नयाँ वर्ष सुरु हुँदा नहुँदै सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुःखद दुर्घटना भयो । समिट एअरको जहाज र मनाङ एअरको हेलिकप्टर ठोकिँदा आइतवार बिहानै ३ जनाको ज्यान गयो । जहाजका कोपाइलटका साथै विमानस्थलमा खटिएका दुई सुरक्षाकर्मीको दुर्घटनामा मृत्यु भएको छ । प्रारम्भिक जानकारीअनुसार समिट एअरको जहाज यात्रु छाडेर लुक्लाबाट फर्कन लाग्दा मनाङ एअरको हेलिकप्टरमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाग्रस्त समिट एअरको जहा विमानस्थलमै रहेको श्री एअरको हेलिकप्टरसँग पनि ठोकिएको छ । दुर्घटनाको प्रत्यक्षदर्शीका अनुसार समिट एअरको कलसाइन नाइन एन – एएमएच’ रहेको जहाज उड्न लाग्दा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । विमानस्थलको अवस्था, विमानको प्राविधिक अवस्था र चालकको स्थितिमध्ये दुर्घटनाको जुन कारण भए पनि मूलतः हवाई सुरक्षाका मापदण्डमा गरिएको खेलाँची नै दुर्घटनाको मूल कारण देखिन्छ ।
हवाई दुर्घटनामा देशको पर्यटनमन्त्री गुमाउँदा पनि नेपालमा हवाई यात्रा सुरक्षित बनाउन खासै ध्यान दिइएको देखिँदैन । नेपालका अधिकांश विमानस्थलहरूको र्भातिक अवस्था सन्तोषजनक छैन । कतिपय विमानस्थल भौगोलिक दृष्टिले पनि जोखिपूर्ण छन् । त्यस्तै कतिपय कम्पनीका विमान पनि नियामक निकायले ‘उडान योग्य’ भए नभएको अनुगमन राम्ररी नगरेको भन्ने समाचार बेलाबखत आउने गरेका छन् । नेपालमा केही कम्पनीले अन्यत्र उडान अयोग्य भइसकेका थोत्रा जहाज ल्याउने र तिनको पनि तालिकाअनुसार गर्नुपर्ने मर्मत सम्भार नगरी जोखिमपूर्ण उडानमा लगाउने गरेको आरोपसमेत लाग्ने गरेको छ । युरोपको आकाशमा नेपाली विमानलाई प्रवेश गर्न नदिने मूल कारण यही विमानको अवस्था हवाई उडान मापदण्डअनुरूप नराख्नु हो भन्ने मानिन्छ । यसैले लुक्लाको जस्तो दुर्घटना नेपालीका लागि नियमित आकस्मिकता बन्न पुगेको हो ।
दुर्घटनाको वास्तविक कारण त सरकारले बनाउने छानबिन समितिले मात्र बताउन सक्ला । तर, अहिलेसम्मकै विवरणका आधारमा पनि विमान सञ्चालकहरूको हेलचेक्य्राइँ, थोत्रा जहाज, विमानस्थलहरूको भौतिक अवस्था, प्राविधिक त्रुटि, मानवीय कमजोरी तथा भौगोलिक विकटता नै मूलतः दुर्घटनाका मुख्य कारण भएको निष्कर्षमा भने सहजै पुग्न सकिन्छ । त्यसो त सडक यात्रा पनि सुरक्षित छैन र मूलतः यातायात सेवा सञ्चालक तथा नियामक निकायको हेलचेक्य्राइँ र बदनियतका कारण अधिकांश सडक यात्रुले सधैँ हत्केलामा ज्यान लिएरै यात्रा गर्नुपरेको छ । विशेषगरी कच्ची सडकहरूमा र अझ इन्जिनियरिङसमेत गलत भएका ग्रामीण सडकमा यात्रा गर्न बाध्य यात्रुहरू सधैँ नै जोखिममा हुन्छन् । हवाई जोखिमपूर्ण र महँगो भए पनि गन्तव्यमा छिटो पुगिन्छ । यसैले मूलतः दुर्गम भेगका बासिन्दालाई हवाई जहाज चड्नुपर्ने बाध्यता छ । सरकारले जनताको यस्तो बाध्यतालाई सुरक्षित र सकेसम्म सहज पनि बनाउन ध्यान दिनुपर्छ । हवाई उडानको सुरक्षामा खेलाँची हुँदा अकल्पनीय क्षति जो हुन्छ । यस्ता दुर्घटना दोहोरिन नपाऊन् भनेर सरकारले सम्भव सबै उपाय गर्नुपर्छ । अप्ठेरो जति ‘भगवान भरोसा’मा छाड्ने हो भने सरकार पो किन चाहियो र ?