काठमाडौं । चलचित्र अडियो–भिजुअलको माध्यम हो । दृश्य र ध्वनीको प्रयोग बिना चलचित्र बन्न सक्तैन । यी दुई चलचित्रका परिपूरक हुन् । दृश्य र ध्वनी चलचित्रका लागि समान महत्वका विषय भए पनि नेपाली चलचित्रमा यी दुई माध्यमलाई समान रुपमा लिइँदैन । भिजुअललाई उच्च प्राथमिकता दिइए पनि साउन्डलाई बेवास्ता गरिन्छ ।
चलचित्र निर्देशक विनोद पौडेल भिजुअललाई मात्रै प्राथमिकता दिँदा त्यसको असर समग्र चलचित्रमा परिरहेको बताउँछन् । महत्वका हिसावले भिजुअल र साउन्ड बराबरी भए पनि नेपाली निर्माताको प्राथमिकतामा साउन्ड नपरेको उनको गुनासो छ ।
चलचित्र निर्देशक हेमराज बिसी नेपाली चलचित्र भिजुअलमा विदेशी चलचित्रले प्रयोग गरिरहेको प्रविधि प्रयोग गरे पनि साउन्डमा भने निकै कमजोर रहेको बताउँछन् । “हामीले भिजुअल राम्रो खिच्न थाले पनि अडियोमा हामीले कति पनि काम गर्न सकेका छैनौं । अडियोलाई कहिल्यै पनि हामीले प्राथमिकता दिएनौं,” हेमराज भन्छन्, “जति भिजुअलको महत्व छ, त्यति नै अडियोको पनि महत्व छ भन्ने हामीले बुझेनौं । भिडियोको पाँच प्रतिशत बजेट पनि अडियोमा लगानी गरिरहेका छैनौं ।”
निर्देशक विनोद कुल चलचित्रको दुईदेखि तीन प्रतिशत बजेट मात्रै खर्च भइरहेको बताउँछन् । बाँकी प्रायः सबै बजेट भिजुअलकै हो । कलाकारको पारिश्रमिकदेखि लाइट, क्यामेरा तथा क्रु मेम्बर सबैले गर्ने काम भिजुअल भित्रै पर्छ ।
स्क्रिप्ट लेखनदेखि नै साउन्ड डिजाइनरसँगै बसेर काम गर्नुपर्नेमा नेपालमा पोस्ट प्रोडक्सनमा गएपछि मात्रै साउन्ड डिजाइनरलाई साउन्डको काम दिने गरेको विनोदको भनाइ छ । “साउन्ड र इमेज चलचित्रका सबैभन्दा महत्वपूर्ण पक्ष हो । साउन्ड र इमेज मिलेर स्टोरी टेलिङ हुन्छ । तर नेपालमा कहिल्यै साउन्डको कुरै हुँदैन,” विनोद भन्छन्, “स्क्रिप्ट तयार भएपछि प्रि–प्रोडक्सनमा नै साउन्ड डिजाइनर बस्नुपर्छ । वर्कसपमा बस्नुपर्छ र लोकेशनमा पनि साउन्ड डिजाइनर हुनुपर्छ ।”
साउन्ड डिजाइनरले साउन्ड स्क्रिप्ट लेख्छ । तर नेपालमा आजसम्म कुनै पनि चलचित्रमा साउन्डको स्क्रिप्ट लेखेको पाइएको छैन । साउन्ड डिजाइनरको स्क्रिप्ट प्रोडक्सन डिजाइनर र निर्देशकको भिजनसँग मिलेपछि साउन्ड डिजाइनरले काम गर्ने ठूला चलचित्र उद्योगमा परिपाटी छ । प्रि–प्रोडक्सन देखि नै साउन्ड डिजाइनरले काम गर्छ । तर नेपालमा भने पोष्ट प्रोडक्सनको पनि अन्तिममा रिलिजको दुई हप्ता अगाडि मात्रै साउन्ड डिजाइनरलाई चलचित्र दिने गरेको विनोद बताउँछन् ।
निर्देशक हेमराज नेपालमा सिङ्क साउन्ड र फोलीको काम पनि अपवादकै रुपमा हुने गरेको बताउँछन् । “सिङ्क साउन्ड, फोली, डविङ, ब्याकग्राउन्ड, फाइनल मिक्सको काम विदेशमा फरक–फरक स्टुडियोले गर्छ । तर नेपालमा पाँच छ वटा स्टुडियोका काम एउटै स्टुडियोले गरिरहेको छ,” हेमराज भन्छन्, “अडियोले जति फिल्मलाई उठाउन सक्छ, नेपाली चलचित्र त्यसमै चुक्छ ।” दक्ष जनशक्ति र स्टुडियोको अभावसँगै वर्किङ कल्चरको पनि अभाव रहेको उनको गुनासो छ । साउन्डमा किन खर्च गर्नै पर्दैन भन्ने मानसिकता रहेको उनी बताउँछन् । “अडियन्सले कहाँ थाहा पाउँछ र भन्ने मेकरको मानसिकता छ । अडियन्सले थाहा पाउँछ कि पाउँदैन भन्दा पनि हाम्रो चलचित्रमा कमजोरी छ कि छैन भन्ने हो,” उनी भन्छन्, “दर्शकलाई ठग्यौं भन्ने भ्रम मेकरमा छ । तर मेकर स्वयम् ठगिएको चाहिँ उनीहरुलाई नै थाहा छैन ।”
नेपाली चलचित्रका निर्माताहरुले साउन्ड महत्व बुझ्न नसक्नु नै मुख्य कमजोरी भएको साउन्ड डिजाइनर किशोर आचार्य बताउँछन् । ८० प्रतिशत साउन्डको भूमिका भए पनि नेपाली चलचित्रका निर्माताहरुले यसलाई बुझ्न नसकेको उनी बताउँछन् । हलिउड तथा बलिउडमा साउन्डमा २० प्रतिशतसम्म खर्चिने गरेपनि नेपालमा भने ६० हजार देखि अढाई लाखसम्म बजेट छुट्टयाउने गरेको उनको भनाइ छ ।
चलचित्रको साउन्ड राम्रो नहुँदा हलमा जडित प्रविधिसँग मेल नखाँदा चलचित्रको साउन्ड थप बिग्रिने गरेको छ । चलचित्र घरमा ७.१ डल्बी सराउन्ड साउन्ड सिस्टम जडान गर्न थालिए पनि नेपाली चलचित्रमा भने ५.१ सराउन्ड साउन्ड मिक्सिङमा काम भइरहेको छ । यसको असर हलमा आउने साउन्डमा प्रत्यक्ष पर्ने गरेको छ ।