काठमाडौं । भदौ २४ गते प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ १०१ दिन चल्यो । त्यसलगत्तै चलेका चलचित्रले व्यापार गरेनन् । कारण ‘छक्का पञ्जा’ लाई ठानियो ।
कात्तिक २६ गते नव निर्देशक प्रदीप भट्टराइको ‘जात्रा’ रिलिज भयो । ‘जात्रा’ को चौतर्फी तारिफ भयो । यसले ५१ दिन मनायो ।
मंसिर १० गते ‘पुरानो डुङ्गा’ अल नेपाल प्रदर्शनमा आयो । बहुप्रतीक्षित यो चलचित्रले इनिसियल व्यापार राम्रो गरे पनि सम्रगमा अपेक्षित व्यापार गरेन ।
त्यसयता थुप्रै चलचित्र रिलिज भए । ‘लभ शासा’, ‘किङ’, ‘शब्द’, ‘डाइङ क्यान्डल’, ‘लेक साइड’ पछिल्लो समय रिलिज भए । तर कुनै पनि चलचित्र दर्शकको आँखामा पर्न सकेनन् ।
किन ?
“रमाइलो खालका चलचित्र दर्शकले खोजेको हो कि जस्तो देखिएको छ,’ ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई भन्छन्, “पछिल्लो समय हलमा गएपछि रमाइलो लाग्ने चलचित्र नै दर्शकको रोजाइमा परेको देखिन्छ ।” भट्टराई समसामयिक विषयलाई मनछुने तरिकाले प्रस्तुत गरेका चलचित्र निर्माण भए दर्शक हलसम्म पुग्ने बताउँछन् ।
‘नाइँ नभन्नु ल’ लगायतका चलचित्र निर्देशक तथा निर्माता विकास आचार्य यही कारणले चलेन भन्न सक्ने अवस्था नरहेको बताउँछन् ।
“पर्याप्त प्रचारप्रसार नहुनु एउटा कारण हो, अरु यही कारण भन्न सकिन्न” आचार्य भन्छन्, दर्शकसँग अद्भुत क्षमता हुन्छ जो आफैं कुन राम्रो र कुन चलचित्र नराम्रो भन्ने थाहा पाउँछन् ।”
राम्रो सिर्जना आए त्यसको उचित मूल्यांकन आफैं हुन्छ भन्दै आचार्य भन्छन्, “साइँली गीत तीन दिनमा २४ लाखले हेरीसके यो राम्रो कामको सम्मान हो, तर जात्रा पछि नराम्रा चलचित्र बने भन्ने होइन । दर्शकले चाहे अनुसारका चलचित्र बनेन्, सायद ।”
गिनिज बुकमा नाम लेखाएर विश्व रेकर्ड बनाउने तयारीमा रहेका चलचित्र ‘जालो’ का निर्देशक अराजकेशव गिरी राम्रा चलचित्र बने चल्ने बताउँछन् । “नेपाली दर्शकको चाहनाअनुसारको मौलिक चलचित्र बने चल्छन्, यो यसअघिका चलचित्र प्रदर्शनको रेकर्डले पनि देखाइसकेको छ,” गिरी भन्छन्, “चलचित्रको कथा र दर्शकको चाहना चलचित्रमा एउटै हुनुपर्यो ।”
चलचित्र ‘लभ शासा’ का निर्देशक प्रचण्डमान श्रेष्ठ यो वर्ष थिएटरमा गएर चलचित्र हेर्ने दर्शकको संख्या नै कम भएको बताउँछन् । “नेपाली मात्रै होइन यो वर्ष हिन्दी चलचित्र हेर्ने दर्शकको संख्यामा पनि कमी आएको देखिन्छ । सायद, ठूला दरका नोटमा लगाइएको प्रतिवन्धले पनि हुनसक्छ बलिउड स्टारडमका चलचित्रले पनि यो वर्ष राम्रो कलेक्सन गर्न सकेनन् ।”
दर्शकले खोजेको विषय र प्रस्तुति अनुसार चलचित्र निर्माण नहुनु पनि नेपाली चलचित्रले राम्रो कलेक्सन नगर्नुको अर्को कारण रहको निर्देशक श्रेष्ठको भनाइ छ । उनी भन्छन्, दर्शकको चाहना बुझेर चलचित्र बनाउने प्रचलन नभएर पनि हो ।”
चलचित्र वितरक गोपाल कायस्थ राम्रो चलचित्र चलेको केही समय अन्य चलचित्र नचल्ने बताउँछन् । “एउटा राम्रो लुगा लगाएपछि केही समय अर्को लुगा मन पर्दैन । चलचित्र पनि त्यस्तै भएको हो,” वितरक कायस्थ भन्छन्, “छक्का पञ्जा र जात्रापछि सोचेजस्तो राम्रा चलचित्र पनि नआएकै हुन् ।”
अहिले हलहरूलाई दैनिक खर्च चलाउन पनि कलेक्सन नभएको बताउँछन् । हल सञ्चालक समेत रहेका कायस्थ भन्छन्, “अहिले हलहरुलाई स्टाफलाई तलब दिन पनि समस्या भइरहेको छ, हामी ‘लुट–टु’ कुरेर बसिरहेका छौं ।”