काठमाडौं । मंगलबार एमाले मुख्यालयमा कार्यकर्ता भरिभराउ थिए । एमालेको स्थायी कमिटी तहका एक नेता फोनमा निर्देशन पनि दिँदै थिए– २२ गते एमालेको प्रतिष्ठाको विषय छ, वडा वडामा पुगेर सहभागी बढाउनेबारे योजना बनाउनुहोला, पार्टीको इज्जतको कुरा छ है !
नजिकै रहेको केही कार्यकर्ता असमञ्जमा पनि देखिन्थे– सर्वोच्चको एक खालको फैसला आएको छ, त्यसले जनतामा अन्योलता बढाउने हो कि !
तर, उनी भन्दै थिए– अदालतको फैसलाबारे पार्टीले स्वागत गरिसकेको छ । त्यसबारे पनि जनतालाई बुझाउनुपर्छ ।
पार्टी कार्यालयमा नियमित जमघट, भेला, बैठक आदि तयारी हेर्दा एमालेले २२ गतेको जनप्रदर्शनलाई ‘शक्ति प्रदर्शन’कै रूपमा लिएको छ । सत्ता बर्हिगमनपश्चात एमाले पहिलो पटक ठूलो आमसभामा प्रस्तुत हुँदैछ । सत्ताबाट बाहिरिएपछि एमाले राष्ट्रवादी छवी बनाउन कम्मर कसेर लागेको छ । व्यवस्थापिका– संसद्मा सरकारले संविधान संशोधनको विधेयक दर्ता गरेपछि एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ भने सडक तताउन पनि छाडेको छैन ।
सरकार गठन भएदेखि नै निरन्तर विरोध गर्दै आएको एमालेले संसद्मा पेश भएको विधेयकलाई ‘राष्ट्रघात’को संज्ञा दिँदै एमालेले अन्य ८ विपक्षी दलको समेत साथ लिएको छ । उनीहरुकै सहभागितामा शुक्रबार प्रदर्शनीमा वृहत जनप्रदर्शनीको आयोजना गरेको छ । र, जनसभालाई प्रतिष्ठाको विषय बनाइरहेको छ ।
यसबीचमा सोमबार व्यवस्थापिका– संसद्मा पेश भएको संविधान संशोधनको दोस्रो विधेयक उपर परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला गरेको छ । एमाले भने फैसलाको पहिलो बुँदाले आफूहरूले उठाएको आन्दोलन सही भएको निष्कर्ष निकालेको छ ।
जनप्रदर्शनको आयोजक को– को हुन् ?
जनप्रदर्शनको अगुवाई प्रमुख प्रतिपक्षी दल एमालेले गर्ने छ भने उसलाई नेकपा (माले) नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, मधेश समता पार्टीले सघाउने भएका छन् ।
जनप्रदर्शनको तयारी यस्तो छ
जनप्रदर्शनको लागि एमालले १४ पुसमा मोर्चा संगठनको बैठक राखेर आधारभूत तहको योजना बनाएको थियो । उपत्यकाको १५ वटै निर्वाचन क्षेत्र, २२ वटा जनसंगठन र उपत्यका आसपासका जिल्लामा समेत समन्वकर्ता खटाएको एमाले सचिव तथा प्रचार विभाग प्रमख योगेश भट्टराई बताउँछन् ।
आन्दोलनमा व्यापक जनसहभागिता जुटाउन आठ लाख पर्चा वितरण गरिएको भट्टराईले जानकारी दिए ।
“एमालेले मात्रै तीन लाखको पर्चा वितरण गरेको छ । अन्य आठ पार्टीले पाँच लाख पर्चा बाँडेका छन्,” भट्टराईले बाह्रखरीसँग भने, “सबै तयारी हेर्दा तीन लाख भन्दा बढी जनता सहभागि हुनेछन् ।”
जनप्रदर्शननका लागि पार्टी केन्द्रले मात्रै योजना बनाएको छैन । उपत्यकाका तलसम्म रहेका वडा कमिटीहरूलेसम्म आ–आफ्नो योजना बनाएको भट्टराईको दाबी छ । उनकाअनुसार एक संगठित सदस्यले तीन जना सहभागि अनिवार्य ल्याउनुपर्ने उर्दी नै जारी गरिएको छ । उपत्यकामा एमालेको ५० हजार संगठित छन् ।
त्यस्तै, उपत्यका बाहिरका सम्पर्क कमिटी, जन संगठनहरू, सुभेच्छुक संस्था र उपत्यका आसपासका जिल्लाबाट समेत कार्यकर्ता उतार्ने तयारी एमालेको छ ।
मञ्च कहाँ बनाइँदैछ ?
