काठमाडौं । नेपाली चलचित्र नगरीमा यतिबेला चर्चा कि रणकलाको छ कि चोपेन्द्रको । यी पात्र वास्तविक त होइनन् तर वास्तविकताबाट नजिक छन् । त्यसैले चलचित्र ‘बुलबुल’का यी दुई पात्रको चर्चा छ । त्यो पनि चलचित्रको कथाभित्रकै विषयलाई लिएर ।
निर्देशक विनोद पौडेलले चलचित्रको ओपन इन्डेड गरेपछि दर्शकमा कौतुहल छायो चोपेन्द्र (मुकुन भुषाल) र रणकला (स्वस्तिमा खड्का) का विषयलाई लिएर । तिमीलाई बिहे गर्ने हो कि भन्ने चोपेन्द्र एकाएक कहाँ गायव भयो अनि रणकलाकोश्रीमान् आउँछया आउँदैन? आएको खण्डमा सकुशल वा कफिनमा ? अथवा अङ्गभङ्ग ? भन्ने प्रश्नले दर्शकको मनलाई हिर्काइरह्यो ।
यीनै प्रश्नको जवाफ खोज्न हामीले खोज्यौं ‘बुलबुल’का निर्देशक तथा राइटर विनोद पौडेललाई । मंगलबार साँझ बानेश्वरको अर्याल होटलमा भेटिएका विनोद जिज्ञासा सुनेर मुसुक्क मुस्काए र भने, “त्यो त मलाई पनि थाहा छैन यार !”
कथा लेख्ने उनै, निर्देशक पनि उनै । विनोदलाई नै थाहा नहुने त कुरै भएन ।
‘बुलबुल’ आर्ट मुभी । चलचित्र ओपन इन्डेड । निर्देशक हावी हुनु हुँदैन । चलचित्रमा निर्देशक हाबी हुनु भनेको दर्शकको अपमान गर्नु हो । त्यसैले विनोदले दर्शकको चिन्तनशील क्षमताले जे बुझ्छ बुझोस् भन्ने मनसायले अर्थ, अनुमान, तर्क र कल्पनाशीलतामा खेल्ने जिम्मा हलसम्म पुग्ने दशर्कलाई थमाए र चलचित्रको अन्त्य गरिदिए ।
आर्ट मुभीको एउटा विशेषता पनि हो यो । तर हामीलाई बुझ्नु थियो–चोपेन्द्र कहाँ बेपत्ता भयो ? फिल्म हो । अलिकति वास्तविकता अलिकति काल्पनिकता हुन्छ नै । तर जान्नु थियो विनोदले कथा लेख्दा के सोचेका थिए ?
आकर्षक शरीर, कलकलाउँदो उमेर अनि हेर्दै फराशिली रणकला । निरन्तर पछ्याउने चोपेन्द्रले अन्ततः आफ्नो बसमा पारेरै छाड्छ । राति सुरक्षा गार्डको जागिर खाएर दिउँसो रणकलालाई फलो गर्ने चोपेन्द्र अविवाहित हुन्छ । यता रणकला उमेरले उति धेरै हिउँद नखाए पनि ऊ विवाहित हुन्छे । एउटी छोरी पनि हुन्छे । श्रीमान् विदेशमा हुन्छ । पक्षघात भएका ससुराबाको रेखदेख पनि उसकै जिम्मा छ ।
चोपेन्द्रलाई आफू विवाहित भएको र छोरी भएको रणकलाले घरमै लगेर देखाउँछे । चोपेन्द्र मिनेटौं टोलाउँछ । सोध्छे, अझै विहे गर्छौ ? चोपेन्द्र आफ्नै लवजमा भन्छ, “गर्छु”
दिनभरी टेम्पो चलाउँदा उनको वैंशमाथि गिद्धे नजर लगाएर हिँड्ने पुरुषको आक्रमण र आउँछु–आउँछु भन्ने तर ६ वर्षसम्म नेपाल नफर्किएको श्रीमान् अनि मधमत्त उमेर । रणकलालाई पनि डेटिङ जान मन लाग्छ । एकान्तमा टहलिन मन लाग्छ । पार्कमा लाडिदैँ श्रीमान्को काखमा टाउकोसँगै दुःखसुख बिसाउन मन लाग्छ । अनि जोवन साट्न पनि मन लाग्छ । र, निर्णय गर्छे आउँदिन पनि नभन्ने तर नआउने श्रीमान्लाई पर्खिएर बस्नुभन्दा माया गर्छुभनेर निरन्तर पछि लाग्ने चोपेन्द्रसँग विवाह गर्ने ।
जिन्दगी नै एकअर्कासँग साट्ने निर्णयमा पुगेपछि रणकला चोपेन्द्रलाई लिएर आफ्नै घर पुग्छे । चोपेन्द्र रणकलाको घरमा रात बिताउँछ । रणकलाका ससुरा र चोपेन्द्र रातभर निदाउँदैनन् । एकअर्कालाई हेरेको दृश्य छ ।
भोलिपल्ट बिहान चोपेन्द्र र रणकला स्वयम्भू मन्दिर पुग्छन् । त्यहाँ चोपेन्द्रले भन्छ, “हेर त हाम्रो देश कति राम्रो छ है ।” तर रणकला स्वयम्भूबाट देखिने सुन्दर भ्यू हेर्दिन । उसको मनमा अरु नै कुरा खेलिरहेको छ । जिन्दगीकै सबैभन्दा ठूलो निर्णय लिँदै गरेकी उनको मनमा विनोदका अनुसार यसले मलाई बिहे गरेर कहाँ राख्छ होला भन्ने सोचिरहेकी छ ।
त्यहीँ अर्को जोडी छ, टेम्पोमा फोनमा कुरा गरिरहेकी युवती र उसको ब्याईफ्रेन्ड । युवतीले भन्छे, “हाम्रो नेपाल कति राम्रो छ है ।”
विनोद भन्छन्, “यो एउटा मैले क्रिएट गरेको मेटाफोर हो । म आफैं जिन्दगीमा धेरैपटक विदेश भएको छु । जब म विदेश जान लाग्छु, मेरो पासपोर्टमा भिजा लाग्छ, मलाई परिवार र आफन्त मात्रै होइन यहाँका रुखविरुवाको पनि माया लाग्न थाल्छ । देश यति राम्रो लाग्छ कि एक हप्ता अगाडिदेखि साथीभाइ तथा परिवारसँग पशुपति जान्छु । स्वयम्भू जान्छु । फोटो खिच्छु । मेरा साथीहरुले पनि त्यसै गरेको देख्छु । जब देश छाडेर जाने बेला हुन्छ बल्ल आफ्नो देशको भ्यालु थाहा हुन्छ । यही कुरालाई मैले सांकेतिक रुपमा त्यहाँ राखेको हुँ । चोपेन्द्र कहाँ हराउँछ भन्ने कुराको यो एउटा क्लू पनि हो ।”
चोपेन्द्र कहाँ गए ?
विनोदको दिमागमा पनि प्रश्न उठिरहन्छ रे ! तर उनले सोचेका छन् ऊ रातीको ड्युटी गर्छ । बजार घुम्छ । दिउँसो रणकलाको पछि लाग्छ । दिउँसोको समयको सदुपयोग गरिरहेको छैन । त्यसैले ऊ कुनै ट्रान्जिसनको समय छ । जुन उसलाई बिताउनु छ ।
“सायद उसले टाइम पासमात्रै गर्न खोजेको थियो कि ?” विनोद भन्छन्, “विवाहित भएको थाहा पायो । छोरी र ससुरा पनि भएको देखेपछि भाग्यो कि ?”
रणकलाले ससुरालाई अब म तपाईको छोरालाई छोड्दैछु भनेकी छ । भाग्ने तयारी गरेपछि चोपेन्द्रले मोवाइल स्विच अफ गर्छ । खोज्दै उसको कोठासम्म पुग्छे । तर चोपेन्द्रले कोठा छोडिसकेको हुन्छ । रिसले आँखा देख्दिन । ढुङ्गाले झ्यालमा हान्छे । आकाश खसेर किचेजस्तो भयो सायद रणकलालाई । सडकमै थ्याच्च बस्छे ।
दर्शक झल्याँस्स हुन्छन् । फल्यास ब्याक हुन्छन् र सम्झिन्छन् चोपेन्द्रको एउटा फोन संवाद । होस्टलमा छोरी भेट्न गएकी रणकला छोरीसँग गफ गरिरहेका बेला अर्को कुनामा रहेको चोपेन्द्र फोनमा कुरा गरिहेको हुन्छ । उसले भनेको सुनिन्छ, “सुन्नुन सबैको झरिसक्यो मेरो कहिले झर्छ ? मेरो परिवारमा जानु भयो भने...।” रणकलालाई देख्नेबित्तिकै आत्तिएर चोपेन्द्र भरे कुरा गरौंला भन्दै फोन काट्छ । सीधै नभनेका निर्देशक तथा राइटर विनोदले दिएको अर्को क्लू हो यो । नेपालमा चलनचल्तीमा भिसा आयो भनेर सोध्दा मिडल इस्ट जानेहरु चोपेन्द्रले झैं, ‘मेरो भिसा झर्छ’ भन्छन् ।
विनोद भन्छन् “मैले अर्को क्लु अब्रोड जाने युवतीलाई पनि देखाएको छु र ऊसले अब्रोड जाने भने पहिला नै भनिसकेकी छ । अब्रोड जानु अगाडि आम मान्छेको मनमा खेल्ने कुरा युवतीमार्फत् भनेकी छु । दुबैलाई देश प्यारो उसले युवकलाई केही समयका लागि टाइमपास मात्रै भनेकी छ । यसबाट पनि चोपेन्द्रको क्यारेक्टर पनि कतै त्यस्तै त होइन भनेर अनुमान लगाउन सकिन्छ । यी क्लु मैले दर्शकलाई अनुमान लगाउन दिएको हुँ ।”
बाँकी रहिन् रणकला ।
उसले सपना देख्छे श्रीमान् (बुद्धि तामाङ) कफिनमा आएको । चोपेन्द्र टेम्पोमा भेटिएको आम यात्री झैं आयो । गयो । तर रणकलाको जिन्दगी बाँकी नै थियो । जिउनु नै थियो । रणकलालाई फोन आउँछ,श्रीमान् आउन लागेको । रणकला छोरी लिएर एयरपोर्ट पुगेर वेटिङ रुममा बस्छे ।
ड्रिम सिक्वेन्समा विनोदले गल्लीभरी लेबरले लगाउने सेफ्टी ह्याट झुण्डाइदिएका थिए ।
किन ?
विनोद चलचित्रमा प्यारप्यार बोलेर दर्शकलाई दिक्क लगाउनुभन्दा दृश्यबाटै धेरै कुरा भन्न रुचाउँछन् रे ! त्यही हो लहरै झुण्ड्याइएका सेफ्टी ह्याटको अर्थ ।
मिडल इष्टमा लेवर वर्कका लागि जाने नेपाली कति कफिनमा फर्किन्छन् । त्यो धेरैलाई थाहा छ । त्यो मनोदशाबाट गुज्रिएको अवस्थामा रणकलालाई विनोदले देखाउने प्रयास गरे ।
विनोद भावुक हुन्छन् र भन्छन्, “जब विदेशमा कुनै नेपालीको मृत्युको खबर समाचारमा आउँछ । श्रीमान् विदशमा रहेका महिलामा त्योबेला मेरो श्रीमान् पनि विदेशमा छन् भन्ने कुराले डेरा जमाउँछ ।”
विनोद सुटुक्क आफ्नै कथा पनि छिराउँछन्, “म पनि धेरै विदेश बसेको छु । त्यो बेला मेरो ममी आज यस्तो सपना देखेँ छोरा तँ सन्चै छस् भन्दै रुँदै फोन गर्नुहुन्थ्यो ।”
श्रीमान्को प्रतीक्षामा बसिरहेकी रणकला र उसकी छोरीलाई क्यामेराले फोकस गर्छ । पृष्ठभूमिको संगीत म्युट हुँदै गएको छ । एयरपोर्टको ध्वनी पनि काटेर विनोदले विस्तारै इको साउन्ड रोखेका छन् ।
त्यसको अर्थ के ?
रणकला त्यो समय अर्कै दुनियाँमा छे । सायद ऊ त्यो बेला वरिपरी कोही बोलेको पनि सुन्दिन । “त्यो समय सायद ऊ ब्ल्यान्क जीवन बाँचिरहेकी छ । नेपालमा त्यस्ता कति महिला श्रीमान्को प्रतीक्षामा त्यसैगरि बाँचेका छन्,” उनी भन्छन्, “मध्यमवर्गिय परिवारको घरघरको कथा हो यो । मेरो श्रीमान् कमाएर सही सलामत आउँछ भनेर कति महिला बसेका छन् त्यो देखाउन खोजेका हौं ।”
चलचित्र सकिँँदा घडीको टिक टिक टिक...आवाज सुनाएका छन् विनोदले जुन चलचित्रभर रणकलाको घरमा आउँछ ।
अर्थ ?
रणकला कसैको प्रतीक्षामा छिन् । उनको जिन्दगी सकिएको छैन । बाँकी नै छ ।
उनले चलचित्रमा कन्क्लुजन दिएनन् । कारण दर्शकले कन्क्लुजन आफैँ निकाल्दै हलबाट बाहिरिउन् भन्ने उनको उद्देश्य हो ।
किन दिएनन् कन्क्लुजन ?
“यदि ‘बुलबुल’मा एयरपोर्टमा रणकलाको श्रीमान् आएर उनीहरुले लामो समयपछिको भेट सेलिब्रेट गरेको भए सबै इमोशन खस्थ्यो । बुलबुल पनि आम चलचित्र जस्तै क्लिेसे हुनेथियो,” विनोद भन्छन्, “अर्को कुरा मैले जे बुझेँ त्यही नै तिमीहरुले पनि बुझ्नुपर्छ भनेर दर्शकको सिर्जनशीलतालाई अन्डरइस्टिमेट गरेको हुन्थ्यो । यसलाई इमोस्नल अत्याचार भनिन्छ । यदि त्यसो गरियो भने त्यो आर्ट हुँदैन । चलचित्रमा निर्देशक हाबी भएको हुन्थ्यो ।”
“म मेरै जिन्दगीका त कतिपय कुरा अहिले के भइरहेको हुन्छ र भोली के हुन्छ भनेर भन्न सक्तिन भने आम मानिसको जिन्दगीको कथा कसरी भन्न सक्छु ? अन्तिममा उनले प्रश्न गरे ।