
काठमाडौं । नेपालीमा एउटा आहान छ, ‘आसलाग्दो केटो जेठाजु पर्यो ।’ यसको अर्थ हो– जे अपेक्षा गरियो, त्यसको ठिक उल्टो भयो । यस्तै भयो नेपाली चलचित्रका निम्ति वर्ष ०८१ ।
हाइप बनाएका चलचित्र चलेनन् । अपेक्षा गरेकै चलचित्र बक्सअफिसमा असफल भए । कलात्मक हिसाबले गजब होलान् भनिएकै चलचित्रले दर्शक र समीक्षकलाई निराश बनाए ।
चलचित्र उद्योगमा नाम भएका र विश्वास गरिएकै मेकरले दर्शकलाई विश्वास दिलाउन सकेनन् । विश्वास गरिएकै मेकर र कलाकार असफल भएको वर्ष हो, ०८१ ।
त्यसो त अनपेक्षित रूपमा केहीले सफलता पनि हात परे । हाइप राम्रो नभएका र विश्वास नै नगरिएका चलचित्रले गजब राम्रो व्यापार गरे ।
हाइप राम्रो बनाउन नसकेका र धेरैले आफ्नो क्यालेन्डरमा समावेश नगरेका चलचित्रले नै नेपाली सिनेमा उद्योगलाई गुलजार बनाए । नयाँनयाँ रेकर्ड बनाइदिए ।
वर्ष ०८१ मा नयाँ निर्देशकको ओइरो लाग्यो । दुई दर्जन चलचित्र लिएर नयाँ निर्देशकले नेपाली रजतपटमा डेब्यु गरे । ०८१ ले युवापुस्तामा चलचित्र निर्माणमा आकर्षण रहेको पुष्टि गर्यो । कतिले आफूलाई काबिल बनाउन सके/सकेनन् त्यो घामजस्तै छर्लंग रह्यो ।
यो वर्ष नेपाली चलचित्र उद्योगका निम्ति विशेष रह्यो । चलचित्र निर्माणका लागि इजाजत लिनेको संख्या उल्लेख्य बढ्यो । यसले अर्को वर्ष (०८२) प्रदर्शनमा भार देखिनेछ ।
०८१ लाई कमब्याकको वर्ष भन्न सकिन्छ । केही वर्षअगाडि नेपाली चलचित्र उद्योगमा रजगज गरेर लामो समय भूमिगत प्रायः भएका कलाकार सिनेमामा फर्किए ।
व्यापारको तथ्यांकका आधारमा पनि वर्ष ०८१ ऐतिहासिक रह्यो । यो वर्ष नेपाली बक्सअफिस गुलजार भयो । केहीको हात रित्तो हुँदा कतिपय मालामाल भए । स्टारडम खस्कियो । ओझेलमा रहेका पात्र चम्किए । स्टार कलाकारका चलचित्रले खासै धेरै व्यापार गर्न नसक्दा दोस्रो ‘लेयर’का कलाकार मजाले चले ।
० ० ०
०८१ मा ठूलो संख्यामा चलचित्र रिलिज भए । ६२ नेपाली चलचित्र रिलिज भएको चलचित्र विकास बोर्डसँग तथ्यांक छ । यही अवधिमा नेपालीभन्दा विदेशी सिनेमा यहाँ धेरै लागे । हिन्दी र अंग्रेजी गरेर ८४ विदेशी चलचित्र रिलिज भए ।
चलचित्र विकास बोर्ड स्रोतले ५९ नेपाली चलचित्रको बक्सअफिस रिपोर्ट उपलब्ध गराएको छ । त्यसानुसार, ५९ नेपाली चलचित्रले यहाँको बक्सअफिसमा एक अर्ब ६२ करोड ६३ लाख ९३ हजार ६०२ रुपैयाँ ग्रसकलेक्सन गरेका छन् । यो रकम सिंगल थिएटर र विदेशमा प्रदर्शन भएर कमाएबाहेकको हो ।
बोर्ड स्रोतले ८३ विदेशी चलचित्रको नेपाली बक्सअफिस रिपोर्ट उपलब्ध गराएको छ । यी चलचित्रले ८९ करोड ५८ लाख ७१ हजार ७१४ रुपैयाँ ग्रसकलेक्सन गरेका छन् ।
नेपाली र विदेशी सिनेमा गरेर वर्ष ०८१ मा यहाँको बक्सअफिसमा दुई अर्ब ५२ करोडभन्दा माथि ग्रसकलेक्सन भयो । यो नेपाली चलचित्रको सिंगल थिएटर र ओभरसिज मार्केटभन्दा बाहिरको कलेक्सन हो । सिंगलर थिएटरबाट धेरै पैसा नआए पनि ओभरसिजबाट नेपाली चलचित्रले राम्रै रकम नेपाल भित्र्याउँछन् ।
नेपालमा सबैभन्दा धेरै कमाउने १० चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘छक्का पञ्जा–५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘पुजार सार्की’, ‘घरज्वाइँ’, ‘फर्की फर्की’, ‘मनसरा’ र ‘लाजशरणम्’ छन् ।
टप टेन विदेशी चलचित्रमा ‘पुष्पा : द रुल’, ‘कल्की २८९८ एडी’, ‘स्त्री–२’, ‘सिंघम अगेन’, ‘भुलभुलैया–३’, ‘सिकन्दर’, ‘डेडपुल’, ‘छावा’, ‘द ग्रेटेस्ट अफ अल टाइम (जीओएटी) र ‘देभरा पार्ट वान’ छन् ।
०८१ वैशाख ६ देखि चैत २५ गतेसम्म नेपाली र यहाँका विभिन्न भाषाभाषीका गरेर ८७ सिनेमा विकास बोर्डले केन्द्रीय चलचित्र जाँचपास समितिमा सेन्सरका निम्ति सिफारिस गरेको तथ्यांक छ ।
० ० ०
०८० को अन्तिम दिन चैत ३० मा चलचित्र ‘डिग्री माइला’ रिलिज गरियो । रामबाबु गुरुङ निर्देशित यो चलचित्र ०८१ को नयाँ वर्षलक्षित प्रदर्शन थियो । ०८० मै प्रदर्शनमा आए पनि यसले हलमा अधिकांश अकुपाई गर्ने समय ०८१ को थियो ।
रामबाबुको ‘कबड्डी’ सिरिजजस्तै यसले बक्सअफिसमा ठूलो तरंग ल्याउँछ भन्ने अपेक्षा थियो । तर, दर्शक निराश भए । दर्शक निराश भएपछि बक्सअफिस सुक्खा हुने नै भयो ।
‘बोक्सीको घर’ वैशाख १४ मा रिलिज भयो । सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रलाई रिलिज हुँदासम्म धेरैले कमजोर आँकेका थिए । तर, यो चलचित्र ठिक त्यसैगरी चल्यो, जसरी यसको गीत ‘बुझिनँ मैले’ सुपरहिट भएको थियो ।
सुलक्षणको डेब्यु निर्देशन रहेको चलचित्रमा अभिनेत्री केकी अधिकारीको लगानी थियो । यो चलचित्रले अनपेक्षित रूपमा बक्सअफिस कलेक्सन गर्यो ।
अधिकांशले नजरअन्दाज गरेको ‘बोक्सीको घर’ले वैशाख २१ गते रिलिज भएको ‘मनसरा’लाई पनि हल खाली गरिदिएन । ‘बोक्सीको घर’ले आक्रामक व्यापार गर्दा उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’ छायामा पर्यो । अपेक्षाविपरीत ‘मनसरा’ले राम्रो समीक्षा पाएन । सोही कारण ‘बोक्सीको घर’ले ‘मनसरा’लाई उठ्नै दिएन ।
जेठ १० मा अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘फर्की फर्की’ र प्रदीप खड्का स्टारर ‘पुजार सार्की’ रिलिज भए । अनमोलको ‘फर्की फर्की’ले जसोतसो लगानी उठाउँदा प्रदीपको ‘पुजार सार्की’ले राम्रै कमाइ गर्यो ।
दुई दशकपछि निर्देशक नवीन सुब्बा जेठ २५ मा ‘गाउँ आएको बाटो’ लिएर आए । ठूलो प्रचार र अपेक्षाबीच यो चलचित्रले पनि बक्सअफिसमा लोभलाग्दो कमाइ गर्न सकेन । औसत समीक्षा पायो ।
