दाङ । सडकमा निकै तातो हावाले ‘लु’को संकेत गरेको छ । टिनका छानामुनिका कक्षाकोठामा विद्यार्थीहरु छटपटाइरहेका छन् । सार्वजनिक सवारीसाधनमा खचाखच यात्रुलाई पनि उखरमाउलो गर्मीले सास्ती दिएको छ । मस्किलले धानको बिउ राख्न भ्याएका गराहरु चिराचिरा परेका छन् । पोखरीमा पानी सुक्दा पशुचौपायालाई पिलाउने पानीको समेत समस्या भएको छ ।
अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस नाघेपछि दाङको जनजीवन कष्टकर भएको छ । ज्येष्ठ नागरिकहरुले यसलाई इतिहासकै सबैभन्दा गर्मीका रुपमा लिएका छन् । असार लागिसक्दा पनि वर्षा नभएपछि किसानहरु पनि आत्तिएका छन् । लामो खडेरीका कारण किसानहरुले लगाएको मकैलगायत तरकारी बाली पनि सुकिसकेको छ । दाङको तापक्रम करिब ४२ डिग्री पुगेको मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ । कार्यालयका अनुसार यस वर्षकै उच्च तापक्रम मापन गरिएको छ ।
गर्मीका कारण पानीका मुहानहरु सुक्न थालेका छन् । सबै खानेपानी संस्थाहरुले पानी वितरणको समयमा भारी कटौति गरेका छन् । कुवामा समेत पानी नआउँदा विभिन्न विद्यालय तथा सर्वसाधारणहरुलाई खानेपानीका लागि सास्ती हुने अवस्था आएको छ । ट्यांकरको पानी किनेर जोहो गर्दै आएका विद्यालयहरुले अहिले पैसा तिर्दासमेत पानी पाउन सकेका छैनन् । गाउँघरमा समेत सर्वसाधारणहरु वरपीपलको छहारीमा विश्राम लिने अवस्था आएको छ ।
"पानी पर्दैन घरमा बसीनसक्नु छ, त्यसैले यहाँ अली चिसो हावा आउँछ भनेर शितल खान आएका हौं," तुलसीपुर-४ वनहरीको चौपारीमा बसेका वृद्धवृद्धाहरुले भने । उनीहरुले पहिले-पहिले यो समयमा खेतबारीमा खेतीका लागि धमाधम काम सुरू हुने भए पनि यस वर्ष भने पानी नपरेका कारण खेती सुरु नभएको बताए । "केही दिन अगाडि आएको पानीमा मकै रोपेका हौं तर मकै सबै सुकेको छ", स्थानीय कमल चौधरीले भने ।
गर्मीले गर्दा बजारमा र सरकारी कार्यालयहरुमा पनि चहलपहल देखिँदैन । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स-साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।
केही दिन अगाडि गर्मीको कारण देखाउँदै विद्यालय बन्द गरे पनि दिन प्रतिदिन गर्मी बढेपछि विद्यालय सञ्चालकहरु पनि समस्यामा परेका छन् । विद्यालयहरुमा विद्यार्थीहरुलाई खानेपानीको समस्या भएको छ । "पानीको माग बढी छ, विद्यालयमा दैनिक दुई ट्यांकर खानेपानी बोकेर विद्यार्थीलाई खुवाउनुपर्ने अवस्था छ," गुरुजजुर माविका लेखापाल ध्रुव न्यौपानेले भने ।
सांकेतिक तस्बिर