site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेपिए चलचित्रका गीतकार, पारिश्रमिक माग्दा निर्माता र निर्देशकको भागाभाग

काठमाडौं । गायकको तुलनामा कम पारिश्रमिक पाएको र आफूहरु मारमा परेको गुनासो गीतकार तथा संगीतकारहरुले गरेका छन् । गायकले गायनमा पारिश्रमिक पाएपछि त्यही गीत बाँचुन्जेल गाएर कमाइ गरे पनि त्यो आम्दानीबाट गीतकार तथा संगीतकार भने वञ्चित हुने गरेका छन् । 

चलचित्र प्रचारको मुख्य माध्यम नै गीत बनिरहेका बेला त्यही गीतका सर्जक भने ओझेलमा पर्ने गरेका छन् । “किन आजकाल मलाई गीत लेखाउनु हुन्न ? मेरो प्रश्नमा चलचित्रका साथीहरु भन्थे, मलाई पैसा चाहिँदैन, मेरो गीत राखिदिनुपर्यो भन्दै आउँछन् । दाइलाई त हामी पैसा तिर्नै सक्दैनौं,” गीतकार दिनेश अधिकारी तीन दशक अगाडिको घटना सुनाउँछन् । 

दिनेश अधिकारीले चलचित्रमा गीत लेख्न छोडेको दुई दशक भइसक्यो । दुई दशक अगाडि उनी एउटा गीतको १० हजार रुपैयाँ लिन्थे । यद्यपि चिनजानका आधारमा केहीले कम पनि दिन्थे ।  

“केहीले हार्दिकता र आत्मीयताका आधारमा खाममा हालेर केही कम पनि दिन्थे,” दिनेश भन्छन्, “तर म किन यति मात्रै दिएको भनेर जोरी खोज्दिनथेँ ।” उनले चलत्रिका लागि १२५ भन्दा धेरै गीत लेखेका छन् । 

गीतकार राजेन्द्र थापासँग गीतको पारिश्रमिकलाई लिएर तीता अनुभवहरु छन् । पारिश्रमिक माग्दा चलचित्र निर्मातादेखि निर्देशकसम्मको भागाभाग हुने गरेको उनको अनुभव छ । 

“निर्मातासँग माग्यो निर्देशकलाई देखाउने, निर्देशकसँग माग्यो निर्मातालाई देखाउने । मलाई देखेपछि  भागाभाग हुन्थ्यो,” राजेन्द्र थापा भन्छन्, “निर्माताले निर्देशकलाई निर्देशकले संगीतकारलाई दिने चलनले बिचौलियाका कारण पनि बिग्रिएको छ ।” 

गीतकारलाई पैसा दिए पनि हुन्छ नदिए पनि हुन्छ भन्ने मनोविज्ञान चलचित्रकर्मीमा रहेको उनी बताउँछन् । यद्यपि यो विस्तारै कम हुँदै गएको उनको अनुभव छ । “अहिले राजेन्द्र पैसा नलिई काम गर्दैन भन्ने भइसकेको छ,” उनी  भन्छन् । वसन्त सापकोटा चलचित्रका गीतमा छाएका बेला उनले गर्ने संगीतमा प्रायः राजेन्द्र थापाकै गीत हुन्थे । 

०५१–०५२ सालमा शम्भुजित बास्कोटाले आफूलाई एउटा गीतको आठ हजारसम्म पारिश्रमिक दिएको राजेन्द्र सम्झिन्छन् । 

अहिलेका अधिकांश चलचित्रमा लोक लयका गीत समावेश गरिन्छ । त्यस्ता गीतमा राजनराज शिवाकोटीको नाम अगाडि आउँछ । उनले अहिलेसम्म शब्द मात्रै कसैलाई बेचेका छैनन् । तर अरुका गीत किनेका छन् । राजनराज एउटा गीतका लागि ३० हजारसम्म तिरेको बताउँछन् । 

“चलचित्र प्रचारको सबैभन्दा सरल, सहज र महत्वपूर्ण माध्यम गीत नै हो,” राजनराज भन्छन्, “आम दर्शकसम्म चलचित्रबारे जानकारी दिने मत्वपूर्ण माध्यम नै गीत हो । नेपालमा मात्रै होइन, भारतमा पनि यही हो ।” 
उनी गीतका महत्वपूर्ण तीन पक्ष शब्द, संगीत र गायनमध्ये शब्द सबैभन्दा महत्वपूर्ण भएको भन्दै यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । 

संगीतकार अर्जुन पोखरेल राम्रो गीत सिर्जनालाई महिलाले खेप्ने प्रशव पीडासँग तुलना गर्छन् । तर त्यही गीतकार भने तुलनात्मक रुपमा पीडित रहेको उनी बताउँछन् । 

“गायकले त्यही गीत स्टेजमा गाएर करोडौं कमाउन सक्छ तर गीतकारले एकपटक सिर्जना गरेपछि सकियो,” अर्जुन भन्छन्, “त्यसैले गायकलाई २० हजार पारिश्रमिक दिँदा गीतकारलाई ५० हजार दिनुपर्छ भन्दा कोही मान्दैन ।” 

गायकले स्टेजमा गाएर कमाएको पैसाको केही प्रतिशत गीतकारलाई पनि दिनुपर्ने नियमको तयारी भइरहेको उनी बताउँछन् ।  अर्जुनले आजसम्म चलचित्रका लागि गीत बेचेका छैनन् । तर अरुबाट भने लिएका छन् । गीत हेरेर पाँचदेखि २० हजारसम्म तिर्ने गरेको अर्जुन बताउँछन् । “इन्डियामा एउटा गीत राम्रोसँग चल्यो भने त्यसकै रोयल्टीबाट ऊ जिन्दगीभर बाँच्छ तर नेपालमा १०–१५ हजार पारिश्रमिक पाएपछि सकियो । यो विडम्बना नेपालमा मात्रै हो,” अर्जुन असन्तुष्टि पोख्छन् । 

संगीतकार वसन्त सापकोटा चलचित्रमा गीत प्रचारको सबैभन्दा राम्रो माध्यम भए पनि गीतकार तथा संगीतकार ठगिने गरेको बताउँछन् । “हुन त यसमा हाम्रो आफ्नै पनि कमजोरी छ । हामी आफैँ नै चलचित्रमा आफ्नो गीत तथा संगीत राख्न पाउनुलाई नै उपलब्धि ठान्ने पनि छौं,” वसन्त भन्छन्, “तर जसको सिर्जनाका कारण चलचित्र चिनिन्छ । प्रचारको माध्यम बन्छ उसैलाई ठगिन्छ ।” 

चलचित्रकर्मीमा गीत संगीत भनेको आफैँ आउने चिज हो र यसका लागि पैसा तिर्नै पर्दैन भन्ने मानसिकता रहेको उनको अनुभव छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro