काठमाडौं । सन्तोष साउखल विपक्षी पोष्टमा जति आक्रामक छन्, उनको स्वभाव त्यसको ठीक विपरीत छ । लजालु स्वभावका सन्तोष मुस्कुराइरहन्छन् । आफूले राम्रो गर्दा मुस्कुराउनु स्वभाविक मानिएला, तर गल्ति हुँदा पनि फिस्स दाँत देखाउने उनको स्वभाव छ ।
मुस्कानसहितको मुहार जसको पनि राम्रो मानिन्छ । हाँस्दा मान्छे हार्दिक देखिन्छ । तर जीवनमा मानिसले केही यस्ता क्षणको सामना गर्नुपर्छ, जहाँ त्यही मुस्कान घातक बनिदिन्छ । मुस्कानले पनि गलत सन्देश र नतिजा ल्याउन सक्छ । त्यस्तै भयो सन्तोषको करियरमा पनि । मुस्कानकै कारण करियरकै उच्च फर्ममा हुँदा सन्तोषले नेपाली राष्ट्रिय टोलीमा रहेको आफ्नो ठाउँ गुमाउनुपर्यो ।
जर्मन प्रशिक्षक थोमस फ्लाथ भखैरै नेपाल आएका थिए । राष्ट्रिय टोलीमा नेतृत्व सम्हालेको केही दिनमै उनले नजिकिँदै गरेको एएफसी च्यालेन्ज कपको छनोट तथा छैटौं साफ च्याम्पियनसिपका लागि टिम छान्नु थियो । खेलाडीको स्वभावसँग अपरिचित उनले केही दिन रंगशालाको मैदानमा भएको अभ्यासको प्रदर्शन र व्यवहारका आधारमा टिम छान्दा सन्तोष राष्ट्रिय टिमबाट फ्याँकिए । नराम्रो प्रदर्शन भएर होइन, भविष्य नदेखेर पनि होइन, टिममा सन्तोषजस्ता फरवार्डको आवश्यकता नदेखेर पनि होइन । मुस्कानका कारण फुटबलप्रति गम्भीर नभएको आरोपका साथ फ्लाथले सन्तोषलाई राष्ट्रिय टोलीमा ठाउँ दिएनन् । सन्तोषलाई मारुती कारसँग तुलना गर्दै फ्लाथले भनिदिए, “मलाई मर्सिडिज बेन्ज चाहिएको हो । मारुती कारले काम चल्दैन ।”
अभ्यासमा पास, सुटिङ, फ्रिकिक ठीक ठाउँमा नहुँदा पनि सन्तोष फिस्स हाँसीदिन्थे । आफूले सोचेको नहुँदा अन्य खेलाडी निराश बन्दै फर्किन्थे, तर सन्तोष भने फिस्स हाँस्दै निस्कन्थे । सन्तोषको त्यही स्वभावले प्रशिक्षक फ्लाथ भ्रममा पारे । उनलाई लाग्यो, यो केटो गम्भीर छैन । अभ्यासमा गम्भिर नहुनेले खेलमा पनि राम्रो गर्न सक्दैन भन्दै प्रशिक्षकक फ्लाथले सन्तोषलाई टोलीमा स्थान दिएनन् । सन्तोषले गल्ति हुँदा पनि पश्चाताप गर्न पनि हाँसोकै माध्यम प्रयोग गर्छन् भन्ने उनले बुझ्नै भ्याएनन् । गल्ति भएपछि उनी प्रतिक्रियाविहिन हुँदा नर्भस अनुहार हाँसेजस्तो देखिएको भन्ने जान्ने समय नै पाएनन् ।
धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले २००२ को विश्वकपमा तत्कालिन ब्राजिली सुपरस्टार रोनाल्डिन्होको यो तरिका पनि बुझ्न सकेका थिएनन् । इङ्ल्यान्डविरुद्धको विश्वकप क्वार्टरफाइनलमा २–१ को जित हासिल गर्दा रोनाल्डिन्होले रातो कार्ड सामना गर्नुअघि लामो दूरीबाट फ्रि–किकमा गोल गरेका थिए । ड्यानी मिल्समाथि फाउल गरेबापत रातो कार्ड सामना गरेर मैदान छोड्ने क्रममा उनी नर्भस थिए । प्रतिक्रियाशून्य भएर मैदान छोड्दै गर्दा उनको मुहार हाँसेजस्तो देखियो । उनको दाँतको प्रकृतिका कारण पनि त्यस्तो देखिएको थियो । तर विश्वभर इङ्ल्यान्डजस्तो प्रतिद्वन्द्वीविरुद्ध विश्वकपको क्वार्टरफाइनलजस्तो प्रतिस्पर्धात्मक खेलमा रातो कार्ड सामना गरेर फर्किँदा पनि अनुहारमा चिन्ता नदेखिएको भन्दै रोनाल्डिन्होको सर्वत्र आलोचना भएको थियो । पछि ब्राजिली सञ्चारमाध्यमहरुले रोनाल्डिन्होको अनुहार र बानीबारे थुप्रै समाचार लेखेर त्यसलाई मत्थर पार्नुपरेको थियो ।
राष्ट्रिय टोलीमा सन्त्तोषको उतारचढाव पनि आफ्नै खालको छ । कहिले आफ्नै कारण त कहिले अरुका कारण सन्तोष सधै राष्ट्रिय टोलीसँग निश्चित दूरीमा रहिरहे । टोलीमा परे पनि पहिलो रोजाइमा खेल्ने मौका कमै पाए । निरन्तर गोल गरिरहे पनि सन्तोष कहिल्यै पनि पहिलो रोजाइका फरवार्ड हुन सकेनन् । बेन्चबाटै गएर भए पनि सन्तोषले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल उल्लेखनीय छन् ।
सन्तोषकै शब्दमा भन्दा उनी ‘ढुकुवा’ प्रकृतिका फरवार्ड हुन् । विपक्षी पोष्टको वरीपरी ढुकेर बस्ने र पाएको मौकालाई सदुपयोग गर्ने फरवार्ड हुन्, सन्तोष । एपिएफ, मनाङ मस्र्याङ्दी, थ्री स्टारबाट खेलिसकेका सन्तोष घरेलु लिगमा १ सय गोलको कोसेढुंगा नजिक पुगिसकेका छन् । उनी उच्च लयमा भएका बेला नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादका कारण लिग नियमित हुन सकेन । त्यसको शिकारमा सन्तोष पनि परे । फुटबलमै करियर खेजेका उनी नेपालमा फुटबलै नहुने भएपछि जापान भासिए । भाग्यवश उनले जापानमा पनि फुटबललाई नै कर्म बनाउन पाए ।
यसपालि लामो समयपछि भएको लिगमा उनले च्यासलबाट खेल्दै १ सय गोलको कोशेढुंगा छुने राम्रो मौका पाएका थिए । त्यसैका लागि नेपाल आएका उनी कम्तिमा यसपालिका लागि त्यो लक्ष्यमा नपुग्ने भएका छन् । ६ खेलमा ३ गोल गरेका उनी बिहीबार जापान फर्किएका छन् । दुई पहेलो कार्डका कारण एक खेल प्रतिबन्धमा गुमाएका उनले रातो कार्डका कारण अर्को खेल स्ट्यान्डमा सीमित हुनु परेको थियो । आधुनिक कालको लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमानका लागि उनले फेरि अर्को संस्करण प्रतिक्षा गर्नुपर्ने भएको छ ।
“लिग हुने–नहुने थाहा नै भएन । समयमा पनि नहुने । भए पनि कहिले हुने, कहिले नहुने । त्यहीबेला जापानबाट अवसर आयो । अनि म उतै लागँे,” जापान बसाइबारे सन्तोषले थपे, “जापानमा गैरनाफामूलक संस्था एफसी रियालेमा बच्चाहरुलाई फुटबल सिकाउने काम गर्छु । त्यसका साथै त्यहाँको जे८ लिगअन्तर्गत एसएस इजु क्बलबाट फुटबल पनि खेल्छु ।”
एएफसी रियालेले बच्चाहरुलाई निःशुल्क फुटबल सिकाउने काम गर्छ । नेपाल र जापान दुवै देशमा काम गरिरहेको एफसी रियालेको जापानमा ६० तथा नेपालमा ५० जना बालबालिकाले प्रशिक्षण गरिरहेका छन् ।
जापानमा सन्तोष आफैंले हेरिरहेका छन् भने नेपालमा उनका दाइ बालगोपालले । सन्तोष काम गर्ने एफसी रियालेका अध्यक्ष सन्तोषकै कारण जापानमा नेपाली फुटबलप्रतिको चासो बढ्दो रहेको बताउँछिन् । उमेरले ३०औं वसन्त नाघिसकेका सन्तोषको लय अझै पनि कायमै छ । जापान बसाइले उनको कला अझै निखारिएको छ । जुन जारी लिगमा उनले प्रमाणित गरिसकेका छन् । राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगर बेल्जियम गएपछि च्यासल युथमा आक्रमणको जिम्मेवारी उनको काँधमा थियो । लामो समयपछि पुनः लिगमा फर्किएका सन्तोषलाई अहिलेको माहोलले भने उत्साहित बनाउन सकेन ।
“अहिले लिगमा चार्म नै नभए जस्तो लाग्छ । पहिलाजस्तो दर्शकको भिड पनि छैन,” ‘ए’ डिभिजन लिगमा २०६० सालमा डेब्यू गरेका सन्तोषले जारी लिगबारे थपे, “धेरै पछि लिग भएको भएर होला, खेलाडीहरु पनि सबै युवामात्र छन् । जसले पनि ‘ए’ डिभिजन लिग खेल्न पाउँछ भन्ने भएछ । पहिला युवा खेलाडीले सिधै ‘ए’ डिभिजन लिग खेल्ने मौका कमै पाउँथे । अहिले त्यो अवस्था रहेन ।”
लिगमा खेलाडीको स्तर खस्केको मात्र होइन, सन्तोष नेपालमा सही ढंगले फुटबल नखेलिएको बताउँछन् । फुटबलको मेरुदण्ड मानिने लिगकै स्तर खस्किनु भनेको देशको फुटबल पनि सही ढंगमा नचल्नु हो । सन्तोषको बुझाइ पनि त्यस्तै छ । “नेपालमा सही ढंगले फुटबल खेलिएको छैन । नेपाली फुटबलको स्तर धेरै तल छ,” नयाँ पुस्ताका खेलाडीप्रति गुनासो पोख्दै सन्तोषले थपे, “अहिलेको खेलाडीमा हंग्रिनेस नै छैन । जिते जित्छ, हारे हार्छ भन्ने खालका छन् । पैसाको पछाडिमात्र लागेजस्तो देखिन्छ । खेल नखेल्ने तर पैसा चै चाहियो भन्ने रैछ । उनीहरुमा खेलप्रति प्यासन छैन ।”
नेपाली खेलाडीमा व्यावसायिकता नभएको गुनासो गर्दै सन्तोषले थपे, “च्यासलमा राष्ट्रिय खेलाडीहरु पनि छन् । तर उनीहरु कसरी राष्ट्रिय टोलीमा परे जस्तो लाग्छ । भर्खरको बच्चाले खेलेजस्तो लाग्छ । अभ्यासमा अन्य खेलाडीभन्दा केही फरकपन नै छैन । टचहरु राम्रो छैन । साथीलाई कसरी वा कुन ठाँउमा पास दियो भने राम्रो हुन्छ भन्ने नै थाहा छैन ।
खेलाडीलाई के खाने के नखाने थाहा छैन । कुन खानाले आफूलाई स्वस्थ राख्छ, घाइते भएको बेला कसरी चाँडो ठिक हुन्छ । कुन खानाले चाँडै ठिक बनाउछ त्यो पनि थाहा छैन । सूचना प्रविधिको विकासले धेरै सुविधा दिएको छ । चाह्यो भने आफैले पनि धेरै सिक्न सकिन्छ । प्रशिक्षकको काम खेलाडी व्यवस्थापन हो, आफ्नो कला तिखार्ने त खेलाडीले नै हो ।”
लामो समयपछि नेपाली फुटबलमा पुनरागमन जनाउँदा आक्रमणको धार थप तेजिलो बनाएका सन्तोषको परिपक्वतामा पनि उल्लेख्य सुधार आएको फुटबल विज्ञ सञ्जीव मिश्र बताउँछन् । मिश्रको विचारमा निखारिएको प्रदर्शन, लोभलाग्दो फिटनेश र सफलताका लागि अझै बढेको भोकका साथ फर्किएका सन्तोष नेपाली राष्ट्रिय टोलीमा पुनरागमनका लागि लायक भइसकेका छन् ।
‘राष्ट्रिय टोलीबाट खेल्ने धोको पुगेको छैन,” पछिल्लो पटक पुणेमा भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेका सन्तोषले थपे, “आफ्नै मूल्यांकनमा पनि पहिलाभन्दा मेरो खेलमा धेरै सुधार आएको छ । मौका पाए फेरि पनि नेपालको जर्सी लगाएर खेल्न आतुर छु ।”