आवागमन अवरुद्ध बारेर सार्वजनिक ठाउँमा सभा, जनप्रदर्शन गर्नु र सडकमा अवरोध खडा गर्नु वाञ्छनीय कुरा होइन । तर, यसो गर्नु वाध्यता भएको ठहर एमालेको छ । भट्टराई भन्छन्, “ खुलामञ्च आधा बसपार्क बनाइएको छ, आधा पनि काम लाग्ने हालतमा छैन । बानेश्वरमा पनि गर्ने कि भन्ने कुरा उठेको हो तर बानेश्वरमा सभा गर्दा सिंगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा अवरोध पुग्न जान्छ । त्यही भएर हामीले प्रदर्शनीमार्ग रोजेका हौँ, त्यस ठाउँमा अन्य वैकल्पिक बाटो प्रयोग गर्न मिल्छ र ट्राफिक व्यवस्थापन पनि सहज हुन्छ ।”
“यो हाम्रो विकल्पहीन बाध्यता हो,” भट्टराई प्रष्ट्याउँछन् ।
करिब ५० जना अट्ने मञ्च राष्ट्रिय सभा अघिल्तिरको मूल सडकमै बनाइने भट्टराईले जानकारी दिए । उनका अनुसार मञ्चमा ९ वटै पार्टीको पहिलो र दोस्रो वरियताका नेताहरू रहनेछन् ।
स्वयम्सेवक व्यवस्थापन
नौ वटा पार्टीको जनसभा भए पनि मञ्च व्यवस्थापनदेखि स्वयमसेवक खटाउनेसम्म एमाले एक्लैले गर्ने भट्टराईको उद्घोष छ । त्यसका लागि एमालेले पाँच सय स्वयम्सेवक खटाउने छ ।
“हामीले अरु पार्टीलाई जनसहभागिता जुटाउनुहोस् मात्रै भनेका छौँ, उहाँहरूलाई स्वयमसेवकको जिम्मा दिएका छैनौँ,” भट्टराईको भनाई थियो ।
सुरक्षा
यसभन्दा अघि ८ दलले बानेश्वरमा आयोजना गरेको सभामा असुरक्षाको कारण देखाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए । एमाले अध्यक्ष ओली नआउने भए पनि आठ घटकमध्ये नेकपा (माले)का सीपी मैनाली मात्रै अध्यक्ष तहका नेता उपस्थित थिए ।
यस पटकको जनप्रदर्शनमा भने सुरक्षाका लागि सरकारसँग अनुरोध गरि पत्र पठाइएको भट्टराईले जानकारी दिए । उनका अनुसार सुरक्षा निकायलाई पत्र पुगिसकेको र आवश्यक सुरक्षाको प्रवन्ध मिल्ने विश्वास उनको थियो । त्यसका अलावा स्वयम्सेवकहरूले मञ्चलगायत जुलुस व्यवस्थापनमा सघाउने र त्यसको लागि बिहीबार बिहान स्वयमसेवक भेलाको आयोजना पनि गरेको छ ।
प्रचार– प्रसार
जनप्रदर्शनका लागि वडा स्तरसम्मै प्रचार–प्रसारको काम भइरहेको भट्टराई बताउँछन् । जनप्रदर्शनमा उपस्थिति बढाउन माइकिङ र २१ गते दिउँसो मोटरसाइकल ¥यालीसमेतको तयारी गरिएको भट्टराईको भनाई छ ।
एमालेको मुख्य जुलुस दिउँसो १ बजे निस्कने छ । त्यस अघि विभिन्न ३५ ठाउँबाट निस्किएको जुलुस रत्नपार्क आएर मिसिनेछन् । त्यस्तै अन्य आठ पार्टीका लागि पनि छुट्टाछुट्टै आठ ठाउँ तोकिएको भट्टराईले जानकारी दिए ।
जनप्रदर्शनमा तीन लाख बन्दा बढीको सहभागि रहने अपेक्षा गरिएको भए पनि ती सबै मानिस सभागृह चोकदेखि पद्मोदय मोडसम्म मात्रैमा अट्दैनन् । त्यसैले टुँडिखेल, भृकुटिमण्डप, विश्वभाषा, नेपाल ल, रत्नराज्य लक्ष्मी क्याम्पस र वाल्मिकी विद्यापिठभित्र पनि माइक राखेर सुन्न सकिने व्यवस्था मिलाइने भट्टराईले जानकारी दिए । तथापि उनीहरूलाई डिजिटल पर्दा राखेर हेर्न मिल्ने व्यवस्था मिलाउन भने नसकिएको उनको भनाई थियो ।
खर्चको व्यवस्थापन
जनप्रदर्शनको लागि मञ्च व्यवस्थापन, पर्चा छपाई, ध्वनी सामग्रीमा गरी करिब दश लाख खर्च लाग्ने भट्टराईले जानकारी दिए । त्यसका अतिरिक्त एमालेका वडा तहका कमिटीलेसमेत आफैँ रकम संकलन गरी खर्च गरिरहेकाले त्यसको विवरण केन्द्रमा आइनपुग्ने जानकारी पनि दिए । खर्चको व्यवस्थापन एमाले एक्लैले गर्ने र पार्टीको केन्द्रीय कोषबाट खर्च गरिने पनि उनको भनाई थियो ।