केही दिन पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालीन युवराज पारस शाहले प्रहरीमाथि दुर्व्यवहार गरे । उनले आफ्नो कार्यक्षेत्रमा तैनाथ प्रहरीलाई हातपात गरेको भिडियो सामाजिक सञ्जालमा व्यापक भयो । धेरैले शाहलाई गाली गरे । कतिले शाहका पक्षमा तर्क दिन खोजे । पारस शाहले पछि आफ्ना छोरालाई प्रहरीले दुर्व्यवहार गरेकाले आफूले बाबुको कर्तव्य पूरा गरेको स्पष्टीकरण दिए । तत्कालीन बडामहारानी कोमल शाह उपचारका सिलसिलामा थाइल्यान्ड जान लाग्दा बिदाइका लागि शाह विमानस्थल पुगेका रहेछन् । सँगै गएका उनका छोरालाई प्रहरीले भित्र जान रोकेपछि शाह उत्तेजित भएको घटनाक्रमबाट देखिन्छ । पारस शाहको ‘दबंग’ छविका कारण पनि घटनाप्रति जनताको चासो र प्रतिक्रिया धेरै भएको हुनुपर्छ ।
वास्तवमा पारस शाहले आफूलाई सामान्य नागरिक ठान्न नसकेका कारण विमानस्थलमा सामान्य कारणबाट अमर्यादित घटना भयो । पारस शाहलाई चिनेकै कारणले प्रहरीले हात नफर्काएका हुनुपर्छ । अरू कसैले ‘ड्युटी’मा तैनाथ प्रहरीमाथि हातपात गरेको भए सम्बन्धित अधिकृतमात्र हैन अरू प्रहरीसमेत धुरिएर पाठ सिकाउन सक्थे । संयम देखाएकाले प्रहरीले यस घटनामा जनताको सहानुभूति पायो । यद्यपि, पारस शाहमाथि कारबाही गर्ने आँट भने प्रहरीले गर्न सकेको देखिएन । सार्वजनिक स्थानमा खटिएका प्रहरीमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले बोलाएर कम्तीमा वयानसम्म लिनुपथ्र्यो । यसरी आँखा चिम्लिँदै जाने हो एकातिर उद्दण्ड व्यवहार गर्नेहरू हौसिनसक्छन् भने अर्कातिर प्रहरीको मनोबल कमजोर हुनसक्छ । स्पष्टीकरणमा पनि पारस शाहको सामन्ती संस्कार नै अभिव्यक्त भएको छ । कानुन पालना गर्ने सभ्य नागरिक छोरालाई प्रहरीले छेक्नेबित्तिकै झम्टन जाँदैनन् बरु सम्झाउने कोसिस गर्छन् । धेरै नै ज्यादती भएमा सम्बन्धित निकायमा उजुर गर्छन् ।
समस्याको मूल जरो भने पारस शाहको सामन्ती संस्कार र सरकारको परम्परावादी सोच हो । पारस शाह अब देशका विशिष्ट व्यक्ति हैनन् । तत्कालीन राष्ट्रप्रमुखका हैसियतमा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्रध्यक्ष सरह राज्यले सेवा र सुविधा दिएको छ । ज्ञानेन्द्र शाहकी पत्नीका रूपमा कोमल शाहलाई विशिष्ट कक्ष प्रयोग गर्न दिनुसम्म अनुपयुक्त हैन । तर, पारस र उनका छोरालगायतलाई पनि विशिष्ट कक्षमा बेरोकटोक प्रवेश गर्न दिनु पर्ने कुनै कारण र आधार देखिँदैन । पारस शाहले पनि आफू अब सामान्य नागरिक भएकाले विशेष सुविधा खोज्नु उपयुक्त हैन भन्ने सम्झनुपथ्र्यो । तर, सरकारी अधिकारीहरूसँग ‘नयाँ राजकुमार’हरूलाई विशिष्ट कक्ष प्रयोग गर्न दिनुपर्ने बाध्यताले पनि पारस शाहहरूलाई रोक्ने नैतिक हैसियत र शक्ति नभएको हुनुपर्छ । तर, यस्तो घटनाबाट बेलैमा पाठ नसिक्ने हो भने अकल्पनीय घटना हुनसक्छ ।
अब पारस शाहले पनि ‘संविधानभन्दा माथि रहेको राजपरिवारको सदस्य’को धङधङी त्यागेर कम्तीमा सार्वजनिक स्थानमा सभ्य र मर्यादित व्यवहार गरे उनैको भलो हुनेछ । प्रहरी सधैँ त्यस दिन विमानस्थलमा तैनाथ भएका जस्ता संयमित नहुनसक्छन् । सुरक्षाका दृष्टिबाट विमानस्थलमा सुधार गर्नुपर्ने त धेरै पक्ष होलान् तर राजनीतिक नेतालगायतले दक्षिण भारतीय चलचित्रका शैलीमा कार्यकर्ताको हुल लैजाने, विमानस्थलभित्र नारावाजी गर्ने र सत्तासँग साइनो भएकै कारण विशिष्ट कक्ष प्रयोग गर्नेजस्ता गलत प्रचलन भने तत्काल रोक्नुपर्छ । सबै नेपाली समान छन् । जर्ज अर्वेलको उपन्यास ‘एनिमल फर्म’को एउटा संवादजस्तै ‘कोही विशेष समान’ हुनु र बनाउनु जरुरी छैन । पुराना र नयाँ सबै शासकले नेपाली नागरिकहरूलाई रैती ठान्ने मूर्खता अब नगरून् । उनीहरू जति चाँडो सभ्य नागरिक बन्नेछन् उति नै तिनको भलो हुनेछ ।