अर्पण थापा नेपाली रजतपटका लागि लोकप्रिय नाम हो । कहिले पर्दामा त कहिले पर्दा पछाडि अर्पण काम गरिरहन्छन् । अभिनयबाट सुरु भएको उनको चलचित्र कर्म निर्देशनसम्म आइपुगेको छ । नौ वर्ष अगाडि ‘ब्याच नम्बर–१६’बाट अभिनय सुरु गरेका उनले डेढ दर्जनभन्दा धेरै चलचित्रमा आफूलाई पर्दामा उतारिसकेका छन् । ‘मुखौटा’, ‘आधा लभ’, ‘सुनकेसरी’ लगायतका चलचित्र निर्देशन गरिसकेका अर्पण अहिले चलचित्र ‘घर’ निर्देशन गर्दैछन् । उनै निर्देशक तथा कलाकार अर्पण थापासँग समग्र नेपाली चलचित्रको वर्तमान अवस्था र भविष्यसँगै ‘घर’का विषयमा बाह्रखरीकर्मी नरेश फुयाँलले गरेको कुराकानीः
० ० ०
अहिले नेपालमा दुई खालका चलचित्र निर्माण भइरहेका छन् । एउटा बाटो सस्तो मनोरञ्जन अर्को समाजका गम्भीर कथा भन्ने चलचित्र । यी दुवैमध्ये तपाईले बनाउँदै गरेको ‘घर’ कस्तो चलचित्र हो ?
‘घर’ स्टोरीलाइनमा पनि फोकस छ । जानरा आफैँमा ‘हरर’ भएकाले दर्शकको नजरमा मनोरञ्जनात्मक चलचित्र नै हो । समाजलाई उथलपुथल पार्ने कथा भएको चलचित्र होइन । मनोरञ्जनको स्रोत भने हो ।
सस्तो मनोरञ्जनपूर्ण चलचित्रले करोडौं कमाइरहेका छन् तर कथाप्रधान मौलिक चलचित्रले लगानी पनि उठाउन सकिरहेका छैनन् । यस्तो अस्थामा कथाप्रधान चलचित्र बनाउन उत्प्रेरणा कसरी मिल्छ ?
अहिले पहिला जस्तो छैन जस्तो लाग्छ । चलचित्रको बजार नेपालमा मात्रै सीमित छैन । कथाप्रधान चलचित्र नेपालमा मात्रै नभएर संसारभर देखाउन सकिन्छ । त्यसका लागि निर्माण पक्ष र कथा बलियो हुनुपर्छ । संसारसँग सम्बन्धित विषय पनि हुनुपर्छ ।
आर्ट चलचित्रको कमर्सियल पक्षलाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ । १० करोड लगानीमा आर्ट मुभी बनाएर हुँदैन । यसका सीमितताभित्र बसेर चलचित्र निर्माण गरिनुपर्छ । अडियन्स कतातर्फ छन् भन्नेतर्फ पनि विचार गर्नुपर्छ । ठूलो बजेटमा चलचित्र निर्माण गर्दैमा राम्रो हुन्छ भन्ने छैन । बलिउडमा अहिले लो बजेटका पनि थुप्रै राम्रा चलचित्र निर्माण भइरहेका छन् । आर्टसँगै इन्टरटेनमेन्ट भ्यालू पनि राख्नुपर्छ जस्तो लाग्छ हाम्रो बजारलाई हेर्दा ।
समीक्षक र दर्शकको फिल्मदृष्टि फरक छ । समीक्षकहरू फिल्मका प्राविधिक र न्यारेटिभ मन पराउँछन्, दर्शकहरू दुई घण्टा रमाउन चाहन्छन् । दुईभित्र तपाई कसलाई सन्तुष्ट बनाउन चलचित्र बनाउनु हुन्छ ?
इमान्दार भएर भन्दा चलचित्र बनाउनु भनेको स्कुलमा साइन्स, इङ्लीस, म्याथ पढ्नु हो जस्तो लाग्छ । हामीले कक्षामा पढेको कुरा परीक्षामा लेखेपछि त्यसको मूल्यांकन दर्शकले गरेजस्तो लाग्छ मलाई ।
समीक्षक भनेको भाषालाई बुझिदिने व्यक्ति हो । चलचित्र ग्रामरभित्र बसेर बनेको छ कि छैन त्यो भन्दिने काम समीक्षकको हो । चलचित्रले के कारणले विषयवस्तुलाई उठान गरेको हो त्यो कुरा समीक्षकले लेख्छन् । समीक्षकले कमर्सियल र आर्ट दुवै पक्षबाट मूल्यांकन गर्नुपर्छ । जसरी जस्तो चलचित्र बनेपछि संसारको जुनसुकै कुनामा पुगे पनि खोज्ने मनोरञ्जन नै हो । यी दुबै पक्षलाई मेकरहरु समेट्ने प्रयास गरिरहेका हुन्छन् ।
चलचित्र निर्माणका हिसाबले नेपाल धेरै पछाडि छोडिएको छ । कतै प्रभाव त कतै आर्टको सीमा हुँदैन भनेर हामी अरुकै शैलीलाई फलो गरिरहेका छौं । कहिलेसम्म हामी आफ्नै फर्ममा चलचित्र निर्माणमा अभ्यस्त हुन्छौं ? हामी आफैँ सिर्जनशील नभएर हाम्रा आफ्नै चलचित्र बनाउन सकेनौं भन्ने लाग्दैन तपाईलाई ?
