बाढी, पहिरो र डुबानले देशको एक चौथाइ जनसंख्या पीडित भएका छन् । उनीहरूको गाँस बासको कुनै ठेगान छैन । कतिले त खान हुने पानीसम्म पनि पाएका छैनन् । राज्यले यस्तो विपत्तिका बेला केही सहयोग गर्ला भनेर पर्खँदापर्खँदै बालबालिका, बूढापाका, गर्भवती, सुत्केरीको ज्यान जोखिममा पर्ने डर छ । बाढी आएको ६ दिनपछि नेपाल सरकारका मन्त्रीहरूको लावालस्कर बाढी पीडित क्षेत्रको अवलोकन भ्रमणमा निस्क्यो । सरकारी खर्चमा हेलिकप्टर चडेर बाढीग्रस्त क्षेत्रमा पुगेका मन्त्रीहरूले न पीडितहरूसँग भेटे न पीडितका लागि मानवीय सहायता प्रभावकारी र पर्याप्त बनाउनै ध्यान दिए । सरकारी पक्षले नै पीडितहरूलाई नभेटेपछि विपक्षले पनि किन भेट्नु ? बाढी पीडित क्षेत्रमा पुगेका प्रमुख विपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पीडितलाई भेटेनन् ।
देशमा स्वच्छ खानेपानी पाउने जनसंख्या निकै सानो छ । राजधानीमै सरकारले वितरण गर्ने पानी खान योग्य छैन भने अरू सहर र गाउँमा कस्तो अवस्था होला सहजै अनुमान गर्न सकिन्छ । सार्वजनिक भनिने सरकारी विद्यालयमध्ये धेरैको भौतिक अवस्था गाईको गोठजत्तिको पनि छैन । बर्खामा पानी चुहिएर बस्ने ठाउँ नहुँदा बिदा गर्नुपर्ने विद्यालयको संख्या अनगिन्ती छ । स्वास्थ्य संस्थाहरूको अवस्था पनि खासै फरक छैन । राजधानीकै ठूला सरकारी अस्पतालको अवस्था पो के गतिलो छ र ? सरकारको ध्यान भने मन्त्रीहरूका लागि ‘स्विमिङ पुल’ बनाउनमा केन्द्रित छ । ललितपुरको सैंबुमा ९६ रोपनीभन्दा बढी जग्गा ओगटेर हेल्थ क्लब, पौडी पोखरीलगायत विलासका सुविधासहितको ३३ वटा भवन बनाउने तयारी सरकारले गरेको छ । मन्त्री निवासका रूपमा अहिले पनि पुलचोकमा केही भवन छँदैछन् । औसत नेपालीले कल्पना पनि गर्न नसक्ने सुविधा अहिले नै पुल्चोकस्थित मन्त्रिनिवासमा छन् ।
विद्यालयहरूमा भौतिक सुविधा नहुँदा त बालबालिकाको पढाइ नै बिथोलिएको छ । एक दिन पनि बालबालिकाको पढाइ बिथोलिँदा तिनको जीवनमै गम्भीर असर पर्नसक्छ । स्वास्थ्य संस्थामा सामान्य सुविधामात्रै थप गर्न सके पनि कतिको ज्यान जोगिन सक्छ । गर्भवतीको नियमित स्वास्थ्य परीक्षण गर्ने सुविधामात्र पनि सबै स्वास्थ्य संस्थामा भए जन्मजात अपांगता रोकथाममा धेरै ठूलो सहयोग पुग्छ । शासकहरूलाई भने विद्यालय भवनको चिन्ता छैन । आफ्ना लागि राज्यको ढुकुटीबाट विलासी सुविधा जुटाउने ध्याउन्ना छ । अहिले मन्त्रीका लागि विलासी महल नबनाए देशलाई कुनै हानि हुन्छ ? पीठोको तिहुन र चिउरा खाएर पानी चुहिने टहरामा बस्न विवश जनताले बाढीको निहुँमा हेलिकप्टरमा सयर गर्ने यी शासकको जय गान गर्लान् कि यिनलाई धारे हात लगाउलान् ? आधारातमा पन्ध्र मिनेट पानी तान्न रातभर जाग्राम बस्ने सहरवासीलेमन्त्रीहरूका लागि पौडी खेल्ने पोखरीसहितको भवनहरू बन्दैछन् भन्ने सुनेपछि मुर्मुरिएर धिक्कार भन्नु अर्घेल्याइँ हुन्छ र ? शासकहरूलाई किन धिक्कारको पात्र बन्ने रहर लागेको होला ?