसं २०७६ सालको तिहार त खोक्रो समृद्धिको प्रदर्शनमै बित्यो । आगामी दिनमा सही अर्थको सबैलाई समेट्ने समृद्धितर्फ मुलुक अग्रसर होस् ।
सबै नेपालीलाई समृद्धिको शुभकामना !