काठमाडौं । “सर उहाँहरुको पनि टिकट काटिदिनु हुन्छ ?” कुमारी हलको टिकट काउन्टरमा एकजना पत्रकारले चलचित्र निर्देशकलाई भने ।
विनोद पौडेल (बुलबुल निर्देशक) यसो पत्रकारतर्फ फर्किए । तीनजना थिए । दुईजनालाई चिने । पत्रकार थिए । एक जना चिनेनन् ।
पत्रकारको टिकट लिइदिने र ? नराम्रो अर्थ लाग्दैन ?
“केही हुँदैन सर ।”
विनोदले आफ्नोसँगै दुई जनाको टिकट लिइदिए ।
केही दिनपछि विनोदको इनबक्समा कसैले एउटा लिङ्क पठायो । अधिकांशले उनको चलचित्र (बुलबुल)को समीक्षा राम्रो भनेर लेखिरहेको बेला त्यो समीक्षा नकारात्मक थियो । “त्यो समीक्षा पढेर मलाई हाँसो उठ्यो । रचनात्मक आलोचनालाई म सधैं आत्मसाथ गर्छु । तर त्यसमा रचनात्मक आलोचना थिएन । पूर्वाग्रही थियो,” विनोद भन्छन्, “पछि मलाई कसैले भन्यो, “फिल्म त राम्रै लागेको थियो । तर अरुको टिकट काटिदिने, मेरो नकाटिदिने ? त्यही भएर मैले बुलबुलाई खेदेको !”
रचनात्मक आलोचना भएन भने चलचित्रकर्मीले सुध्रने मौका नपाउने पौडेलेको भनाइ छ । ‘‘तर आलोचना पूर्वाग्रही हुनुहुँदैन । म सधैं समीक्षकको रचनात्मक आलोचनाको स्वागत गर्ने मान्छे । तर यस्तो पूर्वाग्रही समीक्षाले चलचित्रलाई मात्रै होइन अन्य समीक्षकमाथि नै आमपाठकको नजर पनि नकारात्मक हुन जान्छ,” नेपाली चलचित्रको समीक्षामा रहेको एउटा प्रवृत्ति सुनाउँछन् पौडेल, “हामीले राम्रो फिल्म बनाउन नसकेको पक्कै हो । तर जस्तो फिल्म बनेको छ, त्यही आधारमा समीक्षा लेखिनुपर्छ । केही पत्रकारका आफ्नै अनलाइन छन् । ती अनलाइनलाई विज्ञापन दियो भने जस्तोसुकै चलचित्रको पनि राम्रो भनेर समीक्षा गर्ने । विज्ञापन दिएन भने राम्रो भए पनि नराम्रो भनेर समीक्षा गर्ने चलन छ ।”
यस्तो प्रवृत्तिले पैसा खर्च गर्न सक्ने, तर राम्रो चलचित्र बनाउन नसक्ने निर्देशकलाई समेत अन्ततः नकारात्मक असर नै गर्ने उनको भनाइ छ । नेपालमा प्रायः चलचित्रको समीक्षा कथाको मात्रै हुने गरेको छ । भिजुअलको माध्यम भएकाले चलचित्रको समीक्षा गर्दा सबै पक्षको गरिनुपर्नेमा कमैमात्र अन्य पक्षको समीक्षा हुँदै आएको छ ।
चलचित्रमा कथासँगै साउन्ड, सिनेमेटोग्राफी, सामाजिक–राजनीतिक अवस्था, समसामयिकता, अभिनयलगायत सबै पक्षको समीक्षा हुनुपर्ने निर्देशक नरेशकुमार केसी बताउँछन् ।
“चलचित्रको समीक्षा भनेको कथाको समीक्षा मात्रै होइन । चलचित्र निर्माणका सबै पक्ष साउन्ड, सिनेमेटोग्राफी, सामाजिक–राजनीतिक अवस्था, समसामयिकतालगायत सबै कोणबाट समीक्षा गरिनुपर्छ,” केसी भन्छन्, “ब्याकग्राउन्ड स्कोर, चलचित्रभित्र प्रयोग भएका बिम्ब र प्रतीकको अर्थ के हो ? चलचित्रले भन्न खोजेको के हो त्यो समीक्षामा आउनुपर्छ ।”
आमदर्शक चलचित्रको भित्री तहसम्म पुगेर बुझ्दैनन् र त्यसका लागि प्रयास पनि नगर्ने भएकाले त्यो काम समीक्षकको भएको उनको भनाइ छ ।
कलाकार तथा निर्माता दीपकराज गिरी नेपालमा तीन प्रकारका समीक्षक रहेको बताउँछन् । “तीन प्रकारका समीक्षक छन् नेपालमा,” गिरी भन्छन्, “पहिलो, जे देख्यो त्यो लेख्ने । दोस्रो, अपरिपक्व र तेस्रो, यसलाई सिध्याउँछु नै भनेर लेख्ने ।” त्यसबाहेक ‘पेड’ (पैसा लिएर लेख्ने) समीक्षक पनि रहेको उनको आरोप छ । पैसा पाए चार स्टार नपाए एक स्टार दिने समीक्षकप्रति उनको गुनासो छ ।
समीक्षकको काम चलचित्रमा रहेका राम्रा–नराम्रा पक्ष छुट्टयाएर हेर्ने–नहेर्ने जिम्मा दर्शकलाई नै छाड्नुपर्नेमा नेपालमा भने त्यस्तो चलन नरहेको गिरी बताउँछन् ।
“नेपालमा चलचित्र निर्माणको वातावरण, अहिले बनिरहेका चलचित्रको अवस्था र यो चलचित्रमा यो–यो कमजोरी छ भनेर भन्दा हामी खुसी नै हुन्छौं,” उनी भन्छन् ।
निर्देशक दीपेन्द्र लामा नेपालमा दक्ष र इमानदार समीक्षकको सङ्ख्या कम रहेको बताउँछन् । इमानदार र दक्ष समीक्षकभन्दा चलचित्रबारे पर्याप्त जानकारी नरहेका समीक्षकको सङ्ख्या धेरै रहेको उनको भनाइ छ ।
नेपाली र हिन्दीबाहेकका चलचित्र हेर्ने समीक्षकको सङ्ख्या निकै कम रहेको उनी बताउँछन् । “नेपाली समीक्षकको एक्सपोजर कम छ भन्ने लाग्छ,” पूर्वपत्रकार तथा चलचित्र समीक्षक समेत रहेका लामा भन्छन्, “नेपाल र भारतबाहेक इरानी, अङ्ग्रेजी तथा क्लासिक र गम्भीर प्रकृतिका चलचित्र कति हेर्छन् ? वल्र्ड सिनेमाको नलेज छ कि छैन ? त्यसले समीक्षा लेखनमा असर गर्छ ।”
त्यसो त नेपालमा समीक्षा पढेर चलचित्र हेर्न जानेको सङ्ख्या त्यति धेरै नरहेकाले समीक्षाले बक्सअफिसमा ठूलो असर नपार्ने उनी बताउँछन् । नेपालको सन्दर्भमा चलचित्र समीक्षा बौद्धिक बहस मात्रै भएको लामाको भनाइ छ । ‘‘तर बौद्धिक बहस सिर्जना गर्ने समीक्षा लेख्ने व्यक्ति पनि बौद्धिक नै हुुनुपर्छ,’’ उनी भन्छन्, “यहाँ कतिले समीक्षा लेख्दा निर्देशक र निर्माताको अनुहार हेरेर लेख्छन् । यसको अन्त्य हुनुपर्छ ।”
“मैले नराम्रो भनेर समीक्षा लेखेका धेरै चलचित्रले बक्सअफिसमा राम्रो कमाई पनि गरेका छन्,” आफ्नो समीक्षा सम्झँदै लामा भन्छन्, “मैले राम्रो भनेर समीक्षा गरेका चलचित्र बक्सअफिसमा फ्लप पनि भएका छन् ।”