दश वर्षअघि नाटक ‘अन्धो युग’बाट नेपाली रंगमञ्चमा भित्रिए, विजय बराल । ‘सुनकेसरी’, ‘डिग्री माइला’, ‘सिरुमा रानी’, ‘विलगेट्स पण्डित’, ‘एन्टीगोनी’, ‘जालिनी’, ‘सकेको गरौंला नत्र फिरिमा’लगायत उनले दुई दर्जनभन्दा धेरै नाटकमा अभिनय गरिसकेका छन् । ‘विलगेट्स पण्डित’बाट नाटकको मुख्य क्यारेक्टर निभाउन थालेका विजयलाई चलचित्र ‘कबड्डी’ले आम पाठकमाझ परिचित गराइदियो ।
‘छड्के’, ‘साँगुरो’, ‘कर्कस’ उनले खेलेका चलचित्र हुन् । चलचित्र ‘कबड्डी’मा दयाहाङ राईसँग दलित क्यारेक्टरमा देखिएपछि विजय बराल आम दर्शकमाझ नोटिस भएका थिए । त्यसयता उनले दर्जनभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् । विजले ‘पण्डित बाजेको लौरी’, ‘हुर्रे, ‘मिस्टर झोले’ लगायत दर्जनभन्दा धेरै चलचित्रमा उनले अभिनय गरिसकेका छन् ।
‘माछामाछा’ र ‘दयारानी’ उनले अभिनय गरेका तर रिलिज हुन बाँकी चलचित्र हुन् । पछिल्लो समय थिएटरबाट चलचित्रमा जाने लहर चलेको छ । थिएटरलाई भर्याङ बनाएर चलचित्रमा जानेको लर्को लागिरहेका बेला यसको कारण के हुन सक्छ, चलचित्रप्रति बढ्दो आकर्षणको कारण के हो ? यी र यस्तै विषयको सेरोफेरोमा केन्द्रित रहेर विजय बरालसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
० ० ०
पछिल्लो दशक काठमाडौंका नाटक घरहरु चलचित्रका लागि कलाकार ‘हन्ट’ गर्ने थलो बनेका हुन् ?
त्यस्तै देखिन्छ । पछिल्लो समय त चलचित्रमा जाने सोंच बनाएर थिएटरमा आएको देख्छु । थिएटरमा गएपछि केही सिकिन्छ र थिएटर गरेको भनेपछि चलचित्रले पनि लिन्छ भन्ने सोचेर थिएटरमा आइरहेको देखिन्छ । नाटकमा आउने आम व्यक्तिको यो सोचाइ र व्यवहारका कारण अरुले हेर्दा त्यस्तै देखिन्छ । थिएटर चलचित्रका लागि कलाकार लिने ‘जक्सन’ जस्तो भएको छ । तर सुरुमै चलचित्रका लागि हामी एक्टिङ सिकाउँदैनौं चहानु हुन्छ भने बस्नुस् नभए नबस्नुस् भनेर भनेका हुन्छौं ।
दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीलाई चलचित्रमा देखेर आउनु भएको हो नआउनुस् भनेर भनेका हुन्छौं । तीन महिनापछि थिएटरबाट कहाँ जानु हुन्छ त्यो त हामीलाई पनि थाहा हुँदैन । आफूले चाहेको काम गर्ने अधिकार त सबैलाई छ ।
यसको असर चलचित्रमा कस्तो देखिरहेको छ ?
नराम्रो असर देखिरहेको छ । तीन महिनाको थिएटर कोर्ष गरेपछि सबै थोक गर्न सकिन्छ । तीन महिनामै अभिनयमा पारंगत भइँदैन । तर फिल्म मेकरको सोच थिएटर अभिनय गरेको व्यक्ति पारंगत हुन्छ भन्ने छ । यो गतल हो । यही कारण बिग्रिरहेको छ । तीन महिनाको कोर्षले डर पनि हराएको हुँदैन । आत्मविश्वास बढेकै हुँदैन । यसले चलचित्रमा नकारात्मक असर गरिरहेको छ । बुझ्दै नबुझी गरिने कामको असर त अवश्य पर्छ ।
नाटक र चलचित्रको अभिनय एकै खालको भयो भन्ने आरोप छ । यो आरोप कहिलेसम्म झेलिरहने हो ?
यो क्यारेक्टरको कुरा हो । मैले नाटकमा गर्ने क्यारेक्टर चलचित्रमा आजसम्म आएको छैन । मैले जस्तो काम गर्नसक्छु त्यो चलचित्रका दर्शकले देख्न पाउनु भएकै छैन । जहिले पनि कमेडी रोलमा मात्रै देखिन्छ चलचित्रमा मलाई । मलाई कमेडी क्यारेक्टर मात्रै दिनू त मेकरको गल्ती हो नी । थिएटरमा कमेडीबाहेक अलगअलग रोल त धेरै गरिसकेँ । यहाँ मेरो क्यारेक्टर हेर्न कोही आउँदैन । मलाई जे सुरुका चलचित्रमा देखे मेकरहरुले त्यस्तै दिए । यसमा मेरो कमजोरी छैन । अभिनयको आआफ्नै ‘प्याटन’ हुन्छ । सबैले एउटै गरे भने त किन सबैलाई हेर्ने ? एकै जनाको अभिनय हेरे पुगिहाल्छ नि । विपिन कार्कीको जस्तो गर्यो भने यी यसले विपिनको जस्तो गर्यो भन्ने आरोप आइहाल्छ ।
अहिले अधिकांश कलाकारले प्रत्येक चलचित्रमा मिल्दोजुल्दो क्यारेक्टर दोहोर्याए भन्ने आरोप छ नि ?
अभिनयको आ-आफ्नै तरिका हुन्छ । एउटामा जे गरेको छ त्यो दर्शकले मन पराए भने त्यही नै गर्नुपर्यो भनेर मेकरले भन्छन् । बुद्धी तामाङको ‘हैट’ थेगो हिट भएपछि सबै मेकरलाई आफ्नो चलचित्रमा बुद्धीको ‘हैट’ थेगो नै चाहिन्छ । किन भनाए ? यसमा बुद्धी दाइको गल्ती छ र ?
तपाईं पनि चलचित्रमै काम गरिरहेको कलाकार । अनुभव छ । किन भनाउँछन् ?
मासले जे मन पराए मेकरले त्यही खोजिरहेको छ । एक्टरको हकमा मेकरले भनेको मान्नु पर्छ । चलचित्रमा साइन गरिसकेपछि कि चलचित्र नै छोड्नु पर्यो होइन भने काम गर्नुपर्यो । आयस्रोत प्रसस्त नभएका कारण चलचित्र छोड्न सक्ने अवस्था पनि छैन ।
चलचित्रका लागि कलाकार खोज्दै मेकरहरु नाटकघरसम्म नआउने हो भने थिएटरहरु हुन्थे कि हुँदैन थिए ?
थिएटर त हुन्थे । तर सत्य के हो भने विद्यार्थी कम हुन्थे । तर चलचित्रका लागि हामी थिएटरका कलाकारलाई नलिए पनि हामीलाई केही फरक पर्दैन । किनभने हामी नाटककै लागि भनेर आएका हौं । नाटक त हामी गर्छौं नै । अलिकती पैसा कम हुन्छ होला त्यती मात्रै हो । चलचित्र नहुँदा नाटक नै हुँदैन भन्ने होइन ।
रंगकर्मीहरु चलचित्रमै ‘फोकस’ भएका चाँहि होइनन् ?
केही हदसम्म हो । किनकी अभिनेताले जहाँ भए पनि अभिनय गर्ने हो । चाहे त्यो नाटकमा होस् या चलचित्रमा । नाटकमा मात्रै काम गर्छु भनेर बस्नेको संख्या निकै कम छ । म आफैँ पनि चलचित्रमा काम गरिरहेको छु । किनकी मलाई पनि लोभ छ । हिट हुने त मेरो पनि त लोभ हो । तर जता गरे पनि अभिनय नै हो । त्यसो भए, किन नगर्ने भन्ने प्रश्न आउँछ । म निर्देशन र निर्माणमा छैन भने जे जानेको छु त्यही गर्ने हो । मैले अभिनय गर्न जानेको छु त्यसैले अभिनय नै गर्ने हो चाहे त्यो नाटक होस् या चलचित्र ।
जीवन चलाउन नाटक मात्रै गरेर कठिन छ भनिन्छ नि !
छैन । घर नै बनाउँछु भनेर लागे पनि सकिन्छ । तर त्यसका लागि थिएटरलाई समय दिनुपर्छ । सोच अनुसारको काम गनुपर्यो । फन्डिङ पनि आइरहेको हुन्छ । सडक नाटक होला । रेडियो नाटक होला । गाउँगाउँ भएर नाटक गरेर चेतना अभिवृद्धि गर्ने कामका लागि अहिले स्थानीय निकायले बजेट छुट्टयाइरहेको छ । उपाय धेरै छन् । हामीले बाटाहरु नखोजेको मात्रै हो ।
तपाई पनि चलचित्रमा व्यस्त जस्तो देखिनुहुन्छ नि !
म चलचित्र र नाटक दुबैमा काम गरिरहेको छु । तीन चारवटा नाटक गर्दा ६ महिनादेखि चलचित्रमा काम गरेको छुइँन । अफरहरु त आइरहेका छन् तर गरेको छैन । म चलचित्र नगर्ने त होइन तर नाटक गरिरहेको समयमा चलचित्रको काम आयो भने पनि गर्दिन ।
चलचित्रमा कमेडी रोलमा धेरै काम गर्नुभयो । सन्तुष्ट हुनुहुन्छ ?
छैन । सन्तुष्ट छैन । एउटै क्यारेक्टर दोहोरिरहँदा कहाँ राम्रो लाग्छ ? दर्शकले फरक टेस्ट खोजे जस्तै अभिनेतामा पनि नयाँ काम गरौं भन्ने चाहना हुन्छ । तर त्यो नपाउँदा पक्कै पनि राम्रो लाग्दैन । मैले आफू पनि फरकफरक क्यारेक्टर छान्ने मौका पाएँ भने दर्शकसामु जाँदा पनि रमाइलो लाग्छ । आफूलाई पनि बोर लाग्दैन । यस्ता धेरै क्यारेक्टर मैले गर्दिन भनेको छु ।
तर, सधैँभरी अफरलाई लत्याएर बस्न पनि सकिँदैन । धेरै समय काम गरेन भने दर्शक र मेकर दुवैले बिर्सिने सम्भावना हुन्छ । म जस्ता कलाकार धेरै छन् । मेरो विकल्प अरु पनि भए पछि मै चाहिन्छु, म नभए चलचित्र नै बन्दैन । क्यारेक्टर नै निकाल्नुपर्छ स्क्रिप्टबाट भन्ने हुँदैन । त्यसैले लामो समय होल्ड पनि गर्न सकिँदैन । फरक र राम्रो काम गर्ने प्रयास गर्दै जाने हो ।
अहिले आइरहेका क्यारेक्टरमा चित्त बुझेको छैन । आफैं आफूलाई दिइएको क्यारेक्टरमा इन्टरटेन गर्न सक्दिन । इनर्जी नै आउँदैन । मेकरहरुले किन यसले अरु पनि काम गर्न सक्छ भनेर बुझ्दैनन् जस्तो लाग्छ । आम दर्शकले जे खोज्छ त्यतैतिर मेकर ढल्किरहेका छन् । बजारले वाइवाइ माग्यो भने बिक्री भइरहेको छ यही नै बेचौं भन्ने छ हाम्रोमा । वाइवाइभन्दा राम्रो अर्को राम्रो प्रोडक्ट बेचौं भन्नै सोंच अथवा क्रिएटिभ सोंच नै छैन ।
तपाईंको करिअरमा चलचित्र ‘कबड्डी’ नआएको भए के हुन्थ्यो ?
‘कबड्डी’ नआएको भए म नाटक मात्रै गरिरहेको हुन्थेँ । तपाईंसँग अहिले भइरहेको यो कुराकानी पनि हुँदैन थियो । किनभने म चर्चित हुन्न थिएँ । अहिलेको जस्तो धेरैले चिन्नुहुन्न थियो ।
तस्बिर : सौरभ रानाभाट/ बाह्रखरी