site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
...राजाको विरोध गरेको राजा बन्न पो रहेछ !
Sarbottam CementSarbottam Cement

अठार–उन्नाइस वर्षअघि २०६२/६३ को जनआन्दोलनका समयमा आफ्ना कवितामार्फत् जनतालाई जुरुक्क उठाउने कवि अर्जुन पराजुली अझै पनि लोकतन्त्रमा उत्पन्न विकृतिविरुद्ध प्रहार गर्न लागिपरिरहेका छन् । 

लोकतन्त्रमा जुन विकृति–बेथिति देखिएको छ, त्यसको एक मात्र जिम्मेवार तत्व भनेको राजनीतिक नेतृत्व भएको उनको ठम्याइ छ । 

लोकतन्त्रमा पात्रहरूबाट देखिएका विकृतिलाई सच्याउन अब जनता नै सचेत हुनुपर्ने उनको सुझाव छ । यसपालिको लोकतन्त्र दिवसको सन्दर्भमा प्रस्तुत छ, उनै कवि पराजुलीसँग बाह्रखरीका लेखनाथ अधिकारीले गरेको कुराकानीका मुख्य अंश : 

Prabhu Bank
Agni Group
NIC Asia

–पछिल्लो समय तपाईंका शीर्षक र डीक नभएका कविता निकै चर्चामा छन्, कसरी फुर्छन् यस्ता कविता ?

फुर्ने भन्दापनि आफैँ उब्जन्छन् । म अरुको जस्तो फुराउने काम गर्दिन । कुनै कविता निस्कन्छन्, कुनै विचार निस्कन्छन् । यी सबै स्वतः स्फूर्त रुपमा आउने हुन् ।

Global Ime bank

–यस्ता कविता देखेर तपाईंप्रति कस्ता टिप्पणी गर्छन् नि ?

व्यक्तिगत रुपमा भेटेर त कसैले केही भन्न सक्दैनन् । भेटेर भन्ने आँट कसैले गरेका छैनन् ।  कमेन्टहरूमा नचिनिनेगरी त सामाजिक सञ्जालमा आइरहेका हुन्छन् ।  ती धेरै अघिदेखि लेखिँदै आएका हुन् । तर, भेटेर भन्ने आँट कसैले गर्दैनन् किनकि उनीहरूलाई त्यो स्थानमा पुर्याउन मेरो पनि महत्वपूर्ण योगदान छ ।

–लोकतन्त्र ल्याउन नागरिक समाजको तर्फबाट यहाँले पनि भूमिका खेल्नुभयो, लोकतन्त्रपछिको कालखण्डलाई कसरी हेर्नुभएको छ ?

हो हामीले लोकतन्त्र ल्याउन भूमिका खेल्यौं, अरुले पनि खेलेका थिए । हामीले सत्तामा जान भूमिका खेलेका थिएनौंं ।  तर, लोकतन्त्र आन्दोलनपछि जो सत्तामा  पुगे उनीहरू नै लोकतन्त्र सिध्याउन भूमिका खेलिरहेका छन् । 

तर, यति चाहिँ निश्चित छ, हामी रहुन्जेल उनीहरूले लोकतन्त्र सिध्याउन सक्दैनन् ।
 
–लोकतन्त्र ल्याउन लागेका नै सत्तामा गएपछि यसलाई सिध्याउन लाग्लान् भन्ने कुरा यहाँहरूले पहिला सोच्नु भएको थियो ?

सोचेका थिएनौं । यसमा व्यवस्थाको दोष हुँदै होइन, यो व्यवस्थालाई चलाउनेको दोष हो ।हामीले सबै मिलेर व्यवस्था ल्यायौं । तर पहिले  व्यवस्था ल्याउन लाग्ने उनीहरू नै अहिले व्यवस्था सिध्याउन लाग्दैछन् ।  

–लोकतन्त्रमा आवधिक निर्वाचनले गलत काम गर्नेलाई तह लगाउनुपर्ने हो । तर, हामी कहाँ किन त्यसो हुन नसकेको जस्तो लाग्छ ?

उनीहरूले जे भन्यो त्यही हामीले पत्याएर हो । उनीहरूलाई जसले त्यहाँ पठायो उनीहरू दोषी छन्, हामी दोषी छौं ।

–कसरी सच्चिने त ?

हामीले सही मान्छे छान्न सक्नुपर्‍यो । कुहिएकालाई फालेर नयाँलाई ल्याउनुपर्‍यो । नयाँ आएका सबै राम्रा हुन्छन् भन्ने छैन, तर राम्रा हुन सक्छन् । 

पुराना पार्टीभित्र पनि राम्रा मान्छे छन्, हुन सक्छन् तर उनीहरूलाई मौका नै दिइएन । जसले खायो, उसले खाको खायै गर्‍यो । हामीले उनीहरूलाई खाको खायै गर्न दियौं । त्यसको सजाय हामी भोगिरहेका छौं, देशले भोगिरहेको छ । गलत काम गरेपछि त सजाय भोग्नै पर्यो, भएकै त्यही हो । 

–ठूला दलका नेताहरूले आफ्नो पार्टी भित्रै पनि राम्रा जस्ता मान्छेलाई चुनावमा टिकट नै नदिने वा अगाडि आउनै नदिएको भन्ने आरोपबारे यहाँ के भन्नु हुन्छ ?

ठूला दलका नेताले आउन नदिएकै हुन् । तर, दल बाहिरबाट त आउन सक्छन् नि ।  अब त दलको बार दलबाहिरकाले भत्काइदिइसके ।  दलभित्र रहेका सक्षम मानिसलाई पनि यिनीहरूले गुम्स्याएर हिटलरको ग्यास चेम्बरमा राखेजस्तो गरेका थिए । 

दलहरूले आफ्नै दलभित्रका युवाहरूलाई थुनेर सिध्याउन खोजे । तर, दलबाहिरका मानिस आएर यिनका दल प्वाल पारेर निस्किएका छन् । अब ठूला दलका नेताको केही चल्दैन ।

–लोकतन्त्रमा सबै नराम्रै मात्रै भयो भन्न पनि नमिल्ला नि ?

राम्रा कुरा यिनीहरूले गरेर भएका होइनन् । कतिपय आफैँ हुने प्राकृतिक कुरा छन् ।  यिनीहरूले गरेर केही राम्रो भएको छैन । सगरमाथा, गौतम बुद्ध, नेपालको प्रकृति, पर्यटन जस्ता कुरा यिनीहरूले बनाएर भएका हुन् र ? यी प्राकृतिक रुपमा भएका कुरा हुन् । 

भ्रष्टहरूले राम्रो गर्ने त कुरै छैन । यिनीहरूले नराम्रो नगरिदिए मात्रै पनि देश बच्छ । अरु केही गर्नै पर्दैन । भ्रष्टाचार नगरिदिए मात्रै हुन्छ ।

–नयाँ पनि आएका छन् । तर, ती पनि विवादमा तानिए । त्यसलाई कसरी लिनु भएको छ ?

नयाँ आएमा ठीक हुन्छ भन्ने आशा छ । के चाहिँ हो भने एउटा नभए अर्को आउँछ नि त । अब ठूला दलमा प्वाल परिसकेको छ ।  पुराना नेता, पुराना दल वा पुराना मान्छे भनेर अब कोही बस्दैन । 

अब एउटा बिग्रे अर्को आउँछ, अर्को बिग्रे फेरि अर्को आउँछ । जसरी नदीमा बाँध फुट्छ, त्यसपछि पानी बाहिर निस्कन्छ । इमान्दार राम्रा मान्छे पनि अब आफ्नो राजनीति जोगाउनुछ भने बुढाहरूले जेल बनाएका दलबाट बाहिर निस्कनुपर्छ ।

–तर, बेथितिलाई देखेर लोकतन्त्र÷गणतन्त्र नै गलत पो हो कि भन्ने सोच्न मानिसहरू बाध्य भएको देखिन्छ नि ?

अरु कुन व्यवस्था राम्रो हुन्छ त यो भन्दा ? त्यसैले अब प्रतिगमनमा जाने कुरा हुँदैन । हामी छौं । 

‘राजा आउ देश बचाऊ’ भन्ने आउन सक्थे । तर, केही युवाहरूले त्यो माहोललाई रोकिदिएका छन् ।

–आफ्नो जनजीविकाका लागि राम्रो हुन नसकेपछि जनताले निकास त खोज्लान नि ?

निकास त खोज्छन् । तर, पहिला खाएर भोकाएकालाई फेरि दिँदैनन । भ्रष्टहरूले त आफूलाई जुन ठीक हुन्छ त्यही भन्छन् ।  तर जनताले अब उनीहरूले जे भन्यो त्यो विश्वास गर्दैनन् । मिडियाले राम्रो भूमिका खेल्नुपथ्र्यो, तर त्यसो हुन सकिरहेको छैन ।

–मिडियाको भूमिका के हुनुपर्थ्यो ? 

तपाईंलाई थाहा नै होला कुनै पनि मिडियाको समाचार हेरेर जनताले बिश्वास गर्ने अवस्था छैन ।  मिडिया ज्यादै अविश्वस्नीय भएको छ । मेरो देशमा समाचार पढेर समाचार थाहा हुँदैन । कसैलाई समाचार चाहिन्छ भने आफैंले पत्ता लगाएर ल्याउनुपर्छ । मिडियाले आफ्नै खुट्टामा बञ्चरो हान्ने काम गरिरहेको छ ।  

यतिबेला पैसा गुमे फेरि कमाउन सकिन्छ । विश्वास गुमेपछि फेरि कहिल्यै कमाउन सकिदैन । मिडियाले विश्वास गुमाएको छ । 

मिडियाले नै आफ्नो अवस्था बुझ्ने कुरा हो । देशैखाने अपराधी लुकेर हिँडेका छन् । तर मिडिया सानो कुराको पछि लागेको लाग्यै गर्छ, हेडलाइन बनेको बन्यै गर्छ ।  जनताले सबै कुरा बुझेका छन् । उहाँहरूले जान्ने कुरा हो । 

अख्तियारले सानालाई समात्छ तर ठूलालाई छाड्छ । सरकारले सानालाई हत्कडी लगाएर हिरासतमा लान्छ ठूलालाई एम्बुलेन्समा हालेर अस्पताल लान्छ । मिडियाले पनि त्यही गरिरहेको छ । आफैँले ल्याएको व्यवस्थाको घाँटी आफैँले निमोठ्नु हुन्छ ? मिडियाको भूमिका यस्तै देखिन्छ ।

–लोकतन्त्रमा मानवअधिकार र न्यायको अवस्था कस्तो पाउनुभएको छ ? 

कहाँ छ न्याय ? राजनीतिक दलका कार्यकर्ता नियुक्त गरिएका छन्, न्यायाधीशमा ।  पैसा र शक्तिले मुद्दा जित्छ, न्यायले हार्छ । न्याय हुन्छ, जस्तो लाग्छ तपाईलाई यहाँ ?

–अमेरिका बेलायततिरका नेताहरूलाई हेर्दा ४० वर्षअघिका नेता कहाँ पुगिसके तर हामीकहाँ अधिकांश उनै भएर पनि नयाँ ढंगले अघि बढ्न नसकेको हो भन्ने तर्क बेला–बेलामा उठ्छ यसलाई कसरी लिने ?

जति नचाहिँदो काम गरेपनि माफी दिने नेपालीको बानी छ । कतिले थाहा नै पाएका हुँदैनन् ।  कतिले थाहा पाएर पनि नपाए जस्तो गर्छन् । त्यसले गर्दा अप्ठेरो पर्यो । अब त जनता नेपालमा बस्नै मान्दैनन् । 

अस्पतालमा डाक्टर भेट्न नेताको तोक चाहिन्छ, अस्पतालमा बेड पाउन तोक चाहिन्छ, गाईं–भैसी पाल्ने किसानले पाउँदैन सरकारी अनुदान, जुँगा पाल्ने किसाले पाउँछ । 

उखु पेल्दा उखुबाट रस आउँदैन, किसानको आँसु आउँछ । राज्यलाई कर तिर्न जाँदा पनि घूस खुवाउनुपर्छ । मान्छे कोही नभएको र पैसा नभएको मानिसले पाइलो टेक्नेपनि ठाउँ छैन । त्यसैले गलत भइरहेकै हो । 
काम गर्न नसकेपनि पाएसम्म खाइरहने प्रवृत्ति नेपालमा रहेको छ ।

–नेताहरूले जानेर वा नजानेर कुन कारणले यस्तो अवस्था आएको जस्तो लाग्छ ?

नजानेर होला त ? नबुझेर होला त ? के लाग्छ तपाईलाई ? आफ्नो खुटामा आफै बञ्चरो हानेका छन् ।  जानी जानी सबै गलत काम भइरहेका छन् । मिडियाले ध्यान दिनुपथ्र्यो तर त्यो भएन । 

–स्वदेशमा भन्दा पनि ठूलो संख्याका युवा विदेशतिर गएको देखिन्छ । के लोकतन्त्रले युवालाई यो देशमा बस्न पनि नदिएको हो ?  

हो, वातावरण नबनाइदिएका कारण युवा विदेश जान बाध्य बनाइए । यही चित्तबुझ्दो जागीर र जनजीविका चल्ने भए कोही पनि विदेश जाँदैनथ्यो ।  आफूलाई जन्म दिने आमा बाबु छोडेर यति सुन्दर देश छोडेर त्यत्तिकै किन विदेश जान्थ्यो । 

तर, लोकतन्त्रको यसमा हात छैन । नेताहरूले वातावरण बनाउनुपथ्र्यो तर उनीहरूले वातावरण बनाउन नै चाहेनन् । यहाँ राम्रै भएको भए पनि अरु देशमा मानिस जान सक्थे । उनीहरूको  स्वतन्त्रताको कुरा हो । तर, वातावरण भएको भए यति धेरै जाँदैनथे ।

–लोकतन्त्र सच्याउनुपर्ने मुलुकका अवयवहरू राम्रा नभएर पनि यस्तो अवस्था आएको हो कि ? 

त्यहाँ पनि राम्रा मान्छे पुग्नु पर्यो नि । राम्रालाई टाउको उठाउन नै दिएनन् ।  तर, अब केही राम्रा संकेत देखिएका छन् । पुराना भ्रष्टको चाहिं अब आयु सकियो ।

–लोकतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने समयमा नागरिक समाज पनि अहिले सुस्ताएकाले यस्तो भएको त होइन ? 

मैले मेरो मात्रै कुरा गनै सक्छु । मेरो कुनै  संगठन छैन, संस्था पनि छैन । तर, आफनो हिसाबले गरेको छु ।  त्यस्तै, कृष्ण पहाडी दाइ पनि उहाँको संस्थामार्फत लागिरहनु भएको छ । तर, सबैको बारेमा म भन्न सक्दिनँ ।

–लोकतन्त्रमा राम्रो अवस्था नदेखिएपछि जनताले अरु व्यवस्थासँग तुलना गर्ने वातावरण पनि बन्न सक्छ । त्यसलाई कसरी लिनुहुन्छ ?

लोकतन्त्र भन्दा राम्रो व्यवस्था त अरु हुनै सक्दैन । स्वतन्त्रता नदिने दास बनाउने व्यवस्था त राम्रो हुनै सक्दैन ।  पहिला राजाको पालामा बन्दुकको नालले पहिला समाचार ‘करेक्सन’ गरेको कुरा बिर्सनु भयो ? त्यसैले अहिलेको व्यवस्था भन्दा राम्रो अर्को कुनै व्यवस्था छैन । तर नेताहरूले राम्रो नगरेर यो अवस्था आएको हो  । 

–नेताहरूले कुरा त राम्रै गरिरहेका छन् नि ?

कुरा के देखियो भने जसले सबैभन्दा चर्को राष्ट्रवादका कुरा गर्छ उसैले राष्ट्रघात पनि सबैभन्दा चर्को गर्दो रहेछ । देश देश भनेर सबैभन्दा चर्का कुरा गर्ने नै कुन दिन देश लुटेर सबैभन्दा पहिला भाग्छ । राजनीतिमा सबैभन्दा चर्को कुरा गर्ने झन् अराष्ट्रिय हुँदो रहेछ । उ बिगार्नतिर लाग्दो रहेछ । 

राजाको विरोध कसैले गर्‍यो भने ऊ आफैँ राजा बन्न रहेछ भनेर बुझ्नुपर्ने बेला भएको छ । भ्रष्टाचारको विरोध गर्ने आफै भ्रष्ट हुन रहेछ भनेर बुझनुपर्ने अवस्था आएको छ ।

–उसो भए जनताले कसको विश्वास गर्ने त ?

जसले आफूलाई सहयोग गर्छ त्यसलाई विश्वास गर्नुपर्यो । उहाँहरूले आफैँ सोच्नु पर्‍यो । नयाँलाई मौका दिनुपर्यो । 

–ठूला दलमा पनि सबै नराम्रा त छैनन् नि होइन ?

ठूला दलमा पनि राम्रा मान्छे थिए, तर अब दलको नाम जोडिनासाथै नराम्रो देखिने अवस्था आएको छ ।  कांग्रेस, एमाले र माओवादी भनिएकालाई पत्याउने अवस्था नै भएन । इमान्दारलाई पनि विश्वास गर्न छोडिएको अवस्था छ ।

–राष्ट्रिय रुपमा लोकतन्त्र राम्रोसँग चलेन भन्नुभयो, अन्तर्राष्ट्रिय रुपमा कसरी लिएको पाउनु भएको छ ?

नेपाललाई अन्तर्राष्ट्रिय हिसाबले देशको नागरिकलाई तेस्रो देशको नागरिक बनाएर बेच्ने देश भनेर चिनिन्छ ।  भुटानी बनाएर सरकारले बेचेको होइन ? त्यो भन्दा ठूलो अपराध के हुन्छ ?

–धेरै निराशाका कुरा भए सबै लाग्ने हो भने अहिलेको अवस्थामा ‘करेक्सन’ गर्न पनि सकिएला नि ? 

त्यो कसरी भन्नु र यिनीहरूले हामीले भनेको स्न्छन र ?

–जनताले सुन्छन् नि ?

जनताले गलतलाई फाल्नुपर्‍यो । दलका युवाहरूले ती दलबाट बाहिर आएर राम्रो ढंगले काम गनुपर्‍यो । मकैको बारीमा पहेँलिएको बोटलाई गोडेर फाल्नुपर्‍यो । 

–नयाँ पनि केही आए तर, त्यति राम्रो देखिएन भन्न थालिएको छ नि ?

रवि लामिछाने आएपछि ठूला दलविरुद्धमा लागेकाहरू राजाका पछि नगएर यता राष्ट्रिय स्वतन्त्र पार्टीतिर भेला भए ।  त्यसले लोकतन्त्रलाई जोगाउन मद्दत भएको छ । 

नत्र सबै उतै जान्थे । उनले जनतालाई रोकेर राखिदिए । त्यसले गर्दा मलाई लाग्छ, उनले ठीक गरे । छोटो समयमा जनताले विश्वास गर्न सक्छन् भन्ने उनले देखाएका छन् । यसले गर्दा देशका लागि र व्यवस्था जोगाउन उनले पनि भूमिका खेलेका छन् । त्यो खुसीको कुरा हो । 

अब उनी पतन नै भए पनि उनले गरेको योगदानले बाटो देखाएको छ । त्यसले गर्दा म उनलाई  धन्यवाद दिन चाहन्छु । 

नत्र राजावादीहरूको फुर्तिफार्ति निकै बढ्ने थियो । उनले रोकिदिएका छन् । म र कृष्ण पहाडी कि राजा फाल्छौँ कि मर्छौँ भनेर लागेका हौं ।  रविले गल्ती नै गरेपनि युवाहरू बाहिर निस्केमा जनताले पत्याउन सक्ने अवस्था छ भनी उनले मूलबाटो देखाइदिएका छन् । देशै खाने, अर्बौँ खाने खुलेआम हिंडिरहेका छन् । 

–निष्कर्षमा लोकतन्त्रलाई सुधार्न के गर्नुपर्ला ?

जनताले आफ्नो टाउकोलाई ‘कन्टेनर’ बनाउनु भएन । आफैँले सोच्नु पर्यो । एक पटक धोका दिएकालाई विश्वास गर्नुभएन । नयाँ कोही आयो भने त्यसलाई मद्दत गर्नुपर्‍यो । सम्भावना नै नभएकालाई भन्दा केही न केही सम्भावना भएकालाई मौका दिनुपर्यो ।
 
–तपाईंलाई के लाग्छ व्यवस्था राम्रो हुँदा हुँदै पनि लोकतन्त्रले काम गर्न नसक्नुमा ‘सिस्टम’ नबसेर हो वा  ‘सिस्टम’ले काम नगरेर हो ?

काम गर्ने गतिलो  मान्छे नै नभेटिएर हो ।

–त्यो मान्छे कहाँ खोज्ने त ?

कोही आउन सक्छ । नराम्रोलाई नै हामीले सधैं राम्रो मानिरह्यौं भने त्यो कहिल्यै भेटिँदैन । खोज्दै जाँदा भेटिन सक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement