site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
पार्थिव शरीरले वारेस ढुक्ने देश– २ 

अलिकअघि नेपाली विद्यार्थी भाइबहिनीलाई लक्षित गरेर एउटा लेख लेखेको थिएँ  ।  निकै बाजी सेयर भएछ, आल्हादित भएँ ।  फेरि पार्थिव शरीरका कुरा, अन्तर्राष्ट्रिय विद्यार्थीका कुरा बल्झेर आइलागे । त्यसैले लेख्नै पर्ने भयो र लेख्न बसेको छु  ।

सामाजिक सन्जालले अचेल परदेश र घरदेश नजिक्याउन सजिलो भएको छ । नेपालजस्तो ‘पढ्नका लागि बाउको लज, आमाको होटेल’ भएका ठाउँमा त सामाजिक सन्जाल प्वाँख, पखेटा उमार्ने बीउ पनि बनेको छ । त्यसमाथि अलि टाठा, पढ्न जान्ने वा पढ्नमात्र जान्नेका लागि नेपालजस्ता मुलुक त प्रसूति गृहमात्र हो कि जस्तो प्रतीत हुन्छ ।

पछिल्लो समय त साउँ अक्षर फुटाउन सक्ने पनि शारीरिक श्रम गर्न खाडी मुलुकतिर जान थाले । भलै छाती नपाउन जाने चलन एउटा संस्कृति बनाएर अंग्रेजले भारतीय उपमहाद्वीप छोडेको पनि सात दशक भयो । 

KFC Island Ad
NIC Asia

विसं २०४२–०४३ देखि ०६९ सम्म नेपाली राजनीतिको पहिलो बाहिरी घेरोमा बसेर नेपाल हेरियो । हेर्दाहेर्दै नेपाली राजनीति जुन अधोदिशामा गयो न आफ्नो त्यसलाई फर्काउने ल्याकत थियो न तागत थियो । 

मान्छे स्वार्थी प्राणी हो, आफ्नो स्वार्थ हेर्छ नै । परिवारमा बस्छ, परिवारको स्वार्थ हेर्छ नै । अर्को देशले ‘तिम्रा लागि स्थान बनाएका छौँ, आउने भए स्वागत छ’ भन्यो, आफ्नो र परिवारको स्वार्थ पूरा हुने देखियो, हिँडियो । अर्को कसैले पनि त्यही गर्ने हो । त्यसरी स्वार्थी बनेर गुन्टा कसेको पनि झन्डै डेढ दक हुन थाल्यो ।

Royal Enfield Island Ad

उतिखेरका अपेक्षा सम्झेर रुन्चे हाँसो हाँसिन्छ, अचेल । करिब डेढ दशकको प्राध्यापन अनुभव, विश्वविद्यालयको आंगिक क्याम्पसको नेतृत्व गरेको अनुभव, वास्तुकला र सहरी विकास वउवस्थापनको पढाइ, श्रीमतीजी पनि उतिकै लोभलाग्दो ‘ट्रयाक रेकर्ड’ देखेर हो, क्यानेडियन सरकारले पत्याएको भन्ने मीठो भ्रम थियो र त्यसैले छड्काएको अपेक्षाको मीठो खिचडी । 

जबसम्म त्यस भ्रमले सिर्जना गरेको दम्भ बोकियो, बेगारी रहियो । त्यो भ्रमको भारी बिसाउन हामीले एडमन्टन सहरको माइनस ३० डिग्रीको चिसोमा म्याकडोनाल्ड नामक रेस्टुराँको जागिर भेट्यौं । त्यहाँबाट सुरु भएको त यात्रामात्रै थियो, लक्ष्य अर्कै थियो । हाम्रो एकको लक्ष्य व्यवसायिक सहरी योजनाकार बन्ने थियो, पंजीकृत इन्जिनियर बन्ने थियो अर्कोको । त्यसका लागि एक दशक लाग्यो, लगन छोडिएन ठेगान भलै छोड्नु किन नपरोस् ? 

अब त्यो लक्ष्य प्राप्त भएको छ ।  क्यानाडा आएका हरेक व्यावसायिक नेपालीको कथा यस भन्दा पृथक नहोला । लुकेर, झुकेर, नरे (नक्कली रेफ्युजी) बनेर, ठूलाबडाका सुटकेस बनेर आएका र यतै छुटेर महोदय बनेका भाइभैयादहरूका कथा भिन्न होलान्, सुनेको छैन, नसुनेको कुरो भन्न सकिएन ।

अब त परिस्थिति फरक भयो । त्यसरी हामीलेजस्तो अंक पुर्याएर ‘इमिग्रेसन’ लिनै पर्दैन । क्यानेडियन सरकारले नै छिर्ने जस्केलो देखाइदिएको छ । तिमी पढ्न भनी आऊ, पढ्न सके खुरुखुरु पढ, लुरुलुरु जागिर खाऊ । यतै बस, घरजम कस । नसके पढेजस्तो गर, सर्टिफिकेटजस्तो निकाल, तिम्रै मूलका ‘कीर्ते’ निधि छन् बजारैभरि । तिनैले किर्ते कागज सःशुल्क बनाइदिहाल्छन्  । तिम्रा पीडाका कथा लेखिदिइहाल्छन्, यतै बस, गल्ली, गल्छेँडामा फास्ट फुड रेस्टुराँ छँदैछन्, हात पोल, पेट पाल ।

हालसालै एक नेपाली मूलका विद्वानसँग साक्षात्कार भएको थियो । उनी भन्दै थिए, ‘तपाईको कुरो झर्रो र खरो हुन्छ मरहट्टाजी, त्यसैले समाजले रुचाउन्न तपाईँलाई । कहीँ डाकीबोलाउमा पर्नु हुन्नजस्तो छ, सामाजिक इभेन्टहरू देखिनुहुन्न ।’ 
मैले भने, ‘सर, मलाई चिप्लो बोलेर कुनै पद, पदक हासिल गर्नुछैन, कुनै चुनाव जित्नुछैन, उत्कृष्ट वा निकृष्ट दरिनुछैन । कतै लेखेको छु– टौवाको काग हुँ म,  टाँडमा बसेर कराइरहन्छु । सालको एक बार सम्झिए पनि ठीकै छ नि ।’
रमाइलो त के भने नकाराओस् भन्छन् र कहिले आग्रह, कहिले विग्रह गर्न आइलाग्छन् समाजका कथित मुखियाहरू । लाग्छ, मैले कराइदिँदा उनको परालको साम्राज्यमा आगलागी हुन्छ, त्यस्तो केही हुँदैन । 

खरो बोल्नै परिगो । अघि प्रदीप गिरि जानुभो, उहाँको पार्थिव शरीरले दुई दिन वारेस पर्खियो क्यार । केहीपछि मात्र सुवास नेम्बाङ जानुभो, उहाँको पार्थिव शरीरले पनि केही दिन पर्खेको बुझियो ।

कहिले काहीँ लाग्छ कि ‘जाने’ वारेस खोज्न आउँछ कि ‘रहेका’ वारेस पर्खेर बस्छन् नेपालमा । एउटा सामान्य मान्छेदेखि खास मान्छेसम्मको दैनिन्दिनी भएको छ यो वारेसको ढुकाइ । दोषी को ? संस्कार कि संस्कृति कि नीति ?
सामाजिक सन्जालमा कतै पढेथें, ‘जेठो अमेरिकामा छ, कान्छा अष्ट्रेलियामा छ, यो माइलो डुकुलन्ठुले केही गर्न सकेन, हामीलाई स्याहारेर बसेको छ भन्छन् रे बाउआमा !’

हुन पनि हो, कोपुण्डोलको हाम्रा बा आमाका, संधियारका दोस्रो पुस्ता अमेरिका र अस्ट्रेलियामा छन् । विदेशिनु नै केही गर्नु हो भन्ने सामाजिक संस्कार बनेको छ  । सामाजिक सन्जालमा देशप्रेमका ठूला कुरा गरेर मलाई नै घोचपेच गर्ने एक मित्रले लुसुक्क फेसबुक मेसेन्जरमा लेखिभ्याए, ‘साथी, लौ न छोरी त क्यानाडा जान्छु भनेर मरिहत्ते गर्दैछे, तिमीले त्यहाँ यसो चाँजो मिलाउन सक्छौ कि ?’ 

यो नै वास्तविकता हो । वास्तवमै युवा पुस्तालाई देशभित्रै अड्याउने वा पढेकालाई देशभित्रै बोलाउने नीति नभएकै हो, नेपालमा । 

त्यसैले यो लेखको शीर्षक जन्मायो । उहिले बाक्सा लिएर फर्किन्थे युवा, अचेल बाक्सामा फर्किन्छन्, फर्किनेहरू । एकपटक उडेकाहरू प्राणसहित फर्किने बिरलाकोटी छन् । किन होला ? नेपालीले सीपको इज्जत सीमा काटेपछि मात्र गर्छ । सायद, त्यसैले पो हो कि ? 

वैदिक कालदेखि नै भारतीय उपमहाद्वीप एउटा कौतुहलको पेटारो थियो । र यसको महान् ग्रन्थ भागवत गीता नै प्रश्नबाट सुरु हुन्छ । यसले ज्ञान, विज्ञान र सीपमा विशारद हासिल गरेकै कारणले अनेकानेक सभ्यता यसउपर लोभिए र यसलाई हाने । तसर्थ, आर्जित ज्ञान र सीपलाई निर्दिष्ट घेराभित्र राख्नुपर्ने भो र पेसाजन्य जातीय वर्गीकरण गरियो ।

ब्राह्मणले ज्ञानको सुरक्षाको जिम्मा पायो । फ्रान्सिस बेकनले ‘नलेज इज पावर’ (ज्ञान नै शक्ति हो ) भनेर सोह्रौं शताब्दीतिर लेख्नुअघि नै हिन्दू दार्शनिकहरूले ‘ज्ञानम् परमं ध्येयम्’ भन्ने स्थापित गरिसकेका थिए ।

जीवनको अन्तिम ध्येय नै ज्ञान हो भन्ने दर्शनले निश्चय नै सीपलाई पाखा लगाउन सफल रह्यो । जति गहन ज्ञान भए पनि त्यसलाई प्रयोग गर्ने सीप भएन भने त्यो ज्ञान रुखो, खन्जो र अनुत्पादक हुन्छ भन्ने बुझ्न आधुनिक भारतलाई समेत १९९० पर्खिनु पर्यो । नेपाल त अझै त्यो बुझ्न ठसठस गर्दैछ ।

त्यसैले होला, भाँडा माझ्न विदेसियो भनेर गिल्ला गर्छन् त्यहाँ भएकाले यता गएकालाई । भाँडा माझ्न समेत सीप चाहिन्छ र त ? भन्नु होला । चाहिन्छ, सिपालु नहुने हो भने भाँडा या त कुच्चिन्छ, या फुट्छ, या चर्किन्छ, केही नभए कस बाँकी रहन्छ  ।

पछिल्लो समयमा नेपालमा नीतिगत रूपमा नै ज्ञानभन्दा सीपको प्रवर्धन गरिनुपर्छ भन्ने पहलकदमी नभएको पनि थिएन । उदार बजार र सीप र श्रमसँग त्यसको अन्तर्निहित सम्बन्धलाई बुझेर नै होला सन् १९८९ मा नै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को परिकल्पना गरिएको थियो । स्थापना कालमा सीपको अभिवृद्धि गर्दै जनताको समृद्धिको लक्ष्य राखी यो परिषद् खडा भएको थियो ।

यसको उद्देश्य नै मुलुकलाई चाहिने मध्यमस्तरीय प्राविधिक सिपालु उत्पादन गर्नु थियो । उत्पादन त भयो, खपत भने अन्यत्र भयो । नेपालमा राजनीतिमात्रै उद्यमजस्तो गरियो, अन्य त सबै खत्तममा दरियो । हो, समस्या त्यही र त्यही छ  ।

समाजले ज्ञानी बन भनेर आशीर्वाद दिन्छ, धेरै पढ भन्छ । कुनै एक सीप समात, धेरै मेहेनत गर, अनुभव हासिल गर, उद्यमी बन भनेको अहिलेसम्म सुनिएको छैन  । किन होला ? गमेँ । गमाइले लगेर उही भारतीय उपमहाद्वीप, ज्ञानको भण्डार, त्यसको सुरक्षण र बाहुन हुन पाइने सुषुप्त अवचेतनमा लगेर बजार्यो ।

ज्ञानको ढुकुटी आफ्नो खोकिलामा गुट्मुट्याएर अन्य सीपालु श्रमजीवीमाथि हैकम जमाउन जति सजिलो राजा हुन पनि नहुने भएकाले होला संस्कार र संस्कृतिले ‘नानी ठूली भएर रानी हुनु भनेन बरु धेरै पढेर ज्ञानी हुनु भनेको भन्यै’ गरिरह्यो  ।

फसाद् त कहाँनेर पर्यो भने अब पढेको पढ्यै गर्नेमात्र निस्के नयाँ पुस्ता  । सीमाभित्र रहुन्जेल उद्यमसँग तिनको गोरु बेचेको साइनोसमेत रहेन । बाउआमाले हाडछाला एक गरेर पढ्न पेलिरहे, द्रव्य ठेलिरहे । ती पढ्न कबै पछि परेनन्, पढेर डाक्टरसम्म भए । ढलेको लोटा उठाउन पनि किताब पल्टाउने निस्के । स्वर्गीय प्रदीप गिरि भन्थे रे, ‘खेत चिन्नेलाई अर्थमन्त्री बनाऊ, अंक अक्षर चिन्नेले नेपालको समस्या बुझेन ।’

पछिल्लो लेखमा त्यसैले लेखेको थिएँ, क्यानाडामा कलेज पढ्न आउनु भनेको एकेडेमिक डिग्रीको लागि होइन, त्यसले भोलि माष्टर्स, पीएचडी गर्छु भन्नेलाई मद्दत गर्दैन भन्ने बुझ्नु जरुरी छ ।

नेपालमा डिप्लोमा भन्नाले स्नातक तह र कलेज भन्नाले विश्वविद्यालय भन्ने भ्रम छ । क्यानाडामा कलेजहरूले ज्ञानमूलक शिक्षा दिँदैनन्, सिपमूलक शिक्षा दिन्छन् । विश्वविद्यालयले दिने डिग्री जसलाई एकेडेमिक (प्राज्ञिक) डिग्री भनिन्छ त्यसले  सीपमा भन्दा ज्ञानमा जोड दिन्छ । क्यानाडालाई ज्ञानीभन्दा सिपालु चाहिएको छ ।

हामी त, नेपाली मूलका क्यानाडेली भयौँ । हाम्रो करले देश बनाए पनि, अन्तर्राष्ट्रिय विद्यार्थीले तिरेको पैसाले देश बनाए पनि, क्यानाडा नै बन्ला, घ्यु भागैमा पोखिएला । 

तर, नेपाली समाजले चाहेको के हो त ? सीपमूलक युवापुस्ता हो ? हो भने पनि यी यता आएका फिर्न होइन पीआर भिर्न आएका हुन् । क्यानाडालाई त दुवै हातमा लड्डु छ । नेपाललाई के फाइदा छ ? नागरिकले आफ्नो स्वार्थ हेर्छ, तर जिम्मेवार राष्ट्रले आफ्नो साथै नागरिकको स्वार्थ हेर्छ  ।  
 
वामपन्थतिर सर्लक्कै ढल्केको नेपाली राजनीतिले क्युबाको युवा शिक्षा नीति, वैदेशिक श्रम नीति पढ्दा असलै होला । समस्या संस्कारमा छ, समाजमा छ र त्यो संस्कार र समाजले बनाएका नेतामा छ । तिनै नेताले नीति बनाउँछन्, त्यसैले नीतिमै समस्या छ । नेपाली नीतिले क्रमागतरूपमा मुलुकलाई पार्थिव शरीरले वारेस ढुक्ने देश बनाइरहेछ ।

यति सबै लेखेपछि एक झमट हाम्रा नेपाली क्यानेडियन सामाजिक अगुवाका गाली खाने चेतसहित यो लेख्छु ।

हालसालै जसो क्यानाडाको अन्टेरियो प्रान्तको एक सहर लन्डनमा ठूलो दुर्घटना भयो । तीन कार एकापसमा जुधे । अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा आएका नेपाली परेका, मरेका हुन् रे भन्ने खबर फुसमा आगो सल्किए झैँ सल्कियो । नेपाली सबैका कान ठाडा भए ।

स्थानीय प्रहरीले गोपनीयतामा कारण नाम अझै खुलाएजस्तो लाग्दैन ।  नेपाल दूतावास वा क्यानाडेली सरकार अझै मौन नै छन् । सामाजिक सन्जालमा भने यहाँका सामाजिक अगुवाहरूले नाम ठेगानासहित पार्थिव शरीर नेपाल फर्काउने टिकट, बाक्सा आदिको जोहोको लागि भिक्षापात्र थाप्न भ्याइहाले ।

ऊबेला म ललितपुर जिल्ला नेबिसंघको सदस्य थिएँ । मेरो भाइ भक्तपुरको सेनाको सुपिंग क्याम्पसमा पढ्थ्यो । कुरै कुरामा स्ववियु निर्वाचनको कुरा आयो । भाइले रमाइलो कुरो सुनाएथ्यो, हाम्रोमा पनि स्ववियुको चुनाव चाहिँ हुन्छ, तर खुला मतदान, गोप्य गणना हुन्छ ।

यहाँ त्यही सम्झना आयो । जे कुरा खुल्ला हुनुपर्थ्यो, अग्रजहरूबाट त्यो गोप्य रह्यो, जे गोप्य रहनु जरुरी थियो र सरकारी निकायले सूचना दिएको थिएन, त्यो चाहिँ आफूलाई गैरआवासीय नेपालीका नेता भन्नेहरूबाट छताछुल्ल पारियो ।

स्थानीय तवरबाट सामुदायिक पत्रकारिता गरिरहेका एकजना नेपालीले सामाजिक सन्जालमा एक स्टेटसमार्फत नियम र नैतिकताको प्रश्न के उठाएथेँ तिनको हुर्मतै लिउँलाझैँ गरी समुदायका नेता बर्सिए । लोक त्राहीमाम् भो । परिवारको सहमति लिएर नाम सार्वजनिक गरिएको भन्ने जिकिर आयो ।

तर, पद्धति मुताविक परिवारको सहमति लिएर नेपाल सरकारमार्फत क्यानाडेली सरकार उपर शव (उनको हिज्जेमा ‘सब’) व्यवस्थापनका लागि सकारात्मक दबाब दिन दिलाउन छाडी भिक्षाटनमा निस्कियो नेतृत्व । किनभने भिक्षाटन सजिलो पाटो हो ।

त्यसैमाथि, माथि उल्लेखित स्टेटसमा समुदायका सर्वोच्च नेताले ‘यहाँ प्रतिक्रिया जनाउनेले भिक्षापात्रमा के कति सहयोग गर्नेछन्, हामीले हेर्नेछौँ’ सम्म भन्न भ्याए ।

त्यसैले सहयोग त मैले पनि गरेँ तर केही प्रश्न बाँकी रहे । ती मर्ने केटाकेटी काममा जाँदा दुर्घटनामा परेका हुन् ? हुन् भने कामको बेला भएको दुर्घटनामा पाइने बिमा रकम पाउन्नन् तिनले ? त्यो भवितव्यमात्रै थियो कि चालकको लापरबाही ? चालक सडकमा गाडी लिएर निस्कने हालतमा थिए ? उनको स्वास परीक्षण भएको हो ? र सबैभन्दा प्रमुख कुरो, मरेका भनिएका मान्छे तिनै हुन् कि अरू कोही ? सरकारी निकायबाट नाम पुष्टि भयो ? जन्ती जाने हतारोमा बेहुलो त छुटेन कतै ? त्रसित छु यो पढिसकेपछि पनि सरोकारवालाको आँखा खुल्दैन, लाल लाल भैजान्छ र हप्कीदप्की सुरु भइहाल्छ ।

हो, समुदायमा काम गर्न गाह्रो छ  । प्रश्न आइरहन्छन् । प्रश्नसँग जुध्नुपर्छ, प्रश्नकर्तासँग होइन । नेपाली नेतृत्व घरदेशमा होस् कि परदेशमा प्रश्नसँग चिढिन्छ, प्रश्नकर्तासँग जुध्छ । जवाफ दिँदैन, बरु आफूभन्दा चाम्रो देखे भाग्छ  ।

त्यसको कारण छ, त्यो हो, अल्पशिक्षा । शिक्षाका औपचारिक पाटाका कुरो गरिन मैले । ठूला डिग्रीधारी नै शिक्षित हुन् भन्ने पश्चिमा अवधारणाभन्दा पृथक प्रश्न कहाँबाट, किन र के प्रयोजनका लागि उठे भनेर विवेचना गर्नु जरुरी छ । त्यो विवेचना शिक्षितले मात्र गर्न सक्छ ।

त्यो शिक्षाको चाबी आमासँग छ । आमा नै छोराछोरीलाई प्रश्न गर्न सिकाउन छाडेर पासपोर्टको लाइनमा पानी खेपिरहिछिन् भने देश त पार्थिव शरीरका वारेसहरूका मात्रै जो हुने नै भयो । त्यसमाथि संसारका जुनै कुनामा पनि भिक्षापात्र भरिदिने कोमल हृदय भेटिहालिन्छ । र संसारैभरि हरेक दुर्घटनापछि त्यसको कारक खोज्नेभन्दा पार्थिव शरीरको दुन्दुभी बजाएर जगात उठाउन पोख्त नेतृत्व पुगेकै छन् ।

दुर्घटनामा दिवंगत ती कलिला ज्यानका मेरा समवयी (सायद ?) बाउआमाप्रति हार्दिक समवेदना दिँदै के भन्न चाहन्छु भने, ‘नेपाल सरकारले र यहाँका समुदायका नेताले तपाईँहरूलाई मीठो भ्रम छरेका छन् । ती कसरी मरे भनेर प्रश्न गर्नु जरुरी छ ।’ 

अघि कतै लेखेको छु, ‘तपाईँलाई सन्तानका भविष्यका लागि भनेर किर्ते कागजमा सही गराइएको छ ।’ अलिकअघि कतै सुनेथेँ– ‘छ महिनासम्म काम नपाउन सकिन्छ, त्यति पैसा ठेकेर पठाउनुस् ।’

त्यो आफैँमा ठगी हो । तपाईँले सन्तानलाई पढ्न पठाउनु भएको हो भने किन काम पाएन भनेर चिन्ता गर्नुहुन्छ ? खर्च व्यहोर्छु भनेर कागज बनाएको होइन ? पढ्न होइन, कामै गर्न पठाएको हो भने आएको बाटो गलत भयो ।
यहाँनेर पनि शिक्षाकै कुरो आयो कि आएन ? तपाईँ आफैँ शिक्षित बन्नुहोस् जसले गर्दा रातबिरात कामको खोजीमा तपाईँका सन्तति आँखा मिच्दै डेढ घन्टाको बाटो आधाघन्टामा छिचोल्ने गरी नहुइँकिउन् सडकमा र ‘पार्थिव शरीर’ नबनुन्  । त्यसको वारेस बन्न निक्कै कठिन हुन्छ होला ।      

जन्मभूमिको मायाले, त्यहाँ रहेका आफ्ना बाआमाको मायाले यति सुझाएको मात्र  । आफ्नो कुरो अभिव्यक्त गर्न पाइने लालसामा पटकपटक सडकमा उत्रिएको पुस्ताको प्रतिनिधि जो हुँ । नमान्न पाइन्छ ।

न्युमार्केट, अन्टेरियो

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro