कलाकार सरिता गिरीले रंगमञ्चमा समय बिताएको १६ वर्ष भयो । अशेष मल्लको नाटक ‘पत्थरको कथा’बाट उनले रंगमञ्चको यात्रा सुरु गरिन् । ‘अग्नीको कथा’, ‘स्वास्नी मान्छे’, ‘कुमारी’, ‘बोक्सीको घर’ लगायत दुई सय २० भन्दा धेरै नाटकमा सरिताले अभिनय गरिसकेकी छन् । विषयवस्तुमा पारंगत नभएसम्म त्यसको नेतृत्व गर्नुहुन्न भन्ने सरिता अल्प ज्ञान भएकै बेला नाटक निर्देशन गर्नाले नाटकको गुणस्तर खस्किएको बताउँछिन् । रंगमञ्चसँगै उनले सेतो पर्दाको पनि यात्रा गरेकी छन् । सट मुभी ‘नबर्सिएको झरी’बाट चलचित्रको यात्रा सुरु गरेकी सरिताको पहिलो फिचर फिल्म ‘गुरु दक्षिणा’ हो । ‘बदशाला’, ‘रेड मनसुन’लगायत करिब एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी सरिताको पछिल्लो चलचित्र यही चैत ८ गतेबाट प्रर्दशन हुने ‘कागजपत्र’ हो । नाटक र चलचित्रका विषयमा केन्द्रित रहेर उनै सरिता गिरीसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
० ० ०
पछिल्लो दशक रंगकर्मीहरु चलचित्रमा केन्द्रित भएका हुन् ?
त्यस्तो होइन । दुवैलाई समानान्तर रुपमा लगिरेहेको जस्तो लाग्छ । मैले पनि दुबैलाई समानान्तर रुपमै लगिरहेको छु । नाटक महिनामा ३-४ वटा देखि ६-७ वटासम्म पुग्छ । तर चलचित्र फुर्सदमा मात्रै खेल्छु । चलचित्र भनेर चलचित्रतिर मात्रै पनि गएको छैन र थिएटर भनेर थिएटरमा मात्रै पनि छैन । मेरो पहिलो प्राथमिकता थिएटर नै हो ।
सबैले थिएटरका कलाकार नाटकमा गए भन्छन्, वास्तवमा चलचित्र र नाटकमा फरक के छ ?
अहिले धेरैले उठाउनु भएको प्रश्न हो यो । खासै त्यस्तो फरक केही छैन । थिएटरमा अडियन्सको अगाडि बसेर लाइभ अभिनय गर्नुपर्छ । चलचित्रमा त्यो हुँदैन । चलचित्रमा बिग्रियो भने धेरै टेक लिन पाइन्छ तर नाटकमा त्यो सम्भव छैन । थिएटरमा लाउड अभिनय गर्नुपर्छ चलचित्रमा लाउड हुँदैन । तर पनि अभिनय त अभिनय नै हो ।
चलचित्र र्हेन गए पनि त्यही कलाकार नाटक हेर्दा पनि त्यही कलाकार देखिने । नाटकका कलाकार चलचित्रमा गएपछि चलचित्रको अभिनय पनि नाटकको जस्तै बनाइदिए, बिगारिदिए भन्ने आरोप लाग्ने गरेको छ नि !
सुन्न चाँहि मैले पनि सुनेको छु यो कुरा । तर मलाई थाहा छैन फिल्मी एक्टिङ र थिएटर एक्टिङमा फरक के छ । केही कुराहरु फरक छन् होला तर धेरै कुरा त उस्तै नै हो । मलाई चलचित्रका एक्टरले थिएटरमा एक्टिङ गरेको हेर्ने रहर छ । नम्रता श्रेष्ठले गरिरहनु भएको छ । अरु पनि केही चलेका कलाकारहरुले थिएटर गरिरहेको देखेको छु । तर उहाँहरुको पनि त खासै फरक त केही गरे जस्तो लाग्दैन मलाई । साँच्चै मलाई थिएटर र फिम्मी एक्टिङ हेर्ने मन छ । १६ वर्ष थिएटर गरेर ७-८ वर्ष चलचित्रमा काम गर्दा पनि उस्तै लाग्छ मलाई त ।
हलमा पछाडि बसेको दर्शकले पनि सुनोस् भनेर लाउड एक्टिङ गर्नुपर्छ नाटकमा । त्यसैलाई चलचित्रमा मिनिमाइज गरे त पुगिहाल्छ । त्यसैले यो आरोप किन लागिरहेको छ मैले थाहा पाउन सकेको छैन ।
१६ वर्ष अगाडिको थिएटर र अहिलेको थिएटरमा फरक के छ ?
टेक्निकल रुपमा केही फरक छ । पढ्ने कुराहरु अहिले गुगल, युट्युबमा सजिलै पाइन्छ, जुन कुरा हाम्रो समयमा थिएन । सहज पहुँच भएका कारण अहिले सजिलो छ । आफैँ अध्ययन् गर्न पनि सकिन्छ ।
नाटकमा युवा पुस्ताको आकर्षण बढेको छ । यसको कारण के हो ?
अहिले आउनेहरु सहजै आउन सक्नुहुन्छ । पहिला गुरुकुल मात्रै थियो । गुरुकुलमा छिर्न नै वर्षौं कुनुपर्थ्यो । अहिले काठमाडौंमा मात्रै ५-६ वटा थिएटर भइसके । ३-४ महिनाको कोर्ष लिन जहाँ जुनसुकैबाट पनि पाइन्छ ।
अर्को कुरा अहिले थिएटरमा आउनेको पहिलो लक्ष्य चलचित्रमा जानु रहेको छ । हाम्रो पालामा त्यो थिएन । पहिला हामी कम्तीमा ७-८ वर्ष थिएटरमा कम नगरी चलचित्रमा जाँदैन थियौं जानेहरु पनि । म त झन निकै पछि मात्रै यो क्षेत्रमा आइपुगेको हुँ । थिएटरमा दक्ष हुनसक्ने हो भने जता जाने पनि बाटो छ । तर पछिल्लो समय तीन महिनाको कोर्ष गरेर चलचित्रमा जानु नै मुख्य उद्देश्य भएको छ । थिएटरलाई भर्याङ् बनाएको देख्छु म । तीन महिनाको कोर्षले फिल्मलाई पुग्छ कि पुग्दैन ?
तपाईं नि भन्नुस् त पुग्छ कि पुग्दैन ?
मलाई त पुग्दैन । मैले अरुलाई आरोप लगाएको होइन । तीन महिनाको कोर्षले त एबिसिडी पनि जाँनिदैन । बेसिक नलेज त कम्तीमा हुनुपर्छ । थिएटरमा आइसकेपछि केही वर्ष नाटक गरे हुन्छ त । नाटकमा राम्रो गर्न सक्यो भने चलचित्र मात्रै होइन विज्ञापन, मोडलिङ, म्युजिक भिडियोलगायत धेरैतिर भविष्य छ ।
थिएटरका सबै कलाकार हाम्रो पहिलो प्राथमिकता थिएटर हो चलचित्र त बाटो हिँड्दा भेटिएको एउटा मोड मात्रै हो अर्थात विकल्प हो भन्नुहुन्छ । तर व्यवाहारमा त त्यो देखिँदैन । जिविको पार्जनका कारण थिएटर आर्टिस्टका लागि चलचित्र बाध्यता बन्दै गएको हो ?
जिविको पार्जनका कारण पनि एक हो । तर नाटकबाटै पनि आर्थिक उपार्जन गर्न नसकिने भन्ने होइन । एउटै थिएटरमा करोडौंको लगानी हुन्छ । थिएटर खोल्न महँगो छ । खोलेपछि विद्यार्थी उत्पादन गर्न महँगो छ । र, थिएटरको राम्रो कलाकारका लागि आम्दानीका स्रोतहरु पनि धेरै छन् ।
ब्ल्याक बक्समा देखाइने नाटकबाट आउने पैसाले मात्रै कलाकारलाई पुग्दैन । आम्दानीका स्रोतहरु के-के हुन् त्यो थाहा पाउनका लागि पनि कम्तिमा ४-५ वर्ष लाग्छ । पहिला आफैं पूर्ण हुनुपर्छ । त्यसपछि बाटाहरु खुल्न थाल्छन् । हामी थिएटर आर्टिस्ट भएरै बाँचेका छौं । चलचित्र त हामीले वर्षमा दुईतीनवटा त गर्ने हो । त्यसबाट आएको पैसाले पुग्दैन । होला थिएटरबाट गएका केही कालाकारले एक खालको स्थान बनाउनु भयो । उहाँहरुले १५-२० लाख रुपैयाँ लिनुहुन्छ एउटै चलचित्रबाट । तर हामी महिला कलाकारका लागि त धेरै परको कुरा हो त्यो । पाँच प्रतिशतले पनि त्यो हामीले पाउँदैनौं । थिएटरका हामी महिला कलाकार आज पनि नाटकबाटै बाँचिरहेका छौं ।
एउटा नाटक एक महिना मञ्चन हुँदा बढीमा ४-५ हजारले हेर्लान् । टिकटबाट आएको पैसाले कसरी पुग्छ होला र ?
संघर्षका दिनमा त कठिन छ । चलचित्रमा पनि त्यही त हो । नयाँ कलाकारलाई कति पारिश्रमिक दिन्छन् ? हामी सबैले भोगेकै कुरा हो । सुनेकै कुरा हो । उनीहरुलाई पनि गाह्रो छ । डेडिकेसन र स्थिरता नभएको कलाकारलाई गाह्रो छ । भोलीका दिनमा के गर्छु भनेर नआउनेलाई सजिलो छैन । आफू परिपक्व हुँदै गएपछि आयस्रोतले आफैं खोज्छ । जो परिपक्व छैन । उसलाई कसले पत्याउँछ ? त्यो स्वाभाविक पनि हो ।
केही समय अगाडि भएको नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा अग्रज रंगकर्मीहरुले नयाँ पुस्तालाई नसिकाएको भन्ने आलोचना भएको थियो । त्यो आलोचनामा सत्यता छ ? तपाईंले पनि अनुभव गर्नु भएको हो यो कुरा ?
तुलनात्मक हिसाबले अग्रज रंगकर्मीहरुको उपस्थिती कम थियो महोत्सवमा । तर हामीले उहाँहरुलाई नबोलाएको भन्ने होइन । सम्मान पनि गर्यौं हामीले । आरोपमा सतप्रतिशत सत्यता छ भन्ने लाग्दैन । यसमा नयाँ पुस्ताले कति स्थान लिन्छ र अग्रजलाई कसरी ल्याइन्छ त्यसले अर्थ राख्दोरहेछ । हातेमालो गरेर अगाडि बढ्ने कुरा हो । कति भयो होला कति भएन होला । संस्थागत कुरा संस्थालाई नै छोड्दिऊँ ।
तपाईंले अभिनय गरेको चलचित्र ‘कागजपत्र’ चैत ८ गते रिलिज हुँदैछ । कस्तो चलचित्र हो यो ?
समाजिक कथा वस्तु बोकेको चलचित्र हो । जसरी पनि विदेश जानै पर्ने भन्ने हाम्रो समाजको पछिल्लो मनोविज्ञानलाई चलचित्रले उठान गरेको छ । स्टडी भिसामा होस् या डिपेन्डेन्ट अथवा कानुनी तथा गैरकानुनी बाटोबाट होस् जसरी पनि अष्ट्रेलिया अमेरिका नै जानुपर्छ भन्ने मान्यताबाट ग्रसित व्यक्ति र समाजको कथा हो । गैरकानुनी रुपमा गएका व्यक्तिलाई काम गर्न कति गाह्रो छ भन्ने कुरालाई उठान गरिएको छ यो चलचित्रमा ।
चलचित्रमा एकै प्रकारको चरित्रमा तपाईंहरुलाई देखिन्छ । मेकरले तपाईंहरुमा भएको क्षमता चिन्न सकेनन् कि तपार्ईंहरुले नै त्यस्तै क्यारेक्टर माग्नुहुन्छ ?
मलाई पनि खट्किरहेको पक्ष हो । मेरो हकमा पनि लागु हुन्छ । मैले पहिलो चलचित्रमा के गरेँ र पछिल्लो चलचित्रमा के गरेँ ? भन्ने कुराको मूल्यांकन म आफूँ मात्रै होइन सबैले गरिरहेको हुन्छ । निर्देशक र निर्माताहरुले पहिलो चलचित्र हेरेर ए यो त यसमै ठिक हुनेरहेछ भनेर अफर गर्नुहुन्छ । यसमा कलाकार आफूले पनि छान्नुपर्छ भन्ने लाग्छ । एउटा कलाकारले धेरै प्रकारको रोल गर्नसक्छ भनेर मेकरले पनि बुझिदिनुपर्छ ।
नेपाली चलचित्रको समीक्षा र बिजनेस हेर्दा कस्तो लाग्छ ?
केही वर्षयताको समयलाई हेर्ने हो भने चलचित्रभन्दा नाटक राम्रोसँग चलेजस्तो लाग्छ । एउटा नाटकमा हजारौं दर्शकको लाइन लागिरहेको हुन्छ तर चलचित्र घरमा गयो भने त्यती पनि दर्शक देखिँदैन । चलचित्र निरन्तर आइरहेका छन् । हामी संख्यामा विश्वास गर्ने की गुणस्तरमा ? केन्टेन्टमा पनि काम भइरहेको छ तर तिनीहरुको पनि प्रस्तुती उस्तै छ । कन्टेन्ट लिएर आउँदा दर्शकले त्यसलाई छुन्छ की छुँदैन त्यसमा ध्यान दिनुपर्छ । चलचित्र आफूलाई बनाउने कि दर्शकलाई ? आफूले बनाएको चलचित्र त आफूलाई मनपर्छ । स्वाभाविक हो । दर्शकले राम्रो भन्नुपर्यो । दर्शकका लागि चलचित्र बनाउनु पर्यो । दुई घण्टा दर्शकलाई चलचित्रले बाँध्नुपर्यो । नेपाली फिल्म यस्तै त हो भनेर दर्शक फर्किनु भएन ।
यही कुरा रंगमञ्चमा आएर ठोक्किन्छ । तपाईंका अग्रज रंगकर्मीहरु नाटकको गुणस्तर खस्कियो भनेर निरन्तर भनिरहनु भएको छ तर, क्वालिटीमा सुधार आइरहेको छैन नि !
चलचित्रको जस्तै अवस्था छ नाटकमा पनि । संख्यामा विश्वास गर्ने कि गुणस्तरमा ? थिएटरको संस्थापकले पनि यसमा ध्यान दिनुपर्छ । अग्रजहरुले गर्ने गुनासो ठिकै हो । उहाँहरुले कथा, साउन्ड, लाइट, सेटअप, अभिनय, निर्देशन सबै पक्षमा ध्यान दिनुहुन्छ । त्यसले पार्ने प्रभावको अर्थ खोज्नु हुन्छ । त्यो पाउनुहुन्न र भन्नुहुन्छ । मैले बारम्बार थिएटरलाई भन्ने कुरा पनि यही हो । तीन महिनाको कोर्ष गरेपछि निर्देशन गर्न हतार हुन्छ । अभिनय पढ्नेले निर्देशन गर्छ । मलाई १६ वर्ष थिएटरमा बिताउँदा निर्देशन गर्ने आँट आएको छैन ।
थिएटरमा आएको तीन महिना पनि नभइ निर्देशन गरेको निर्देशकबाट कस्तो नाटक आउँछ ? राम्रो नाटक अपेक्षा गर्नु पनि बेकार छ ।
तस्बिरः सौरभ रानाभाट