site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्रज कलाकारबाट टीका र आशिर्वाद लिने संस्कार खै ?

काठमाडौं । नेपाली कला साहित्यको क्षेत्रमा सम्मानको अभाव देखिएको छ । नेपाली समाजमा आफूभन्दा ठूलालाई सम्मान गर्दै आशिर्वाद लिने चलन रहे पनि कला साहित्यको क्षेत्रमा भने त्यस्तो रहेको पाइएको छैन । 

हिन्दू नेपालीहरुको महान चाड वडादसैंको आज दशौं दिन अर्थात् विजया दशमी । अधिकांशले घरघरमा बुवाआमा तथा मान्यजनको हातबाट टीका, जमरासँगै आर्सिवाद लिइरहेका छन् । तर नेपाली कला क्षेत्रमा कर्म दिने अग्रजहरुसँग टीका ग्रहण गर्ने र आशिर्वाद थाप्ने चलनको खडेरी रहेको छ । 

चलचित्र क्षेत्रमा अग्रजका रुपमा रहेका कलाकारहरुसँग टीका लगाउन कोही पनि जाँदैन । महानायक राजेश हमाल, सुपरस्टार भुवन केसी, शिव श्रेष्ठ लगायतका नायक रहे पनि उनीहरुभन्दा पछिल्लो पुस्ता उनीहरुसँग टीका थाप्न जाँदैनन् । उनीहरुसँगै नियमित काम गर्ने निकटका केही व्यक्ति गए पनि ठूलो संख्यामा उनीहरुभन्दा पछिल्लो पुस्ताका कलाकार जाँदैनन् ।   

नेपाली चलचित्र क्षेत्रकी अग्रज नायिका मध्येकी एक हुन्– करिष्मा मानन्धर । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी उनलाई अग्रज मान्न कोही पनि हिचकिचाउँदैनन् । तर उनीसँग टीका लगाउन तथा आशिर्वाद लिन जाने पछिल्लो पुस्ताको संख्या भने ठूलो छैन । उनीसँग निकट रहेका मात्रै उनीसँग टीका लगाउन जान्छन् । “दुई चार जना आउनुहुन्छ । प्राविधिक तथा केही नायिकाहरु र पत्रकारहरु पनि हुनुहुन्छ,” करिष्मा भन्छिन्, “तर ठूलो संख्यामा भने आउनुहुन्न ।” 

करिष्मा आफैं दसैंको अष्टमीको दिन दसैं कार्यक्रम आयोजना गर्दै आएकी छिन् । यद्यपि यो दसैंमा भने घर मर्मतको काम नसकिएकाले उक्त कार्यक्रम गर्न नपाएको उनी बताउँछिन् । “तिहारतिर गर्नुपर्ला, दसैंमा गर्न नपाएको कार्यक्रम,” उनी भन्छिन् । उनले हरेक दसैंमा आयोजना गर्दै आएको कार्यक्रममा करिष्मा आफू निकट कलाकर्मी तथा प्राविधिकहरुलाई बोलाउँदै आएकी छन् । करिष्मा हरेक वर्ष आफ्नै घरमा होली कार्यक्रम पनि आयोजना गर्दै आएकी छन् । 

चलचित्रमा भन्दा रङ्गमञ्चमा भने केही वर्ष अगाडिसम्म अवस्था फरक थियो । तर विस्तारै रङ्गमञ्चलाई पनि चलचित्रकै प्रवृत्तिले छुन थालिसकेको छ । 

गुरुकुलले आफ्नो भवन छँदा अग्रज नाट्कर्मीसँग टीका तथा आशिर्वाद ग्रहण गर्ने कार्यक्रम नै आयोजना गर्थ्यो । गुरुकुलको भवन भत्किएपछि लगभग यो परम्पराले विश्राम लियो । दुई वर्ष अगाडि गुरुकुलकै आयोजनामा मण्डला थिएटरमा कोजाग्रत पूर्णिमाको दिन सामूहिक टीका कार्यक्रम गरेपनि त्यसयता हुन सकेको छैन । गुरुकुलले सत्यमोहन जोशी र हरिप्रसाद रिमालको हातबाट टीका तथा आशिर्वाद लिने गरेको थियो । 

“गुरुकुलको आफ्नै भवन हुँदा हामी हरेक कोजाग्रत पूर्णिमा सामूहिक टीकको कार्यक्रम गर्दै आएका थियौं । तर गुरुकुलको घर नै नरहेपछि कार्यक्रम कहाँ गर्ने भन्ने पनि समस्या हुँदोरहेछ,” नाट्यकर्मी तथा निर्देशक प्रवीण खतिवडा भन्छन्, “एक वर्ष त मण्डलामा पनि गरेका थियौं । तर आफ्नै भवन अभावमा समस्या हुँदोरहेछ । यसवर्ष पनि यस्तो कार्यक्रम होस् । कसैले अगुवाई गरोस् भन्ने चाहना थियो । कसैले नेतृत्व लिएन ।” 

दुईतीन जना अग्रजसहित १२–१५ आफूले मान्ने व्यक्तिबाट नाट्यकर्मीले टीका तथा आशिर्वाद ग्रहण गर्ने गरेको खतिवडा स्मरण गर्छन् । नेपाली कला क्षेत्रलाई ठूलो योगदान गरेको र मनैदेखि आशिर्वाद थाप्ने व्यक्ति कोही नभएकाले पनि टीका लगाउने चलन कोही कसैकामा नजाने एक कलाकार बताउँछन् । “सायद हलिउड–बलिउडमा जस्तो कलाकारिताको क्षेत्रमा ठूलो योगदान दिएको भए त्यही लेभलमा पछिल्लो पुस्ताले पनि सम्मान गथ्र्यो होला,” ती कलाकार भन्छन्, “इन्डियामा अमिताभ बच्चनलाई त्यहाँका जनता मात्रै होइन, अधिकांश कलाकार नै भगवान सरह मान्छन् । हाम्रो त्यो हाइट बनाएको कलाकार को छ ?” 

उनी अगाडि भन्छन्, “अमिताभ वर्सेनि ५ हजारभन्दा धेरै कृषकको ऋण तिरिदिँदै आएका छन् । नेपालमा त्यो सोेचको न कोही कलाकार छ, न प्रवृत्तिको । त्यसकै उपज हो उनीहरुबाट आशिर्वाद नलिनुको ।” 

शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाल नेपाली चलचित्रको जग बसाउने नायक मानिन्छन् । उनीहरुले जग बसालेको चलचित्र क्षेत्रमा अहिले हजारौं कलाकार क्रियाशील छन् । तर, दसैंमा उनीहरुकै घर सुनसान प्रायः हुन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro