सिराहाकी कञ्चन मण्डलको हत्या सामान्य अपराधमात्र होइन नेपाली समाजमा परिवारभित्र हुने हिंसाको क्रूर तस्बिर पनि हो । सामान्य घरायसी विवादमा पति र सासुले गत बिहीवार बिहान घरभित्रै उनलाई आगो लगाएको वयान कञ्चनले प्रहरीलाई दिएकी सार्वजनिक भएको छ । प्रहरीले सासुलाई पक्रेको छ भने पति बालिका छोरीसमेत लिएर फरार भएको बताइएको छ । छिमेकीहरूले प्रहरीलाई खबर गरेपछि कञ्चनको उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँबाट उनलाई उपचारका लागि धरान लगिएको थियो । धरानमा पनि उपचार हुननसकेपछि कञ्चनलाई उनका बाबुले काठमाडौं लिएर आएका आएका थिए । काठमाडौंको एउटा अस्पतालमा उपचार हँदाहुँदै कञ्चनको मृत्यु भएको हो । मार्नैका लागि कञ्चनलाई आगो लगाइएकाले यो अपराध हत्या नै हो । छिमेकीले प्रहरी नबोलाएको भए कञ्चनको प्राण घरभित्रै जाने थियो ।
कञ्चनको दुःखद मृत्युले हाम्रो समाजको कुरूप पक्ष पुनः उदांगो भएको छ । यथार्थमा यस्ता घटना मानव समाजकै लागि कलंक हुन् । नेपाली समाजमा महिलामाथि हुने हिंसाको यो चरम क्रूर रूप त हो नै परिवारभित्रै पनि कुन हदको क्रूरता प्रकट हुनसक्छ भन्ने उदाहरण पनि हो । यस्ता घटना नेपाली समाजमा विशेषगरी तराईमा बढी नै हुनेगर्छन् । त्यस्तो अपराधमा सजाय पाएको वा दिलाइएको भने बिरलै सुनिन्छ । कतिपय अपराधका घटना त प्रहरीसम्म नपुग्दै सामसुम पारिन्छ भने प्रहरी नै पनि अपराधीलाई सजाय दिलाउनभन्दा ‘मिलापत्र’ गराएर मामिला टुंग्याउन बढी तम्सिन्छ । यसैले कञ्चनका बाबु स्थानीय प्रहरीप्रति विश्वस्त हुन नसकेको हुनुपर्छ । नेपाली समाज यस्ता जघन्य अपराधलाई पनि ‘परिवारभित्रको घटना’ भनेर निःस्पृह रहने गर्दा नै कञ्चनहरूको हत्याको क्रम नरोकिएको हो ।
कञ्चनको हत्यामा दाइजोको मामिला गाँसिएको छ छैन भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, नेपाली समाज विशेषगरी तराईमा दाइजोका निहुँमा बुहारी जलाउने अपराध नौलो हैन । उनको हत्यामा उमेर नपुगी विवाह गरिनु पनि एउटा परोक्ष कारण हो भन्नु अत्युक्ति हुँदैन । साथै, नेपाली समाजमा व्याप्त परम्परागत पितृसत्तात्मक सोचले पनि यस्तो अपराधको रोकिन नसकेको हो । यसैले कञ्चनको हत्यालाई प्रदेश नम्बर २ को सरकारले नीति निर्माणका लागि विशेष कारकका रूपमा लिनुपर्छ । यस्ता अपराधलाई घरभित्रको समस्या ठान्ने सामाजिक सोच परिवर्तन गर्न विशेष अभियान चलाउनुपर्छ । साथै, नेपाल प्रहरीले फरार अपराधीलाई पक्रेर अदालतमा उभ्याउन हरसम्भव प्रयास गर्नुपर्छ । कञ्चनका बाबुको मनमा बसेको नेपाल प्रहरीप्रतिको अविश्वास मेटाउनु नेपाल प्रहरीका लागि चुनौती पनि हो । स्थानीय समाजका अगुवाहरू सबैले एकै स्वरले निन्दा गरेर अपराधीलाई सजाय दिलाउन सकेमा यस्तो क्रूरता समाजबाट कम हुँदै जानेछ ।