केही दिन यताका सामान्य देखिने असामान्य घटना हेर्दा मुलुकलाई पञ्चायत – २ मा फर्काउने नियोजित प्रयास भएको भान परेको छ । प्रहरी स्रष्टाहरूलाई नैतिकता सिकाउन अग्रसर भएको छ भने सत्तारुढ दलका नेता विद्यार्थीका आवाज दबाउन गुण्डागर्दीमा उत्रेका छन् । स्रष्टालाई सधैँ नै शासकले बांगो आँखाले हेर्ने गरेका छन् । तर, गीत वा व्यंग्यका शब्द ‘मर्यादित’ भएनन् भनेर स्रष्टालाई पक्रने कार्य अधिनायकवादी शासनमा मात्र हुनसक्छ । यस्तै, सरकारको निर्णय कार्यान्वयन गरियोस् भनेर विद्यार्थीले आन्दोलन गर्नुपर्ने र आन्दोलनकारीलाई गुण्डा लगाएर कुटपिट गर्दा पनि प्रहरीले तमासा हेरेर बस्ने काम पनि अधिनायकवादी शासनमा मात्र हुनसक्छ । नेपालको संविधान, २०७२ पूर्णरूपमा उदार लोकतान्त्रिक नभए पनि अधिनायवादी हैन । अहिले सत्तामा पुगेका शासकहरू पनि निर्वाचनबाटै आएका हुन् । विडम्बना, स्रष्टालाई थुन्ने र विद्यार्थीमाथि गुण्डा लगाउनेलाई राजनीतिक संरक्षण गर्ने काम भने नेपालमै भएको छ ।
शुल्कका नाममा निजी मेडिकल कलेजहरूले विद्यार्थीहरूसँग सरकारले तोकेभन्दा धेरै रुपिया लिन थालेपछि विद्यार्थीहरूले विरोध गरिरहेका छन् । मेडिकल कलेजका विद्यार्थीहरूको आन्दोलन अपेक्षाकृत शान्तिपूर्ण रहेको छ । विद्यार्थीहरूका अनुसार ‘अवैध असुली’मा संलग्न पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरिएको छ । आफूहरूसँग असुल गरिएको अवैध शुल्क फिर्ता गर्ने माग राखेर आन्दोलनरत एमबिबिएस तहमा अध्ययन गर्ने विद्यार्थीमाथि गत कात्तिक ७ गते नेसनल मेडिकल कलेजका सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीकै उपस्थितिमा दुव्र्यवहार भएको आरोप विद्यार्थीहरूले लगाएका छन् । विद्यार्थीमाथि भएको दुव्र्यवहारका विरोधमा चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारले पत्रकार सम्मेलन गरी ‘‘होस्टल परिसरभित्रै केही स्थानीय गुण्डा’’ र व्यवस्थापनको ‘नजिकका सिनियर विद्यार्थीद्वारा’ ‘निर्घात कुटपिट’ गरिएको आरोप पनि लगाएका छन् ।
विधिको शासन भएको मुलुकमा भए सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी असुल गरिएपछि कानुन कार्यान्वयन गर्ने निकायले नै कारबाही गर्ने थियो । विद्यार्थीले यसरी आन्दोलन गर्नुपर्ने थिएन । राज्य संयन्त्रले आफ्नो कर्तव्य पूरा नगर्दा नागरिकहरू अगाडि सर्नुपर्ने हुन्छ । र्यापर भिटेनलाई पक्रनुको साटो प्रहरीले त अन्सारी र उनले खटाएका गुन्डालाई पो पक्रेर कारबाही चलाउनु पथ्र्यो । पञ्चायत कालमा पनि यस्तै हुन्थ्यो । अन्याय गर्ने हैन न्याय खोज्नेहरूलाई प्रहरीले पक्रन्थ्यो । स्वतन्त्र अभिव्यक्तिका सबै ढोका बन्द गरिएका थिए । त्यो निरंकुश शासन थियो । अहिले पनि त्यही पथ र प्रवृत्ति अपनाउने हो भने शासनलाई ‘पञ्चायत – २ भन्नुपर्ने हुन्छ । सरकारका क्रियाकलापले पञ्चायतको दोस्रो संस्करण सुरुहुन लागेको सन्देह बढेकाे छ । आशा गरौँ, लोकतान्त्रिक संविधानअन्तर्गत जनताले चुनेको संसद्ले बनाएको सरकारले कसैलाई राजा बनाएर पञ्चायतको दोस्रो संस्करण सुरु गर्नेछैन ।