काठमाडौं । रङ्गकर्मी तथा निर्देशकहरुले मञ्चनयोग्य नाटक निकै कम रहेको बताएका छन् । साहित्यमा नाटक विधा कमै लेखिने त्यसमा पनि मञ्चनका लागि योग्य नाटकको संख्या थोरै रहेको रङ्गकर्मी तथा निर्देशकहरुको भनाइ छ ।
कलाकार तथा लेखक खगेन्द्र लामिछाने बजारमा आइरहेका नाटकहरु पढ्नका लागि योग्य रहेका तर मञ्चन गर्न सकिने खालका नरहेका बताउँछन् । “सुरुआती दिनमा मैले पत्रिकामा प्रकाशनका लागि लेखेका नाटक अहिले हेर्दा ती मञ्चन योग्य छैनन्,” नाटक निर्देशकसमेत रहेका खगेन्द्रले बाह्रखरीसँग भने, “जसले अहिले नाटक लेखिरहनु भएको छ, उहाँहरु कुनै न कुनै हिसाबले थिएटरसँग जोडिनुभएको छ । नाटक नबुझेको लेखकले लेखेका नाटक मञ्चन गर्न निकै कठिन हुन्छ ।”
अरुका नाटक मञ्चन गर्दा त्यसलाई काँटछाँट गर्नुपर्ने भएकाले आफूले आफ्ना नाटकमात्रै मञ्चन गर्दै आएको उनी बताउँछन् । “नाटक लेख्दा लेखकले के सोचेर लेखेको हुन्छ, हामीले मञ्चन गर्दा कतै त्यसलाई न्याय गर्न सकिँदैन कि जस्तो पनि लाग्छ,” घुमाउरो शैलीमा मञ्चन योग्य नाटकको संख्या थोरै रहेको भन्दै खगेन्द्रले भने, “अरुका नाटक चलाइदिन डर लाग्ने भएकाले म आफैँ नाटक लेखेर आफ्नै नाटक मञ्चन गर्दै आएको छु ।”
खगेन्द्र बजारमा बिक्री कम हुने र लेखनका हिसाबले कठिन भएकाले नाटक कम लेखिने गरेको बताउँछन् । “मुख्य कारण भनेको नाटक अन्य आख्यानका हिसाबले कम बिक्री हुन्छ, त्यसैले लेखिँदैन,” खगेन्द्र भन्छन्, “अर्को कारण कथा र उपन्यासमा जस्तो नाटकमा भावनामा बहकिन नपाइने हुनाले पनि कम लेखिन्छ ।”
अर्का निर्देशक घिमिरे युवराज मञ्चन गरेर देखाउन योग्य नाटकको खडेरी रहेको बताउँछन् । पछिल्लो समय नाटकका केही कृति प्रकाशन भए पनि मञ्चन गरेर देखाउने खालका नभएको उनको दाबी छ । “केही समय अगाडि एक हजार पृष्ठ लामो नाटकको कृति प्रकाशन भयो । ५०–६० वटा नाटक छन् । तर ती सबै नाटक पढ्नका लागि मात्रै ठिक छन् । त्यसलाई मञ्चन गर्न सकिँदैन,” उनी भन्छन्, “गत वर्ष मधुपर्कले पनि नाटकको कलेक्सन प्रकाशन गरेको थियो । त्यसमा पनि मैले मञ्चनका लागि नाटक खोजेँ तर भेट्न सकिन ।”
निर्देशक युवराज मञ्चन योग्न नाटक नभेट्टाएकै कारण आफूले लेखक कुमार नगरकोटीलाई नाटक लेख्न लगाएको स्मरण गर्छन् । नगरकोटीलाई ‘बाथ टब’, ‘कोमाः अ पोलिटिकल सेक्स’ लेख्न लगाएर मञ्चन गरेको भन्दै उनी थप्छन्, “फूलमान बलको ‘मेन्दो माया’, शिव रिजालको ‘दीक्षान्त’, रमेश रञ्जन झाको ‘सखी’ मैले लेख्न लगाएको हुँ ।”
भर्खरै सीमा आभाष र निभा साहले पनि आफ्नो आग्रहमा नाटक लेखेर पठाएको उनले जानकारी दिए । नाटकको अभावमा साहित्यका अन्य विधा उपन्यास तथा कथालाई नाटकमा ढाल्नुपरेको उनको गुनासो छ । ‘लाटो पहाड’ र ‘हारजीत’लाई आफूले नाटकमा ढालेर मञ्चन गरेको बताउँदै उनले नेपाली लेखकको नाटकको अभावमा विदेशी नाटक पनि नेपाली रङ्गमञ्चमा मञ्चन भइरहेको बताए ।
निर्देशक तथा कलाकार अनुप बराल मञ्चनका लागि नेपाली नाटक सजिलो नभएकाले नै विदेशी नाटकहरु आफूले निर्देशन गरेको अनुभव सुनाउँछन् । “हाम्रोमा आफूले लेखेपछि त्यसलाई चलाउन नदिने लेखकहरु पनि धेरै हुनुहुन्छ । मञ्चन गर्दा कतिपय नाटकहरुलाई तलमाथि पनि गर्नुपर्ने हुन्छ, तर त्यसमा लेखेकले चित्त नबुझाउने भएकाले नेपालीभन्दा विदेशी नाटकहरु मञ्चन गर्न मलाई सजिलो लाग्छ,” अनुप भन्छन्, “अन्य देशमा सेक्सपियरका नाटक पनि काटिन्छ तर हाम्रोमा त्यस्तो छैन । कतिपय लेखकहरु रिसाउनु हुन्छ ।”
अभिनेत्री सिर्जना सुब्बाको गुनासो पनि उस्तै छ । नेपाली नाटक नभएकै कारण थिएटरहरुले अंग्रेजी तथा अन्य भाषाका नाटकहरु मञ्चन गरिरहेको उनी बताउँछिन् । “हामीलाई विदेशी नाटक मञ्चन गरेको आरोप धेरै समयदेखि लागिरहेको छ । जो साहित्य लेख्नुहुन्छ, उहाँहरुले नै हामीलाई यो आरोप लगाउनु हुन्छ,” सिर्जना भन्छिन्, “जसले हामीलाई किन विदेशी भाषाका नाटक देखाएको भन्नुहुन्छ, उहाँहरुलाई नै मैले तपाईं पनि साहित्यकार नाटक लेखिदिनुस् न भन्ने गरेको छु तर केहीले बाहेक लेखिरहनु भएको छैन ।”
नेपाली परिवेश, संस्कार र संकृतिसँग मिल्दोजुल्दो र सन्देशमूलक नाटक भए जुनसुकै देशका लेखकको नाटक भए पनि नेपालीमा अनुवाद गरेर देखाउन सकिने सिर्जना बताउँछिन् ।