संसारका सबै सहरका सडकमा कुनै न कुनै प्रकारले बालबालिका बस्न पुग्छन् । काठमाडौंलगायत नेपालका सबै ठूला सहरमा यस्ता बालबालिका आउँछन् । तिनीहरूको व्यवस्थापनका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट बर्सेनि करोडौं रुपियाँ खर्च पनि गरिन्छ । तर, सडकमा बस्न आइपुगेका बालबालिका लक्षित कार्र्यक्रम औपचारिकरूपमै थालिएको करिब तीन दशक हुँदासम्म पनि समस्या र समाधानका सही उपायको पहिचानसम्म पनि हुनसकेको देखिएन । अहिले पनि काठमाडौं उपत्यकामा मात्र करिब तीन सय बालबालिका सडकमा बस्ने गरेको समाचार सार्वजनिक भएको छ । तिनमा लगभग आधा बालिकाको संख्या रहेको समाचारमा उल्लेख छ । सडकमा रात गुजार्दै गरेका बालबालिकाको समस्या बेलाबखत गरिने प्रहरी कारबाही वा सरकारी उद्धारले कम गर्न नसक्ने पनि यसबाट स्पष्ट भएको छ ।
यी बालबालिका सडकमा बस्न हैन सहरमा रमाउन आएका हुन् । यसैले यिनलाई सडक बालबालिका भन्नु नै गलत हो । नीति निर्मातालगायत धेरैले यस्ता बालबालिका मूलतः गरिबीका कारण सडकमा आइपुगेको ठान्छन् । गरिबी यिनलाई सहरतर्फ घचेट्ने धेरैमध्ये एउटा कारणमात्र हो । यस्तै सडकमा बस्ने बालबालिका सबै नै लागु पर्दार्थ दुव्र्यसनी हुन्छन्, दुष्ट मतिका हुन्छन्, देहव्यापार, पाकेटमारीलगायतका अपराधमा संलग्न हुन्छन् भन्ने धारणा पनि गलत हो । सडकमा बस्ने केही बालबालिकामा अपराध वृत्ति देखिएको भए पनि मूलतः उनीहरू अपराध गर्नैका लागि सडकमा आएका वा बसेका भने हैनन् । यीमध्ये अधिकांशको परिवार छ । फर्केर जाँदा जीवन निरस हुँदैन भन्ने विश्वास दिलाउन सक्ने हो भने फर्केर जाने ठाउँ पनि हुन्छ । सडकमा आएका बालबालिकाको समस्या सम्बोधन गर्ने उत्तम उपाय पनि उनीहरूलाई परिवारमै फर्काएर बसाउनु हो ।
कुनै सरकारी कार्यक्रम वा अरू हस्तक्षेपबाट सडकमा बालबालिका आउने क्रम ठ्याम्मै रोकिन्छ भन्ने ठान्नु मूर्खता हुन्छ । तर, समुदायमा बालबालिका रमाउने वातावरण बनाउन सके परिवारबाट दिक्क लागेका अवस्थामा पनि बालबालिका घर छाडेर सहरमा सडकमा बस्न जाँदैनन् । सडकमा अलपत्र परेका बालबालिका भोक टार्ने, रमाइलो गर्ने लोभमा अपराधी गिरोहको पासोमा पर्छन् । तर, तीमध्ये अधिकांशको अपराध वृत्ति रोजाइ हुँदैन । परिवारभित्रको खटपट र सन्तान तथा आमाबाबुबीचको संवादहीनताले पनि बालबालिकालाई सहरतर्फ हुत्याउँछ । यसैले सहरका सडकमा बालबालिका नभेटिउन् भन्ने चाहने हो भने समुदाय र परिवारलाई बालबालिकाप्रति संवेदनशील र जिम्मेवार हुन सिकाउनुपर्छ । विद्यालय जाने उमेरका बालबालिका सबै नै विद्यालयमा नियमित उपस्थित भए भने सडकमा जानेको संख्या स्वतः कम भइहाल्छ । यस्तै, पारिवारिक समस्या भएका खण्डमा समुदायस्तरमा मनोविर्श उपलब्ध गराउने हो भने पनि सडकमा आउने बालबालिकाको संख्या निकै कम हुनेछ । स्थानीय तहहरूले आआफ्ना क्षेत्रका बालबालिकाको तथ्यांक राखेर खोजखबर गर्न थाले भने आमाबाबु पनि बढी जिम्मेवार हुनेछन् ।
सहरका गल्लीबाट भुस्याहा कुकुर धपाएजस्तो गरी बालबालिकाको ‘उद्धार’ गर्ने पटके अभियानबाट यो समस्या समाधान हुँदैन । परिवार र समुदायलाई आफ्ना सन्तानको पालनपोषण र हेरचाह गर्न जिम्मेवारी पूरा गर्न सक्षम तुल्याउनु राज्यको दायित्व हो । सडकमा आउने हटाइएका बालबालिका गलत संगतबाट ‘समस्या’ बन्नुपूर्ख नै उनीहरूलाई उचित मनोविमर्श उपलब्ध गराई पुनःस्थापना गर्नुपर्छ । राज्यको सम्पर्कमा आउनेबित्तिकै घर फर्कन तयार भए भने बेसै भयो । नत्र, केही समयका लागि आश्रय उपलब्ध गराएर सहर देखाई घर फर्काउनु उचित हुनेछ । उनीहरूलाई दुत्कारेर वा सुधार गृहमा थुनेर राख्दा समस्या झन् बिग्रन्छ । यसैले सडकमा बस्ने बालबालिकाको समस्या संबोधन गर्न राज्य उदार दृष्टिकोण राखेर नीति र कार्यक्रम निर्माण तथा कार्यान्वयन गर्नुपर्छ । आधारातमा सिकार खेलेसरी ‘उद्धार’ गरे उनै बालबालिका बारम्बार सडकमा आइरहनेछन् । यस्ता बालबालिका पछि समस्या बन्न सक्छन् ।