काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व, संविधान कार्यान्वयन, विकासलगायत मूल कुराबाट विमुख भई संविधान संशोधनतिर लागे अबको चुनावमा कांग्रेस र माओवादी केन्द्रलाई पत्तासाफ हुने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौँमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तर– सम्वाद कार्यक्रममा उनले व्यवस्थापिका– संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई ‘वेमौसमी बाजा’को संज्ञा दिएका हुन् ।
“सीमांकन हेरफेर प्रस्तावको विरोधमा पाँच नम्बर प्रदेशमा लाखौँ जनता सडकमा विरोधमा उत्रिए, यसले पनि संकेत गरेको छ,” नेपालले भने, “जनताको आवश्यकतातिर नसोच्ने र अन्य कुरा गर्न लाग्ने हो भने आगामी चुनावमा पत्तासाफ होला !”
उनले कुनै पार्टी या दललाई संविधान संशोधनको आवश्यकता महसुस भएको हुन सक्ने र त्यसमा छलफल पनि गर्न सकिने तर त्यसको लागि अहिले उपयुक्त समय नभएको बताए ।
देउवाजी सम्झाउनुहोस् प्रचण्डजीलाई
दुई पटक प्रधानमन्त्री भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘अपरिपक्व’ भएको उनको टिप्पणी थियो । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै नेता नेपालले भने, “देउवाजी सम्झाउनुहोस् प्रचण्डलाई ! तपाईं त थुप्रै पटक प्रधानमन्त्री भइसक्नुभएको छ । पाको मान्छे पनि हो । संविधान कार्यान्वयनको बेला हिजोको के प्रतिवद्धता पूरा गर्ने बाध्यता आइलाग्या उहाँलाई ? उहाँलाई के–को डर, त्रास छ, कि बाहिरको कुनै दबाब छ ?”
संविधान संशोधनको विषयलाई थाती राखेर अन्य विषयमा अघि बढ्न उनले सुझाव दिए र उक्त कार्यमा एमालेले सदैव साथ दिने विश्वास पनि दिलाए ।
सर्वोच्चले मुलुकलाई दुर्घटनाबाट बचायो
सर्वोच्चको सोमबारको फैसलाले मुलुक ठूलो दुर्घटनाबाट बाँचेको उनको निष्कर्ष थियो । तराईबाट पहाड अलग्याउने पहिलो अस्त्रको रूपमा पाँच नम्बर टुक्र्याउन खोजिएको बताउँदै उनले भने, “सर्वोच्चको फैसलाले प्रदेशसभा गठन नभई प्रदेशको सीमालाई छुन चलाउन नमिल्ने बनाइदिएको छ ।”
उनले सर्वोच्चले देश विखण्डनमा जानबाट रोकेको समेत उनको टिप्पणी थियो ।
अदालतको फैसलापश्चात दलहरूबीच वार्ता भइरहेको बताउँदै छलफलबाट उपयुक्त निष्कर्ष निकालिने विश्वास व्यक्त गरे ।
“हिजो मात्रै हामी ९ दलबीच छलफल भएको र हामीले लिएको अडान सही भएको निष्कर्ष निकालेका थियौँ, अर्को चरणमा सरकारमा सहभागी दलहरूबीच पनि छलफल हुन्छ,” उनको भनाई थियो ।
उनले संविधान संशोधन विधेयकलाई थाती राखेर निर्वाचनतर्फ अघि बढ्न सरकारलाई सुझावसमेत दिए ।
“१७ वर्षदेखि स्थानीय निकाय निर्वाचन नहुँदा गाउँगाउँमा राजनीतिक शून्यता छाएको छ । स्थानीय निकायमा भ्रष्टाचार बढेको छ । सुशील, केपी सरकारको पालामा नै स्थानीय निकायको घोषणा गर्नुपथ्र्यो । स्थानीय तह निकाय जे भए पनि मुलुकमा यथाशीघ्र निर्वाचनको वातावरण बनाऊँ,” उनको अनुरोध थियो ।
त्यस्तै १६५ निर्वाचन क्षेत्र निर्धारण प्रक्रिया छिटो टुंगोमा पुर्याएर मुलुकलाई संवैधानिक संकटबाट उन्मुक्ति दिलाउनुपर्ने तर्क अघि सारे ।
माधव नेपाल चुप छैन
यसबीचमा आफू मधेसका केही जिल्लामा पुगेको बताउँदै मधेसका जनताले सिमाङ्कन हेरफेर भन्दा निर्वाचन चाहेको जिकिर गरे । संविधान संशोधनको विषयमा आफू चुप नलागेको र मधेसका जनतालाई सुसूचित गराउन लागि रहेको उनको प्रष्टोक्ति थियो ।
उनले आफू मधेसी भूमिपुत्र भएको बताउँदै कुनै एक व्यक्तिले सिंगो समुदायको बारेमा नबोल्न चेतावनी दिए ।
“मेरो बाजेबाबु पनि मधेसमा जन्मिनुभएको हो । हाम्रो पुस्तौँपुस्तादेखि मधेसमा बसोबास छ, म मधेसी नहुने ! जसको बाबुको कुनै अत्तोपत्तो छैन उनीहरू कसरी मधेसी हुने ?” उनको प्रश्न थियो ।
अन्तिममा उनले पुस २२ गते जनमत देखाउने अवसर पनि भएकाले सवै जनसमुदायलाई जनप्रदर्शनमा सहभागी हुन अपिल पनि गरे ।