अहिलेसम्म पनि हामीले हाम्रै चलचित्र बनाइरहेका छौं । विदेशी चलचित्र हामीले बनाइरहेका छैनौं । मोडल र डिजाइनमा चाहिँ काम गर्न सकेका छैनौं जस्तो लाग्छ । चलचित्र एक जना व्यक्तिले बन्ने होइन । चलचित्रभित्रका सयौं विधामा सयौं व्यक्तिले काम गरिरहेका हुन्छन् । सबै विधामा काम गर्ने व्यक्ति निपूर्ण हुनुपर्छ । पोष्ट प्रोडक्सन, स्टोरी, प्रि–प्रोडक्सनमा काम गर्ने व्यक्ति आआफ्नो विधामा दक्ष नभएसम्म हामी नेपालको आफ्नै रुप दिन चलचित्रमा संघर्ष नै गरिरहेका हुन्छौं होला ।
चलचित्रको जग कथा र पटकथालाई मानिन्छ । यसमा नेपाली मेकर कत्तिको सचेत पाउनुहुन्छ ? चलचित्रका अरु पक्ष गीतसंगीत, नृत्य, लोकेसन आदिमा लाखौं खर्चिने तर पटकथाका लागि ७०–७५ हजार बजेटमै टालटुल पार्ने कहिलेसम्म ?
जबसम्म चलचित्रको प्रोडक्सन बुझ्ने मान्छे नेपाली चलचित्र उद्योगमा भित्रिँदैन अथवा भएका प्रोडुसरहरुमा त्यो चेतको विकास हुँदैन, तबसम्म यो कुरा रहिरहन्छ । कथा त हो चलिहाल्छ नि, लेखिहाल्छ नि भन्ने हाम्रो मनोविज्ञान छ ।
चलचित्र दुईटा भाषामा बन्छ, एउटा लिखित भाषामा स्क्रिन प्ले र दोस्रो क्यामेराको सट र साइज । लेन्स, सट साइज, म्युजिक, वालको कलरको, अभिनेताले लगाएको लुगाको कलरको केही पनि हामी ध्यान राख्दैनौं तर चलचित्रमा ति सबै भाषा हुन् । जबसम्म हामी क्यामेराको भाषा सही तरिकाले लेख्न सक्तैनौं, त्यो दिनसम्म नेपाली चलचित्रलाई फराकिलो सोचबाट हेरिनु बेकार छ ।
केही समय अगाडि हरर मुभी बनाउनु भयो, सुनकेसरी । त्यसमा दर्शक डराउनेभन्दा पनि हाँसे भन्ने टिप्पणी सुनियो । फेरि त्यही जानरामा चलचित्र बनाउँदै हुनुहुन्छ, त्यो पनि दीपेन्द्र के खनालको ब्यानरमा । कत्तिको विश्वस्त हुनुहुन्छ यो चलचित्रलाई लिएर ?
हररभित्र धेरै प्रकार छन् । कमेडी हरर, सफ्टकोर हरर, हार्डकोर हररलगायत थुप्रै छन् यसका प्रकार । मैले सुनकेसरी हार्डकोर हरर बनाउन खोजेको थिइन । जुन जानराभित्र हामीले बसेर काम गरेका थियौं, सायद यो जानरा पनि हुन्छ है भन्ने ज्ञान नभएको पनि हुनसक्छ । दर्शकले हरर भनेको जस्तो हुनुपर्छ भनेर बुझ्नु भएको छ, यो पटक हामी त्यही हार्डकोर हररभित्र रहेर ‘घर’ निर्माण गर्ने प्रयास गरिरहेका छौं ।
अहिले मेकरलाई लाग्ने गरेको आरोप जुनसुकै जानरा र विषयवस्तुमा पनि कमेडी घुसाइदिन्छन् । यो कारण पनि रङ्ग न ढङ्गका चलचित्र बनिरहेका छन् भन्ने टिप्पणी छ । यस्तै भइरहेको हो ?
अडियन्स हेर्नुस् न त । हामी मेकरलाई पनि चलचित्रलाई बक्स अफिसमा चलाउन चुनौती छ । चलचित्र चल्नु पनि पर्छ । लगानी फिर्ता आउँदैन भने चलचित्रको गाडि लामो समय चल्दैन । अडियन्सको मागका कारण पनि यस्तो भएको हो । फिल्म मेकर मात्रै सचेत भएर हुँदैन । फिल्म मेकरले मात्रै चलचित्रको पोइन्ट अफ भ्यूलाई परिवर्तन गर्न सक्छ भन्ने तर्क पनि बलियो हुँदैन ।
अडियन्सबाट पनि यो कुरा आउनुपर्छ । संसारभरी हेर्ने हो भने सबै प्रकारका चलचित्र चलिरहेका छन् । तर हाम्रोमा एउटा सानो जमात छ जसले ‘कोर स्टोरी’ भएको चलचित्र मन पराउनुहुन्छ तर त्यो दर्शकले मात्रै लगानी फिर्ता आउँदैन । सबै पक्षलाई समेट्न खोज्दा कपितपय अवस्थामा चलचित्र विग्रिएका पनि छन् ।
जबसम्म बजारले चलचित्र मेकरहरुलाई निर्देश गर्छ । चलचित्र बुझेको मेकर र प्रोडुसर आउँदैनन् तबसम्म नेपाली चलचित्रको स्तर माथि उठ्दैन त्यसो भए ?
जबसम्म हामी एउटा निश्चित बजारमा बस्छौं त्योदिनसम्म राम्रो चलचित्र बनाउन गाह्रो हुन्छ । बजार जब विस्तृत हुँदैन तबसम्म बाटो सजिलो छैन । सोच ठूलो राख्ने र ठूलो बजारमा चलचित्रलाई धकेल्ने हो भने सायद जुनसुकै जानराको चलचित्र बनाए पनि चल्छ ।
एउटा सफल निर्देशकको व्यानरमा तपाईं चलचित्र निर्देशन गर्दैहुनुहुन्छ, कत्तिको प्रेसर फिल हुँदोरहेछ ?
दीपेन्द्र के खनालसँग काम गर्दा कहिले पनि मलाई ब्यानरसँग काम गरिरहेको छु भन्ने लागेन । दीपेन्द्रले के सोचिरहेको छ र म कसरी काम गरिरहेको छु, त्यो भोली काममा देखिन्छ होला । तर मैले सोचेको र देखेको कुरा के हो भने सिनेमा बनाउने कम्पनी हो यसले नयाँ कुरा दर्शकलाई दिन खोजिरहेको छ र म त्यसमा काम गरिरहेको छु ।
निर्देशकहरु मेकरहरुले बुझ्दै–बुझ्दैनन्, त्यसैले चलचित्र भनेजस्तो बनाउन सकिएन भन्ने गुनासो सुनिन्छ । यो पटक तपाईं निर्देशककै ब्यानरमा काम गर्दै हुनुहुन्छ । कतिको सहज हुँदोरहेछ ? दर्शकले घरलाई मुक्तकण्ठले प्रशंसा गर्न सक्लान् त ?
बुझेका व्यक्तिले बनाएको चलचित्रको निर्माणको चरणदेखि नै सहज हुन्छ । निर्माणदेखि मार्केटिङसम्मा सजिलो हुन्छ । त्योभन्दा पनि अर्को कुरा त दर्शकलाई नढाटौं भन्नेमा सहमति हुन्छ । जवकी नयाँ निर्माता वा नबुझेकाहरुलाई यी कुरा बुझाउन कतिपय अवस्थामा कठिन पनि हुन्छ ।
दोस्रो प्रश्नमा कुकले पस्केर दिएको खाना जस्तो हो चलचित्र । कुकले खाना बनाएर दिएपछि खाने व्यक्तिले आफ्नो टेस्ट सुहाउँदो खाना छ कि छैन भन्छ । ठ्याक्कै यही रुपमा बुझेको छु मैले चलचित्रलाई । तर ठूलो संख्याका दर्शकले मन पराउनुहुन्छ भन्ने विश्वास लागेको छ ।
अभिनयबाट सुरु भएको कलाकारिताको यहाँको यात्रामा अहिले निर्देशन पनि थपिएको छ । तपाईं स्वयम्लाई अहिले कलाकार हुँ भन्ने लाग्छ कि निर्देशक ?
अभिनयबाट म चलचित्रमा छिरेँ । पछि निर्देशनमा आइपुगेँ । अहिलेसम्मको मेरो यात्रालाई हेर्दा निर्देशनभन्दा अभिनयको संख्या नै धेरै छ । तर मलाई कथा भन्न पनि मन पर्ने भएकाले निर्देशन सुरु गरेँ । भोलीका दिनमा कामले कता लैजान्छ थाहा छैन । तर आजसम्म त आफूलाई कम निर्देशक बढी कलाकार नै भन्न मनलाग्छ ।
तस्बिरः सौरभ रानाभाट