
काठमाडौं । परराष्ट्र मन्त्रालय फेरि सार्ने तयारी हुँदै छ । आफ्नै भवन नहुँदा परराष्ट्र मन्त्रालय एकै ठाउँमा स्थायी भएर बस्न पाएको छैन ।
सिंहदरबारभित्र हाल परराष्ट्र मन्त्रालय रहेको भवन अर्थ मन्त्रालयको हो । अर्थ मन्त्रालयले उक्त भवन आफूलाई आवश्यक परेको भन्दै खाली गर्न भनेपछि परराष्ट्र मन्त्रालय फेरि एक पटक सर्ने तयारी गरिरहेको छ ।
“अर्थले हामी बसिरहेको भवन चाहियो, छिटोभन्दा छिटो खाली गरिदिनोस् भनेको छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “अब फेरि सर्नुपर्ने भएको छ । हाम्रो कामै सर्नेमात्र जस्तो भएको छ ।”
व्यङ्ग्य गर्दै ती अधिकारीले परराष्ट्र मन्त्रालयको नाम अब ‘सरिरहने मन्त्रालय’ राख्नुपर्ने सुझाए ।
परराष्ट्र मन्त्रालय हाल गृह मन्त्रालय बसेको भवनमा सर्ने तयारी गरिरहेको छ । गृह मन्त्रालय आफ्नै अत्याधुनिक भवन निर्माण गरी सर्न लागेकाले उक्त भवनमा सर्ने योजना परराष्ट्रले बनाएको हो ।
गृह मन्त्रालय बस्नुअघि उक्त भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो । प्रधानमन्त्री कार्यालय आफ्नै भवनमा सरेपछि त्यहाँ गृह मन्त्रालय बसेको हो ।
परराष्ट्र मन्त्रालय पहिलो पटक सर्न लागेको होइन । स्थापनाकालदेखि परराष्ट्र मन्त्रालय पटक पटक सर्दै आएको छ । सबैभन्दा बढी पटक सर्ने मन्त्रालयको रेकर्ड सम्भवतः परराष्ट्रको नाममा हुनुपर्छ ।
“नेपालमा परराष्ट्र मन्त्रालयले महत्व पाएन । महत्व भनेको भनेर होइन, व्यवहारमा देखिनुपर्छ,” परराष्ट्र मन्त्रालयका पूर्वसचिव मदन भट्टराईले बाह्रखरीसँग भने ।
कम महत्व पाएकै कारण परराष्ट्र मन्त्रालय आफू बसेको ठाउँबाट पटक–पटक लखेटिने गरेको छ । कहिले शीतल निवास त कहिले नारायणहिटी दरबार संग्राहालय परिसरभित्र । सिँहदरबारभित्र र बाहिर गर्ने नियति नै बनेको छ ।
पूर्वपरराष्ट्र सचिव भट्टराईका अनुसार, जैसीकोठाबाट मुन्सीखाना, परराष्ट्र विभाग हुँदै परराष्ट्र मन्त्रालय बन्दा यो मन्त्रालयले धेरै ठाउँ चहारेको छ । नेपाल एकीकरण गरेपछि पृथ्वीनारायाण शाहले विदेशसँगको सम्बन्ध हेर्न ‘जैसीकोठा’ कार्यालयको स्थापना गरेका थिए ।
परराष्ट्र मन्त्रालयको सुरुवाती रुप जैसीकोठा हो । जैसीकोठाको नाम परिवर्तन हुँदै परराष्ट्र मन्त्रालय बनेको हो । सन् १७६९ मा जैसीकोठाको स्थापना गरिएको थियो । त्यतिबेला खासगरी यो कार्यालयले तिब्बत र चीनसँगको सम्बन्ध हेर्थ्यो ।
‘जैसीकोठा’ नाम राख्नु पछाडि दुईमध्ये एउटा कारण हुनसक्ने भनाइ भट्टराईको छ ।
“ज्योतिषी कोठाबाट जैसी कोठा भएको पनि हुनसक्ने भयो । किनभने त्यतिबेला ज्योतिषलाई हेराएर मात्र कुनै पनि साइत गर्ने चलन थियो । यो चलन पछिसम्म थियो,” उनले भने, “अथवा पहिलो हाकिम भानु जैसी भन्ने थिए । भानु जैसीको कोठाबाट जैसी कोठा भएको पनि हुन सक्ने भयो ।”
नाम कसरी रहन गयो भन्ने अझै अनुसन्धानकै विषय हो । बढी सम्भावना ज्योतिषी कोठाबाट जैसी कोठा भएको हुनसक्ने अनुमान उनको छ । त्यतिबेला ज्योतिषको काम गर्नेलाई जैसी भनिन्थ्यो ।
नाम जे जसरी जुराइए पनि जैसीकोठा सुरुमा हनुमानढोका दरबार परिसरमा रहेको एउटा भवनमा थियो । यो नेपालको विदेश सम्बन्ध हेर्नैका लागि खोलिएको पहिलो कार्यालय थियो ।
पूर्वपरराष्ट्र सचिव भट्टराइका अनुसार हनुमानढोकाबाट जैसीकोठा केहीपर याट्खामा सरेको थियो । भीमसेन थापा प्रधानमन्त्री हुँदा जैसीकोठाको नाम परिवर्तन गरी ‘मुन्सी खाना’ बनाइयो । त्यसपछि जैसीकोठालाई मुन्सी खानाको एउटा एकाइ बनाइ राखिएको थियो ।
हनुमानढोका दरबारमा हुँदा विभिन्न फाँटहरू थिए । त्यसपछि यसलाई छुट्टै भवन बनाएर सार्ने निर्णय भयो । अनि मुन्सी खाना सरेको थियो । “याट्खा टोलमा कालभैरव थान छ, यहाँबाट अलिकति अगाडि गएपछि मखनको पशुपतिनाथ छ । कुमारी मन्दिर अगाडि पूर्वउत्तर कुनामा एउटा स्कुल छ । त्यहाँ मुन्सी खाना बस्यो,” भट्टराईले भने ।
राणा शासनमा ‘मुन्सी खाना’ले आफ्नो नाम परिवर्तन गरेन । राणा शासनमा मुन्सी खानाभित्र इकाइहरू थपघट गर्ने काम भयो तर नाम फेर्ने काम भएन । पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले मुन्सी खानाको पुनर्गठन गर्दै इकाइहरू राखेका थिए ।
जंगबहादुरले त्यतिबेला मुन्सी खानाभित्र ब्रिटिस इन्डिया डिभिजन, जैसीकोठा, मुन्सी क्याप्टेन अफिस जस्ता इकाइ राखेका थिए ।
याट्खाबाट दुईपटक मुन्सीखाना व्यक्तिको घरमा सर्यो । ती व्यक्ति मुन्सी नै थिए । मुन्सीको घर खिचापोखरीमा थियो । त्योबेलाको बडाकाजी (मुन्सी) मरिचमान सिंह थिए । उनी बिरामी भएपछि बिदा पाउँ भनी निवेदन दिएका थिए ।
भट्टराईका अनुसार, तर चन्द्रशशशेर महाराजले ‘बिदा हुँदैन, तिमीलाई सञ्चो नहुन्जेल घरमै अफिस राख’ भन्दिनुभयो । त्यसपछि मुन्सीखाना बडाकाजी मरिचमान सिंहको घरमा बस्यो ।
चन्द्र शमशेरले पनि आफू प्रधानमन्त्री हुँदा मुन्सीखानाको पनुर्गठन गरेका थिए । उनले पाँचवटा डिभिजन र एउटा एसोसिएट डिभिजन बनाए ।
चन्द्रशमशेरले मुन्सीखानामा जैसीकोठा, सदर अमिनी गोस्वारा, सीमा सर्वे, इन्डिया–ग्रेट व्रिटेन डिभिजन र मुन्सी क्याप्टेन्स अफिस गरी पाँच वटा डिभिजन बनाएका थिए । एसोसिएट डिभिजनमा ‘सिंह दरबार फरमैसी अड्डा’ राखेका थिए ।
अर्को पटक वि.सं. १९९० सालमा महाभुकम्प गएपछि पनि मुन्सीखाना मुन्सीको खिचापोखरीस्थित निवासमा सरेको थियो । यसरी दुई पटक मुन्सीखाना व्यक्तिमा घरमा दुईपटक सरेको थियो ।
राणा प्रधानमन्त्री जुद्ध शमशेरले मुन्सीखानाको अंग्रेजी नाम ‘डिपार्टमेन्ट अफ फरेन अफेयर्स’ राखेका थिए । उनले अंग्रेजीमा यो नाम चलाउन निर्देशन दिएका थिए । त्यसपछि यसलाई विदेश विभाग पनि भन्न थालिएको थियो र यसमा महानिर्देशक नियुक्त गर्न थालिएको थियो ।
“डिपार्टमेन्ट अफ फरेन अफेयर्स बनेपछि अहिले जहाँ सैनिक मुख्यालय छ त्यहाँ एउटा भवन बन्यो । त्यहाँ मुन्सीखाना सारियो । त्यहाँ मुन्सीखाना सिंहदरबार नसरुन्जेलसम्म रह्यो,” भट्टराईले भने ।
त्यतिबेला मुन्सीखानाका मुख्य काम शासकहरूको निर्देशनमा काम गर्ने थियो । त्यसको अलवा भारत र ल्हासामा खोलिएका केही कार्यालयहरूसँग समन्वय गर्ने पनि थियो ।
परराष्ट्र मन्त्रालयको आधिकारिक वेबसाइटमा उल्लेख गरेअनुसार त्यतिबेला पटनामा ‘अलैची कोठी’, ल्हासामा ‘वकिल कार्यालय’, बनारसमा ‘वकिल कार्यालय’ र कलकत्तामा ‘वकिल कार्यालय’ रहेका थिए । मुन्सीखानाले ती कार्यालयहरूको काम हेर्थ्यो । पछि ती कार्यालय नयाँ दिल्ली सारिएको थियो ।
नेपालको पहिलो कूटनीटिक सम्बन्ध सन् १८१६ मा बेलायतसँग जोडिएको थियो । राणा शासनको पालासम्म नेपालको कूटनीतिक सम्बन्ध बेलायत, अमेरिका, भारत र फ्रान्स गरी चारदेशसँग विस्तार भएको थियो । २००७ सालमा राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको थियो ।
“२००७ सालको राजनीतिक परिवर्तनपछि मुन्सीखाना सिंहदरबार सरेको थियो । त्यसपछि मुन्सीखानाको नाम परराष्ट्र मन्त्रालय राखियो,” पूर्वपरराष्ट्र सचिव भट्टराईले भने । २००७ सालमा एक स्वतन्त्र परराष्ट्र मन्त्रालय स्थापना गरिएको थियो ।
प्रजातन्त्र स्थापनापछिको दशक नेपालका लागि महत्वपूर्ण रहेको थियो । यस अवधिमा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य मात्र बनेन असंलग्न आन्दोलनको सदस्य पनि बन्यो । यसले नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको थियो । यस दशकमा नेपालले कूटनीतिक सम्बन्ध विश्वका २६ देशसँग जोडिसकेको थियो ।
प्रजातन्त्रको स्थापना र कूटनीतिक सम्बन्ध विस्तारसँगै परराष्ट्र मन्त्रालयमा महाशाखाहरू थप्ने काम भएको थियो ।
संयुक्त राष्ट्र संघ महाशाखा, युरोप अमेरिका महाशाखा, उत्तर पूर्व र दक्षिण पूर्व एशिया महाशाखा, दक्षिण एसिया महाशाखा, प्रोटोकल महाशाखा र प्रशासन महाशाखा परराष्ट्रभित्र राखिएको थियो ।
“२०३० साल असारमा सिंहदरबार आगलागी भयो । सिंहदरबारमा आगलागी भएपछि परराष्ट्र मन्त्रालय फेरि सर्यो,” पूर्वपरराष्ट्र सचिव भट्टराईले बताए । सिंहदरबारमा आगलागी भएपछि परराष्ट्र मन्त्रालय प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह (सिटी हल)मा सरेको थियो ।
“त्यसपछि राजा वीरेन्द्रले परराष्ट्रलाई छुट्टै र राम्रो भवन चाहिन्छ भनेपछि राष्ट्रिय सभागृहबाट परराष्ट्र फेरि सिंहदरबारभित्र सर्यो,” उनले भने ।
त्यतिबेला सिंहदरबारमा परराष्ट्रलाई भनेर छुट्टै भवन बनाइएको थियो । तर त्यहाँ पनि परराष्ट्र लामो समय बस्न पाएन । उक्त ठाउँ महान्यायाधिवक्ताको कार्यालयले लियो । परराष्ट्र मन्त्रालय फेरि सर्न बाध्य भयो र सिंहदरबारबाट बाहिरियो ।
सिंहदरबारबाट निस्केर परराष्ट्र शीतल निवास पुग्यो, जहाँ यतिखेर राष्ट्रपति कार्यालय छ । शीतल निवासमा पनि परराष्ट्रले लामो समय बस्न पाएन । शीतल निवास राष्ट्रपतिका लागि आवश्यक परेको भन्दै सन् २००९ को मार्चमा परराष्ट्रलाई त्यहाँबाट धपाइयो ।
शीतल निवासबाट निस्केर परराष्ट्र मन्त्रालय नारायणहिटी दरबार संग्रहालय परिसरमा बस्यो । परराष्ट्र तीन वर्ष पनि नारायणहिटीमा बस्न पाएन । सन् २०११ मा परराष्ट्रलाई फेरि सिंहदरबारभित्र हुलियो र अर्थ मन्त्रालयको आडमा रहेको अर्थकै भवनमा सर्यो । हालसम्म मन्त्रालय त्यही भवनमा छ र अर्थले छिटो खाली गर्न भनेको छ ।
“परराष्ट्र मन्त्रालयको अवस्था बिरालाले बच्चा सारेजस्तो भयो,” पूर्वपरराष्ट्र सचिव भट्टराईले व्यङ्ग्य गरे । नेपालले विश्वका १८२ देशसँग कूटनीति सम्बन्ध स्थापना गरिसकेको छ । नेपालका ३१ दूतावास, तीन स्थायी नियोग र सातवटा महावाणिज्य दूतावास गरी कुल ४१ वटा नियोग सञ्चालन छन् । राहदानी विभाग र कन्सुलर सेवा विभाग परराष्ट्र मन्त्रालयअन्तर्गत छन् ।
परराष्ट्रको मातहतमा चार सयभन्दा बढी कर्मचारी कार्यरत छन्, जसमध्ये २७८ जना परराष्ट्र सेवाकै कर्मचारी हुन् ।
हाल भएको भवनबाट परराष्ट्र गृह मन्त्रालय रहेको भवनमा सरेपछि परराष्ट्र मन्त्रालयका महाशाखा र विभाग छरिनेछ । हाल पनि रादहानी विभाग र कन्सुलर सेवा विभाग त्रिपुरेश्वरमा छन् ।
“अब गृह मन्त्रालय रहेको जुन भवनमा हामी सर्दैछौं । त्यहाँ परराष्ट्र मन्त्रालयका सबै महाशाखा अट्दैनन् । केही महाशाखा र कर्मचारी पनि थपिएका छन् । त्यसैले थपिएका केही नयाँ शाखा पहिला सिंहदरबारभित्रै सामान्य प्रशासन मन्त्रालय बसेको भवनमा सर्नेछ भने बाँकी गृह मन्त्रालयको भवनमा सार्ने योजना छ,” परराष्ट्र मन्त्रालयका एक जना उच्च अधिकारीले भने ।
मन्त्रालय सार्नु आफैँमा झन्झटिलो काम हो । झन् यहाँ रहेका महत्वपूर्ण दस्तावेजहरू सुरक्षित रुपमा सार्नु अर्को चुनौतीपूर्ण काम भएको ती उच्च अधिकारीको भनाई छ । पटक–पटक सामान र कागजात सार्दा टुट्ने, फुट्ने, च्यातिने, हराउने जोखिम हुन्छ ।
“महत्वपूर्ण कागजातको यहाँ कसलाई के मतलव छ र । न कागजात मतलब छ न नीतिको नै मतलब छ । यहाँ पदमा बस्ने ठूलो हुने मात्र भयो । न प्राथमिकता परराष्ट्र मन्त्रालयले पाउँछ, न काम गराइमा छ,” पूर्वपरराष्ट्र सचिव भट्टराईले भने ।
यसअघि पनि पटक–पटक परराष्ट्र मन्त्रालय सार्दा महत्वपूर्ण र संवेदनशील कागजात हराएका छन् । परराष्ट्र मन्त्रालयलाई सार्र्नै परे पनि उसको आफ्नै भवन बनाएर स्थायी रुपमा सार्नुपर्ने भनाई परराष्ट्र ती उच्च अधिकारीको छ ।
ती उच्च अधिकारीले भने “अब गृह मन्त्रालय रहेको भवन सरेपछि कुन दिन कसले यहाँबाट जाऊ यो हामीलाई चाहियो भन्छ, त्यसपछि फेरि कहाँ जाने ? त्यसैले स्थायी समाधान भनेको आफ्नै भवन बनाएर मात्र परराष्ट्रलाई सार्ने हो ।”