भोजपुरको टक्सारमा मादलको तालमा वैंशालुदेखि बूढापाकाहरुसम्म नाच्थे । तीनचार वर्षका बाबुलाई त्यसले खिच्दोरहेछ । बजाइरहेको मादल तानेर बनाउन खोज्थे । “त्यो उमेरमा न सुर न तालको ज्ञान तर पनि टाइमिङमा बजाउन खोज्थेँ रे !” तीन वर्षको उमेरको प्रतिभा सुनाउँदै बाबु भन्छन्, “कलिलो उमेरमा मैले संगीतप्रति देखाएको त्यो लगाव र आशक्तिलाई देखेर गाउँका सबै भन्थे रे यो त ठूलो भएपछि कलाकार नै हुन्छ ।”
बुवा इन्डियन आर्मी । भारको रमझम र सुविधामा बसेका भोजपुरको विकट गाउँले रोकीराख्न सकेन । सुविधा खोज्ने क्रममा उनले परिवारका लागि विराटनगर रोजे । आमाको साडीको फेर समातेर बाबु तीन वर्षको उमेरमा विराटनगर झरे । “बुवाले ढाकरमा बोकेर मलाई धरान झारेको आज पनि याद छ । पिखुवा खोला सुसाएको अझै बिर्सिएको छैन,” नोस्टाल्जिक हुन्छन् बाबु, “धरानमा पहिलोपटक सेतो मिनिबस गुडेको देख्दा बुवाको हात समाइरहेको म आत्तिएर भागेँ । बुवाले किन भागेको भन्दै समाउँदा घर जस्तो के हो यो भनेको मैले बिर्सिएको छैन ।”
गाडी चढ्दा गाडी होइन बाटो कुदे जस्तो लाग्यो उनलाई । सडक छेउका रुखबिरुवा दौडिएजस्तो लाग्यो । “तर वास्तवमा हामी बसेको गाडी नै दौडिएको रहेछ, रुख बिरुवा हैन,” खित्का छोडेर हाँस्छन् बाबु ।
विराटनगरको लेटाङमा पढ्न थाले । गीतसंगीत र नृत्यमा रुची थियो । १३ वर्षको उमेरमा बाबुले पहिलोपटक लेटाङको फडानीमा नृत्य गरे । “ममीले मेरो रुची देखेर होलो डान्स टिचरलाई बाबुराम (बाबु)लाई नचाइदिनु भन्नुभयो । एउटा खाटको स्टेज बनाइएको थियो । त्यो एउटा खाटमा नाचेँ पहिलोपटक,” उनले बाल्यकाल सुनाए । त्यहीँबाट उनको गानाबजाना सुरु भयो ।
“नेपालको राजधानी कहाँ भन्ने प्रश्नमा मैले कलकत्ता भनेँ । म कक्षा चारमा फेल भएँ,” फेरि एकपटक खित्का छुट्यो उनको मुखबाट ।
लेटाङमा ८ कक्षामा पढ्दै थिए । ‘राष्ट्रिय भिटामिन ए’को विद्यालयस्तरीय गीत प्रतियोगिता थियो । भाग लिए ।
उनले पहिलो पटक गीत लेखे,–भिटामिन एको कमीमा भए रोग लाग्छ खतरनाक । आफैँले कम्पोज गरे । सरलाई सुनाए, “लौ, बाबुरामले त राम्रो लेखेछ ।”
“माइकमा पहिलोपटक धेरै व्यक्तिका अगाडि गाएको । पातलो स्वर थियो । तर सबैले तारिफ गर्दै भने, यसको स्वर त शम्भु राईको जस्तो पो छ ।”
त्यो समय पूर्वेली भाका तथा आधुनिक गायनमा शम्भु राई लोकप्रिय थिए ।प्रतिस्पर्धामा दोस्रो भए । आत्मबल बढ्यो । गाउन सक्छु भन्ने भयो । त्यहीँबाट हो उनलाई गायक बन्ने रहर पलाएको । त्यसपछि उनले रेडियो आफ्नै ‘पेवा’ जस्तै बनाए । रेडियो नेपालबाट जसका गीत बज्छन्, जस्ताको तस्तै गाउन थाले । अल इन्डिया रेडियोबाट बज्ने हिन्दी गीत कपी गर्न थाले । गीतसंगीतको नसा बस्यो ।
“जतिबेलै पनि गाएको गायै गर्ने । मुख खाली हुँदैन थियो । छिमेकीसमेत झर्को मान्थे । तर केही दिन कतै गयो भने टोल नै शून्य हुन्थ्यो रे,” बाबु गीतप्रतीको आफ्नो लगावको कथा कहन्छन् ।
एसएलसी दिदाँसम्म पूर्वाञ्चलका धेरै क्याम्पसमा उनले गीत गाइसकेका थिए । हरेक कलेजमा सम्भावना बोकेको गायकका रुपमा बोलाउँथे । बाबुलाई एक्सपोजर चाहिएको थियो, गाउँथे । स्थानीय क्लबले उनलाई लिएर हिँड्न थालिसकेका थिए ।
०५३ सालमा राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा पूर्वाञ्चलबाट तीन जना छनोट हुँदा बाबु पनि परेका थिए । पहिलोपटक उनी प्रतियोगितामा भाग लिन काठमाडौं आए । गाउँमा उनको चर्चा चुलियो । भलै, काठमाडौंमा उनले सफलता हात पार्न सकेनन् ।
स्थानीयतस्तरमा गायकको परिचय बनाइसकेका थिए । रुची गायनमै थियो । विद्यालयका शिक्षकदेखि चिनेजानेकाले परिवारलाई सुझाव दिए,बाबुराम (बाबु)लाई कलाकार नै बनाउनू ।
विराटनगर बसेर कलाकार त भइन्थ्यो । प्रसिद्धी मोफसलमै सीमित हुन्थ्यो । उनलाई मोरङको मात्रै होइन देशको कलाकार बन्नु थियो । गाडी चढे ०५५ मा काठमाडौंको । मोहन शाहको साथ लागेर काठमाडौं आइपुगे । कपिल सिवाकोटी शिक्षक थिए । उनीसँगै कुपण्डोलमा बस्न थाले । मोहन शाहले पुतलीसडकको परिवर्तन नेपाल पुर्याइदिए । बाबु परिवर्तन नेपाल पुगेर अभिनयको कक्षा लिन थाले । त्यही ताका अनुराग संगीत पाठशालामा संगीतको सुर र तालसँग पनि खेल्न थाले बाबु ।
रेडियो नेपालको ‘पुष्पाञ्जली’, नेपाल टेलिभिजनको ‘मनको रहर’, ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ लगायत कार्यक्रममा उनले सहभागीता जनाए ।
०५६ मा स्वेदेशगान सम्मेलन भयो ।
लक्ष्मीप्रसाद पौडेलको शब्द र राम भुजेलको संगीतमा बाबुले गाए–
शीरमाथि सगरमाथा हाँसेको छ हाम्रो
लाग्छ मलाई मेरो देश सबैभन्दा राम्रो
प्रतियोगितामा शिव परियारले बाजी मारे । बाबुको गीतले गीतले राम्रो प्रतिकृया पायो तर पुरस्कृत भएन । सबैले उनलाई सबैले भने, एल्बम निकाल ।
मधु क्षेत्रको कम्पोज र सुरेन्द्र रानाको शब्दमा ५ वटा गीत गाए । अरु ३ वटा गीत समेटेर ०५७ मा ‘पुल्चोक पाटन’ एल्बम निकाले तर चलेन ।
पाटन कलेजमा कमर्स पढिरहेका उनले कलेज परिवर्तन गरेर ललितकलामा भर्ना भए ।
त्यो समय संघर्षको चरण थियो । सडक नाटक खेल्थे । प्यारोडी गाउँथे । भजन गाए । दोहोरी गाउँथे । जे काम आयो, त्यही गरे । तर जीजिविषा धान्न कठिन हुन थाल्यो । घरबाट प्रेसर आउन थाल्यो । बाबुलाई कि विदेश जानुपर्ने भयो कि काठमाडौंमै जागिर खानुपर्ने बाध्यता आयो ।
गीत रेकर्ड गर्न जेम्स प्रधानकोमा जाँदा रेकर्डिस्ट मोहित मुनाल र अराजकेशवलाई चिनेका थिए । बाबुले जागिर चाहिएको सुनाएका थिए । उनीहरुले जेम्स प्रधानलाई भनेर त्यही स्टुडियोमा जागिर मिलाइदिए । काम सुरु भयो । त्यहाँ काम थालेपछि नेपाली सांगीतिक क्षेत्रलाई बाबुले नजिकबाट चिन्ने मौका पाए । कस्ता गीत मन पराइन्छ, थाहा पाए ।
गीत गाउने मात्रै होइन, उनले मोडलिङ र अभिनय पनि सुरु गरिसकेका थिए । टेलिचलचित्रमा अभिनय गरेका उनले कुमार कान्छा, गुलाम अली, नवीन के भट्टराई लगायतका गीतमा मोडलिङ गरिसकेका थिए । नवीन केको खाँदै नखाको विषले ज्यूँदै मार्यो, हेमन्त शर्माको न तेजावी सुन हो माया न हो छापावाल, कुमार कान्छाको मैले खोजेको गीतको भिडियोमा बाबु फिचर्ड भइसकेका थिए । संघर्षको चरण थियो । पारिश्रमिक कसेर लिन सक्तैन थिए । जति दियो, त्यति हात थाप्नुपर्ने । कतिले त दिँदै दिँदैनथे । त्यो बेला उनलाई पनि टेलिभिजनमा मुख देखाउन पाए मात्रै पनि हुन्थ्यो भन्ने पनि लाग्थ्यो ।
विदेश जानैपर्ने भयो । कहाँ जाने ? गए पछि राम्रै ठाउँ जाने भन्ने भयो । वेल्जियमका लागि प्रयास गरे । भिसा लागेन । अरु केही देशका दूतावास पनि धाए । कतै बाबुलाई चित्त बुझेन । कतै दूतावासले बाबुलाई चित्त बुझाएन ।
ठिक त्यही बेला बाबुलाई आमाले भनिन्, “अन्तिम एकपटक फेरि ट्राइ गर । एउटा एल्बम गर, भएन भने जता भए पनि विदेश नै जा ।”
जेम्स प्रधानको स्टुडियोमा काम गर्न थालेका थिए । जेम्स प्रधान त्यो बेलाको ‘हट केक’ । जे गायो त्यही चल्ने । जुन कम्पोज गर्यो, त्यही हिट हुने । शब्द उनकै मन पराइने । विज्ञापनमा प्रायः उनकै एकाधिकार ।
जेम्स प्रधानसँग गीत मागे ।
जेम्सले गीत दिए, ‘फेरि त्यो दिन फेरि त्यो रात भुल्न खोज्छु समयको साथ....’
‘फेरि त्यो दिन’बाट उठेको सुगम पोखरेलको गीत जनजनको जिव्रोमा थियो । बाबुले भने, “जेम्स दाइ गीत चोरेको अथवा कपी गरेको आरोप त आउँदैन ?”
जेम्सले भने, “सुगमको त्यो गीत आउनुभन्दा धेरै पहिला मैले कम्पोज गरेर राखेको गीत हो यो । एक दुई शब्द त मिलिहाल्छ नि । केही फरक पर्दैन ।”
जेम्सले भनेपछि बाबुलाई केको टाउको दुखाइ ?
अरु–अरुसँग पनि गीत लिए । तर कुनै पनि लोक फ्लेबरमा छैन । एउटा त चाहियो ।
बाबुले आमालाई गुहारे, “तपाईले गाउँघरमा सुनेको कुनै गीत छैन ?”
आमाः छ ।
बाबुः कुन ? सुनाउनु त ।
आमाले सुनाइन्, ‘कान्छी बैनी तिमीलाई हानौंला लौरोले...’
गीतको फ्लेबर त लोक नै थियो तर शब्द ‘क्याची’ छैन ।
बाबुले कान्छीको ठाउँमा सान्नानी राखे । स्थायी तयार भयो यस्तो, ‘सान्नानी तिामीलाई ...’
०६० मा म्युजिक डटकमले गीत बजारमा ल्यायो ।
एल्बमको गीत ‘फेरि त्यो दिन...’ को भिडियो बन्यो । गीत सुपर हिट भयो ।
बाबु व्यस्त हुन थाले । स्टेज कार्यक्रमका लागि निम्तो आउन थाल्यो । पैसा कमाउने मौका । चिनिने अवसर । स्टुडियोको जागिर छोडे । कार्यक्रममा हिँड्न थाले । कम्पनीले ‘सान्नानीको...’ भिडियो बनायो । अडियो मात्रै पनि चलेको गीत झन चल्यो । बाबु व्यस्त गायक बने ।
‘जमुना’, ‘सिउँदो’ लगायत गीत केही चले । तर सीडी क्यासेट बिक्री हुन छाडिसकेको थियो । जीविकाका लागि विकल्प खोज्नुपर्ने भयो ।
एसकुमारसँग मिलेर रेष्टुराँ खोले । गानाबजाना पनि हुने, रेष्टुँरा चले पैसा पनि हुने ।
समयले विकल्प खोज्न भन्यो, खोजे । सम्भावना देखाउँदै एकपछि अर्को विकल्पसँगै रहर जोडिएर आए ।
गीत पनि गाइने, अभिनय पनि हुने । चलचित्र बनाउँ । एसकुमारसँग मिलेर चलचित्र बनाए,‘बाटोमुनीको फूल’ । नायक बाबु । राम्रै चल्यो । अफरहरु आए । खेल्दै गए । आधा दर्जन चलचित्र गरिसके तर अधिकांशको रिजल्ट अनपेक्षित । कुनैको कथा नराम्रो कुनैको निर्माण युनिट । “कथा राम्रो भए टिम राम्रो नहुने टिम राम्रो भए कथा राम्रो नहुने । सबै कुराको तारतम्य नमिलेपछि चलचित्र राम्रो नहुने,” बाबु भन्छन्, “विस्तारै चलचित्रप्रति पनि मन मर्दै गयो । जे पायो, त्यही फिल्म नगर्ने भन्दाभन्दै अहिले त जेनेरेशन नै ग्याप भइसक्यो । अब चलचित्र गर्नुपरे कसरी नयाँ गर्न सकिन्छ भन्ने सोचिरहेको छु ।”
तस्बिर बाबुको फेसबुकबाट