नेपाली चलचित्रको उन्नयनका निम्ति अरूलाई प्रेरित गर्दै आएका र कलात्मक चलचित्रका लागि बहस तथा पैरवी गर्ने नवीनको ‘गाउँ आएको बाटो’ले सोचेजस्तो प्रतिक्रिया पाउन सकेन ।
दसैँको घटस्थापनाको दिन ‘बेहुली फ्रम मेघौली’ रिलिज भयो । स्वस्तिमा खड्का र निश्चल बस्नेत मुख्य भूमिकामा रहेको चलचित्रले ऐतिहासिक शो पायो । तत्कालीन समयमा सबैभन्दा धेरै ओपनिङ शो पाउने चलचित्रको रेकर्ड बनायो ।
तर, यो चलचित्रले न राम्रो समीक्षा पायो न ‘वर्ड अफ माउथ’ नै राम्रो पाउन सक्यो । बक्सअफिसमा पनि कमजोर सावित भयो ।
विश्वका ठूला फिल्म फेस्टिभलको फन्को लगाएर नेपाल प्रवेश गरेको चलचित्र ‘साम्बाला’ले पनि यहाँ धेरै दर्शकको साथ पाएन । भदौ २८ गते रिलिज गरिएको यो चलचित्रले लगानीको सानो हिस्सा पनि उठाउन सकेन । मिन भाम निर्देशित चलचित्रको चर्चाले भने पहाड उक्लिएको थियो ।
हरेक वर्षझैँ ०८१ को दसैँ पनि चलचित्रकर्मीका निम्ति सुखद बनेर आयो । कलात्मक र समीक्षात्मकभन्दा पनि व्यापारका हिसाबले उल्लेख्य रह्यो ।
नेपाली चलचित्र उद्योगकै ब्रान्डका रूपमा रहेको ‘छक्का पञ्जा–५’ सँग ‘१२ गाउँ’ भिड्न आइपुग्यो । यो भिडन्त वास्तवमा कमेडी र एक्सन चलचित्रको मात्र थिएन, कमेडीका उम्दा दीपकराज गिरी र एक्सनमा माहिर अभिनेता बिराज भट्टबीचको पनि थियो ।
एकार्काविरुद्ध प्रत्यक्ष/परोक्ष आलोचनामा उत्रिएका यी दुवै कलाकारका चलचित्रले बक्सअफिसमा उल्लेख्य कमाइ गरे । ‘छक्का पञ्जा–५’ लाई टक्कर दिन सक्दैन भन्ने धेरैको अड्कलबाजीविपरीत ‘१२ गाउँ’ले विस्तारै ‘पिकअप’ लिँदै गयो । अन्ततः ‘छक्का पञ्जा–५’ लाई पछि पार्यो । बक्सअफिसमा आक्रमक कलेक्सन गर्यो ।
‘१२ गाउँ’ले नेपाली चलचित्र उद्योगमा एक नयाँ एक्सन हिरोको सानदार ‘इन्ट्री’ गरायो । बिराजका छोरा समीर भट्ट नेपाली सिने नगरीमा प्रवेश गरे । उनकै कारण ‘१२ गाउँ’ चलेको धेरैको विश्वास छ । सामाजिक सञ्जालमा उनको लोभलाग्दो क्रेज देखियो । उनका प्रशंसकको संख्या ठूलो छ ।
समीर ०८१ ले नेपाली रजतपटलाई दिएको एक रत्न हुन्, उनले आगामी चलचित्रमा आफूलाई कसरी प्रस्तुत गर्दै जान्छन्, त्यो भविष्यको गर्वमा छ । तर, जसरी उनलाई आफ्नो चलचित्रमा खेलाउन मेकर लालायित देखिएका छन्, यसलाई बरकरार राख्न सके एक्सनमा केही वर्ष समीरले निःसन्देह रजगज गर्नेछन् ।
वर्ष ०८१ नेपाली चलचित्रका निम्ति दसैँभन्दा तिहार फलिफाप भयो । अधिकांशले नपत्याएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा सर्वकालिक ब्लकबस्टर भयो ।
लक्ष्मीपूजाको दिनदेखि रिलिज भएको चलचित्रले नेपाली बक्सअफिसबाट मात्र करिब ५० करोड रुपैयाँ कलेक्सन गर्यो । यसले ओभरसिज र नेपाली बजारबाट गरी करिब पौने एक अर्ब रुपैयाँ कलेक्सन गर्यो ।
सबैभन्दा धेरै कलेक्सन गर्ने, बढी शो पाउने, धेरै दर्शकले हेरेको सिनेमा, बिहान सबेरैदेखि राति अबेरसम्म शो पाउनेलगायत थुप्रै रेकर्ड यो सिनेमाको नाममा दर्ज भयो ।
नेपाली चलचित्र उद्योगका दोस्रो लेयरका कलाकार र निर्देशक लिएर नयाँ निर्माताले बनाएको सिनेमा थियो, ‘पूर्ण बहादुरको सारङ्गी’ । तर, बजारमा स्टार भनिएका कलाकारका चलचित्रले भन्दा धेरै र हिट मुभी मेकर भनेर दरिएका निर्देशकका सिनेमाले भन्दा बढी यसले कमायो ।
वर्ष ०८१ मा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली सिनेमाको बजार सानो छैन, एक अर्बको सेरोफेरो एउटै चलचित्रले कमाउन सक्छ भन्ने सन्देश दियो । सँगै यसले चलचित्र नामले होइन कामले, स्टारपावरले होइन, कन्टेनले चल्छ भन्ने पुनः एकपटक प्रमाणित गरिदियो ।
०८१ नेपाली चलचित्रका निम्ति उतारचढावपूर्ण रह्यो । केही चलचित्र चले, कतिपय चलेनन् । चल्छन् भनेर क्यालेन्डर मेन्टन गरिएका चलचित्र चलेनन् । नजरअन्दाज गरिएका चलचित्रले बजार लिए ।
‘ह्रस्व दीर्घ’ औसत रहँदा ‘तेलभिसा’ले पनि धेरै दर्शकलाई हलसम्म तान्न सकेन । त्यसपछिका ‘अग्निदहन’, ‘देववाणी’, ‘मिसिङ : केटी हराएको सूचना’, ‘एक्टर’, ‘एक्टर : टेक वान’, ‘बमबहादुर’, ‘फिरफिरे फिरिरी’, ‘दुःखी आत्मा’लगायत चलचित्र असफल मात्र होइन, निकै कमजोर भए ।
फागुन र चैतमा रिलिज हुने चलचित्रले ‘पूर्ण बहादुरको सारङ्गी’को रिलिजपछि सुस्ताएको बजारलाई पुनः उकास्नेछन् भन्नेमा धेरै ढुक्क थिए । विशेषतः ‘लाज शरणम्’ र ‘वसन्त’ले बक्सअफिस गुलजार बनाउँछन्, आमदर्शकलाई हलसम्म तान्छन् भन्ने धेरैको विश्वास थियो ।
तर, फागुन १४ मा रिलिज गरिएको ‘लाज शरणम’ र चैत २२ गते प्रदर्शनमा आएको ‘वसन्त’ यी दुवै चलचित्रले ‘विश्वासघात’ गरे । न दर्शकको मन जित्न सके न यिनको कलात्मक पक्ष बलियो भयो । कमजोर सिनेमा आउँदा ओरालो लागेको बक्सअफिस उठाउन मद्दत भएन ।
फागुन २९ गतेदेखि रिलिज गरिएको चलचित्र ‘अञ्जिला’ले दर्शकको मन जित्यो । औसत समीक्षा पाएर बलियो ‘वर्ड अफ माउथ’का साथ यो चलचित्रले आकर्षक आँकडामा कलेक्सन गरिरहेको छ ।
चैत १ गते रिलिज गरिएको ‘राजागंज’ले नेपाली बजारमा आफ्नो दबदबा राख्न सकेन । विश्वका ठूला फिल्म फेस्टिभल घुमेर आएको ‘राजागंज’ले नेपाली दर्शकको मन जित्न सकेन ।
मिश्रित समीक्षा बटुलेको यो सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो नहुँदा बक्सअफिसमा वर्षकै कमजोर चलचित्रको सूचीमा उभिन बाध्य भयो ।
चैत २९ गतेदेखि दुई सिनेमा रिलिज भएका छन्, ‘पिताम्बर’ र ‘कर्मा’ । वर्षको अन्तिममा आएका यी सिनेमा कस्ता छन्, बक्सअफिसमा कति काबिल प्रमाणित हुन्छन्, त्यो हेर्न बाँकी नै छ ।
० ० ०
वर्ष ०८१ ले हाइप हुँदैमा चलचित्र चल्दैनन् भन्ने प्रमाणित गरिदियो । यसको उदाहरणका रूपमा ‘डिग्री माइला’, ‘मनसरा’, ‘बेहुली फ्रम मेघौली’, ‘गाउँ आएको बाटो’, ‘राजागंज’, ‘फेरि रेशम फिलिली’, ‘लाज शरणम्’ र ‘वसन्त’लाई लिन सकिन्छ ।
व्यापक प्रचारप्रसार र ट्रयाक रेकर्डका आधारमा हाइप बनाएर रिलिज गरिएका चलचित्र पनि असफल रहे । कलात्मक पक्ष बलियो भनेर कुरेर बसेका दर्शक निराश भए ।
०८१ मा ट्रयाक रेकर्डले काम गरेन । विश्वास गरिएका मेकर र कलाकारले नै राम्रा चलचित्र बनाउन सकेनन् । इतिहासमा विश्वास गरिएका मेकरले दर्शकलाई ‘धोका’ दिए ।
महँगो पारिश्रमिक लिने कलाकारकै चलचित्र चलेनन् । दयाहाङ राईका सफलभन्दा असफल चलचित्र धेरै रहे । प्रदीपको ‘पुजार सार्की’ हिट हुँदा ‘एक्टर : टेक वान’ असफल भयो ।
सधैँ ‘सेकेन्ड रोल’मा देखिने विजय बरालले ‘लिड’ गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ हालसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो ।
डेब्यु निर्देशकले निर्देशन गरेको चलचित्र ‘बोक्सीको घर’ले आक्रामक कमाइ गर्यो । ट्रयाक रेकर्ड कस्तो थियो, त्यसले भन्दा पनि विषयको ल्याकतका भरमा चलेका थिए, यी चलचित्र ।
वर्ष ०८१ लाई निर्देशनमा डेब्युको वर्ष भने पनि हुन्छ । नयाँ निर्देशकको ओइरो लाग्यो । दुई दर्जन व्यक्ति पहिलोपटक कथानक चलचित्र लिएर आए । यसमा सफल भने सुलक्षण भारती मात्र भए । धेरै गुमनाम प्रायः रहे । रहर गरेर मात्र हुँदैन, अब्बल हुनुपर्छ भन्ने सबक पनि ०८१ ले सिकायो ।
‘पूर्ण बहादुरको सारङ्गी’ सर्वकालिक ब्लकबस्टर हुँदा सिनेमा निर्माणको लहर नै चल्यो । सिनेमा निर्माणका निम्ति इजाजत लिनेको संख्या उल्लेख्य रह्यो । तर, ‘पूर्ण बहादुरको सारङ्गी’पश्चात् बक्सअफिस सुस्ताउँदा त्यसको असर परे/नपरेको त्यो ०८२ मा रिलिज हुने सिनेमाको संख्याबाट थाहा हुनेछ ।
केही वर्षअगाडि नेपाली चलचित्र उद्योगमा लामो समय काम गरेर पलायन भएका कलाकार ०८१ मा फर्कने लहर चल्यो । राजबल्लभ कोइराला, विपना थापा, ऋचा घिमिरे, तुलसी घिमिरे, पूजा चन्द, मुकुन्द श्रेष्ठ, रमित ढुंगाना, दीपेन्द्र गौचन, उत्तम प्रधानलगायत कलाकार ०८१ मा फर्किए । यीमध्ये केही पर्दामा देखिन बाँकी छ ।
व्यापारका हिसाबले ०८१ ऐतिहासिक रह्यो । यो वर्ष बक्सअफिसमा एउटै चलचित्रले नेपालबाट मात्र करिब ५० करोड कमाउँदा आधा दर्जनभन्दा बढी सिनेमाले नाफा आर्जन गरे ।
यसकै हाराहारीमा चलचित्रले लगानी सुरक्षित गरे । बाँकी चलचित्र भने घाटामा गए । ०८१ ले नेपाली चलचित्रको बजार सानो होइन, कलात्मक पक्षचाहिँ कमजोर छ भन्ने सन्देश दिएर गएको छ ।