site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
साहित्यमा रमाएकाहरू माझ 

पथलैया पुगेपछि मलाई जहिल्यै घरतिरको नशाले समाउँछ ! पथलैयास्थित राजमार्गको तीनकुनेबाट जब पूर्वतिर हेर्छु, अनुभूत हुन्छ— अबको केही घण्टामा म मेरो आफ्नै घरआँगनमा उभिएको हुनेछु ।

करिब सय किलोमिटर परको जनकपुर, जलेश्वर मेरा लागि दश किलोमिटरको दूरीझैँ बन्छ । अनि, त्यो बाटो छिचोल्न तीन साढे तीन घण्टा लागे पनि मिलिक्कै बितेको भान हुन्छ ।

दुई साताअघि पनि अमलेखगन्ज तीन नम्बर पुलमा खाजा खाएर हिँडेपछि पथलैयाको तीनकुनेबाट गाडी पूर्व तेर्सियो । म सदाझैँ नोस्टाल्जिक भएँ । सम्झिएँ– जलेश्वर, जनकपुर र सिरहाका मेरा अनेकानेक कर्तुतहरू ।

Dabur Nepal

टाटासुमो आफ्नै गतिमा थियो । बाराको पिलुवा पार भइसकेको थियो । पसाहा नदीको पुलमा ठडिएको बोर्ड देखियो । यो पसाहा पुलको बोर्डले मलाई बाराको एउटा गाउँ गञ्जभवानीपुर पुर्याउँछ, जहाँ मेरो १०/११ महिनाको दिनरात बितेको थियो ।

अगाडिको सिटमा पवन आलोक दाइ छन् । बीचमा देविका तिमिल्सिना, अश्विनी कोइराला, सुभाषचन्द्र भीमफेदियालगायत सर्जक बसेका छन् । पछाडिको सिटमा ढाड दुखाउँदै छौँ गंगा, सुमन र म ।

सबै कुरा गर्न माहिर । साहित्यकार न ठहरिए, त्यसैले समय बितेको पत्तो भइरहेको थिएन । कति बेला कति बेला निजगढ पछाडि पुगिसकेछ ।

फेरि जंगलबीच कुद्न थाल्यो गाडी । अबको पालो चन्दनिगाहपुरको हो, जहाँ हामी रोकिनेछौँ । जहाँ हामीले रात बिताउनेछौँ । जहाँ भोलिको दिन साहित्यिक कार्यक्रममा सहभागी हुनेछौँ । 

साँझपख होटेलबाहिर गफगाफ भइरहँदा ८६ वर्षीय अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा भन्दै हुनुहुन्थ्यो, ‘चन्द्रनिगाहपुर कति राम्रो नाम थियो । अहिले चन्द्रपुर बनाएछन्, ‘निगाह’ हटाएछन् !’

नगेन्द्र दाइले सुनाउनुभयो, चन्द्रशमशेरले बसाएको बस्ती भएकाले यसको नाम चन्द्रनिगाहपुर राखिएको सन्दर्भ ।

त्यो प्रसंगअघि, चन्द्रपुर टेक्दा साँझको साढे ६ बजिसकेको थियो । होटेल हिमालयअगाडि निबन्धकार तथा आयोजक संस्था साहित्य सञ्जाल रौतहटका अध्यक्ष माधव काफ्ले र नेपाल स्रष्टा समाज, मधेस प्रदेश समितिकी संयोजक लक्ष्मी श्रेष्ठलगायत स्थानीय स्रष्टा हामीलाई पर्खिरहेका थिए ।

करिब एक घण्टाको समय तीन नम्बर पुलले खाएको थियो । नभए उज्यालोमै चन्द्रपुर पुग्ने थियौँ । माधव दाइ, लक्ष्मीजी, राम आचार्य उदितलगायत व्यक्तिको स्नेहपूर्ण स्वागत मिल्यो ।

होटेलमा कोठा व्यवस्थापनको काम सकिएपछि भोलिपल्टको कार्यक्रमबारे छलफल गर्न एउटा टोली माधव दाइ र लक्ष्मीजीसँग कुराकानीमा लाग्यो ।

म बाहिर उभिएर सन्ध्याकालीन चपुर अर्थात् चन्द्रपुरलाई नियाल्न थालेँ । सँगै थिए नगेन्द्र दाइ, मधु पाठक । त्यसैबखत नगेन्द्र दाइले ‘निगाह’ गायब भएको प्रसंग उठाउनुभएको थियो ।

घरी होटेल बाहिर, घरी लबी त घरी डाइनिङ हलमा ओहोरदोहोर गर्दै समय बित्यो । त्यहीँ भेटिइन् कथाकार रेणुका जिसी । जिसीसँग केही बेर कुरा गरेर फेरि म बाहिर निस्किएँ ।

उहिलेउहिले म जनकपुरबाट नाइटबस चढेर काठमाडौं आउँदा खाना खानलाई रोकिने ठाउँ हो, चपुर । त्यहाँका होटेलहरूमा धेरैचोटि खाना खाएको छु । खाना मात्रै होइन, जनकपुर जाँदा रातको दुईतीन बजे चिया खाने जङ्सन पनि थियो, चपुर ।

म त्यही पुराना दिनहरूमा रमाइरहेको थिएँ, बाहिर उभिएर । मेरो नजरले श्रेष्ठ होटेलको बोर्ड खोज्दै थियो । नजरले जति भ्याउँथ्यो, त्यतिसम्म तानेँ । देखिनँ ।

अनि, सँगै उभिएका साथीहरूसँग कुरा गर्न थालेँ । चिसो घटिसकेको भनिए पनि ज्यानमा ज्याकेट झुन्डिएकै थियो ।

हल्काहल्का चिसो भए पनि लामखुट्टेका केही सन्तान खुनको दुस्मन बनिरहेको महसुस हुँदै गयो ।

खाना खाएर गफ गर्दागर्दै पानको सम्झना आयो । ‘मधेस झरेर पनि पान नखानु, यो त हुनै सक्दैन डाक्टर साहब !,’ डा. सदानन्द कडेललाई सुनाएँ । कडेल पनि रौसिए, ‘लु, खोजौँ पान दोकान ।’

रातको १० बजिसकेको थियो । के होला र ! यही सोच्दै हामी पूर्वतिर हिँड्यौँ । त्यहीँ एउटा कुनामा फेला पर्यो, ‘राजेस’ पान पसल’ ।

गौर जाने चोकको पूर्वतिर रहेको त्यस दोकानको नामतिर मेरो ध्यान गएको थिएन । पान बनाउन भनेपछि मात्रै डाक्टर कडेलको नजर त्यता पुगेछ ।

अनि त के चाहियो र ! मिताको दोकान भन्दै हामी पान साहुसँग गफिन थाल्यौँ । केही बेरमै श्रीओम रोदनसहित पानका सौखिन साथीहरू त्यहीँ आइपुगे । निकै समय त्यहाँ उभिएर पान खायौँ । गफ गर्यौँ । र, तुफान हुइँकिएका नाइटबस र अरू गाडीहरूको गतिमा नजर दिँदै गयौँ ।

पान पसलमै मैले विराटनगरमा एकैदिनमा २२ खिल्ली पान खाएको प्रसंग सम्झिएँ र सुनाएँ डा. कडेललाई । केही बेर हाँसोसँगै २२ खिल्ली पानको चर्चा भयो ।

०००

बिहानै सडकछेउ उभिएर ठेलाको चिया खान मन लागेको थियो मलाई । तर, मौका जुरेन । एउटै कोठामा रहेका मधु र मैले ओछ्यान छोड्दै सातभन्दा बढी समय भइसकेको थियो ।

बिहान हामी केही बेर निबन्ध कौशलका एक उम्दा हस्ताक्षर माधव काफ्ले दाइको घरमा पुग्यौँ । स्वादिलो चियाको चुस्कीसँगै उनको भरिभराउ पुस्तकालय पनि हेर्यौँ । उनको भरिभराउ घर पुस्तकालय देखेर म दंग परेँ । म मात्रै के, सबै छक्क परे ।

त्यहीँ सुन्नमा आयो, एक वर्ष आएकोे बाढीले माधव दाइको पुस्तकालयमा रहेका हजारौँ किताबहरू खाइदिएको प्रसंग । नभए अझ कति ठूलो पुस्तकालय र कति धेरै किताब हुन्थ्यो होला त्यहाँ !

केही बेर त्यही निजी पुस्तकालयमा दिउँसो हुने कार्यक्रमको खाका तयार भयो ।

०००

हामी रात बसेकै होटेलको हलमा कार्यक्रम हुँदै रहेछ । कार्यक्रमका लागि स्थानीय सर्जक तथा पाहुनाहरू आउन सुरु गरिसकेका थिए । केही विद्यार्थी पनि आफ्नो गाउँठाउँमा भएको साहित्यिक कार्यक्रममा सहभागी थिए । ती स्कुले विद्यार्थीमा साहित्यप्रतिको रुचि देखेर मन आनन्दित भयो ।

केही बेरअघिसम्मको खाली हल भरिँदै गयो । हेटौँडा, वीरगन्ज, लालबन्दीदेखिका कवि–साहित्यकारहरू आइपुगेका थिए, कार्यक्रममा सहभागी हुन । उदयपुर, गाईघाटदेखि व्यंग्यकार माधव पोखरेल गोज्याङ्ग्रे हामी चपुर ओर्लिनुअघि नै आइसकेका थिए ।

कार्यक्रमलाई चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष नीलहरि कोइरालाको पूर्णसाथ र सहयोग रहेको ब्यानरले देखाउँथ्यो । कार्यक्रमको प्रायोजन वडा नम्बर–५ ले नै गरेको थियो ।

कोइराला साहित्यप्रति रुचि राख्ने व्यक्ति रहेछन् । उनले नगरभित्रका नाला वा पेटी वा सडक मर्मत गर्ने मात्रै नभएर साहित्य, कला र संस्कृतिको जगेर्ना गर्नु पनि आफ्नो काम भएको बताए । यस भनाइले साहित्यप्रतिको उनको धारणा प्रस्ट पारेको थियो ।

उनको यो कथनले मेरो मन गदगद भयो । कोइरालाजस्तै वडाध्यक्ष, गाउँप्रमुख, नगरप्रमुखहरू सबैतिर भइदिए साहित्य, कला, संस्कृति अझै कति फस्टाउँथ्यो होला, पठन संस्कृति हलक्क मौलाएर जान्थ्यो होला ! म त्यही सोच्न थालेँ ।

यो स्तुत्यकार्य गर्ने कोइरालालाई मनमनै साधुवाद अर्पण गरेँ । 

प्रारम्भमा निबन्ध स्रष्टा माधव काफ्लेले स्वागत मन्तव्य दिँदै चन्द्रपुरवासीलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्याउने विशिष्ट व्यक्तित्व स्वतन्त्रता सेनानी पुण्यप्रसाद दाहालको चर्चा गरे । उनले दाहालको स्मृतिमा हुँदै गरेको बृहत् साहित्यिक गोष्ठीको औचित्यबारे पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने समाजसेवी रामप्रीत चौधरी र मर्जिना खातुनलाई सम्मान गरियो । सँगै समाजसेवी छविलाल घिमिरेलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।

त्यो बृहत् साहित्यिक गोष्ठी थियो । साहित्यिक कृतिको विमोचन स्वाभाविक थियो । कार्यक्रमका प्रमुख अतिथि नगेन्द्रराज शर्मा र साहित्यसेवी नीलहरि कोइरालाले शीतल गिरीको निबन्धकृति ‘आरम्भ’ र शालिग्राम शर्माको कविताकृति ‘अविनाशी अन्तरा’ सार्वजनिक गरे ।

अनि, सुरु भयो कवितावाचनको शृंखला । बाराकी सरु बस्नेतले कवितावाचनको श्रीगणेश गरिन् । त्यसपछि सर्लाहीका जीवन आचार्यले कविता सुनाए । स्थानीय कवि आलोक कोइराला, राम आचार्य उदित, रेणुका जिसी, अनन्त कोइरालासहित मकवानपुर, सर्लाही र काठमाडौंबाट आएका कविहरू बिर्खे अञ्जान, लम्बोदर काफ्ले, सुषमा आचार्य अंशु, श्यामहरि चौलागाईं, मसान उपासक, विश्वनाथ संजेल, माधव गोज्याङ्ग्रे, तेजविक्रम कार्की, देविका तिमिल्सिना, डा. शान्तिमाया गिरी, सुभाषचन्द्र भीमफेदिया, बुद्धिसागर पौडेल, गंगा भेटवाललगायत साहित्य अनुरागीले आआफ्ना कविता सुनाए ।

मलाई भने थोरै खल्लो महसुस भयो, त्यहाँ उपस्थित विद्यार्थीले कविता वा आफ्ना रचना नसुनाउँदा । वाचनमा तिनको नाम लेखिएको थियो वा थिएन वा के थियो कुन्नि, तर तीमध्ये केही विद्यार्थीले आफ्नो रचना सुनाएको भए सुनमा सुगन्ध हुन्थ्यो ।

अन्त्यतिर प्रमुख अतिथि शर्माले यस्ता कार्यक्रमले साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउने बताए । समाजकी मधेस प्रदेश संयोजक लक्ष्मी श्रेष्ठले आफूलाई दिइएको जिम्मेवारीले हौसला बढेको बताउँदै साहित्यसेवी वडाध्यक्षप्रति आभार व्यक्त गरिन् ।

उनले आभार व्यक्त गरिरहँदा काठमाडौं, मकवानपुर, बारा, पर्सा, सर्लाहीबाट चन्द्रपुर पुगेका हरेक साहित्यकर्मी सम्भवतः आभारको मौन ध्वनि उच्चारण गर्दै थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro