site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कतारसँग राख्नैपर्ने ५ बुँदा– अमिरका बुबाले नेपालमा जंगल लिएर बस्न चाहेका थिए 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिन बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आइपुग्दै हुनुहुन्छ । 

उहाँ फिलिपिन्स र बंगलादेशको भ्रमण पूरा गरेर नेपाल आउन लाग्नु भएको हो । नेपाल र कतारबीच २१ जनवरी १९७७मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । 

कतारबाट अमिरको तहमा  नेपालमा भएको यो पहिलो भ्रमण हो । यसैले यसको निकै महत्व रहेको छ । यद्यपि नेपाल र कतारबीच अहिले मुख्य रुपमा श्रमिक सम्बन्धी विषय मात्र प्रत्यक्ष रुपमा जोडिएको छ । कतारमा अहिले ३ लाख ६७ हजार ३ सय ८९ जना नेपाली श्रमिक रहेको श्रम मन्त्रालयको तथ्यांकबाट देखिन्छ ।

कतारका अमिरले नेपाल भ्रमण गर्न लागेको समयमा केही सम्झौताहरुमा हस्ताक्षर हुँदैछ भन्ने सुनेको छु । तर, मुख्यतयाः पाँचवटा विषयमा कतारसँग कुरा राख्नु उपयुक्त हुने मलाई लागेको छ । 


१. नेपालले विसं २०५२ सालदेखि कतारमा श्रमिक पठाउन थालेको हो । दुई देशबीचको श्रम सम्झौताको एउटा बुँदामा  नेपाली कामदारलाई १० हजार रुपैयाँमा त्यसतर्फ पठाउने भनिएको छ । 

Global Ime bank

तर, त्यो कार्यान्वयन हुन सकेको छैन । अहिले अढाइ लाख रुपैयाँसम्म लिने गरिएको छ । सम्झौताको एक बुँदामा फ्रि भिसा, फ्रि  टिकटको कुरा पनि उल्लेख छ । तर, त्यो कार्यान्वयन भएको जस्तो लाग्दैन । काम सकेर फर्किँदा रोजगारदाता कम्पनीले जहाजको टिकट दिनुपर्ने व्यवस्था रहेको छ ।  त्यसैले यी  विषय समग्रमा कार्यान्वयनको लागि हामीले यसपालि अमिरको भ्रमणका क्रममा प्रष्ट कुरा राख्नुपर्छ ।

२. नेपालबाट जाने श्रमिकहरुको लागि बिमाको विषय अर्को महत्वपूर्ण विषय हो । अहिले त्यहाँ काम गरेको समयमा केही भएमा मात्रै बिमा बापतको रकम परिवारलाई दिने गरिएको छ । 

तर, ४० प्रतिशत घटना बसेको स्थानमा पनि हुने गरेका छन् ।  जस्तो बसेको स्थानमा हृदयघात भएर कसैको मृत्यु भएमा  उनीहरुका परिवारले बिमावापतको रकम पाउँदैनन् । 

त्यसैले कार्यस्थल बाहेक अरु बेलामा पनि मृत्यु भएमा कामदारका परिवारले बिमा वापतको रकम पाउने व्यवस्था गर्नका लागि नेपालले कतार सरकारसँग प्रष्ट कुरा राख्नु जरुरी रहेको छ ।  जस्तो सन् २००८ देखि २०२२को बीचमा १२ हजार भन्दा बढी नेपालीको काम भन्दा बाहिर मृत्यु भएको पाइएको छ । 

बिमा नहुँदा तिनका परिवारले केही पनि नपाउने अवस्था सिर्जना भयो । जबकि ती श्रमिकका परिवारले नेपालमा ठूलो दुःख बेसाउनु परिरहेको छ ।  त्यसैले सरकारले यसतर्फ कतारका अमिर आएको बेलामा पहल गर्नु जरुरी रहेको छ । मानवीय हिसाबले पनि कतार सरकारले यसतर्फ ध्यान दिनु जरुरी हुन्छ ।

३. कतारलाई नेपालमा जमिन लिजमा दिएर खेती गराउन सकिने सम्भावना पनि छ । सन् २०११ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले कतार भ्रमण गर्दा म नेपाली राजदूतको रुपमा कतारमा थिएँ । 

त्यतिबेला मैले जग्गा लिज सम्बन्धी सम्झौताको मस्यौदा नेपाल सरकारकोमा पठाएको  थिएँ ।  त्यतिबेला कतारको कम्पनी हसाद फूड कम्पनीले नेपालमा जग्गा लिजमा लिएर खेती गर्ने इच्छा देखाएको थियो । 

तर, हाम्रो तर्फबाट त्यसलाई अन्तिम रुप दिइएन । राजनीतिक अस्थिरताका कारण पनि होला त्यतिबेला सो कुरा ख्याल गरिएन । 

जस्तो कि मेरो चारवर्षे कार्यकालमा सुरुमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो पछि पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भटटराई समेत गरी जम्मा पाँचजना प्रधानमन्त्री बन्नुभयो । 

यो खालको राजनीतिक अस्थिरताले सायद त्यो सम्झौताको मस्यौदा हेर्न भ्याइएन । त्यो प्रक्रिया अघि बढेको भए उनीहरुले जग्गा लिजमा लिन सक्थे र सो बापतको रकम पनि दिन्थे । 

२५ वा ५० वर्ष सम्म जग्गा लिजमा दिन सकिन्थ्यो । उनीहरूले ट्याक्स पनि तिर्थे ।  उताको रेटअनुसार नेपाली युवाले आफ्नै देशमा रोजगारीको अवसर पनि पाउँथे ।  उनीहरुले भाडामा जग्गा लिएर धान खेती गर्ने, कुखुरा पालन गर्ने, माछा पालन गर्नेलगायतका काम अझै पनि  गर्न सक्छन् । 

कतार मरुभूमिको देश भएकोले उनीहरुले अन्य देशमा जग्गा लिजमा लिएर खेती गर्ने काम गर्दै आएका छन् ।  त्यो काम उनीहरुले  नेपालमा पनि गर्न चाहिरहेका छन् । सो सम्बन्धी सम्झौता भएको अवस्थामा नेपाललाई पनि त्यसबाट फाइदै हुने थियो । 

४. कतारसँग पैसा जति पनि छ । त्यसैले उनीहरु बैंकिङ्ग, सर्भिस सेक्टर तथा वेयरहाउस लगायतमा पनि लगानी गर्न चाहन्छन् । त्यसैले नेपालमा पनि सम्भावित ती क्षेत्रमा कतारको सहयोग लिन सकिन्छ ।

५. अहिले मुख्य रुपमा कतारले लेबरको रुपमा मात्रै नेपालीलाई लिइरहेको छ । 

तर, नेपालमा प्राविधिक जनशक्ति पनि बेरोजगार रहेको छ । इन्जिनियर, डाक्टर जस्ता जनशक्ति पनि कतार पठाउन सकिने सम्भावना रहेको छ । त्यसैले यसतर्फपनि कतारका अमिरको भ्रमणका क्रममा कुरा गर्नु उपयुक्त हुन्छ ।

पिताको नेपाली  जंगलमा बस्ने रहर !

म अहिलेका अमिरका पिता अमिर शेख हमाद इब्न खालिफा अल थानीको समयमा राजदूत थिएँ ।  म २००७ को नोभेम्बरमा राजदूतको रुपमा गएकोमा २०१२को फेब्रुअरीमा फर्केको हो ।  त्यतिबेलाका अमिरले अहिलेका अमिरलाई सन २०१३मा गद्धी हस्तान्तरण गरेका हुन् । 

अहिलेका अमिरका पिताले त मसँगको कुराकानीमा  नेपालमा कतै जग्गा लिएर जंगलको बीचमा दरबार बनाएर बस्ने रहर पनि गरेका थिए । तर, पछि त्यो कुरा त्यत्तिकै रह्यो ।
 
(कतारका लागि पूर्वराजदूत मिश्रले लेखनाथ अधिकारीसँग गरेको कुराकानीमा आधारित)

 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu