site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रंकलाइन विवाद– उद्योगीले पार्टीको ‘फेरो’ समातेपछि २२ अर्ब राजश्व जोखिममा !

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनको विवादलाई राजनीतिक दलहरूले मलजल गरेपछि करिब २२ अर्ब राजस्व जोखिममा परेको छ । 

२०७२ देखि २०७७ सम्म बिना अवरोध बिजुली प्रयोग गरेका उद्योगहरूले बक्यौता तिर्नुको सट्टा राजनीतिक पार्टीको ‘फेरो’ समातेपछि महालेखाको प्रतिवेदनले औल्याएको २१ अर्ब ८८ करोड राजस्व उठ्न सकेको छैन । 

नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूको विवादलाई राजनीतिक दलहरूले आफ्नो स्वार्थ पसाएर रोक्दा राज्यको २२ अर्ब राजस्व जोखिममा छ ।  सरकारको एउटा संस्थाले सरकारकै राजस्व उठाउन खोज्दा स्वंय प्रधानमन्त्री केपी ओली नै यसको विपक्षमा देखिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

ओलीले शब्दमा २२ अर्ब उठाउनुपर्छ भने पनि उनी र ऊर्जा मन्त्री दीपक खड्काकै कारण बक्यौता नउठ्ने देखिन्छ । 

विद्युत् नियमन आयोग र प्राधिकरणलाई जिम्मा दिएर नउठाएको खण्डमा कर्मचारीलाई कारबाही गर्नुको साटो लाइन जोड्न ठाडो निर्देशन दिने र आयोगलाई पाखा लगाउँदै समिति बनाउने कार्य सरकारबाटै भइरहेको छ । 

उद्योगहरूमा लाइन काटेपछि प्रधानमन्त्री ओली घिसिङसँग ‘आगो’ छन् । 

असार ३० मा प्रधानमन्त्री पद सम्हालेको केही दिनपछि लाइन जोड्न निर्देशन कार्यान्वयन नभएको भन्दै संसद्मै जथाभावी बिल बनाएकोलगायतका आरोप घिसिङमाथि लगाएका थिए । सत्तारूढ दलकै साथ नपाएका कारण हटाउन सकेका छैनन् । 

उसो त सार्वजनिक संस्थानको एउटा कर्मचारीमाथि सिधै प्रधानमन्त्री नै खनिएको भन्ने आरोपबाट बच्न ओलीले राज्यका अन्य शक्तिहरूको प्रयोग गरिरहेको आरोप छ ।

सार्वजनिक लेखा समितिको समेत प्रयोग गरेका ओलीले समितिकै सभापति ऋषिकेश पोखरेल सहकारी काण्डमा मुछिएपछि निकायअन्र्तगतको मन्त्रीको प्रयोग बढाएका छन् । 

कुलमानसँग प्रधानमन्त्री ओलीको सम्बन्ध राम्रो छैन । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएदेखि नै कुलमान र एमालेको सम्बन्धमा दरार आएको थियो । 

चिलिमेबाट कुलमानलाई हटाएपछि नेपाली कांग्रेस र माओवादीले किन हटाएको भन्दै रसुवामा आन्दोलनसमेत गरेका थिए ।

कुलमान नेतृत्वले लोडसेडिङ अन्त्यको घोषणा गरेसँगै माओवादीले आफ्नो सरकारले नियुक्ति गरेको र आफ्नै सरकारकै पालमा लोडसेडिङ हटाएको भन्दै ‘नायक’ बनाएपछि त्यसबाट एमाले नेतृत्व कुलमानसँग रूष्ट छ । 

एक कार्यकाल सकेपछि पुनः कुलमानलाई नै ल्याउन व्यापाक जनदबाब हुँदा पनि तत्कालीन एमाले सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो ।  तर, आफूले नियुक्त गरेको कर्मचारी हटाएर पुनः कुलमान नै ल्याएपछि ओलीसँग ‘इगो’ को लडाईं भएको छ । 

कुलमानको दोस्रो कार्यकालमा आएसँगै निकै पेचिलो बनेको डेडिकेटेड तथा ट्रंकलाइनमा ओलीले दोहोरो भूमिका खेल्दै आएका जानकारहरू बताउँछन् । 

पटक–पटक पत्राचार र सार्वजनिक सूचना गर्दा पनि डेडिकेटेड र ट्रंक लाइन बापतको बक्यौता नतिरेपछि घिसिङले उद्योगमा लाइन काट्दा २०७६ चैत ९ गते सात दिने स्पष्टीकरणसहित उद्योगमा लाइन जोड्न लगाएको थियो ।

बक्यौता नउठेपछि २०८० पुषमा लाइन काटेको प्राधिकरणले लाल आयोग गठन गर्ने निर्णयसँगै मन्त्रिपरिषदले लाइन जोड्न निर्देशन दिएको थियो ।  लाल आयोगले करिब ५ महिना लगाएर अध्ययन गरेपछि बक्यौता विवादमा तेस्रोपटक २०८१ असार २४ गते उद्योगमा लाइन काटिएको थियो । 

तर, सरकार परिवर्तनसँगै कुनै पनि उद्योगी बक्यौता तिर्नेभन्दा सरकारसँग लबिइङमा लागेपछि नियमन आयोगले तीन महिनामा बक्यौता बुझाउने सर्तमा लाइन जोडेको थियो ।  तीन महिना पुगेपछि लाइन काटेको प्राधिकरणले पुनः मन्त्रिपरिषद्ले जोड्न निर्देशन दिएको थियो । 

नियमन आयोगले पहिलो किस्ता बुझाएपछि लाइन जोड्न पत्र पठाए पनि सरकारले हस्तक्षेप गर्दै २४ घण्टामा लाइन जोड्न निर्देशन दियो । 

सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले १५ दिनसम्म बक्यौता तिर्न नआए पुनः सोही प्रक्रियामा जाने पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए । 

बाह्रखरीले १५ दिनको समय बुधबार सकिँदै छ, लाइन काट्ने कि नकाट्ने भनेर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग प्रश्न गर्दा उनले भने–“बोर्ड बैठकले जे भन्छ त्यही गर्ने हो । लाइन काट्नुअघि बोर्ड बैठक बस्छ । त्यसको निर्णयसँगै हामी अघि बढ्छौं ।”

पछिल्लो समय प्राधिकरण र ऊर्जा मन्त्रालय नै आमने सामने भइरहेका छन् । ऊर्जा व्यवसायी मन्त्री छन् । तर, उनै मन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध राम्रो छैन ।  लाल आयोगको रिपोर्ट सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा घिसिङसँगको सम्बन्धबारेमा पत्रकारले प्रश्न गर्दा त्यस्तो केही नरहेको बताएका थिए । 

सम्बन्ध राम्रो भने पनि खड्का घिसिङलाई हटाउन चाहन्छन् ।  उनले घिसिङका काम कारबाही चित्त नबुझेको भन्दै पहिलोपटक १५ बुँदे र दोस्रोपटक ६ बुँदे विवरण मागिसकेका छन् ।  ऊर्जा मन्त्रालय स्रोतका अनुसार, सञ्चालक समितिले घिसिङलाई प्रदान गरेको अधिकार खोस्ने तयारीमा मन्त्री खड्का छन् । 

कात्तिक १३ गते मागिएको विवरणको पहिलो बुँदामा उक्त कुरा प्रष्ट हुन्छ । 

उक्त पत्रको पहिलो बुँदामा भनिएको छ, “यस मन्त्रालयका माननीय मन्त्री दिपक खड्काज्यूको अध्यक्षतामा बसेको मिति २०८१–०४–०४ को प्राधिकरण सञ्चालक समितिको ९८७ औ बैठकभन्दा अगाडि विभिन्न मितिका सञ्चालक समितिबाट तपाईंलाई प्राप्त भएका प्रत्यायोजित अधिकारहरू तपाईंले प्रयोग गरिरहेकामा मिति २०८१–४–४ को बैठकपछि प्रत्यायोजन हुनुपर्ने विषय ।”  

मागिएका अन्य विवरण पनि अधिकार कटौतीको विषयलाई मलजल मिल्ने खालको छ । अधिकार खोस्ने तयारीका साथ उक्त विवरण माग गरिएको ऊर्जा मन्त्रालयकै कर्मचारी बताउँछन् ।  सिधै स्पष्टीकरण सोध्दा समस्या हुने भएपछि विवरण माग गर्ने र दुःख दिने नियत लिइएको स्रोत जनाउँछ ।

पटक–पटक विवरण माग गर्दे नियमन आयोगलाई समेत पाखा लगाएर जाँचबुझ समिति बनाउँदै घिसिङविरूद्ध मन्त्री लागेको स्रोत बताउँछ ।

एकदिन अघिनै लाइन नकाट्न नियमन आयोगको पत्र

१५ दिनकोे लागि समय दिएका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लाइन काट्ने देखेपछि एकदिन अघि नै लाइन नकाट्न निर्देशन दिएको छ ।  बुधबार सकिँदै गरेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौताको विषयमा लाइन नकाटी समाधान खोज्न आयोगले पत्र पठाएको हो । 

मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको हो ।  यसअघि १५ दिन समय दिएर लाइन जोडेको प्राधिकरणको समय बुधबार सकिँदै छ ।  प्राधिकरणले लाइन काट्ने देखेपछि नियमन आयोगले पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउनुपर्ने व्यहोराको पत्र पठाएको आयोगका अध्यक्ष रामप्रसाद धितालले पुष्टि गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro