site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कहिले युनिटी–हर्बलका नाममा नागरिक लुटिन्छन् त कहिले सहकारी ठगीका नाममा 

यतिखेर मुलुक महारौरव नर्कमा हुन पुगेको छ भन्नुमा कुनै अत्युक्ति नहोला । एकातिर २०७६ सालदेखि सुरु भएको कोरोनाकालले संसारभरि छाएको आर्थिक मन्दीको नकारात्मक असर त छँदै थियो । 

त्यसमाथि हाल विश्वमा भएका दुई युद्ध, रुस–युक्रेन अनि इजरायल र हमासबीच, यसले पनि वैदेशिक रोजगार र मानवीय आधारमा ठूला राष्ट्रले अविकसित राष्ट्रलाई दिने सहायतामा केही न केही नकारात्मक असर पुर्‍याउने नै छ ।

साथै यी दुई युद्धका अतिरिक्त संसारमा बेला बखतमा घटने गरेका अन्य आतङ्ककारी घटना र प्राकृतिक प्रकोपले गर्दा पनि आर्थिक मन्दी छाउने नै भयो । 

त्यसमाथि नेपालमा सरकारमा पहुँच हुने ठग र भ्रष्टाचारीहरूले सहकारीका नाममा प्रलोभन देखाएर गरिब तप्काका मानिसहरू ठेला चलाउनेहरू वा भारी बोक्ने ढाक्रे परिवार र मजदुरसम्मले दुःखजिलो गरी जोडेको स–सानो रकमसमेत लुट्न बाँकी राखेका छैनन् । 

सहकारीमा रकम राख्दा रकमको पनि बचत हुने र ब्याज पनि बराबर आउने प्रलोभन दिएकै आधारमा मध्यम वर्ग, निम्न मध्यम वर्ग र गरिव किसानहरूले घर जग्गा बेचेर, पेट कसेर रकम जम्मा गरेको देखिन्छ ।

बालबच्चाका मुख मोसेर, खसी–बोका बेचेर, तरकारी फलफूलको आम्दानीबाट, परिवारलाई धित मर्ने गरी खानसम्म नदिई पेट कसेर भविष्यका निम्ति जोहो गरेको पैसा जालीफटाहाहरूले पचाएका छन् ।

यस्तो पचाउने पहुँचवालाहरूको कब्जामा रहेको सहकारीहरू देशभरि हजारौँ छन् । पसिना काढेर रकम जम्मा गर्ने सोझा सिधा निमुखा जनता र खाने पचाउने भ्रष्टाचारीहरू छन् ।  यही प्रकृतिको शोषण एक पटक यो मुलुकमा युनिटी र हर्बलको नाममा पनि भयो । त्यसबाट जनता लुटिएको लुटिए नै भए । लाखौँ जनता लुटको चपेटमा परेका थिए ।

यतिखेर कहालीलाग्दो आर्थिक मन्दीमा नेपालका पढेलेखेका जनताहरू पनि घर–घरै बेरोजगार छन् । नोकरी सेवामा पनि यत्रतत्र नातावाद–कृपावाद छाएको यस मुलुकमा । योग्य अनुशासित र कर्मठले रोजगारी पाउन कठिन छ । 

मानिसहरूले सरकारको रवैया देखेर भन्न थालेका छन् नियुक्तिको निम्ति व्यक्तिको चरित्र, इमान्दारीता, शैक्षिक योग्यता प्रमाणपत्र आधार बन्दैन । बरु भ्रष्टाचार गर्न, लेनदेन र आर्थिक गमनमा व्यक्ति कति माहिर छ वा नियुक्तिको क्रममा शासक दलीय नेताहरूलाई भेटी चढाउन सक्ने क्षमताको हो वा होइन त्यसका आधारमा नियुक्तिकर्ताले नियुक्ति हुनेहरूको मूल्याङ्कन गर्ने गरेको देखिएको छ ।

तसर्थ, योग्य मानिसहरू घरमा ढाक्रे भएर बसेका छन्, तर योग्यता नपुग्नेहरू प्रायः कुर्सीमा । 

यहीकारण हो पेट पाल्नैका निम्ति नेपालीहरू गरिब भन्दा गरिब र हिंसा कायमै भएको युद्धरत जोखिमपूर्ण मुलुकहरू चाहे रुस होस्, चाहे ल्याटिन अमेरिकाको देश होस् वा अफ्रिकी मुलुकहरूमा होस् ज्यान माया मारेर रोजगारी गर्नैका लागि पुगेका छन् । 

खान नपाएर हाम्रो मुलुकमा आएका, गरिब, निम्नस्तरका जङ्गली मानिसहरू, संसारभरि भाडा माझ्ने जात भनेर दुर्व्यवहार पाउँदासम्म पनि पेटकै लागि नेपालका गरिब परिवारका युवाहरूले परदेशमा त्यस्ता घृणापूर्ण वचन सहन बाध्य हुनुपरेको छ । 

