site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
बाख्राले खान नसक्ने जाडो !

आफ्नो घरगाउँ अर्थात् महोत्तरी, धनुषा, सिरहामा पनि यत्ति साह्रो जाडो होला भन्ने सोचेकै थिइनँ । कारण, लामो कालखण्ड तराई–मधेसमै बिताउँदा पनि पुस–माघमा यतिविघ्न चिसो अनुभव गरेको थिइनँ । जाडो महिनामा चिसो हुन्थ्यो । कहिलेकाहीँ बाक्लो झप्सी लाग्थ्यो । तर, पछिसम्मै सम्झिने जाडो कहिल्यै भएन । त्यसैले त होला, स्मृतिमा जाडो कहिल्यै बसेन ।

तराईको सम्झना गर्दा उखरमाउलो गर्मी मात्रै स्मृतिमा आउँछ । पसिनाले निथ्रुक्क भिजेको गन्जी, फत्ती, सर्ट, कुर्ता, कट्टुलाई नसम्झिएको दिन हुन्न, गर्मी चढ्दा । अब त गर्मी भोग्न जलेश्वर–जनकपुर जानै पर्दैन । जेठ असारकै काठमाडौंले अत्याउँछ । अनि भनिन्छ, ‘हैट, मधेस बिर्साउने गर्मी !’

अचेल काठमाडौं बिर्साउने जाडो तराईतिर भोग्न पाइन्छ ।

पहिले–पहिले पाकाहरूले भनेको सुनेको हुँ, ‘केटाकेटीको जाडो बाख्राले खान्छ !’ उस बेला त्यसै पो भयो कि ! तर, जलेश्वरमा त बाख्रा थिएन । त्यहाँको जाडो केले खायो होला त ! विनाबाख्रा कसरी बित्यो होला, कैयन् हिउँद !

खैर, पुस–माघको महिना जाडो हुनु स्वाभाविक हो । त्यसैले तिनताक अँगना र दरबज्जामा घुर बालिन्थ्यो । तापिन्थ्यो । थन्क्याएर राखेका पुराना स्वेटर झिकेर लगाइन्थ्यो ।

Global Ime bank

खुट्टामा जुत्ता थिएन । बीएससीको पातलो अथवा हात्तीछाप चप्पलकै वर्चस्व थियो । चप्पलले जाडो खान्थेन होला त !

अरू बेला फुल पाइन्ट कमै लगाइन्थ्यो । जाडोमा हो फुल सर्ट, फुल पाइन्ट र खादीको पाइजामा लगाउने । नभए त हाफ पाइन्ट नै सजिलो । नौ दश महिना हाफ पाइन्ट नै चल्थ्यो । कहिलेकाहीँ फेरफारमा फुल पाइन्ट पर्नु बेग्लै कुरा ।

यसरी नै काटियो घरगाउँको जाडो । त्यो पनि एक वर्ष होइन, वर्षौंवर्ष । मैले मात्रै होइन, सबैले त्यसरी नै काटेका हुन् जाडो ।

पछिल्ला वर्षहरूमा तराईको शीतलहरबारे धेरै सुनेको थिएँ । भोगेको थिइनँ । केही वर्षयता मीनपचास अवधिमा जनकपुर–जलेश्वर जाने मौकै जुरेन । गए पनि प्रायः गर्मीमै पर्यो ।

यसपटक भने आश्चर्यजनक रूपमा तराईको शीतलहर भोग्नुपर्यो । आफू जन्मे, हुर्केबढेको गाउँघरतिरै यस्तो जाडो होला, अनि कहिल्यै नखापेको दुईवटा सिरक खापेर सुत्नुपर्ला भन्ने मेरो कल्पनामै थिएन ।

यति बेला एउटा प्रसंग सम्झना आइरहेछ । गाउँतिर हुँदा माघे संक्रान्तिका दिन झिसमिसे अँध्यारोमै नुहाउनुपर्थ्यो । हजुरआमा, ठूलोआमाहरूको उर्दी हुन्थ्यो ।

जलेश्वरमा हुँदा हामी (रवि काका र म) सँगै नुहाउन निस्किन्थ्यौँ । राजदेवी मन्दिरछेउ पोखरी पनि थियो । सँगै कल (ह्यान्डपम्प) पनि । कलको पानी तातो हुने भएकोले त्यहाँ नुहाउनेकै लाइन हुन्थ्यो । पोखरीमा जमेको चिसो पानीमा कसले डुम्की लगाउने !

हैन, लुगा खोलेर पनि लामै कुर्नुपर्दा भने पोखरीमा छिरेर निस्किहाल्ने हो । आखिर नुहाउनु न हो । यसरी झट्पट नुहाइन्थ्यो र लुगा लगाएर तिलको डन्ठल बालेको घुरमा केही बेर तातो सेकिन्थ्यो । तिलक लगाइन्थ्यो । अनि, हिँडिन्थ्यो घरतिर ।

यो त भयो पुरानो कुरा । यसपालि (दश दिनअघि मात्र) त कलमै नुहाउँदा पनि थर्थराइदियो ! बाक्लो झप्सीबीच माथिबाट तपतप झरेको शीत र बिहान–बिहानै चलेको बतासले म तराईको गाउँमा छु भन्ने सम्झनै सकिनँ !

०००

माघको पहिलो शनिबार । मेरी पत्नी सिशम र म औरही जाँदै थियौँ । औरही उसको माइती । प्रायः हरेक वर्ष एक–दुईपटक औरही पुगिन्छ, सासूआमा उतै हुनुभएकाले ।

बिहान आठ बजे हलुका घाम थियो, जडीबुटीमा मिनिबस पर्खिरहँदा । अतिथि यातायातका गुरुजी लामाजीले आफू आउँदै गरेको फोनबाट जनाउ दिए । केही बेरमा हामी गाडीमा थियौँ ।

गाडीले धुलिखेलबाट बर्दिबास जाने बाटो समाउँदा करिब १० बजिसकेको थियो । झ्यालबाट आउने घामले मिठो तातो दिँदै थियो ।

लामाजी रमाइला रहेछन् । आरामले गाडी गुडाउँदै गफिँदै थिए । पहिले नाइट बस चलाउने गरेका उनी उमेर उक्लिएसँगै डे मिनिबसमा आइपुगेको कथा सुनाउँदै थिए । हामी चालक सिटको ठ्याक्कै पछाडि थियौँ । विन्डस्क्रिन र स्टेयरिङमा अनुभवले खरिएका नजर अनि हात घुमाइरहेका लामाजी सबैका प्रिय देखिन्थे । उनलाई हात उठाएर अभिवादन गर्ने आउने–जाने चालकहरू धेरै देखिए ।

गाडीको स्पीकरबाट हिन्दी गीत तरंगित थियो । सँगै लामाजीको गफले वातावरण रसिलो बनाएको थियो, सिन्धुलीको जुनारझैँ ।

सिन्धुलीकै चैनपुरमा पुगेर खानाका लागि गाडी रोकियो । दिउँसोको एक बजिसकेको थियो । समयसँगै भोक पनि चुलीमा थियो । तर, भोकलाई तातो घामले रोक्यो । घाम मज्जाको थियो ।

हामी केही बेर घाममै उभियौँ । यात्रुहरूमध्ये कतिपय होटेल छिरे । हामी घामले घेरेको बाहिरको टेबलमा बसेर घरबाटै लगेको रोटी–तरकारी खान थाल्यौँ ।

करिब आधा घण्टापछि गाडीले दक्षिण बाटो समायो । लामाजीका कुरा सुन्दै हामीले खुर्कोट, खनियाखर्क, सेल्फीडाँडा, चियाबारी, सिन्धुली र भीमान काट्यौँ । यतिखेर गाडीमा नेपाली लोकगीतहरू घन्किँदै थियो । यहाँसम्म पनि मज्जैले घाम लागेको थियो ।

महोत्तरी जिल्लाको पाटो पुग्दासम्म घाम कमजोर हुँदै गएको महसुस भयो । बर्दिबास पुग्दा त घाम आफैँ चिसो भइसकेको थियो । घाम हुनु नहुनुको कुनै अर्थै थिएन ।

१५ मिनेटपछि औरहीमा ओर्लिंदा टाउकोले टोपी माग्यो । अर्थात्, घाम फिटिक्कै थिएन । हुस्सु–चिसोको चापले थिचेको थियो । जबकि, घडीले अपराह्न साढे चारको समय बताउँदै थियो ।

कहिलेकाहीँ जेठ–असारको गर्मीमा हवाईजहाज चढेर तराईतिर जाँदा प्लेनभित्र एसीमा बसेर बाहिर निस्किँदा भुंग्रोमा पसेजस्तो अनुभव हुन्थ्यो । त्यही सम्झिएँ मैले । तराईको ताताले सेकेभन्दा बढी चिसोले पो सेक्यो, यतिखेर ! यो चिसोले एकैछिन त अत्यायो नै ।

साँझमा यस्तै होला । भोलि त घाम लाग्ला नि ! अनि त फुल स्वेटरमा दिन काट्ने त हो– मनले थोरै सान्त्वना दियो ।

कानेटोपी लगाउन खासै मन पर्दैन मलाई । थेग्नै नसक्दा मात्रै गलबन्दीले कान छोप्ने हो । भ्याएसम्म हेयरस्टाइल देखाउने नै हो । कान छोप्ने टोपी धेरैपछि मात्रै लगाउन थालेको हुँ ।

बसभित्र खासै चिसो लागिरहेको थिएन । यहाँ बसबाट झर्नासाथ टाउकाले टोपी सम्झायो । ज्याकेटको खल्तीमा कुचुक्क परेर बसेको टोपी निकालेर टाउकामा तन्काएँ ।

साँझ झन् चिसो गहिरियो । एकनासको हावा चलिरहेको थियो । पूर्वा हावा थियो या पछिया, बुझ्न सकिनँ । तर, सेकेको सेकेकै थियो हावाले । एक कप भरी चियाको तातोले पनि ज्यान तताएन । अब झिक्राझिक्री बालेरै भए पनि ज्यान तताउने मेलो नगरी हुन्न भन्ने लाग्यो ।

अचेल गाउँमा घुर त्यति देखिँदैन । सायद घुर्यान समेटिँदैन होला । सबैतिर काठदाउरा र झिक्राझिक्री नै बाल्ने हो । यसैबीच, उज्वल तम्सिए आगो बाल्न । केटाकेटी मिलेर केही झिक्राझिक्री बटुले । दुई–चार चिरा दाउरा पनि ल्याए । यति भएपछि केही बेरमै दन्कियो दाउरामा आगो ।

तिनका बीचमा तातो सेक्न म पनि बसेँ । योे आगोको तातो त्यस्तै हो, छाती ताप्यो ढाड चिसो, ढाड ताप्यो छाती–पेट चिसो । घुरमा बस्ता त्यस्तै हुन्छ । केही बेर यस्तै घरी अगाडि त घरी पछाडि गर्दै आगो ताप्ने उपक्रम चल्यो ।

तर, बढ्दो चिसोको साम्राज्यले त्यहाँ बसिरहनै दिएन । काठदाउराको घुर ताप्नुभन्दा कोठाभित्रै बस्नु ठिक लाग्यो । तुलनात्मक रूपमा भान्साकोठा तातो हुने भएकाले म पनि त्यहीँ बसेर गफ गर्न थालेँ ।

चिसोले छोपेको गाउँ । सातै बजे सुनसान थियो । अलि टाढाबाट मटकोरका बेला गाइने गीत स्पीकरमा मधुरो सुनिँदै थियो । त्यही लोकलयमा कान पुर्याउँदै सिरकभित्र पसेँ ।

अहँ, सिरकमा बस्ता पनि जिउ कम्पन कम भएन ! एउटा सिरकले जाडो थेग्लाजस्तै लागेन । अनि, माथि खाप्न अर्को सिरकको पनि व्यवस्था भयो । बल्ल जिउ तात्यो ।

यतिखेर म माघमै गरेको दार्जिलिङ यात्रा सम्झिरहेको छु । २०५३ सालमा एसी नभएको कोठामा राजेश राजभण्डारी दाइ, रघुवरलाल श्रेष्ठ र मैले एक रात बिताएका थियौँ । माइनस जाडो बोकेको दार्जिलिङमा हामीले होटेलवालासँग मागेर दुई–दुईवटा सिरक खाप्नुपरेको थियो ।

२७ वर्षपछि त्यस्तै भोग्ने अवस्था आइलाग्यो । कुनै बखत ४० डिग्रीको गर्मीले बफ्याउने ठाउँमा आज दुईवटा सिरकले जाडो थेग्न सकिरहेको थिएन ।

सम्साँझै सुनसान भइसकेको थियो । बेलुकी करिब १०÷११ बजेतिर सुत्ने म यहाँ आठ बजे नै घुर्न थालेछु ।

बिहान घाम लाग्ने कुनै छाँटछन्द थिएन । झप्सी कुहिरोले सर्वत्र छोपिएको थियो । आँगनमा तपतप शीत झरेको आवाज सुनिँदै थियो । मलाई तराईमा यस्तो चिसो र झरीझैँ कुहिरो लागेको सम्झना भइरहेको थिएन ।

त्यसैले बाहिर कलमा नुहाउन गएँ । शीतसँगै चिसो हावा चलिरहेको थियो । गाडीको थकाइ मार्न पनि नुहाउन जरुरी थियो । त्यसैले जिउमा पानी खन्याएँ । शीत र बतासले एकैचोटि ज्यानमा हान्यो । अनि त साबुन दल्ने हिम्मत भएन । जिउमा एकझर पानी खन्याएर गायत्री जप्दै गम्छाले पुछ्न थालेँ ।

म बागबजारमा डेरा लिएर बस्दा बाहिरै नुहाउनुपर्थ्यो । बाथरुम थिएन । धारा बाहिरै थियो । जाडो महिना पानी आएको बेला त्यहीँ धारामा बाल्टिन थापेर हर गंगे, हरहर गंगे भन्दै जाडो हुर्याउने प्रयास गर्थेँ, म ।

यसपटक भने तराईमै थर्कमान भएँ । काम छुट्यो, नुहाएपछि । मैले सम्झन खोजेँ, यस्तरी म कहिले कामेको थिएँ भनेर । सम्झना भएन । कलभन्दा पोखरीमै अधिकतर नुहाउने बानी थियो । कल चलाइरहने झन्झट कसले गर्ने, पोखरीमा फाल हान्यो र पौडिँदै जाइटसम्म पुगेर फर्कियो । हामीले नुहाउनु त्यति मात्रै थियो ।

स्याम्पु त्यस बेला हामीभन्दा निकै टाढा थियो । पोखरी जाँदा साबुन लाने चलनै थिएन । त्यसैले सादा स्नान हुन्थ्यो । त्यस्तै सादा स्नान गरेर एउटा दिन बित्यो ।

जनकपुर जानु थियो । अग्रज साहित्यकार डा. राजेन्द्र विमल सरलाई भेट्नु थियो । त्यही शीतलहरका बीच बस समातेर जनकनन्दनीको नगरी पुगेँ । झप्सीले जनकपुर पनि छपक्क छोपिएको थियो । कतिपयका टाउकामा गम्छाको गाँती पनि देखेँ ।

गाउँमा बस्दा कहिलेकाहीँ गाँती बाँध्ने गर्दथ्यौँ । जलेश्वरमा हुँदा गाँती बाँधिएन । बरु, ७ गते बिहान जनकपुर पुग्दा गाँती पो बाँधौँ कि ! भन्ने लाग्यो । नुहाउनासाथ एक कप चिया पिएर जनकपुरतिर हिँडेको मैले पिडारीचोकमा ओर्लिंदा एकाबिहानै चिया पिउन चोकमा आउने गरेको सम्झिएँ ।

एकताका हाम्रो दैनिकी हुन्थ्यो, घरको एक कप चिया खाएर पिडारीचोकमा गएर फेरि चिया खानु ।

त्यहाँ ओर्लिएर चोकको गज्याङगुजुङका बीच चिया दोकान खोजेँ पनि । देखिनँ । त्यसैले म्याजिक रिक्सा समातेर लागे देवीचोकतिर ।

डाक्टर राजेन्द्र विमल सर घरमै हुनुहुन्थ्यो । अभिवादन र कुशलक्षेमपछि ‘यो चिसोमा घरबाट उति निस्किन्नँ’ भन्दै बैठक कोठामै लानुभयो । बाहिर बस्ता चिसो हुन्थ्यो ।

केही पुस्तकलगायत सामग्री उहाँलाई सुम्पिनु थियो । सुम्पिएँ ।

त्यस दिन तीन–चार घण्टै डाक्टर साहबकहाँ बसेछु । उहाँसँगै बसेर सुस्वादु भोजन गर्न पाउनु मेरा लागि अहोभाग्य रह्यो । प्रकाशनको तयारीमा रहेको मेरो किताब ‘घुरको धुवाँ’को भूमिका उहाँले लेखिसक्नुभएको रहेछ । प्राप्त भूमिका मैले गोजीमा हालेँ । सँगै एनबी जनकपुरीका लागि एउटा नासो सुम्पिनुभयो । त्यो पनि खल्तीमा राखेँ ।

भोजनपछि डाक्टर साहबसँग विविध विषयमा कुराकानी गर्दागर्दै समय बितेको पत्तै भएन । बाहिर झप्सीको कडा चिसो भए पनि उहाँको स्नेहको न्यानोले मलाई सम्पूर्ण छोपेको थियो ।

उहाँसँग अझै दुई–चार घण्टा बिताउन मन थियो । तर, आफूलाई फर्किनु थियो औरही । त्यसैले बिदाबारी भएँ । अनि, डाक्टर साहबले भन्नुभयो, ‘घुर ताप्ने होइन, राजेशजी !’

दाउरा बालेको घुर ताप्न थाल्ने हो भने बस छुट्ने निश्चित थियो । त्यसैले नमस्कार गर्दै म निस्किएँ ।

बाहिर चिसो यथावत् थियो । झप्सी झन् कडा भएको हो कि ! त्यस्तै भान भयो । त्यही चिसोबीच जिउ तताउँदै रामानन्द चोकतिर पैदलै हान्निएँ ।

औरही बजारमा ओर्लिंदा साँझको साढे पाँच बजिसकेको थियो । चिसो रत्ती घटेको थिएन । गाउँको खुलापनले बतास झन् स्वच्छन्द भएको थियो । ठोकिएको ठोकिएकै गर्यो । ज्याकेट, गलबन्दी, कानेटोपीको पनि केही लागेन बताससँग ।

अब छिटोछिटो घर पुगेर, गोहालीको चुलोमा जर्ना कोचेर, आगो बाल्दै ज्यान तताउनुबाहेक अरू कुनै विकल्प देखिएन । बाख्राले जाडो खाने उमेर पनि रहेन । नभए बाख्राकै छेउमा बसिन्थ्यो होला !

यसरी तराई झरेको दोस्रो दिनै चिसोले शिथिल बनाएको थियो । जबकि, यो शीतलहरमा अझै पाँच–सात दिन बस्नै बाँकी थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu