नेपाल र भारतबीचको सीमा खुलामात्र हैन अव्यवस्थित पनि छ । दुवै देशका नागरिक निर्बाध आउनेजाने गर्छन् । सीमामा एकअर्काको देशमा प्रवेश गर्दा अभिलेखसम्म पनि राखिँदैन । त्यसो त पुग न पुग एक हजार आठ सय किलोमिटर लामो खुला सीमामा आवागमनका लागि दुवै देशका नागरिक तोकिएको नाकामात्रमा भर पर्दैनन् । तर दुई देशबीच सीमा त छ र सीमा जनाउने स्तम्भहरू पनि सीमाक्षेत्रमा गाडिएका छन् । दुई देशबीचको सीमाको सुरक्षामा नेपाली पक्ष खासै संवेदनशील नहुँदा त्यस्ता स्तम्भहरू बर्सेनि हराउने गरेका छन् । सीमास्तम्भ गायब बनाउन भारतीय पक्षको त भूमिका हुन्छ नै बेलाबखत प्रकृतिको प्रकोप पनि पर्ने गरेको छ । यस वर्ष आएको बाढीका कारण कपिलवस्तु जिल्लाका केही सीमास्तम्भ ढलेको र भेलले पर पर सारिरहेको समाचार छ ।
कपिलवस्तुको विजयनगरस्थित चिरई खोलामा जस्तै अन्यत्र पनि बर्खाको पानीले सीमास्तम्भलाई क्षति पुगेको हुनसक्छ । सरकारी पक्षले बेवास्ता गर्दा स्थानीयहरू चिन्तित देखिन्छन् । नेपालतर्फ सीमा सुरक्षाका लागि खटिएकाहरूले यस्ता समस्यामा बेलैमा ध्यान दिँदैनन् । भारतीयहरू आफूलाई नोक्सान नहुने मामिलामा चुप लाग्ने नै भए । सीमा धेरै पर पुगेपछि चासो राख्दा समाधान कठिन हुँदै जान्छ । पहिलो त भारतीयहरूको हेपाहा बानी छ । नेपाली पक्षका तर्कहरूलाई उनीहरूले गम्भीरतापूर्वक लिँदैनन् । दोस्रो, नेपालीहरू पनि पर्याप्त गृहकार्य नगरी वार्तामा बस्छन् र उचित उत्तर दिन नसकेर ‘रातोमुख’ लगाउने अवस्थामा पुग्छन् । कपिलवस्तुको चिरई खोलाले यस वर्ष बगाएको सीमास्तम्भहरू पनि अपवाद बन्ने देखिँदैन । यसैले होला पछि यही कारणले स्थानीय स्तरमा तनाव हुनसक्ने चिन्ता स्थानीयले गरेको देखिन्छ ।
नेपाल र भारतबीचको सम्बन्ध धेरै निकट भएकाले जटिलताहरू पनि धेरै नै छन् । भौगोलिक, सांस्कृतिक र सामाजिक कारणले दुवै देशलाई राज्यका स्तरमा पनि निकट बनाएको छ भने जनस्तरको सम्बन्ध त सरकारी व्यवहारबाट प्रभावितै हुँदैन । शासकहरूको रिसले भारतले नेपालमाथि पटकपटक नाकाबन्दी लगाएर जनतालाई दुःख दियो । भारतीय सीमाबाट वैधरूपमा नेपाल सामान भित्रिन नदिइएपछि जनताले अवैध उपाय अपनाएर पनि गुजारा चलाए । नेपाल र भारत दुवै देशका शासकहरूले जनस्तरको यो सम्बन्ध बिर्सनु हुँदैन । सानातिना विषयमा बेलामा ध्यान नदिँदा ठूलो समस्या बन्न पुग्छ । सीमास्तम्भहरूको सुरक्षा पनि यस्तै संवेदनशील विषय हो । अनावश्यक र अनुत्पादक विवाद नबढाउन सीमास्तम्भहरूको सुरक्षालाई दुवै देशले प्राथमिकता दिनुपर्छ ।
कुशल र खारिएको कूटनीतिज्ञ मानिने डा. सुब्रमण्यम जयशंकर विदेशमन्त्रीको हैसियतमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँदैछन् । यस अवसरमा हुने औपचारिक र अनौपचारिक दुवै कुराकानी सीमास्तम्भको सुरक्षाको विषय नेपालले उठाउनु उचित हुनेछ । सीमास्तम्भको राम्ररी संरक्षण गर्न सके सीमाको संवेदनशील विवादमा अल्झिन पर्नेछैन । भारतले सीमा मिचेको छैन भनेर नेपाली पक्षले भन्नसक्ने अवस्था भएमामात्र दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित हुनेछ । हस्तक्षेपमा अरू अमूर्त आरोप इतिहासमा अडिन सक्तैनन् । मूलतः प्राविधिकहरूको काम भएकाले उच्चतहबाट राजनीतिक इच्छाशक्तिमात्र देखाएपुग्छ । सीमास्तम्भहरूको संवेदनशीलतालाई उपेक्षा नगरियोस् । जमिनसँग भावना जोडिएको हुनाले सीमाको रक्षामा रगत बग्ने गरेको हो भन्ने बिर्सनु हुँदैन ।