‘‘हाम्रो अस्तित्व नै लोप हुने अवस्था आरम्भ भएको छ र तपाईँहरू भने पैसा र सधैँको आर्थिक वृद्धिको दन्त्यकथाको कुरा गर्दै हुनुहुन्छ । तपाइँहरूले यस्तो आँट कसरी गर्न सकेको ? ’’ संयुक्त राष्ट्रसंघको ‘क्लाइमेट एक्सन समिट’मा बोल्दै सोमबार १६ वर्षीया किशोरी स्वेडिस किशोरी ग्रेटा ठनवर्गले आफ्नो रोस त्यसरी प्रकट गरिन् । अमेरिकाको न्यु योर्कमा जलवायुसम्बन्धी शिखर बैठकमा बोल्दै ग्रेटाले पृथ्वीको भविष्यप्रति अपेक्षित चिन्ता नदेखाउने विश्व नेताहरूप्रति रोष प्रकट गरे पनि नेताहरूले भने सधैँजस्तै ठूला ‘गफ’ दिएरै टारेको सम्मेलनको समाचारमा जनाइएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीमा परेको असर अर्थात् उनका शब्दमा ‘जलवायु संकट’का बारेमा जनचेतना जगाउन ग्रेटाले अभियान सञ्चालन गरिरहेकी छन् ।
ग्रेटा र संसारका लाखौं जनताले जलवायु परिवर्तनप्रति गम्भीर हुन जति नै आग्रह गरे पनि राजनीतिक नेतृत्व र तिनकै अन्नदाता उद्योगीहरूले भने पटक्कै वास्ता गरेका छैनन् । संसारको सबैभन्दा ठूलो प्रदूषक चीनले प्रदूषण कम गर्ने कुनै नयाँ वाचा गरेन । पुरानै लक्ष्यमा कायम रहेको मात्र बतायो । दोस्रो प्रदूषक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा स्वच्छ ऊर्जाको अंग बढाउने वचन त दिए तर कोइलाको खपत घटाउने विषयमा मुख खोलेनन् । अमेरिकाले त पहिलेका सन्धिहरूकै अवज्ञा गरेको छ । मूलतः जैविक इन्धनको उपभोग कम गरेर वायुमण्डलमा तापक्रम बढ्ने गति कम गर्ने उपाय खोज्न संसारका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरू र व्यावसायिक कम्पनीका प्रमुखहरू जम्मा भए पनि तिनले ठोस निर्णय भने गर्ने लक्षण देखिएन । अनि त ती १६ वर्षीया वातावरण अभियन्ता स्वेडिस किशोरीलाई झोंक चल्ने नै भयो ।
ग्रेटालाई जति झोँक चले पनि जलवायु परिवर्तनका प्रमुख दोषीहरू चीन, भारत, अमेरिकाजस्ता मुलुकका नेतालाई भने पृथ्वीको भविष्यको चिन्ताले छोएको देखिएन । त्यस्तै विश्व प्रदूषणमा आफ्नो कुनै भाग नभए पनि जलवायु परिवर्तनको गम्भीर असर भोग्ने नेपालजस्ता मुलुकका नेता पनि खासै गम्भीर भएका छैनन् । अझ नेपालका नेता त चीन र भारतको त्यही ‘विकास’लाई आदर्श ठान्छन् जसका कारण नेपालका किसानले अनावृष्टि, अतिवृष्टि र कुयाममा मौसम परिवर्तनको मार सहनु परेको छ । बचेखुचेको बाक्लो वन मासेर संसारकै ठूलोमध्येको विमान स्थल बनाउनुलाई नै विकासको अनुपम उदाहरण ठान्ने सोचको प्रभुत्व छ । डाँडा भत्काएर जथाभावी मोटर बाटो बनाउँदा पहिरोले गाउँ बगाउन थालेको छ । तर, अझै पनि वातावरण जोगाउन नसके विकास विनाशमा बदलिन बेरै लाग्दैन भन्ने बुद्धि पलाएको देखिँदैन । नेपालका नीति निर्माताले न वातावरण संरक्षणको महत्त्व बुझेका छन् न बुझ्नै चाहेको देखिन्छ ।
हिउँ पग्लेर हिमालहरू खुरिखण्ड चट्टानमा परिणत हुँदासम्म रमिता हेर्नेहरूलाई भावि पुस्ताले पक्कै सराप्नेछ । समुद्रको सतह बढ्दै गएकाले कतिपय मुलुक र सहरको अस्तित्व नै समाप्त हुने जोखिम बढेको छ । हालैको एउटा प्रतिवेदनमा जनाइएअनुसार उन्नाइसौं शताब्दीको मध्यतिरका तुलनामा अहिले औसत तापक्रममा १.१ डिग्री सेल्सियस बढेको छ । तर, अहिलेकै गतिमा तापक्रम बढ्न रोकिएन भने एक्काइसौं शताब्दीको अन्त्यसम्ममा औसत तापक्रम ३ डिग्री सेल्सियस बढ्नेछ । जलवायु परिवर्तनको असरका रूपमा नेपालीलाई नखाएको विषले पोलेको भए पनि नेपालका नेताहरूले चीन, भारत, अमेरिकाका ज्यादतीविरुद्ध बोल्ने अपेक्षा गर्नु मूर्खता हुन्छ । त्यसमाथि आफूहरू पनि वातावरण विनाशकै मतियार भएकाले यिनको बोल्ने नैतिक अधिकार पनि छैन । यसैले नेपाली ‘ग्रेटा’हरू पनि सक्रिय हुनु आवश्यक छ । आखिर संसार भावि सन्ततीकै लागि पुर्खाले छाडेको नासो त हो ।