site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कप्तानबिनाको यूएईलाई नेपालले पराजित गर्न सक्ला ?

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको चार वर्षभित्र टेस्ट राष्ट्रविरुद्ध खेल्ने वातावरण बनाउनका लागि यूएई भ्रमण महत्वपूर्ण हुने बताएका छन् । त्यसका लागि नेपालले राम्रो प्रदर्शन गर्नुको विकल्प नरहेको बताए ।

“नेपालले अब ४ वर्षसम्म यस्तै शृंखलाहरु नै खेल्ने हो । हरेक खेल हाम्रो लागि महत्वपूर्ण हुन्छन् । आगामी २ वर्षभित्र हामीले टेष्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्ने वातावरण बनाउनुपर्छ,” यूएई जानुअघि कप्तान पारसले भने, “त्यसका लागि राम्रो क्रिकेट खेल्नुपर्छ । राम्रो क्रिकेट खेल्न सक्यौं भनेमात्र त्यो वातावरण सिर्जना हुने हो ।”

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि दोस्रो दुई देशीय शृंखलाका लागि नेपाली क्रिकेट टोली अहिले युनाइटेड अरब इमिरेट्स भ्रमणमा छ । मंगलबार नेपालबाट यूएई प्रस्थान गरेको नेपाली टोलीले बुधबार आईसीसी एकेडेमी ओभल वानमा अभ्यास गरेको छ ।
स्कटल्यान्ड, नेपाल र युएईले विश्वकप छनोट २०१८ प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । जुन १–१ को बराबरीमा टुंगिएको थियो । त्यसपछि नेपालले युएईविरुद्ध खेल्न लागेको हो । नेपालले युएईमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नेछ । 

\"\"

यूएई भ्रमणका लागि नेपालले चार नयाँ अनुहारलाई मौका दिएको छ । अविनास बोहरा, सन्दीप जोरा, भिम सार्की र पवन सर्राफले नेपाली राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन् । भिटामिन ‘डी’को कमीका कारण अस्वस्थ भएका शरद भेषावकर टोलीमा छैनन् । 
“कुनै पनि खेलाडी बिरामी भइसकेपछि हामी केही गर्न सक्दैनौं,” शरदको अनुपस्थतिबारे नेपाली टोलीका कप्तान पारस खड्काले भने, “उनी अनुभवी खेलाडी हुन् । यस शृंखलामा हामी उनलाई मिस गछौं । तर, मलाई लाग्छ हामीसँग अरु पनि धेरै खेलाडी सक्षम छन् । खेलाडी टिममा आउने जाने क्रम भइरहन्छ । हामीले युवा खेलाडीलाई मौका दिएका छौं । उनीलाई क्षमता हेरेर नै छनोट गरेका हौं । उनीहरुले अहिलेदेखि अवसर पाए १, २ वर्षमा राम्रो खेलाडी बन्न सक्छन् ।”

यूएईको पनि कप्तान रोहन मुस्तफासहित तीन महत्वपूर्ण खेलाडी टोलीमा हुनेछैनन् । पाकिस्तानमा सम्पन्न इमर्जिङ टिम्स एसिया कपमा व्यवस्थापन राम्रो नभएको प्रतिकृयाका कारण युएई क्रिकेट बोर्डले कप्तान मुस्तफासहित दुई सिनियर खेलाडी अहमद राजा र रामीज शाहजदलाई ८ हप्ताका लागि निलम्बन गरेको छ । त्यसैले तिब्र गतिका बलर मोहम्मद नाभीदले पहिलो पटक युएईको कप्तानी सम्हाल्नेछन् । उनले पछिल्लो समय उप कप्तानको जिम्मेवारी पाएका थिए ।

“कप्तानीको जिम्मेवारी सम्हाल्न पाउनु गर्वको कुरा हो,” गत महिना सम्पन्न एभरेष्ट प्रिमियर लिग खेलेका नाभीदले भने, “पहिलो लक्ष्य नेपाललाई हराउनु हो ।”

\"\"

“हामी सकरात्मक छौं । तीन खेलाडी नभए अर्को तीन खेलाडीले अवसर पाएका छन्,” युएईका प्रशिक्षक डोउगी ब्राउनले स्थानीय सञ्चारमाध्यम एन स्पोट्ससँग भनेका छन्, “म धेरै उत्साहीत छु । विश्व क्रिकेटमा उदाउँदो शक्ति बनेको नेपालविरुद्ध हामीले युवा खेलाडीलाई मौका दिन पाएका छौं ।” 

गत फेब्रुअरीमा नामिवियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालले युएईलाई समूह चरणमा ४ विकेटले पराजित गरेको थियो । तर फाइनलमा युएईले नेपाललाई ७ रनले हराएको थियो । लगत्तै जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताअघि भएको वार्मअप खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको थियो । मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगितामा फेरी यूएईले नेपालमाथि ७८ रनको जित निकालेको थियो । नेपालले युएईसँगविरुद्ध खेलेको पछिल्लो खेल यही हो ।

२०१८ जुन १ मा स्कटल्यान्ड र यूएईले आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियातामा स्थान पाएको थियो । स्कटल्यान्ड १३ औं स्थानमा छ भने यूएई १४ औं स्थानमा छ । तर नेपालले अझै आईसीसीको वरियता सूचीमा छैन । सम्भवत यूएईविरुद्धको खेलपछि नेपाल पनि आईसीसीको वरियता सूचीमा हुनेछ । 

\"\"

नेपाली टोली
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल(उपकप्तान), अविनास बोहोरा, बसन्त रेग्मी, भिम सार्की, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा ।

यूएई टोली
मोहम्मद नाभीद(कप्तान), मोहम्मद उस्मान (उपकप्तान), अशफाक अहमद, चिराग सुरी, शाइमन अनवार, मोहम्मद बूता, गुलाम शब्बर, इमरान हैदर, ताहिर मुघल, अमिर हायत, जहूर खान, कादीर अहमद, फहद नावाज, अब्दुल शाकुर, सल्तान अहमद, सिपी रिजवान

यूएईविरुद्धको खेल तालिका
 

माघ ११ गते, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय

माघ १२ गते, दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

माघ १४ गते, तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

माघ १७ गते, पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय

माघ १८ गते, दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय

माघ २० गते, तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय

प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro