नेपालका कम्युनिस्ट शासकहरूको विदेश सम्बन्धमा देखाएको अदूरदर्शी उत्ताउलो क्रियाकलापले मुलुकलाई नयाँ ध्रुवीकरणतर्फ घचेट्ने लक्षण बढेको छ । विशेषगरी आफ्नै मुलुकमा विवादको भुमरीमा परेका भेनेजुयलाका अधिनायकवादी शासक निकोलस मदुरोप्रति सत्तारुढ कम्युनिस्ट पार्टीका केही नेताले देखाएको झुकाव नेपालका लागि प्रत्युत्पादक हुने जोखिम बढेको छ । भेनेजुयलाका जनताले त्यहाँका शासकको दमनकारी व्यवहारविरुद्ध गरेको प्रदर्शनको विरोध गर्दै सत्तारुढ नेकपा (नेकपा)का दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहालले दिएको अमेरिका विरोधी वक्तव्यपछि चिसिएको सम्बन्ध अझै सहज भइसकेको छैन । तर, त्यसबाट सिक्नुको साटो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू भेनेजुयलाका विवादास्पद सत्तासँगको हिमचिम बढाएर अमेरिकालाई चिड्याउन तल्लीन देखिएका छन् । भेनेजुयलाका राष्ट्रपति मदुरोका छोरा शासक निकोलस अर्नेस्टो मडुरो गुयरालगायतको एउटा टोली अहिले नेपालका कम्युनिस्ट नेताहरूसँग छलफलमा व्यस्त रहेको सार्वजनिक भएको छ । छोरा मदुरो पनि त्यहाँका हुन् ।
जनविद्रोहपछि सेनाको भरमा टिकेका भेनेजुयलाका राष्ट्रपतिका प्रतिनिधिहरूलाई अहिले नेपालमा निम्त्याउनु कूटनीतिक अपरिपक्वता त हुँदै हो अमेरिका र युरोपेली संघलाई चुनौती दिनु पनि हो । कुनै नेता वा पार्टीको स्वार्थ, सनक र महत्त्वाकांक्षाबाट परराष्ट्र सम्बन्ध निर्देशित हुनु हुँदैन । नेपालले अमेरिका वा युरोपेली राष्ट्रहरूले जति नै दबाब दिए पनि आफ्नो भूमिमा ‘स्वतन्त्र तिब्बत’सम्बन्धी गतिविधि गर्न दिएर चीनलाई बिच्क्याउनु राष्ट्रहित विपरीत हुन्छ । यस्तै, भारतविरुद्ध लक्षित कुनै पृथकतावादी वा आतंकवादी क्रियाकलाप पनि आफ्नो भूमिमा हुन दिनु नेपालकै अहितमा हुन्छ । त्यसैगरी अमेरिका वा युरोपेली युनियन चिडिने गरी भेनेजुयला, उत्तर कोरिया वा कुनै तानाशाह मुलुकको गतिविधि देशमा बढ्न दिनु नेपालको हितका हुँदैन । नेपालले सबैभन्दा पहिले आफ्नो हितको रक्षा गर्नुपर्छ । नेपालका कम्युनिस्ट शासकहरूको उत्तर कोरिया र भेनेजुयलासँग हिमचिम बढाउने क्रियाकलापले देशको अहित गरेको छ ।
सत्ताधारीहरूको सनक, स्वार्थ र महत्वाकांक्षाको दुष्परिणाम सामान्य जनताका लागि निकै महँगो हुनपुग्छ । विश्वले एक्ल्याएका तानाशाहहरूसँग सत्तारुढ दलका वरिष्ठ नेताहरूले नै यसरी हिमचिम बढाउने हो भने देशभित्रै गैरकम्युनिस्ट ध्रुवीकरण बढ्न सक्छ । त्यतिमात्र हैन सत्तारुढ दलका नेताले कम्युनिस्टहरूलाई निम्त्याएजसरी नै गैरकम्युनिस्टहरू पनि समान विचारधारका दल र व्यक्तिलाई देशमा बोलाउन थाले भने त्यसको दुष्परिणाम भयावह हुनसक्छ । सत्तारुढ कम्युनिस्टहरूले अरू कम्युनिस्ट शासकहरूसँग हिमचिम बढाउन थाले गैरकम्युनिस्टहरू पनि त्यस्तै सम्बन्ध बढाउन र विस्तार गर्न अग्रसर हुनसक्छन् । व्यवहारिक राजनीतिमै पनि टाट पल्टन लागेको भेनेजुयलाको सत्तासँग हिमचिम बढाएर विश्व शक्ति अमेरिकालाई बिच्क्याउने कामलाई कसैले पनि बुद्धिमत्तापूर्ण पक्कै भन्दैनन् । अगिल्लोपटक भेनेजुयला प्रकरणमा भएको क्षति अझै पूर्ति भइसकेको छैन । परराष्ट्र मन्त्रालयले बेलैमा छोरा मदुरोको भ्रमणप्रति नेपाल सरकारको आधिकारिक धारणा स्पष्ट गरेर बेलैमा धेरै क्षति हुनबाट रोक्नु जरुरी देखिन्छ । देशलाई कसैको सनक, स्वार्थ र महत्त्वाकांक्षा बन्धक बनाउन पाइँदैन । मदुरोको सत्ता जोगियो भने कम्युनिस्ट नेताहरू त भेनेजुयलाको सयर गरिरहलान् तर अमेरिका र पश्चिमको कोपभाजन हुनुपरेमा नेपाली जनताका लागि निकै महँगो हुनेछ । चेतना भया !