आफ्नो सम्मान नरुचाउने व्यक्ति बिरलै भेटिएलान् । अझ सार्वजनिक पदमा पुग्नेमध्ये धेरैमा त मान सम्मानको मोह बढी नै देखिन्छ । पद र शक्तिसँग सम्मानको भोक पनि बढ्दै जान्छ । मध्ययुगका सामन्तहरूले आफूलाई जनसाधारणभन्दा विशिष्ठ देखाउन सम्मानका विभिन्न श्रेणी प्रचलनमा ल्याए । अहिले संसारका सबै शासकहरू आफूलाई लोकतन्त्रवादी भन्न रुचाउँछन् । तर, उनीहरूको अभ्यास र रुचि भने मध्ययुगका अधिनायकको भन्दा तात्त्विकरूपमा फरक देखिँदैन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सञ्चार माध्यममा जनसाधारणभन्दा शासकलाई विशेष मानेर सम्बोधन गरियोस् भन्ने चाहनामा त्यही मध्ययुगीन सामन्ती मानसिकता प्रदर्शित भएको छ । अहिलेसम्म कुनै पत्रकारका आमाबाबु कसैले आफूलाई सन्तानले तिमी लेखे भनेर गुनासो गरेको सुनिएको छैन ।
सबैलाई ‘तिमी’ सम्बोधन गरेर मूलधारका प्रायःजसो नेपाली सञ्चार माध्यमले भाषिक लोकतन्त्रको अभ्यास थालेका हुन् । त्यसभन्दा पहिले सञ्चार माध्यममा पनि समाजमा जस्तै भाषिक विभेद र विभाजनको अभ्यास हुन्थ्यो । महिला, बालबालिका, दलित, अपाङ्गता हुनेहरूका लागि ‘तँ’ ‘तिमी’ र अरू पुरुषका ‘तपाईँ’ प्रयोग गरिन्थ्यो । राजपरिवारका लागि त झन् ‘मौसुफ’ शब्द प्रयोग गर्नुपथ्र्यो । शैलजा आचार्य वा सहाना प्रधानलाई ‘तिमी’ र अरू कुनै पुरुष राजनीतिकर्मीलाई ‘तपाईँ’ लेख्नेसमेत अभ्यास थियो । नेपाली भाषामा कर्ताअनुसार क्रियापदको संगति कायम गर्नुपर्छ । राजतन्त्र रहँदासम्म राजपरिवारको मौसुफ पनि कायम रह्यो तर अरू सबैलाई ‘तिमी’ सर्वनाम प्रयोग गर्ने अभ्यास दोस्रो जनआन्दोलनभन्दा पहिले नै थालिएको हो । त्यही परम्परामा अहिले मूलधारका सञ्चार माध्यममा सबैलाई समान आदर गर्न आदरार्थी ‘तिमी’ प्रयोग गरिन्छ । प्रधानमन्त्री ओलीलाई भने आफूलाई सञ्चार माध्यममा ‘तिमी’ भनिएको पटक्कै रुचेन ।
सबैलाई एउटै सर्वनाम ‘तिमी’ प्रयोग गरेकोमा प्रधानमन्त्री ओलीले मूलधारका सञ्चारकर्मीलाई पटकपटक दुत्कारेका छन् । त्यसो त सञ्चारकर्मीलाई वैरी ठान्ने शासक प्रधानमन्त्री ओलीमात्र हैनन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मूलधारका विशेषगरी उदार सञ्चार माध्यमहरूप्रतिको वैर सबैले थाहा पाएकै विषय हो । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते ट्रम्पभन्दा पनि बढी मुखर छन् सञ्चार माध्यमका विरुद्ध । भारतमा स्वतन्त्रताभन्दा पहिलेदेखि गर्व गरिने ‘प्रेस स्वतन्त्रता’ अब मूलधारका माध्यमहरूमा छैन । सबैजसो ठूला माध्यमलाई प्रधानमन्त्री नरेन्द्र मोदीको ‘गोदी मिडिया’ भन्ने गरिन्छ । यो सूची निकै लामो हुन्छ । ट्रम्प, दुतेर्ते, मोदी अनुदार राजनीतिक धारमा नेता हुन् । उनीहरू कसैल पनि समानता वा प्रगतिशीलताका निम्ति संघर्ष गरेका थिएनन् । लोकतान्त्रिक विधिबाट निर्वाचित भए पनि यिनीहरू उदार लोकतन्त्रवादी वा प्रगतिशील हैनन् । व्यावसायिक सञ्चार माध्यममा भने सञ्चार कक्षमा उदार लोकतन्त्रवादीको बाहुल्य हुन्छ । यसैले अनुदारवादीहरूले सञ्चार माध्यमलाई वैरी ठान्नु उति अस्वाभाविक पनि हैन ।
परन्तु, नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओली भने आफूलाई लोकतन्त्रको लागि ठूलो त्याग गरेको कम्युनिस्ट मान्छन् । उनले समेत सबैलाई समान सम्मान गर्ने ‘तिमी’ शब्दलाई अराजकताको पर्याय ठान्नु आश्चर्यजनक विडम्बना हो । भाषामा व्यक्तिको मानसिकता व्यक्त हुन्छ भन्ने भाषा वैज्ञानिक अवधारणाअनुसार त प्रधानमन्त्री ओलीभित्र सामन्ती शासक हुने चाहना पो लुकेको मान्नुपर्ने भयो । प्रधानमन्त्री ओलीलाई जति मन नपरे पनि मूलधारका सञ्चार माध्यमले समान सम्मानार्थी ‘तिमी’को प्रयोग पक्कै छाड्ने छैनन् । ‘मौसुफ’लाई ‘तिमी’सम्म ल्याउन नेपाली सञ्चारकर्मीले पनि लामै संघर्ष गरेका छन् । प्रधानमन्त्री ओलीको बोलीमा उनको मानसिकता प्रकट भएको मान्ने हो भने सञ्चारकर्मीहरूका लागि आगामी दिनहरू थप चुनौतीपूर्ण हुनेछन् । ‘‘स्वतन्त्रताको मूल्य निरन्तरको सजगता हो’’ त्यसै भनिएको कहाँ हो र ?