site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचवटा सडक जोडिए पनि टोड्के पुग्नै सकस

म्याग्दी । म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँचवटा सडक छन् । 

पाँचवटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्किल हुने गरेको छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन पाइने समुन्द्री सतहदेखि दुई हजार चार सय ३० मिटर उचाइमा रहेको पर्यटकीय गन्तव्य हो । 

प्रशस्त पर्यटकीय सम्भावना बोकेको टोड्के जोड्ने सडक धेरै भए यात्रा भने सकसपूर्ण हुने गरेको हालै त्यहाँको भ्रमण गरेर फर्किएका बेनीका देवी जिसीले बताए । “टोड्के पुग्नै समस्या छ, पुगेपछि भने रमाइलो छ”, उनले भने ।  

बेनी नगरपालिका–१० वाखेत, रघुगंगा गाउँपालिका–५ झिँ, बेनी नगरपालिका–५ डडुवा, मंगला गाउँपालिका–१ पूर्णगाउँ र कुहुँ–भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् । घुम्ती तथा ग्रेड नमिलेको कच्ची सडकमा बर्खा र हिउँ पर्ने समयमा यातायातका साधन चल्दैनन् । अन्य समयमा पनि यात्रा जोखिमपूर्ण छ । 

मंगला–१ पूर्णगाउँका खगेन्द्र खत्रीले निर्माण भएका सडक स्तरोन्नति गर्नेभन्दा नयाँ सडक निर्माण गर्ने होडबाजीले कुनै सडक स्तरीय बन्न नसकेको बताए ।  

महँगो भाडा
टोड्के हिल रिसोर्ट एण्ड होमस्टे प्रालिका सञ्चालक भीम शेरचनले सडकको समस्याका कारण अपेक्षाकृत रुपमा टोड्केमा पर्यटक आउन नसकेका बताए । “हिउँ नपरेको र वर्षा नहुँदा मोटरसाइकल, जीप र ट्याक्टर मात्र चल्छन्”, उनले भने, “ढुवानी र गाडी रिजर्भ गर्दा महँगो शुल्क तिर्नुपर्छ ।” 

पर्यटकले सडकको विषयमा गुनासो गर्ने गरेका शेरचनले बताए । बेनीदेखि एउटा ग्यासको सिलिण्डर टोड्के लैजाँदा २५० भाडा तिर्नुपर्छ । नियमित गाडी नचल्ने भएकाले पर्यटकहरु त्यहाँ पुग्न गाडी रिजर्भ गर्नुपर्छ । 

बेनी–अर्थुंगे–झिँ हुँदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेंगे–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर), १९ किलोमिटर दुरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के र बेनी–अर्थुंगे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ । 

बेनी–सिम–कुहँ–पूर्णगाउँ हुँदै टोड्के जोड्ने २९ किलोमिटर दूरीको सडकको विकल्पमा गत आर्थिक वर्षमा मंगला गाउँपालिकाले २२ लाख रुपैयाँ खर्चेर कुहुँ–भिरकटेरा–टोड्के सडक निर्माण गरेको थियो । बस्ती, बस्तीको अनुकुलताका लागि खनिएका सबै सडकमा गाडीलाई घुम्ती नपुग्ने र ग्रेड नमिल्ने समस्या छ । 

पालिकाहरुको प्राथमिकता सडकमै  
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीदेखि सात किलोमिटरमाथि जम्रेनीसम्म सडक कालोपत्र र ढलान भएको जानकारी दिँदै तोरीपानीसम्मको थप चार किलोमिटर सडक प्रदेश सरकारमार्फत स्तरोन्नति भइरहेको बताए ।  

मुख्य बेनी–पाखापानीबाहेक बस्तीदेखि टोड्के जोड्ने कुन सडकलाई प्राथमिकता दिने भन्ने यकिन नहुँदा समस्या भएको उनको भनाइ छ । प्रदेश सरकारको रु २० करोड बजेटबाट स्तरोन्नति भइरहेको बेनी–पाखापानी सडकमा यस वर्ष बेनी नगरपालिका र संघीय सरकारको साझेदारीमा कार्यान्वनय हुने गरी रु तीन करोड बजेट विनियोजन भएको छ । बेनीदेखि पुलाचौरतर्फको सडकअन्तर्गत पुरुण्डेसम्मको सडक ढलान र कालोपत्र भएको छ । 

रघुगंगा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले झिँदेखि टोड्के जोड्ने सडकलाई क्रमागत योजनाका रुपमा स्तरोन्नति भइरहेको र चालु आवमा संघीय सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको बताए ।  

मंगला गाउँपालिकाले सिमदेखि कुहु हुँदै टोड्के जोड्ने सडकअन्तर्गत सिमदेखि कोत्रवाङ हुँदै करिब दुई किलोमिटर कालोपत्र र ढलान गरिसकेको छ । मंगला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले संघीय सरकारले विनियोजन गरेको रु एक करोड बजेटमार्फत कुहुँ–भिरकटेरा–टोड्के सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको बताए ।  

टोड्केको आकर्षण 
गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो शुङ्खलालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । 

हिमाल अगाडि बसेर योग र ध्यानमा पनि रमाउन सकिन्छ । यहाँ उत्पादन भएका अर्ग्यानिक मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेकाले टोड्के  धार्मिक महत्वको पनि स्थल हो । 

डाँडाको शिरमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा छन् । 

आश्रम परिसरमा गौशाला पनि सञ्चालनमा छ । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro