काठमाडौं । युवा नाट्यकर्मीहरुले अग्रजहरुको जुँगाको लडाईंका नेपाली रङगमञ्चले फड्को मार्न नसकेको बताएका छन् । नगर पनि नभन्ने तर यसो गर पनि भनेर बाटो नदेखाउने अनुभवी नाट्यकर्मीहरु कै कारण नेपाली रङ्गमञ्चले गती लिन नसकेको युवा नाट्यकमीहरुको ठम्याई छ ।
काठमाडौंमा जारी अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मंगलबार अबेर साँझ भएको प्यानल डिस्कसन ‘रङमञ्चको किनारैकिनार’ मा बसेका नाट्यकर्मी प्रविण खतिवडाले नेपाली नाटकका अग्रजहरु अभि सुवेदी, सुनिल पोखरेल, अनुप बराल, विप्लभ प्रतिकलगायतको जुँगाको लडाईंका कारण नेपाली रङ्गमञ्चले अपेक्षित प्रगती गर्न नसकेको बताए । स्कुलिङको अभाव नै मुख्य समस्या भएको उनको भनाइ छ ।
“जसले हामीलाई बाटो देखाउनुपर्ने हो । उहाँहरुबीचको जुगाँको चलखेल नै पहिलो कारण हो,” प्रविण भन्छन्, “राजनीतिक अस्थिरता पनि अर्को कारण हो । एक वर्ष लाग्न आट्दा निर्मला हत्याकाण्डलाई पर्दाफास गर्न नसक्ने सरकारले हाम्रो रङ्गमञ्चतर्फ फर्किएर कहिले हेरिदेला । दुःख लाग्दो कुरा त हाम्रै बाउहरुको जुँगाको लडाईं सकिएन । हैन भने जमानामा स्कुल स्थापना भइसकेको हुनुपर्थ्यो । विप्लब दाइ साक्षी हुनुहुन्छ । हामीलाई एकेडेमिक सर्टिफिकेट प्राप्त हुने गरी किन स्कुल खोलिदिन सक्नुहुन्न भनेर मैले अनुप दाइलाई पनि भनेको छु । अभि सुवेदी सरलगायत सबै ठाउँठाउँमा हुँदा पनि किन काम हुन सकेन । उहाँहरुले चाहेको भए अहिले हामी युनिभरसिटीको सर्टिफिकट होल्डर हुन्थ्यौं ।” अग्रजहरुले नचाहेकै कारण अहिले आउने नयाँ पुस्तालाई पनि इन्स्टीच्युसनको तीन महिनाको कोर्ष सिकाएर बस्नु परिरहेको उनको गुनासो छ ।
नाकको राजनीतिको अन्त्य नभएको र युवालाई अगाडि आउन नदिने संस्कार अहिले अन्य क्षेत्रमा जस्तै नाट्य क्षेत्रमा पनि रहेको प्रविणले बताए ।
अर्का युवा रङ्कर्मी नाजिर हुसेनले पुरानो पुस्ताले नगर पनि नभन्ने तर बाटो देखाउने काम पनि नगरेको गुनासो गरे । उनी भन्छन्, “हामीलाई उहाँहरुले सीधै नगर पनि भन्नुभएको छैन तर यसो गर् भनेर पनि भन्नुभएको छैन । त्यसैले हामीले जति जानेको छौं त्यती नै गरिरहेका छौं । ज्ञानको अभावमा युवा पुस्ताले चाहेर पनि थप राम्राराम्रा नाटक गर्न सकेको छैन ।”
रङ्गकर्मी सरिता शाहले नेपाली नाट्य क्षेत्रमा कामचलाउ काम मात्रै भइरहेको बताइन् । यसको मुख्य कारण एकेडेमिक ज्ञानको अभाव रहेको उनको बुझाइ छ । परम्परा धान्ने अवस्थाबाटै रङ्गमञ्च गुज्रिरहेको उनको अनुभव छ ।
नेपाली रङमञ्चले समाज रुपान्तरणको कथा भन्न नसक्नुको कारण नाटकको अभाव नै मुख्य कारण रहेको रङ्गकर्मी सिर्जना सुब्बाले बताइन् । उनले आफूलाई नेपाली साहित्यको अग्रज र अनुभवी भन्नेहरुले नै नाटकको विधामा कलम नचलाइदिँदा भइरहेका पुराना र विदेशी नाटकबाट काम चलाउनु परिरहेको उनले सुनाइन् ।
नाट्य क्षेत्रको विकासका लागि नेपाल संगीत तथा नाट्य एकेडेमीले काम गर्न नसकेको भन्दै उनले भनिन् “एकेडेमी नै हामीसँग पैसा छैन हामीलाई सित्तैमा हल भाडामा दिनुपर्यो भनेर आउँछ । यो देख्दा हामी आफैँ अनुमान लगाउन सक्छौं उहाँहरुको आवश्यकता छ कि छैन ।”
नेपाल संगीत नाट्य एकेडेमीले नाटकको विकासका लागि काम गर्न नसक्नुको कारण आर्थिक चलखेल नै मुख्य कारण रहेको रङ्गकर्मी प्रविणले बताए । “एकेडेमीले आयोजना गरेका दुईतीनवटा फेष्टिवलमा म पनि सहभागी भएको थिएँ । फेष्टिबलबाट पनि अलिकती बचाएर खल्तिमा हालौं न भन्ने मानसिकताले काम गरेको मैले देखेको छु । बिग्रिएको र काम नभएको यही नै मुख्य कारण हो ।”
प्यानल डिस्सनको संयोजन गरिरहेका राजन मुकारुङले सोधे, नाटक समाजको पथप्रदर्शक हो भने नेपाली राजनीतिकलाई खबरदारी गर्ने नाटक प्रदर्शन गर्न किन नसकेको ? जवाफमा प्रविणले राजनीतिक खबरदारी नाटकमार्फत कसरी गर्नेभन्ने ज्ञान युवा नाट्यकर्मीसँग नभएको बताए । सोही प्रश्नको जवाफमा सिर्जना सुब्बाले रङ्गकर्मीमा अर्काको मुख ताक्ने प्रवृत्तिको अन्त्य नभएसम्म राजनीतिक तथा सामाजिक खबरदारी गर्ने नाटकको प्रर्दशन गर्न नसकिने बताइन् ।
आफ्नै मौलिक परम्परा बोकेको नेपाली नाटकको विकास गर्न अहिलेको युवा पुस्ताले प्रयास गर्ने र त्यो यही युवा पुस्ताले स्थापित गर्न नसके पनि सुरुआत भने गर्ने रङ्गकर्मी सुब्बाले ताइन् । “हामीलाई सुरुमा नाटक घर भए सबैकुरा हुन्छ भन्ने लागेको थियो । तर जब नाटक घर निर्माण भयो । त्यसपछि थाहा भयो अब आफ्नै मौलिकता बोल्ने नाटक चाहिन्छ । हाम्रो आफ्नै किसिमको नाटकको फर्म हुनुपर्छ,” उनले भनिन्, “तर त्यसका लागि पर्याप्त स्रोत र साधन चाहिन्छ । त्यसैले यो विस्तारै हुँदै जाने कुरा हो । हामीले हाम्रै जीवनकालमा स्थापित त गर्न नसकौंला तर सुरुआत अवश्य गर्ने छौं ।”
अहिले नेपालमा मञ्चन भइरहेका नाटकमा स्टेजदेखि शैली देखि कथासम्म नेपाली पन झल्काउने नभएर पश्चिमा शैलीको भएको आरोप लाग्दै आएको छ । नेपाली रङगकर्ममा रहेका समस्याको समाधानका लागि सरकार तथा सरोकारवालाहरुले चिन्ने अनुहारले पहल गर्नुपर्ने आवश्यकता औल्याएका युवा रङ्गकर्मीले आफूहरु त्यस्तो व्यक्ति र पहलको पर्खाइमा रहेको बताए ।
उनीहरुले नाटकमा केही वर्ष काम गरेर चलचित्रमा अभिनयका जानुको कारण आर्थिक पक्ष मुख्य रहेको बताए । नाटकमै बसेर आर्थिक उपार्जन हुने भए आफूहरुलाई चलचित्रमा जान कुनै रहर नभएको चारै जान युवा रङ्गकर्मीको भनाइ थियो ।