काठमाडौं । ‘सत्य हरिषचन्द्र’लाई पहिलो चलचित्र मान्ने हो भने नेपाली चलचित्रको इतिहास झन्डै ७ दशक लामो छ । ‘आमा’लाई मान्ने हो भने ५५ वर्ष पुरानो ।
अधिकांशले नेपाली चलचित्रको इतिहास यसैलाई मान्छन् । तर नीर शाह भने यो इतिहास स्वीकार्दैनन् । नेपाली जस्तो देखिँदैमा नेपाली चलचित्र नहुने बताउँछन् उनी । देवु सेन र मुख्तार अहमदले लेखेका पटकथालाई नेपालीमा अनुवाद गरेर बनाइएका चलचित्र नेपाली नहुने उनको तर्क छ ।
“शान्ता क्रुजको गल्लीमा चलचित्र पटकथाको पसल खोलेर बसेका देवु सेन र मुख्तार अहमदलाई पटकथा लेखाई, नेपालीमा उल्था गरेर बनाइएका चलचित्र कसरी नेपाली हुन्छन् ?” उनी प्रश्न गर्छन्, “नेपालीले पटकथा लेख्न थालेपछि नै नेपाली चलचित्रको वास्तविक उदय भएको हो । ‘बदलिँदो आकाश’ पहिलो नेपाली चलचित्र हो । पहिलो पटकथाकार लक्ष्मीनाथ शर्मा । नेपालीले लेखेको पहिलो चलचित्रयही हो ।” नेपाली चलचित्रको इतिहास ‘बदलिँदो आकाश’बाट सुरु भएको तर्क गर्दै उनी भन्छन् ।
तर विश्वविद्यालयमा चलचित्रको गलत इतिहास लेखिएकोमा कसैले पनि प्रश्न नउठाएकोमा उनको असन्तुष्टि छ । गलत इतिहास पढाउन नहुनेमा उनको जोड छ ।
अर्का चलचित्रकर्मी दीपकराज गिरी पनि नेपाली चलचित्रको इतिहास ७० वर्ष, ५५ वर्ष भयो भन्नु मिथ्या भएको बताउँछन् । भारतबाट निर्देशक, कलाकार, प्राविधिकदेखि कथा ल्याएसम्म ल्याएर वर्षमा एउटा चलचित्र बनाउँदैमा चलचित्र निर्माण सुरु भयो भन्नु गलत भएको उनको तर्क छ ।
“नेपाली समाजकै कथा भन्न थालेको, नेपाली चलचित्रको माग हुन थालेको, नेपाली चलचित्रको बजार बन्न थालेको बल्ल २०–२२ वर्ष भयो,” दीपकराज भन्छन्, “राजनीतिक सामाजिक रुपमा चलचित्र ०४६ पछि सुरु भयो । ०६२–६३ बाट बल्ल बाक्लै रुपमा बन्न थाले । यसलाई मात्रै म इतिहास मान्छु । आयातित स्क्रिप्ट ल्याएर बनाएको सिनेमालाई नेपाली चलचित्र भन्न मिल्दैन ।”
चलचित्र समाजको ऐना हो भने चलचित्र बनेको समाज जहिले देखि देखिन थाल्यो, त्यही समयबाट मात्रै इतिहास सुरु भयो भन्न सकिने दीपकको तर्क छ ।
नेपाली भाषामा बन्दैमा नेपाली चलचित्र नहुने निर्देशक शाह बताउँछन् । नेपालमा नेपाली जस्तो देखिने चलचित्र मात्रै बनेको उनको टिप्पणी छ । “नेपाली चलचित्र त बन्न बाँकी नै छ । नेपाल विविधतामा एकता भएको रङ्गीचङ्गी फूलबारी हो । नेपालमा बनेका तीन हजार चलचित्रमा कतिवटा चलचित्रले नेपालको बहु विविधतालाई समेटेको छ ? केही दिन अगाडि काठमाडौंमा भएको राष्ट्रिय चलचित्र कन्फरेन्समा उनले प्रश्न गरे । नेपाली माटो र मौलिकता बोकेका चलचित्र मात्रै नेपाली हुने उनको भनाइ छ ।
दौरा–सुरुवाल लगाइदिएर एउटा लोकगीत राखेर मादल बजाउँदैमा नेपाली चलचित्र नहुने उनी टिप्पणी गर्छन् उनी ।
“विश्व बस्नेत हिरो, म आधा हिरो, आधा ‘नहिरो’ भएर खेलेको ‘सिन्दूर’मा नेपालीपन केही छैन, त्यो नेपाली सिनेमा हो र ? त्यो सिनेमा खेलेको थिएँ भन्न पनि लाज लाग्छ,” उनी भन्छन्, “मैले मेरो जीवन त खेर फालेसरह भयो । तर आज ज्युँदा–जाग्दा चलचित्रकर्मी हुन् वा संघर्षरत, उनीहरुले पनि आफ्नो जीवन खेर फाल्नुहुन्न ।”
आफूले नेपाल भाषामा बनाएको चलचित्र ‘राजमती’ले विदेशमा अवार्ड पाए पनि ‘राजमती’ लाई नेवारी चलचित्र भनेको उनी स्मरण गर्छन् । “नेवार भाषाको चलचित्रलाई नेपाली होइन भन्नेसँग तीन–चारजना जुधेर सकिँदैन । जुध्न थाले जुध्दाजुध्दै थाकिन्छ । त्यो थकानको समग्र प्रभाव भनेको आफ्नो कर्मप्रति अनुत्साहित हुनु हो ।”
चलचित्र निर्माणको सुरुआती दुई दशक त नेपाली भनिने चलचित्रका लागि नेपालीले पटकथा नै नलेख्नु गलत भएको उनको ठहर छ । नेपालमा चलचित्र खिच्न जान्ने क्यामेरापर्सन, सम्पादन गर्ने सम्पादक, साउन्ड रेकर्डिस्ट नभए पनि संवाद, कथा, पटकथा लेख्न जान्ने देशमा रहे पनि त्यसको सदुपयोग हुन नसकेको उनको भनाइ छ ।
“चलचित्र निर्माण सुरु हुनुअघि नै नेपाली साहित्य त धेरै माथि पुगिसकेको थियो । आदिकवि भानुभक्तको लोकप्रिय रामायण उहिल्यै लेखिएको थियो । महाकवि देवकोटा उदाइसकेका थिए । बालकृष्ण सम, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल गोठाले आदि चर्चित भइसकेका थिए । ओजश्वी र यशस्वी भइसकेको थियो, नेपाली साहित्य । तिनको प्रयोग गर्यौं त ?,” उनी प्रश्न गर्छन् , “सरकारले चलचित्र बनाउन चलचित्र संस्थान गठन गर्यो । त्यसले पहिलो चलचित्र श्रीधर खनालको कथामा ‘मनको बाँध’ बनायो । देवकोटाको ‘मुनामदन’मा बन्नुपथ्र्यो, समको ‘मुकुन्द इन्दिरा’मा बन्नुपथ्र्यो । विजय मल्लको ‘कोही किन बर्बाद होस्’मा बन्नुपथ्र्यो । तर, बम्बईको सिनेमा उद्योगमा अभिनयमा मौका पाउन संघर्षरत युवकलाई निर्देशक बनाएर, कलकत्ताको पेसेवर पटकथाकार देवु सेनलाई पटकथा लेख्न लगाएर संस्थानकै सञ्चालक समिति सदस्य श्रीधर खनालको कथामा सिनेमा बनाइयो, किन ?”
नेपाली चलचित्रको इतिहासको सुरु गर्नेले नेपालीमा लेख्नै नजान्ने, नेपाल थाहै नभएका लेखकलाई कथा, पटकथा लेखाएर र अरूले लेखेका कथा, पटकथालाई आफ्नो भनेर जस लिएर अपराध गरेको नीर बताउँछन् ।
इतिहास नै कमजोर कडीबाट सुरु भएकाले यसबारे पर्याप्त विवेचना, छलफल, चिन्तनको अपेक्षा गर्नु बेकार भएको भन्दै उनी भन्छन्, “किनकि यो क्षेत्रमा प्राज्ञिक व्यक्तिको खडेरी छ । अरूले सोच्नुपर्छ, चिन्तन मनन गर्नुपर्छ । इतिहासमा भएका अक्षम्य गल्तीको निर्मम समीक्षा हुनुपर्छ । अबको बाटो कस्तो भन्नेमा प्राज्ञिक बहसको माग राष्ट्रिय चलचित्र उद्योगले गरिरहेको छ ।”
नेपाली चलचित्र सधैँ अन्य चलचित्र उद्योगबाटै प्रभावित भइरहेको भन्दै नीर असन्तुष्टि जनाउँछन् । कहिले छिमेकी बलिउड त कहिले त्योभन्दा अलि टाढा पुगेर नक्कल गर्ने गरिएको भन्दै उनी भन्छन्, “नक्कल गर्नै भएन । तेस्रो दर्जाको हिन्दी चलचित्रको नक्कल गर्नुहुँदैन भन्दा तेस्रो दर्जाको कोरियन वा इरानी फिल्मको पनि त नक्कल गर्नुभएन । नराम्रो बनाउन पाइन्छ, नक्कल गर्न पाइन्न । जस्तो जान्या छ, त्यस्तै बनाउन पाइन्छ । आफैँले बनाएको ‘वासुदेव’ म १० मिनेट हेर्न सक्तिनँ । हरेक फ्रेममा कमजोरी भेट्छु । तर इमानदारीपूर्वक बनाएँ, जे आउँथ्यो त्यही बनाएँ । नेपालीले पटकथा लेख्न सक्छन् भनेर देखाउनका लागि पनि बनाएँ ।”
उनले दीपेन्द्र के खनाल र रामबाबु गुरुङलाई सम्झिए । दीपेन्द्र र रामबाबुले आफूले बनाएका चलचित्रका कथा आफैंले आफ्नै मौलिक कथा भन्ने गरेको बताए ।
दीपकराज गिरी आफूले नेपालीको कथा भन्ने गरेकाले आफूले बनाएका चलचित्र दर्शकको रोजाइमा पर्ने गरेको बताउँछन् । “मैले कसैको कथा भनिन । आफ्नै ठाउँ समाजको समस्यालाई उठाएँ । भन्ने तरिका हाम्रो आफ्नै छ त्यसैले छक्कापञ्जा सिरिज मन पराइयो,” उनले भने ।
आफ्नो चलचित्रको ग्राफ उकालो लागे पनि आलोचनाबाट भन्ने मुक्त हुन नसकेकोमा उनी खुल्छन्, “आफू पनि गर्न नसक्ने अनि गर्नेलाई पनि खुट्टा तान्ने हाम्रो बानी छ । चलचित्र हेर्न जाने सबै समीक्षक भए । यो चलचित्रमा के गल्ती छ भनेर खोतल्न जाने प्रवृत्ति चाहिँ खतरनाक हो ।”
चलचित्र बुझेको व्यक्तिले दिएको सुझाव मनन् गर्न आफू सधैँ तयार रहेको तर नेपालमा अधिकांश सुझाव दिनेभन्दा पनि आलोचना गर्ने रहेको उनको बुझाइ छ । नीर र दीपक नेपाली चलचित्र कमजोर स्क्रिप्टमा बन्ने गरेको बताउँछन् । कथामै मेहनत नगरेपछि त्यसको असर पर्दामा देखिनु स्वाभाविक भएको उनीहरुको भनाइ छ ।
“मलाई मेरी श्रीमती तिमी पागल हौ भन्छिन् । म साँच्चै छ महिना पागल भएरै स्क्रिप्ट लेख्छु । म एउटा स्क्रिप्ट छ महिना लगाएर लेख्छु । तर त्यो छ महिना दिन मात्रै होइन, रात पनि हो । दिनरात नै लेख्छु,” दीपक आफ्नो अनुभव सुनाउँछन्, “हरेक दसैंमा आउनु पर्ने भएकाले हामीसँग एक वर्ष मात्रै समय हुन्छ । हरेक दसैंमा आउनुपर्ने बाध्यता नभएको भए अझै धेरै समय दिन्थेँ स्क्रिप्टलाई ।”
नीर नेपाली चलचित्र क्षेत्रमा आशाको सानो झिल्को देखिन थालेको बताउँछन् । ‘पशुपतिप्रसाद’, ‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता फरक चलचित्र बन्न थालेको भन्दै उनी भन्छन्, “नेपालीपन बोकेको चलचित्र बनाउन लगानी गरिदिनेको आज पनि खडेरी छ । मचाहिँ नेपालीपन बोकेको चलचित्र निर्माण गर्न तम्सिने समाज निर्माणमा सहकार्य गर्न खोजिरहेको छु ।”