site stats
बाह्रखरी :: Baahrakhari
देश
बालेन–सुनितासहित वडाध्यक्षको बैठक स्थगित, कांग्रेस र एमाले आन्तरिक छलफलमा

काठमाडौं । स्रोत व्यवस्थापन सम्बन्धि छलफलका लागि बस्ने भनिएको काठमाडौं महानगरपालिकाको बैठक स्थगित भएको छ । बुधबारको अनौपचारिक वार्तापछि आजका लागि तोकिएको बैठकमा उपमेयर सुनिता डंगोलसहित वडाध्यक्षहरू नआएपछि बैठक स्थगित भएको हो ।

मेयर बालेन शाहका सल्लाहकार कुमार व्यञ्जनकारका अनुसार, आज बिहान ११ बजे बोलाइएको बैठक स्थगित भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“महानगरको बजेटका लागि कार्यपालिका बोलाउनुअघि बैठक बस्नुपर्छ । सोही बैठकका लागि स्रोत व्यवस्थापन सम्बन्धि बैठक बोलाइएको थियो । बैठक आइतबारसम्मका लागि सर्‍यो,” उनले भने ।

महानगरका अनुसार बैठकमा उपमेयर सुनिता डंगोल, महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, ३२ का अध्यक्ष नवराज पराजुली, वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोललाई बोलाइएको थियो ।
११ बजे बैठक बस्ने भन्दै उपमेयरसहित वडाध्यक्षहरूले नै समय तोकेका थिए । कांग्रेस र एमालेका कार्यपालिका सदस्यहरू छुट्टाछुट्टै छलफलमा जुटेको महानगरले जनाएको छ ।

“एमाले र कांग्रेसका कार्यपालिका सदस्यहरू आन्तरिक छलफलमा जुट्नुभएको छ । त्यसैले आजको बैठकमा अनुपस्थित हुनुभयो,” महानगर स्रोतले भन्यो ।

बालेनले एकसाता अघि बैठक बोलाएपछि महानगरका प्रतिनिधि उपस्थित नहुँदा बुधबार राष्ट्रिय सभागृहमा अनौपचारिक वार्ता भएको थियो ।

महानगरको आन्तरिक विवादका कारण आर्थिक वर्ष २०८२/८३ को बजेट समेत अन्योलमा छ । महानगरमा स्वतन्त्र मेयर बालेन अल्पमतमा छन् ।

महानगरको ४२ सदस्यीय कार्यपालिकामा कांग्रेसको बहुमत छ । महानगरका ३२ मध्ये कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि १८ र नेकपा (एमाले)का १२ वटा वडा, एकीकृत समाजवादीबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक वडाको नेतृत्व गरिरहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्