site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्प फेरि जुनसुकै बेला आउन सक्छ

आज वैशाख १२ गते । आजभन्दा ठिक नौ वर्षअघि ०७२ साल  वैशाख १२ गतेको दिन सम्झँदा धेरैको मुटु काँप्ने गर्छ । उक्त दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी करिब नौ हजारजनाको मृत्यु भएको थियो । २२ हजारभन्दा धेरै मानिस घाइते भएका थिए ।

सो भूकम्प सामान्य कम्पन मात्र थिएन, नेपाली जनमानसको मथिंगल हल्लाउने घटना थियो । उक्त समयमा राष्ट्रिय भूकम्प मापन केन्द्र नै भूकम्पसम्बन्धी सूचना लिने मुख्य माध्यम थियो । र, त्यसका प्रमुख थिए, लोकविजय अधिकारी । भूकम्पपछि उनको दौडधुप कैयौँ महिनासम्म हेर्नलायक देखिन्थ्यो । गोरखा भूकम्प र त्यसका परकम्पसम्बन्धी विषयमा उनले फ्रान्सस्थित पेरिस विश्वविद्यालयबाट विद्यावारिधि समेत गरिसकेका छन् । यही सेरोफेरोमा हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् रहेका अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

–२०७२ सालको भूकम्पलाई कसरी सम्झिइरहनुभएको छ ?

त्यो दिन भूकम्प गएको समयमा म घरमै थिएँ । घरमा भूकम्पबाट जोगिएपछि करिब २० मिनेटपछि कार्यालय गएँ । त्यसपछि महिनौँसम्म यही भूकम्पको कारणले गर्दा व्यस्त भइयो । भूकम्प नेपालमा करोडौँ वर्षदेखि गइरहेको छ र यो निरन्तर रूपमा गई नै रहने विषय हो । तर, यसबाट कसरी जोगिने भनेर हामी सचेत बन्नु जरुरी छ । त्यहीअनुसारका नीति–नियम बनाएर लागु गर्नु जरुरी  हुन्छ ।

–त्यति धेरै जनधनको नोक्सानी व्यहोर्नुपरेको भूकम्प गएको नौ वर्ष पुग्दा नपुग्दै हामीले त्यो भूकम्प बिर्सिसकेको जस्तो आभास हुन थालेको छ नि ?

अहिलेको अवस्था हेर्दा त्यति बेलाको भूकम्पलाई हामीले बिर्सिसकेको हो कि भन्ने भान पर्न थालेको छ । त्यसपछि बनाइएका संरचना,  अझ देशका दूरदराजमा त झन् त्यसको ख्याल गरिएको जस्तो नै पाइँदैन ।

–त्यसपछि ल्याइएका नीति–नियम पालना भएन भन्न खोज्नुभएको हो ?

हो, नीति–नियम पालना भएको जस्तो पाइएन । एकपटक आउने हो, त्यसपछि धेरै वर्ष आउँदैन भन्ने खालको मनस्थिति देखियो ।

–गोरखा भूकम्पका परकम्प अहिले पनि गइरहेका छन् कि रोकिए ?

परकम्प अहिले पनि गइरहेका छन् । तर, चार म्याग्निच्युडभन्दा ठूला भूकम्पलाई मात्रै सार्वजनिक जानकारीमा ल्याइने भएकाले बाहिर त्यति जानकारी नहुन सक्छ । तर, हाम्रो ‘सिस्टम’मा ती परकम्प रेकर्ड भइरहेका छन् ।

–तपाईंले त यही भूकम्पका विषयमा विद्यावारिधि पनि गर्नुभयो, होइन ?

हो, मैले गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प र परकम्पको सम्बन्धमा नै फ्रान्सको पेरिस विश्वविद्यालयबाट विद्यावारिधि गरेको छु । अहिले भूकम्पकै कारण अध्ययन, अनुसन्धानको काम गरिरहेको छु । मैले सन् २०१६ देखि २०२० सम्म त्यहाँ अध्ययन गर्ने मौका पाएँ ।

–अहिले के अध्ययन, अनुसन्धान गरिरहनुभएको छ त ?

भूकम्पको अध्ययन, अनुसन्धान भनेको बाहिरका मानिसले आएर अध्ययन गरेर हुने कुरा होइन । यहीँको माटो र भूगर्भको अध्ययन गर्नुपर्दछ । त्यसखालको काम हामी गरिरहेका छौँ । यहाँको बारेमा अमेरिका, चिली वा जापानका भूगर्भविद्हरूले बोलेर मात्रै हुँदैन । अध्ययन, अनुसन्धान हुनुपर्छ । त्यसपछि मात्रै निष्कर्षमा पुग्न सकिने हो ।  हामी त्यही अध्ययन, अनुसन्धान गरिरहेका छौँ । त्यससम्बन्धी तथ्यलाई भूगर्भसम्बन्धी जर्नलहरूमा रिपोर्टका रूपमा प्रकाशित गर्ने गरेका छौँ ।

–अध्ययनमा के पाउनुभयो ? फेरि पनि ठूलो भूकम्प आउन सक्छ ?

भूकम्प आउने सम्भावना जहिल्यै छ । हामी त्यस्तै भौगोलिक अवस्थितिमा छौँ । यहाँ भर्खरै भूकम्प गएको छ, त्यसैले अब ७०/८० वर्ष अर्को भूकम्प आउँदैन भनेर ढुक्कले बस्ने अवस्था छैन । किनकि, यहाँ जहिले पनि भूकम्प आउन सक्छ । त्यसैले हामी सतर्क भएर त्यहीअनुसारको तयारीमा बस्नुपर्छ ।

–केही भूगर्भविद्ले त पश्चिम नेपालमा ५०० वर्षदेखि ठूलो भूकम्प आएको छैन, अब आउन सक्ने भएकाले त्यताका मानिस सतर्क हुनुपर्छ भन्छन् नि ?

कुरा त्यस्तो होइन । पश्चिम नेपालमा ५०० वर्षदेखि भूकम्प आएन भन्दैमा देशका अन्य भागमा भूकम्प आउँदैन भन्ने होइन । गोरखाबाट पूर्वका भाग वा अन्य क्षेत्रमा पनि भूकम्प जान सक्छ । त्यसैले हामीले सचेत भएर अघि बढ्नु्पर्छ ।

मानिसमा के पनि पाइयो भने भर्खरै भूकम्प गएको छ, अब ७०/८० वर्ष अर्को भूकम्प आउँदैन, आफ्नो जीवनकालमा अर्को भूकम्प नआउने भएपछि किन त्यसमा चिन्ता गर्ने भन्नेजस्तो पनि देखियो । तर, त्यो गलत कुरा हो । भूकम्प जहिले जहाँ पनि जान सक्छ । त्यसैले सतर्क भएर बस्नुपर्छ ।

–तर, ठूलो भूकम्प गएको छोटो समयमै हामीले बिर्सेको जस्तो भइरहेको छ, होइन ?

हो, त्यस्तै महसुस भइरहेको छ । सरकारी तहबाट पनि वास्ता चाहिएजति गरेको जस्तो देखिएन । जनस्तरमा पनि त्यस्तो देखिएन । पछिल्लो समयमा जाजरकोटमा गएको भूकम्पको क्रममा हामी त्यहाँ गएका थियौँ । त्यहाँ २०७२ सालपछि बनाइएका संरचनामा पनि आवश्यक सतर्कता अपनाएको देखिएन ।

पश्चिम नेपालमा लामो समयदेखि भूकम्प नगएकाले त्यसतर्फ ठूलो भूकम्प जान सक्छ भन्ने कुरा पनि उहाँहरूलाई थाहा रहेनछ । भूकम्प यसरी जान्छ भन्ने त हामीलाई थाहा नै थिएन भन्ने खालको अभिव्यक्ति उहाँहरूको थियो ।

–नागरिकलाई कसरी सचेत गराउने त ?

यसका लागि शिक्षामा नै जोड दिनुपर्दछ । तल्लो तहदेखि माथिल्लो तहसम्म भूकम्पमा सचेतना अपनाउने खालका सामग्रीहरू अध्ययनको मौका दिइनुपर्दछ । त्यसो हुन सक्यो भने केही न केही सकारात्मक प्रभाव पर्न सक्थ्यो ।

कस्तो खालको माटो भएको स्थानमा के बनाउने भन्ने खालका अध्ययन पनि भएका छन् । तर, त्यसको पनि पालना भएको जस्तो पाइएको छैन । त्यसैले यो कहिलेकाहीँ हुने घटना त हो भनेर यसलाई बेवास्ता गर्ने काम गर्नु हुँदैन । सबै सचेत भएर भएका नीति–नियम र कानुनलाई पनि परिपालना गर्नेतिर लाग्नुपर्दछ ।

–भूकम्प अन्यत्र पनि गएको सुनिन्छ, तर हामीकहाँ जनधनको बढी क्षति हुन्छ हो ?

भूकम्प अन्यत्र पनि गइरहेका छन् । कतिपय स्थानमा हाम्रोमा गएको जस्तो भूकम्पमा हाम्रोमा भन्दा धेरै क्षति पनि भएको छ र कतिपयमा हाम्रोमा धेरै क्षति भएको देखिन्छ । यो कसरी भने भूकम्प आइरहने भएपछि जसले बढी सतर्कता अपनायो, त्यहाँ कम क्षति हुन्छ ।

जहाँ बेवास्ता गरिन्छ, त्यहाँ धेरै क्षति हुने गर्दछ । नेपालमा पनि निरन्तर रूपमा भूकम्प गइरहेको छ । वि.सं. १९१२ मा भूकम्पले गर्दा तत्कालीन राजा अभय मल्लको मृत्यु नै भएको मानिन्छ । त्यसैले भइरहने यो प्रक्रियालाई कमभन्दा कम क्षति व्यहोर्ने गरी हामीले तयारी गर्नुपर्दछ ।

–विश्वमा भूकम्प गइरहने निश्चित ठाउँ छन्, होइन त ?

हो, विश्वमा भूकम्प गइरहने निश्चित स्थान छन् । त्यसमा नेपाल पनि पर्दछ । केही क्षेत्रहरू नियमित रूपमा जोखिममा रहेका छन् । भूकम्पको हिसाबले हामी एकदमै विशिष्ट क्षेत्रमा रहेका छौँ । त्यसैले आइरहने यो भूकम्पमा कमभन्दा कम मात्र क्षति कसरी गराउने भनेर हामीले सोच्नुपर्दछ । त्यसरी सोचिएमा हामीले कमभन्दा कम मात्रै क्षति व्यहोर्नुपर्नेछ ।

–भूकम्प देशको यो भागमा जान्छ, त्यो भागमा जान्छ भनेर भविष्यवाणी गरेको सुनिन्छ । यो साँच्चै थाहा हुने हो कि हचुवाको भरमा भनिने हो ?

त्यो अलि गलत भइरहेको छ । भूगर्भविद्हरूले भनिहाल्ने र सञ्चारमाध्यमले पनि त्यही कुरा प्रकाशन/प्रसारण गर्ने गर्दा जोखिम बढिरहेको छ । जस्तो कि पश्चिमतिर मात्रै भूकम्प जान्छ भन्दा पूर्वतिरका मानिसले त्यति ध्यान दिएको पाइएको छैन ।

जस्तो, गोरखा भूकम्पपछि सचेतनाका लागि जुन नीति अवलम्बन गरिएको थियो, त्यसपछि बझाङ वा जाजरकोटमा भूकम्प जानुअघि त्यहाँका स्थानीय बासिन्दा त्यसबारेमा सचेत भएको पाइएन । यसको मतलब सरकारी तहबाट पनि समग्र देशमा त्यसबारेमा जानकारी गराउने काम भएन र जनता पनि सचेत भएको पाइएन ।

भूकम्प गइरहने देशहरूमा यस्ता कुरालाई गम्भीरतापूर्वक लिएर सबैलाई हरहिसाबले जानकारी गराउने चलन हुन्छ । तर, हाम्रोमा त्यस्तो भएको जस्तो पाइएन । एकपटक आयो, सकियो भन्नेजस्तो गरिएको छ ।

–नागरिकको जीवनस्तर कमजोर भएकाले थाहा हुँदाहुँदै पनि सावधानी अपनाउन नसकिएको हो कि ?

त्यो पनि हुनसक्छ । भूकम्प प्रतिरोधक घर बनाउन बढी खर्चिलो हुनसक्छ भन्ने सोचिएको हुनसक्छ । तर, जीवनस्तर राम्रै भएकाले पनि त्यसखालको व्यवस्था गरेको पाइएको छैन । अर्कातर्फ, सामान्य घर जो त्यति खर्चिलो नहुन सक्छन्, त्यस्ता घरमा पनि भूकम्पबाट जोगिने प्रविधि प्रयोग गर्न सकिन्छ भन्ने जानकारी नभएको जस्तो पनि देखिएको छ । त्यसैले यसमा सचेत नहुनुमा कमजोर जीवनस्तर मात्रै होइन भन्ने थाहा हुन्छ ।

–भूकम्पलाई बिर्सेर चाँडै लयमा फर्किनुपर्छ, तर सतर्क पनि भइरहनुपर्‍यो, होइन ?

मानसिक रूपले चाँडै लयमा फर्किनु राम्रो हो । तर, सँगसँगै होसियार भएर आगामी दिनमा भूकम्प आएमा जोखिम कमभन्दा कम हुने गरी आफ्ना क्रियाकलाप अघि बढाउनु राम्रो हुन्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro