नेपालको दुई दिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न गरी चीनका राष्ट्रपति सी जिनपिङ भर्खरै स्वदेश फर्के । एक्काइसौं शताब्दीमा नेपालको भ्रमणमा आउने सी पहिला चिनियाँ राष्ट्रपति हुन् । यसभन्दा पहिले राष्ट्रपति सीका पूर्ववर्ती राष्ट्रपति जियाङ जेमिन सन् १९९६ मा नेपाल भ्रमणमा आएका थिए । विश्व परिदृश्यमा उतिबेला भन्दा अहिले चीन धेरै अगाडि आएको छ । यसैगरी नेपालको चीनसँगको निकटता पनि दुई दशकअघिका तुलनामा धेरै बढेको छ । विशेषगरी २०७२ सालको भूकम्पले थिलथिलो भएको नेपालमाथि भारतले राजनीतिक आग्रह राखेर नाकाबन्दी लगाएपछि नेपालीहरूको ध्यान चीनतर्फ गएको हो । बितेका ४ वर्षमा नेपाल र चीनबीचको सहयोग र सम्बन्ध निरन्तर निकट हुँदै गएको छ । त्यही सम्बन्धलाई राष्ट्रपति सीको भ्रमणले थप सुदृढ बनाएको छ ।
नेपाल र चीन सरकारबीच २० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भावना अध्ययन, टोखा–छहरे तथा बेत्रावती – स्याप्रुबेसी सुरुङ माग निर्माणलगायत समावेश भएका छन् । यी सम्झौता र समझदारीहरूबाट भौतिक पूर्वाधारमा ठोस प्रगति हुनुका साथै नेपालमा पर्यटक, चिनियाँ लगानी बढ्ने अपेक्षा राखिएको छ । तर, समझदारी वा सम्झौतामा हस्ताक्षर र चिनियाँ प्रयासले मात्र यस्ता योजना पूरा हुने हैनन् । नेपालको प्रशासन संयन्त्रले भने सहमति, सम्झौता, प्रतिबद्धताजस्ता विषयप्रति गम्भीर हुन जानेकै छैन । यसैले जनतालाई आशा देखाएअनुसार कार्यान्वयन सुनिश्चित गर्न पनि सरकारले विशेष ध्यान दिनु आवश्यक छ । राष्ट्रपति सीको भ्रमणका बेला भएका सबै सम्झौता कार्यान्वयन भएको देख्न पाइयोस् !
एउटै सम्झौता नभएको भए पनि राष्ट्रपति सीको भ्रमण अत्यन्त सफल र उपलब्धिपूर्ण मानिनसक्थ्यो । राष्ट्रपति सीले भनेजस्तै उनको भव्य स्वागत नेपाली सद्भावको परिचायक हो । हुन पनि नेपाली समाजको राष्ट्रपति सीप्रतिको धारणा अत्यन्त सकारात्मक र सद्भावपूर्ण रहेको छ । यसको उदाहरण सामाजिक सञ्जालमा पनि देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सामाजिक सञ्जालमा व्यक्त धारणा हेर्ने हो भने राष्ट्रपति सीप्रति नेपाली सद्भावको पुष्टि हुन्छ । सम्भवतः यसैलाई भारतीय सञ्चार माध्यम र बुद्धिजीवीहरूले नेपाल चीनसँग निकट भएको प्रमाण मान्दा होलान् । चीनप्रति नेपालीको सद्भाव प्रतिक्रियाको उपज हैन । भारतसँग भने विशेषगरी भुइँचालोका बेला गरेको नाकाबन्दीले दुखाएको चित्त अझै दुखेकै छ । सद्भाव आर्जन गर्ने उपाय भारतले चीनसँग सिके हुन्छ ।
नेपालीहरूको अभ्यास नभएर हो कि राष्ट्रपतिको स्तरबाटै दलगत संलग्नता देखाउनु भने सुहाएजस्तो नलाग्ने रहेछ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट चिनियाँ समकक्षीको प्रशंसा गर्दा ‘सी विचारधारा’का सम्बन्धमा प्रकट अभिव्यक्ति नेकपा (नेकपा)का कार्यकर्ताको जस्तो सुनियो । उनले राष्ट्रपति सीकै नेतृत्वको प्रशंसा गरेकी भए पनि शिष्टाचार पुग्ने थियो होला । यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङले राजकीय भ्रमणमा रहेका बेला आतिथेय देशको एउटा राजनीतिक दल नेकपा (नेकपा)का सचिवालय सदस्यहरूलाई भेट्नु पनि सुहाउँदो भएन । राष्ट्रपति सीले बरु संसद्मा प्रतिनिधित्व गर्ने अरू दलका नेतासँग भेटवार्ता गरेको भए उपयुक्त हुन्थ्यो होला । चीनमा एकदलीय व्यवस्था भएकाले पार्टी र सरकारबीच धेरै अन्तर नहोला तर नेपालको अभ्यास भने फरक छ । जेहोस्, यस्ता सानातिना अभ्यासगत त्रुटिले राष्ट्रपति सीको भ्रमणको महत्त्व भने घट्तैन ।
नेपाल भ्रमणमा आएर दुई देशबीचको मित्रता सुदृढ गराएकोमा मात्र हैन नेपालीप्रति देखाएको सद्भाव, विश्वास तथा समर्थनको निम्ति राष्ट्रपति सीप्रति हार्दिक आभार प्रकट गर्न हिचकिचाउनु पर्दैन ! नेपालीले राष्ट्रपति सीलाई फेरि स्वागत गर्ने मौका पाऊन् !