काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्था सुधारको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ । युथ एड्भोकेसी नेपाल, युवा संसद्, युवा अभियान नेपाल, नेपाल युवा संस्था सञ्जाललगायत एक दर्जन संस्थाको आयोजनामा आज विभिन्न प्लेकार्ड बोकेर ‘जाममुक्त ट्राफिक’ निर्माण गर्न दबाब दिएका हुन् ।
उक्त अभियानमा सडक चाँडो मर्मत गर्नुपर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, सिटभन्दा धेरै यात्रु बोक्ने सवारीलाई कारबाही गर्नुपर्ने, पैदल यात्रुलाई सुरक्षित र व्यवस्थित फुटपाथको व्यवस्था गर्नुपर्ने, सार्वजनिक यातायातमा पर्याप्त लगानी गर्नुपर्ने, पर्याप्त जेब्रा क्रसिङ र ट्राफिक बत्तीको व्यवस्था गर्न माग गरेका छन् ।
यसैगरी साइकल र मोटरसाइकल हिँड्न छुट्टै लेनको व्यवस्था गर्नुपर्ने, अपांगमैत्री सडक निर्माण गर्नुपर्ने, पर्याप्त आकाशे र अन्तरग्राउण्ड पुलको निर्माण गर्नुपर्ने, बसभित्र हुने लैंगिक हिंसाको अन्त्य गर्नुपर्ने, वातावरण मैत्री सवारी साधनको प्रयोग गर्नुपर्ने र विशिष्ट व्यक्तिको प्रयोगका लागि वैकल्पिक मार्गको व्यवस्था गर्न माग गरेका छन् ।
युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले आफूहरुले ट्राफिक सुधारका लागि उक्त अभियान सञ्चालन गरेको भन्दै सुधारमा नआए भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरी महाशाखामा ज्ञापनपत्र बुझाउने बताए । रासस