कतिपय त अरवको मरुभूमिमा मालिकलाई पासपोर्ट र भिसा बुझाएर वर्षौँवर्ष तिनको कब्जामा फसेको फसैछन् । उँट र भेडा बाख्रा चराएर बसेका छन् । तिनले आजन्म नेपाल फर्कने सम्भावना छैन ।

मुलुकभित्रै केही निजी व्यवसाय सुरु गरौं भने पनि त्यसको सम्भावना कम छ, साथै जोखिमपूर्ण पनि छ । न त सरकारले सहयोग गर्छ न सुरक्षा नै दिन्छ । प्राण धान्न कृषि नभई नहुने क्षेत्र हो र आमनेपालीहरूको मूल र परम्परागत व्यवसाय नै त्यही हो । त्यो पनि वर्तमान अवस्थामा असफल देखिन्छ भने अरु क्षेत्रको सम्भानाको कुरा त के गर्ने । 

धेरैभन्दा धेरै परिवारले नेपालमा भविष्य केही नदेखेरै होला, छोरा–छोरी सन्तन्तिहरूलाई घरखेती बेचेरै, ऋण काढेर, आफू बन्धकी बसेरै भए पनि विदेशमा पढन पठाएका छन् । हुने खाने ठूला ठालु शासक वर्ग भ्रष्टाचारबाट आर्जित धन खर्चदै आफ्ना सन्तानहरूलाई परदेशी बनाउँदै छन्, पुँजी पलायन गराउँदैछन् । 

तर यी दुई वर्गको बीचमा अन्तर के छ भने एउटाले मुलुकभित्र आर्थिक रुपमा आफू शून्य भए पनि सन्तान मौलाओस् भनेर विदेश पठाएका हुन् । 

अर्काथरिले मुलुकको आर्थिक अवस्था आफ्नै कारणबाट जर्जर भएको हुँदा अब मुलुक कुनै उपायमा उस्कन नसक्ने विश्वास भएकाले र मुलुकभित्र गरेको भ्रष्टाचारको रकम र सन्तति दुवैलाई सुरक्षित बनाउन विदेश पठाएका हुन् । 

तथापि मुलुकभित्र आर्थिक विकासको सम्भावनाको शून्यता कायम भएकाले हुने/नहुने दुवै वर्गको रुझान नेपाल छाड्नेमा नै देखिएको छ । सरकारले पनि युवाहरूले मुलुकभित्र बसेर केही गरुन्, मुलुकको विकास संलग्न हुन् भन्ने लक्ष्य राखेको पाइँदैन । 

बरु युवा शक्ति जति सक्दो विदेशमा गएर मरुन् वा बाँचुन् । तर तिनले विदेशी मुद्रा कमाएर स्वदेशमा पठाउन भन्ने पासपोर्टदेखि भिसासम्म सरल बनाउँदै लगेको देखिन्छ । अझ त्योभन्दा बढी सरकार केमा खुसी छ भने पासपोर्ट बनाउँदा जनताले जुन रकम तिर्छन् त्यो अथाह राजश्व संकलन भएकामा खुसी छ । 

प्रश्न उठन सक्छ वैदेशिक रोजगारले मुलुक कहिलेसम्म धानिन सक्छ ? वृद्ध जति नेपालमा हात बाँधेर बस्ने र वैदेशिक रोजगारमा जाने युवा सन्तानले पठाएको रकम कलमले कहिलेसम्म तिनको पेट भरिएला ?

यदि नेपालभित्र गरिने व्यवसाय र आयका क्षेत्रको विकासको श्रोतको आवश्यकता नै पर्दैन । नेपालमा उत्पादन गर्नु भन्दा बरु बाहिरी मुलुकहरूबाटै खाद्यान्न खरिद गरे बरु सस्तो पर्छ । वैदेशिक रोजगारको श्रोतबाट आय आउँछ र सम्पूर्ण नेपाली परिवार पालिन्छन् भन्नु यो सदाका लागि दिगो र भरपर्दो स्रोत भने होइन । जसले सन्तान बाहिर विदेशमा पढन पठाएका छन्, ती सबै सफल छैनन् ।

कतिपय विद्यार्थीहरूले एक झमट घरबाट लगेको पैसाले पढे । पछिल्ला दिनमा कलेज र शिक्षण संस्थानको रकम तिर्न नसकी दयनीय अवस्थामा गुजारा गर्नुपरेको छ । कतिको हकमा बाबु–आमाले घर खेती बेचेर पढ्न रकम दिएपछि अर्को थप दिन नसक्ने तर सन्तानले कमाएर नेपाल पठाओस् भन्ने ठान्छन् ।

उता विदेशमा पुगेकाहरू कन्तबिजोग मात्र होइन, अर्थ अभावमा बराबर आत्महत्या गरेका छन् । परिणाम त नेपालमा परिवारले सन्तान धन सबै समाप्त भएर फकिर हुनु परेको छ ।  अर्कातर्फ खप्नै नसक्ने गरी निरन्तर महँगी बढेको छ । प्रत्येक हप्ता सामानको मूल्य वृद्धि भएको देखिन्छ । 

कतिलाई दैनिक साधारणत दाल–भात तरकारीसम्म खान कठिन छ । गतवर्ष साधारण र कमसल चामलको मूल्य प्रतिकिलो ५० रुपैयाँ थियो भने यतिखेर ८० रुपैयाँ पुगेको छ । गतवर्ष बास्मती चामल प्रति बीस किलो बोराको २५ सय थियो । यतिखेर ३८ सय पुगिसकेको छ । 

साग–तरकरीको भाउको कुरा नगरौँ । यावत्, रुपमा हरएक वस्तुको भाउमा असमान्य तरिकाले वृद्धि भएको पाइन्छ । 

यो भाउ वृद्धिबाट दैनिकी गुजार्न कठीनाइ छ । आमजनताले खेप्नु परेका विषम परिस्थितिकाबारेमा चिन्तन–मनन गरेर तिनलाई परेको मारकाबारेमा राहात कसरी पुर्‍याउनुपर्ने हो ती कुरामाथि विचार नगरी वर्तमान सरकार भने आफ्नो प्रशंसाको राग अलाप्नमा व्यस्त छ । 

विपक्षी दल पनि नागरिकका गाँसबास कपास र स्वास्थ्य जस्ता समस्यादेखि विचराधीन विधेयकमा होइन कि गृहमन्त्री रवि लामिछानेविरुद्ध खोइरो खन्न लागेको देखिन्छ । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने किन मन्त्री नियुक्त भए, उनलाई र उनको दललाई त्यसबाट के लाभ छ यी तपसिलका विषय हुन् ।

तथापि गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम मास्ने काम गरे या गरेनन् त्यो तथ्य जाँचबुझको विषय हो । यदि हिनामिना गरेका छन् भने त्यो प्रमाण सदैव कायम रहन्छ नै ।
 
यतिखेर कारबाही नभए हालकोे विपक्षी दल शक्तिमा आएका बखत कारबाही गर्दा हुन्छ । त्यसको हदम्याद जाँदैन ।  तर प्रश्न  के छ भने नेपालमा सहकारीहरूले जुन वितन्डा मच्याएका छन्, जसरी आमजनताको रकम लुटेर पचाएका छन् त्यो २०७९ सालको निर्वाचनयता मात्र होइन । 

सहकारीको गठन संचालन २०७९ पूर्वको सरकारहरूद्वारा भएकै हो र यसबीच धेरै लुटपाट भएर जनताको रकम खाई दिएको हुँदा जनता सडकमा पुगेका छन् । त्यो लुट्ने र लुटाउने काम तत्कालीन सरकारको पदमा आसीन हुनेहरूको आडमा भएको हो भन्ने कुरा जग जाहेर छ ।

विपक्षी राजनीतिक दलले ती सबैकाविरुद्ध कारवाहीको माग किन गर्दैन ? ती निमुखा जनता जसको पैसा सहकारी संचालहरूकले लुटे र पचाए त्यसको व्याजसहित फर्काउने जमर्को किन गरिँदैन ।

मुलुकमा भ्रष्टाचारीहरू यति बलियो भएर गएका छन् कि तिनले आफूले गरेको भष्टाचार जायज हो र भ्रष्टाचार गरेको सम्पत्ति भोग्न पाउनुपर्छ भनी पत्रकार सम्मेलन गर्न थालेका छन् । काठमाडांैमा भए जतिका सरकारी जग्गाहरू रकम कलम मिलाएर बेचेको देखिएको छ । 

नागरिकहरू भुटानी शरणार्थीका नाममा बेचिएका छन् । वैदेशिक रोजगारको नाममा जनता बेचिएका छन् । निमुखा जनताको सम्पत्ति खोसिएको छ, हडपिएको छ । वाइड वडी काण्ड, यती–ओम्नी, आयल निगम जग्गा काण्ड धमिजा काण्ड, सुन काण्ड जस्ता काण्ड काण्डैहरूको फेहरिस्त छ । 

२०४६ पछि खडा भएका राजनीतिक दलहरूमा संलग्न नेता कार्यकर्ता कति भ्रष्टाचारमा मुछिए वा कारबाहीमा परे वा तिनले भ्रष्टाचार गरेको प्रवल सम्भावना छ । तिनको पनि छानबिन हुन जरुरी छ ।

नेपाल आर्थिक रुपमा एक दिन वा एक रातमै त्यसै तन्नम भएको होइन ।  यहाँका आमजनताले गरिबीको मार झेल्नु परेको कारणको मूल्याङकन हुन र कारवाही हुन जरुरी छ ।  अन्यथा २०४६ पछि सत्तामा बहाल हुने दलीय नेता कार्यकर्ता अहिलेको शासनमा पनि निरन्तर कायम छन् । 

लेखक पूर्वप्रधानन्यायाधीश हुन् 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro