site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालीहरुको पहिलो एएफसी अर्जेन्ट केयर अमेरिकी दुई राज्यमा

बस्टन(अमेरिका) । अमेरिकी दुई राज्यमा नेपालीहरुले स्वास्थ क्षेत्रको फ्रान्चाइज एएफसी अर्जेन्ट केयर सञ्चालनमा ल्याउने भएका छन् । 

बस्टन नजिकको सहर नरउड र छिमेकी राज्य न्यू ह्याम्सरस्थित हडसन टाउनमा यी अर्जेन्ट केयर नेपाली पेशाकर्मी तथा लगानीकर्ताको कम्पनी नेप्रस इन्कले सञ्चालनमा ल्याउन लागेको हो । 

म्यासाच्यूसेट्सको नरउडमा सञ्चालनमा आउन लागेको अर्जेन्ट केयरको निर्माण तथा रिनोभेसन पूरा  भइ आगामी मे महिनाको पहिलो सातामा आफ्नो सेवा सुरु गर्ने अर्जेन्ट केयर नरउडका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र पौडेलले बताए । 

उनले भने, “अहिले कर्मचारी भर्ना प्रकृयालाई बिट मार्ने क्रममा छौं भने अरु सबै तयारीहरु पूरा भइसकेका छन् ।”

पौडेललका अनुसार न्यू ह्याम्सर राज्यमा खोल्न लागिएको अर्जेन्ट केयर पनि आगामी जून महिनाको अन्त वा जुलाइसम्ममा सञ्चालन गरिने लक्ष्य छ । 

न्यू ह्याम्सरको हडसनमा खोल्न लागिएको उक्त अर्जेन्ट केयर म्यासाच्यूसेट्सको बोर्डरमा बस्ने अमेरिकी जनसमुदायलाइ पनि पायक पर्ने स्थानमा रहेको छ । 

“समाजलाई पनि फाइदा हुने केही काम गरौं भनेर मेडिकल क्षेत्रमा लगानी गरेका हौं,” कम्पनीका सीईओ पौडेलले भने, “माग बढी भएको तर आपूर्तिले सम्बोधन गर्न नसकिरहेको स्थानको खोजीको क्रममा हाम्रो व्यवसायीक रिसर्चबाट प्राप्त परिणाम अनुसार ती स्थानहरुमा खोल्ने निष्कर्षमा पुगेका थियौं ।”

गैर आवासीय नेपालीको यो समूहले काठमाडौंको नयाँ बजारमा पनि काठमाण्डु प्याथ ल्याब सन् २०१९ देखि सञ्चालन गरिरहेको छ ।

कम गम्भीर प्रकृतिका रोगहरु जसलाई निको पार्न तत्काल शल्यक्रिया गर्नु नपर्ने र डाक्टरको सिफारिसको औषधि खाए ठिक हुने खालका रोगको उपचारका लागि आजभोलि अर्जेन्ट केयरको प्रयोग बढ्दो छ । 

अर्जेन्ट केयरहरुको प्रयोगले ठूला अस्पतालका इमर्जेन्सीमा बिरामीको चापलाई घटाउन पनि सघाउ पुर्‍याएको पाइएको छ ।

आकस्मिक कक्षमा गइहाल्न पनि खर्चिलो हुने र आफ्नो आधारभूत स्वास्थ चिकित्सकको समयतालिका पर्खन पनि धेरै दिन लाग्ने अवस्था तर औषधी खाएर निको हुन चिकित्सकलाई तत्कालै देखाउन पर्ने रोगका लागि अर्जेन्ट केयर उपयूक्त गन्तव्य हो ।

पौडेलले आफ्नो अर्जेन्ट केयरमा सरकारी इन्स्योरेन्सदेखि प्रचलित सबै इन्स्योरेन्सहरु स्वीकार गरिने बताए ।  सातामा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र सप्ताहन्तमा बिहान ८ देखि बेलुका ५ बजेसम्म ति अर्जेन्ट केयर खुला राखिनेछन् । 

नरउड साइटमा सातवटा जाँच कक्ष, प्रोसिजर कक्ष र एक्सरे सेवाका लागि छुट्टै कक्ष पनि रहेका छन् । नरउड साइटमा केही नेपाली मूलका कर्मचारीहरु रहेका कारण त्यहाँबाट सेवा लिन भाषाको समस्या भएका नेपाली लाभान्वित हुन सक्नेछन् । 

सबैखालका जनसंख्या ह्वाइट, हिस्प्यानिक, एसियन, इन्डियन, र नेपाली रहेको नरउडमा करिब सय घरधूरी नेपालीहरुको रहेको अनुमान छ । अमेरिकामा रहेका नेपाली मूलका व्यवसायीको लगानीमा खोल्न लागिएको पहिलो अर्जेन्ट केयर भएको नेपाली लगानीकर्ताको दाबी छ । 

अर्जेन्ट केयर नरउडका बिजनेस डेभलपमेन्ट तथा मार्केटिंग डाइरेक्टर उमेश पनेरुका अनुसार एएफसी अर्जेन्ट केयरको आधिकारिक डाटाबेशमा अरु नेपाली लगानीकर्ता व्यवसायीको नाम छैन । 

उनले भने, “हामीले यो भेन्चर सुरु गर्नु अगाडि एएफसी अर्जेन्ट केयरको तीनवटा बिजनेश कन्फरेन्समा भाग लियौं त्यसमा हामी बाहेक अरु नेपाली थिएनन् ।”

पनेरुले म्यासाच्यूसेट्स र न्यू ह्याम्सर पछि अन्य राज्य र स्थानहरुमा पनि फ्रान्चाइज विस्तार गरिने जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro