site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विद्या भण्डारीको ‘वाम अप’, राजनीतिमा सक्रियताको संकेत !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी धमाधम एमालेका कार्यक्रममा देखिन थालेकी छन् । यही वैशाख १० गते एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मानित गर्‍यो ।

कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्ष पूरा भएको अवसरमा गोदावरीमा आयोजित विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको थियो । भण्डारीलाई सम्मान गरेर पार्टी भन्दामाथि रहेको सन्देश दिएर सक्रिय राजनीतिमा आउने बाटो बन्द गर्न खोजेको एकथरि टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ । 

राजनीतिमा सक्रिय हुने उनको चाहना अनुसार बाटो खोलेको अर्कोथरि मत छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महिला आन्दोलनका नेता र दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिलाई पार्टीले सम्मान गरेको बताउँछन् ।  देशभक्तिपूर्ण, लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दा विभिन्न भाष्य निर्माण गर्न खोज्नुको औचित्य उनी देख्दैनन् ।

“उहाँ नेपाली महिला आन्दोलनको नेता, महिलाहरूको अधिकार स्थापित गराउने कुरामा विशेष भूमिका खेलेको व्यक्ति हो । ३३ प्रतिशत पार्लियामेन्टमा उहाँकै अगुवाइमा लागु भएको हो,” पोखरेलले बाह्रखरीसँग भने, ‘‘दुई कार्यकाल राष्ट्रपति हुँदा पदको महिमा र महत्वलाई ख्याल गरेर दृढ भूमिका खेल्नुभयो । उहाँलाई सम्मान गर्दा अन्यथा भयो र ?”

Global Ime bank

सम्मानित भएको तीन दिनपछि भण्डारी एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवसको कार्यक्रममा देखिइन् । २५औं स्मृति दिवसका अवसरमा बिहीबार मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा भण्डारी प्रमुख अतिथि थिइन् ।

त्यसो त, एमालेले आगामी जेठ १६ र १७ गते ३२ जनसंगठनका महिलाहरूको राष्ट्रिय भेला गर्दैछ । 

जसमा प्रमुख अतिथिका रुपमा भण्डारी रहने एमालेले जनाएको छ ।  उनी एमालेमा लामो समय अखिल नेपाल महिलासंघको अध्यक्षको जिम्मेवारी रहेकी थिइन् ।  ०७९ फागुन २९ गते राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी बिदा भएपछि उनी एमालेका सार्वजनिक मञ्चमा खासै देखिएकी थिइन् । उनी चपलीमा आफ्नै घरमा बस्दै आएकी छन् ।

उनी एमालेको अध्यक्ष बन्ने गरी राजनीतिमा आउन चाहेको संकेत स्पष्ट रुपमा त दिएकी छैनन् । तर, उनी निकटस्थहरूका अनुसार पार्टीको आगामी महाधिवेशनसम्ममा उनी सर्वसम्मत् हुने अवस्था बनाउने कसरत सुरु भएको छ ।
 
त्यसो त, उनको राष्ट्रपतिको कार्यकाल पनि विवादित नै रह्यो । राष्ट्रपति पदमा रहँदा पनि राजनीतिक छाया देखिएको टिकाटिप्पणी भएको थियो ।

नेकपा विवादमा तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा मध्यस्थता निर्वाह गरेकी थिइन् । नेकपाको विवाद उत्कर्षमा पुग्दा दोस्रो तहका नेताहरूलाई बोलाएर विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन् । 

एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको निर्णय तत्काल सदर गरेपछि झनै आलोचना बेहोर्नुपरेको थियो । 

विभिन्न नियुक्तिहरूमा आफ्ना आसेपासेका लागि दबाब दिएर शीतल निवासबाटै गुट चलाएको आरोप उनले व्यहोरेकी थिइन् । अब, राजनीतिमा आउन सक्ने सम्भावना बलियो रहेको विश्लेषण राजनीतिक वृत्तमा हुँदै आएको छ ।

एमाले उपाध्यक्ष पोखरेल भण्डारी राजनीतिमा आउने कि नआउने भन्ने कुरालाई चारवटा विषयबाट मुल्यांकन गर्नुपर्ने देख्छन् । उनका अनुसार पहिलो, राजनीतिमा आउन राज्यको संविधानले रोक्छ कि रोक्दैन भन्ने हेर्नु आवश्यक छ । दोस्रो, सम्बन्धित दलको विधानले रोक्छ कि रोक्दैन ख्याल गरिनुपर्छ ।

तेस्रो, राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने अन्तर्राष्ट्रिय अभ्यासमा के–कस्ता कुरा स्थापित छन् भन्ने विषयलाई हेनुपर्ने पोखरेल बताउँछन् । चौथो, कुरा दलको कार्यकर्ताको चाहना  र सम्बन्धित व्यक्तिको चाहनामा निर्भर रहने बुझाइ पोखरेलको छ । 

“कोही व्यक्ति राजनीतिमा आउँछ कि आउँदैन भन्ने ती कुराको आधारमा फैसला होला नि । कोही राजनीतिमा आउ–आउ, नआउ–नआउ भन्ने हो र ?,” उनी भन्छन् ।
 
भण्डारीले राजनीतिमा आउने नआउने धारणा सार्वजनिक नगर्दासम्म कुनै पनि कित्तामा उभिएर टिकाटिप्णी गर्नुको तुक नरहेको उनको भनाइ छ । “एमालेमाथि उहाँको हक पनि छ । एमालेले जन्मायो, हुर्कायो त्यो ठाउँमा पुर्‍यायो । एमालेप्रति उहाँको माया छ । उहाँले त्यो त अस्ती पनि त बोल्नुभयो नि,” पोखरेल भन्छन् ।

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका भानुभक्त ढकाल राजनीतिमा सक्रिय हुने–नहुने निर्णय भण्डारीमा नै निर्भर रहने बताउँछन् ।
 
भण्डारी पार्टीको कार्यक्रममा नभएर सामाजिक कार्यक्रममा सहभागी भएको उनी बताउँछन् । 

“उमेर हेर्दा त उहाँको सक्रिय हुने बेला नै छ । सम्माननीय पदमा दुई पटक रहनुभएकाले के गर्ने भन्ने कुरा त उहाँले निर्णय गर्ने विषय हो,” उनी भन्छन्, “सामाजिक कार्यक्रममा स्वाभाविक नै हो नि । गोदवारीको कार्यक्रममा अभिनन्दित हुने व्यक्तिको हिसाबले जानुभयो, आज मनमोहन स्मृति प्रतिष्ठानको कार्यक्रममा जानुभयो । यो त पार्टीेभन्दामाथि उठेको विषय भइहाल्यो ।”

जनसंगठन समन्वय समितिका संयोजक समेत रहेका ढकाल आगामी जेठमा हुने महिला भेलामा महिला भेलामा भण्डारीको योगदानको सम्मान गर्दै प्रमुख अतिथि बनाउन लागिएको बताउँछन् ।  ०६३ जेठ १६ गते महिला अधिकारको निम्ति संसद्ले पारित गरेको संकल्प प्रस्तावमा नेतृत्व भण्डारीले नै गरेको स्मरण उनले गरे । 

“सदियाँैदेखि महिला आन्दोलनको पक्षमा उठेका आवजलाई संविधान र कानुनमा लिपीबद्ध गर्ने कुराको अगुवाइ गर्नुभएको व्यक्ति भएकाले प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेका हौं,” ढकालले बाह्रखरीसँग भने । 
भण्डारी कार्यक्रममा सहभागी भएकै आधारमा राजनीतिमा आउने कुराको निर्धारण नगर्ने ढकालको भनाइ छ ।

“कार्यक्रममा आउने वितित्कै राजनीति गर्न आउनुभयो भन्ने कुरा भन्दा पनि यो त सामाजिक एजेन्डा हो नि । मुलुककाबारेमा उहाँ बेखबर हुनुन्छ र ?,” ढकाल भन्छन्, “पदमा हुने बितिक्कै राजनीतिक सचेतता समाप्त हुन्छ भन्ने कुरा होइन । सक्रिय राजनीति गर्ने वा नगर्ने भन्ने कुरा कार्यक्रममा जाँदा वा नजाने कुराले निर्धारण गर्दैन ।”

ओलीले भन्दैछन्– २० वर्ष कसैले आश नगरे हुन्छ 

एमालेले ९–१० गते गरेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रस्तुत दस्तावेजमा पार्टीको नीति र नेतृत्वको विषयमा कुनै मतभेद नरहेको उल्लेख छ । भण्डारी सक्रिय राजनीतिमा आउने कुरामा अध्यक्ष ओलीको भूमिका पनि निर्णायक बन्न सक्छ ।

ओलीले भने २० वर्ष अब पार्टी कसैले पनि आश नगर्न चेतावनी दिइसकेका छन् । गएको चैत २३ गते पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितको शपथ कार्यक्रममा उनले ओलीविनाको एमाले भन्नेलाई देखेर दया लाग्ने गरेको सुनाएका थिए । 

“कसैले एमालेविनाको नेपाल भने, कसैले केपी ओलीविनाको एमाले । दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,” ओलीले भनेका थिए, “पोहोर परार मेरो सबै कपाल झरेको थियो । कपाल पलाउन थालेको छ । रोपेको होइन आफै पलाउन थालेको छ ।  २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।”

ओलीले ०८० साउनमा विद्या भण्डारीलाई देखाएर पार्टीमा समस्या ल्याउन सकिन्छ कि भन्ने कोशिश भइरहेको टिप्पणी गरेका थिए । नेताहरूले भण्डारीसँग भेट गरेको सन्दर्भमा ओलीले समस्या ल्याउने कुरामा मलजल नगर्न चेतावनी दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय