राणाकालदेखि नै जनतालाई थर्काएर तह लगाउनुपर्छ भन्ने मानसिकता नेपालको सार्वजनिक प्रशासनको मूल मन्त्र बनेको छ । तर, सरकारसँग डराएर जनता घरमा ताला लगाएर लुक्नु शासन प्रभावकारी हुनु हैन । बरु, राज्यले अन्याय गर्दैन वा सुरक्षा दिन्छ भन्ने विश्वास जनतामा नहुनुको उदाहरण हो । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँमा अहिले गाउँका सबै घरमा ताला लगाएर गाउँलेहरू लुक्ने गरेको समाचार सार्वजनिक भएको छ । स्थानीय तालदेवी सामुदायिक वनमा सयभन्दा बढी रुख काटिएपछि कारबाहीको डरले गाउँलेहरू त्यसरी भागेका रहेछन् । समाचारअनुसार ठूलो रकम जरिवाना हुने र कैदमा बस्नुपर्ने डरले गाउँलेहरू भागेका हुन् । नजिकै वन कार्यालयको एकाइ भए पनि डिभिजन कार्यालयबाट भने रुख काटिएको महिना दिन जति पछि निरीक्षणमा पुगेका रहेछन् ।
सामुदायिक वनका ती रुख अहिले घरमा ताला लगाएर भाग्ने स्थानीयले काटेको हुनसक्छ । उनीहरूले गैरकानुनीरूपमा रुख काटेका भए सजाय पनि पाउनुपर्छ । कानुनअनुसार दण्डनीय काम गर्नेले उन्मुक्ति पाउनु हुन्न । तर, राज्य र जनताबीच विश्वासको सम्बन्ध हुनुपर्छ । राज्यले अन्याय गर्दैन भन्नेमा नागरिक ढुक्क हुनसक्नुपर्छ । अनिमात्र नागरिकमा राज्यप्रति, शासन व्यवस्थाप्रति अपनत्व विकास हुन्छ । खकरा गाउँका बासिन्दामा भने राज्यको न्याय र शासन प्रणालीप्रति विश्वास देखिएन । सरकारी कर्मचारी र शासनमा प्रभुत्व तथा प्रभाव भएको ‘सत्ताका दलाल’हरूको चकचकी हेर्दा सामान्य गाउँले यसरी डराउनु अस्वाभाविक पनि होइन । लोकतान्त्रिक पद्धतिको अभ्यास भएको यति समयसम्म पनि राज्यका संयन्त्रप्रति सामान्य नागरिकको विश्वास जाग्नसकेको रहेनछ । सरकार बनाउन मतदान प्रक्रियामा सामेल भए पनि नागरिकलाई प्रशासनले सरोकारवालासम्म पनि ठान्न सकेको देखिँएन । खकरा गाउँ यिनै विडम्बनाको उदाहरण हो ।
लोकतन्त्र जनतासम्म पुग्न नसकेको प्रमाण पनि हो यो । नेताहरूको जीवन शैली र संस्कार नै लोकतान्त्रिक नभएपछि कर्मचारीमा हुन प्रश्नै भएन । कानुनहरू सबैजसो शासनको अनुदार मानसिकताबाट निर्देशित छन् । तिनको कार्यान्वयनमा प्रशासन थप अनुदार बन्छ । जनताका पक्षमा उदारता देखाउँदा प्रशासकमाथि नै कारबाही हुने थुप्रै कानुनी जोखिम छन् । यस्तो अवस्थामा रुख काटिएको सामुदायिक वनका पूर्वअध्यक्षले भनेजस्तै बदमासी ठूलाबढाले गर्ने र निमुखा गाउँले फस्ने डर धेरै हुन्छ । बदमासी गर्ने हैसियतमा पुगेकाहरू प्रायः कुनै न कुनै राजनीतिक दलसँग सम्बनिधत ‘सत्ताका दलाल’ जो हुन्छन् । लोकतन्त्र नेपालका सामान्य जनताका लागि पनि हो भने सबैभन्दा पहिले राज्यले खकराका गाउँलेमा विश्वास जगाउनुपर्छ । उनीहरूलाई नगरेको अपराधको सजाय भोग्न नपर्ने तर गल्ती गरेको भए लुकेर उम्कन नसकिने विश्वास स्थानीय राजनीतिक दलका कार्यकर्ताले दिलाउन सक्नुपर्छ । स्थानीय तहका जनप्रतिनिधिले गाउँलेहरूलाई आआफ्ना घरमा ढुक्कसँग बस्न आग्रह गरेर धरपकडबाट बचाउनुपर्छ । ‘सत्ताका दलाल’ कसैलाई ‘नजराना’ दिएरमात्र ढुक्कसँग बस्न पाउने अवस्था उत्पन्न भयो भने खकराका बासिन्दामा राज्यप्रति कहिल्यै नमेटिने वितृष्णा उत्पन्न हुनेछ । नबिर्सौँ, जनताले घृणा गरे भने कुनै शक्तिले पनि जोगाउन सक्तैन ।