site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिस्नुपानीको देउसीबाट हटाइए शैलेन्द्र सिंखडा, यस्तो थियो उनको सामग्री

काठमाडौं । यमपञ्चक (तिहार)को अवसरमा सिस्नुपानी नेपालले हरेक वर्ष खेल्दै आएको व्यङ्ग्यात्मक देउसी कार्यक्रममा यो वर्ष शैलेन्द्र सिंखडाको प्रस्तुति नराख्ने भएको छ । आफ्नो प्रस्तुति सिस्नुपानी नेपालले यसपटक नराख्ने भएको शैलेन्द्रले जानकारी दिएका छन् । 

“मलाई टंकजी (टंकराज आचार्य) ले फोन गरेर तपाईंको प्रस्तुति राख्न नसकिने भयो । यो पटक कार्यक्रमको डिजाइन फरक बनाएका छौं भन्नुभयो,” शैैलेन्द्रले बाह्रखरीसँग भने, “‘बा’ कार्यक्रममा तपाईंको प्रस्तुति राख्न नसकिने भयो भन्नुभयो । देउसीका लागि तयारी गर्नुस् भनेपछि मैले तयारी गरिसकेको थिएँ । मैले उहाँलाई स्पष्ट भन्नुस् भन्दा उहाँले माथिबाट आपत्ति आयो भन्नुभयो ।”

शैलेन्द्र हास्य व्यङ्ग्य भनेकै जनता रिझाउने, नेता बिझाउने भएको बताउँछन् । व्यङ्ग्यमार्फत् स्तुति पनि गाउन नहुने र ठाडो गाली पनि गर्न नहुने उनको तर्क छ । 

“मेरो हास्यव्यङ्ग्य सुन्न नेताहरु नसक्ने र नेताहरु आउन बाधा हुने भनेपछि त्यसो भए ठिकै छ भनेँ,” शैलेन्द्र भन्छन्, “सभ्य शैलीमा व्यङ्ग्य गरे जस्तो लाग्थ्यो । कसरी सुन्नै नसक्ने भएछ, मलाई नै अचम्म लागिरहेको छ ।” 

शैलेन्द्रका अनुसार सिस्नुपानीले उनले प्रस्तुत गर्ने व्यङ्ग्य उनीसँग मागेको थिएन । व्यङ्ग्य माग्दै नमागी उनलाई हटाइएको हो । 

सिस्नुपानी नेपालका कलाकार मनोज गजुरेलले आफू यो वर्षको कलाकार छनोटमा सहभागी नभएको यद्यपि माथिको आदेशकै आधारमा कसैलाई राख्ने निर्णय भएको भए त्यो गलत भएको बताए ।

यता सिस्नुपानी नेपालले भने शैलेन्द्रलाई हटाउनुको कारण कतैको आदेश वा दबाब नरहेको स्पष्ट पारेको छ । “कसैलाई हटाउने र राख्ने प्रकृतिको संस्था होइन हाम्रो,” सिस्नुपानी नेपालका टङ्कराज आचार्यले भने, “शैलेन्द्रजीको यो वर्ष पालो नपरेको मात्रै हो ।”

शैलेन्द्र दुई वर्षदेखि सिस्नुपानी नेपालमा आबद्ध छन् । सिस्नुपानी नेपाल र प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष व्यङ्ग्यात्मक देउसी कार्यक्रम आयोजना गर्दै आएको छ । 

यस्तो थियो शैलेन्द्रले यो वर्षका लागि तयार गरेको व्यङ्ग्यः

हे आमा जननी सुपुत्र गतिलो अन्तै तुहायौ कि त 
मात्रै संकट जन्मिने कुलतको पैंचो लियौ कोसित 
हेर्नुस् कस्तो अचम्म कर तिरेन भने फाइन तिर्नुपर्छ, 
तिर्न जाँदा लाइन बस्नुपर्छ 
रिक्सावालाले कर तिरेन भनेर कराउने देश 
एनसेलसँग कर उठाउन डराउने देश 
सोलुमा हिउँ पर्दा तालुमा शीतल हुने देश 
गजुरीमा समातेको सुन काठमाडौं ल्याउँदा पित्तल हुने देश 
सुन समातेको प्रमाण प्रष्ट पारिने देश 
सुन थन्क्याएको प्रमाण नष्ट पारिने देश 
सरकारले गुन्डा पालेर जनता लुटेको देश 
पैसाको भागबण्डा नमिलेर पार्टी फुटेको देश 
विकृतिलाई प्रोत्साहन सिर्जनालाई तिरस्कार 
ठूलो रकम खान सानो रकम चमेना 
हेर्नुस् कस्तो अचम्मः बन्दुक समात्ने जनता 
कोदालो समाउने सेना 
यो भन्दा अचम्म के हुन सक्छ यो देशमा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro